त दाइ होस्। मभन्दा जेठो। परिवारको जेष्ठ सदस्य। तर कहिल्यै हजुर भन्न आएन। न त तपाईं नै भन्न आयो। साथी जस्तो थिस्। बुवा बितेपछि, आमाले छाडेर गएपछि तैले नै घरको जिम्मेवारी सम्हालिस्। कहिल्यै बुवा, आमाको कमी हुन दिएनस्।
मेरो सट्टा बहिनीले पढ्छे भनेर पढाइ बीचमै छाडिस्। बिहे गर्न मानेको थिएनस्। मेरै करमा बिहे गरिस्। मलाई भाउजूले केही भन्दा रन्किने गरी उनको गाला चड्काउँथिस्। बिचरी भाउजू सबै चुपचाप सहन्थिन्।
मैले तलाई भनेकै थिएँ। बजारमा पढ्न जान्नँ भनेर। तैले नै कर गरेर पठाइस्। मैले जे भने त्यही पुर्याइदिस्। तैले ठूलो गल्ती गरिस्, दाइ। मेरो गल्तीहरू सधैं ढाकछोप गरिस्। त्यो बेला तैले भाउजूलाई हान्ने चड्कन मलाई हानेको भए सायद तैले यति धेरै बेइज्जती सहनु पर्ने थिएन।
भनिन्छ माया अन्धो हुन्छ। मायामा परेपछि दायाँबायाँ केही देखिँदैन। तलाई त्यो बेला मैले भन्नुपर्ने थियो। मेरो ईशानसँग अफेयर छ भनेर। तैले त पक्कै केटोको बारेमा बुझ्थिस्। अरुको दाइले जस्तै तैले पनि मेरो पछाडि जासुसी छोडेको भए आज यो दिन पक्कै पनि आउने थिएन। तर तैले ममाथि अलिकति पनि शंका गरेनस्। बिचरी भाउजूले थाहा पाए पनि तेरो अगाडि बोल्न पनि सक्दिनथिन्।
हप्तादिन नबित्दै घर आउने बैनी महिनौं दिन नआउँदा पनि कुनै प्रश्न गरेनस्। बैनीले दाइमाथि अन्तरघात गर्दैन भनेर सजिलै विश्वास गरिस्।
२०७५ माघ १८ गते शुक्रबारको दिन।
तैले पटक-पटक फोन गरेको थिइस्। मैले एकपटक पनि रिसिभ गरिनँ। म्यासेज समेत गरिनँ। त्यो दिन फोनमात्र रिसिभ गरेको भए आज यो दिन आउँदैनथ्यो।
त्यो दिन ईशानले होटलमा बोलाउँदा म जानु हुँदैनथ्यो। उसमाथि यति धेरै विश्वास थियो कि उसबाट कुनै गल्ती हुँदैन भन्ने मलाई लाग्थ्यो। तर त्यस्तो भएन दाइ । म होटल पुग्दा उसका अरु दुई जना साथीसहित मदिरा पिउँदै थियो। म त्यहाँबाट निस्किन खोजेको थिएँ। तर एकैछिन भनेर उसले रोकेर राख्यो। उसले मलाई फकाउँदै होटलको ६०७ नम्बर कोठामा लगेर गयो। उसका साथीहरूसँगै थिए।
होटल साहूले तिमी जाऊ भनेर मलाई पटक पटक भनेको थियो। म नै अटेरी भएँ। कोठामा पुगेपछि केहीबेरसम्म राम्रै कुरा भयो।
केटाहरूमा मदिरा चढिसकेको थियो। ईशानले मलाई फिजिकल रिलेसनको लागि अनुरोध गर्यो। मैले उसको गालामा चड्कन लगाइदिए। उसमा मर्दाङ्गीपन जागेछ। मलाई उल्टै चड्कन लगायो। उसका साथीहरूले पनि उसलाई साथ दिए। एक जनाले मेरो हात पछाडि लगेर समात्यो। अर्कोले अनुहारमा बेस्सरी बजायो। मेरो नाथ्री फुट्यो। ईशानले मलाई खुट्टामा समातेर ओछ्यानमा पल्टायो।
उनीहरूले मेरा हात र खुट्टा बेस्सरी समातेका थिए। मलाई सहन नसक्ने गरी पीडा भएको थियो। मैले उम्किन खोज्दा उनीहरूले कसिला हातले मेरा संवेदनशील अंगमा हिर्काउँथे। केहीबेरमा म बेहोस भएँ। बेहोस भएपछि उनीहरूले पालैपालो अस्मिता लुटेछन्। म माथि के के भयो। म आफैंलाई थाहा छैन।
भोलिपल्ट अस्पतालमा होस आउँदा मरे तूल्य भएँ मेरो अवस्था देख्दा। मलाई अस्पतालमा होटल साहूले ल्याएका रहेछन्। त्यसपछि त आइस्। त्यो दिन तलाई अंगालो हालेर बेस्सरी रूँन मन लागेको थियो। तर तेरो मुख हेर्ने आँट आएन। म घोप्टो परेर बेस्सरी रोएको थिएँ। कुन दाइले बैनीको त्यस्तो हालत देख्न सक्थ्यो र ? भाउजूले मसँग पछि भन्थिन्। त्यो दिन त ट्वाइलेटमा गएर टाउको ठोक्दै बेस्सरी रोएको थिइस् रे। त जस्तो दाइ त भाग्मानीले मात्र पाउँछन्। तर म भाग्यमानी भएर पनि अभागी ठहरिएँ।
मलाई त्यो बेला नै लागेको थियो। आफ्नो देहलिला तुरून्तै समाप्त गरूँ। तैले नै रोकिस्। अपराधीलाई सजाय दिनुपर्छ भन्थिस्। जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता पनि भयो। प्रहरीले राम्रै अनुसन्धान गरे। वर्षदिन नपुग्दै अपराधीहरूलाई सजाय पनि भयो।
तर दाइ, न्याय भनेको अपराधीले सजाय पाउनु मात्र होइन रहेछ। पीडित समाजमा पुनर्स्थापित हुनु पाउनु पनि न्याय रहेछ। अपराध त उनीहरूले गरेका हुन्। न्यायालयले त उनीहरूलाई सजाय दियो। तर मलाई समाजले पटक पटक सजाय दियो।
भाउजू माइत नगएको महिनौ बितिसक्यो। भाउजूका बुहारीहरूले तपाईंकी नन्द यस्ती, तपाईकी नन्द उस्ती भन्दै कुरा सुनाउँछन् रे। भाउजू त भगवान् नै हुन्। मेरो चित्त दुख्छ भनेर केही बोल्दिनन्। मेरो इज्जतको लागि माइती नै त्यागिन्। त्यस्ती महान् नारी कहाँ पाउनु?
साथीहरू सबैले छाडिसके। मेरो बेस्ट फ्रेन्डहरू फोन उठाउँदैनन्। फेसबुकबाट अनफ्रेड गरिसकेका छन्। उनीहरूलाई घरबाट मसँग नबोल्न उर्दी जारी भएको छ रे। मसँग बोल्दा पनि उनीहरूको इज्जतमा दाग लाग्छ रे।
मसँग पुतलीको खेल खेल्न आउने काकाको छोरी आजकल आउँदिन। उसलाई यहाँ आउन काकीले बन्देज लगाइदिनुभएको छ रे। राजकुमार र राजकुमारीको कथा सुन्न आउने जेठो बुवाको कान्छो छोरो कथा सुन्न आउँदैन। उसलाई आजकल कथा मन पर्दैन रे। काका काकी, जेठा बुवा जेठी आमा अझैसम्म मलाई भेट्न आउनुभएको छैन।
छिमेकीहरू पनि परैबाट आँखा तर्छन्। किराना पसलको दाइले मसँग नछोइने गरी सामानको किनबेच गर्छ। तरकारी पसलको आन्टीले सिधै अर्को पसलमा जाऊ भन्छिन्। म निर्दोष भएर पनि समाजले मलाई अपराधी ठानेर सजाय दिइरहेको छ।
दाइ, मैले गलत गरे जस्तो लाग्दैन। मलाई पटक-पटक मर्नु छैन। आफैंले आफैंलाई मुक्ति दिँदैछु। तलाई, मैले गल्ती गरेको जस्तो लाग्छ भने माफ गरिदिएस्। राम्रोसँग घर सम्हालेस्। सक्छस् भने, पीडितलाई समाजमा पुनर्स्थापित गर्नुपर्छ भन्ने कुरामा आवाज उठाइदिएस्।
तेरी प्यारी बैनी।