'पल्लो घरकी दिदी त जागिरे हुन क्यारे, कसैसँग बोल्दिनन्, ९ बजे छ क्यारे उ गाडी निकालिन् अफिस जान।' ओल्लो घरकी अन्टीले कुनै पल्लो घरकी अन्टीहरुसँग कुरा गर्दै हुनु हुन्थ्यो।
मलाई पनि लाग्यो, मेरै अफिसको अर्को शाखामा उपल्लो पदमा काम गर्ने ती म्याडम समय नपुगेको कारण कसैसँग बोल्नुहुन्न होला, र म आफ्नै काम तिर लागेँ। एक दिन साँझको कुरा हो, छतमा शितल पवनसँगै टहलिदै थिएँ, उनै म्याडमको घरको छतमा एउटा कुनामा भइरहेको दृश्यले मेरो रगत तातो भएर आयो।
कोही अधवैशे उमेरका अंकल हात उचालेर पिट्न खोज्दै थिए, म्याडम चुपचाप रुदै थापिदै हुनुहुन्थ्यो। त्यो दिन त्यत्तिकै म भित्र छिरेँ। तर त्यो दिनदेखि मेरो आँखा त्यही म्याडमको घर तिर मात्र हुन थाल्यो। मनभरी अनेकन कुरा खेल्न थाल्यो। को थियो त्यसरी हात उचाल्ने, किन ती म्याडम चुपचाप सहदै हुनुहुन्थ्यो?
अफिसमा भेटेर सोधुँ जस्तो लाग्यो तर आफूभन्दा सिनियर म्याडमसँग त्यसरी कुरा गर्न सक्ने आँट आएन। अर्को दिन छतमा निस्कदा म्याडम रुदै कपडा सुकाउँदै हुनुहुन्थ्यो। बोलाएर सबैथोक सोधुँ जस्तो लाग्यो तर सकिनँ। म्याडम पनि बोल्न खोजे जस्तो गर्दै हुनुहुन्थ्यो तर त्यो दिन त्यत्तिकै भयो।
यसरी नै छतमा बिहान बेलुका भेट हुँदै जादा र अफिसमा एकअर्कासँग आँखा जुद्धा खिस्स हास्ने दैनिकीले हामी २०-२५ दिनको अन्तरालपछि बल्ल अलिकति नजिक हुन पुगेछौँ। अनि म्याडमले हामी कतै अफिस तिर भेटेर सँगै चिया पिउँ है आज भन्नुभयो, मैले नाइ भन्ने कुरै थिएन।
यस्तै दिउँसोको २ बज्न आटेको थियो, हामी दैनिक खाजा खाने कफि सपभन्दा पनि भिन्न ठाउँमा अफिसभन्दा अलि पर जाने इच्छा गर्नु भयो म्याडमले। अनि हामी त्यतै गयौँ। मलाई त चियाभन्दा पनि म्याडमसँग अस्तिको दृश्यबारे कुरा गर्न मन थियो, तर एकदमै अप्ठ्यारो लागेको थियो। त्याहाँ पुगेर कुर्ची तानी बस्ना साथ स्थिति मैले सोचेभन्दा भिन्न भयो।
म्याडम आफैले अस्ति हजुरले पनि देख्नु भाथ्यो है म रुदै गरेको भनिन्। म अक्मकिएँ। न हो भन्नु, न हैन। म्याडम सुक्क-सुक्क गर्दै कसैलाई नभन्नु है बहिनी मलाई सार्है गाह्रो भएको छ, हजुर दिन-दिनै छतमा भेट हुँदा-हुँदा मेरै बहिनिी जस्तो लाग्न थाल्यो। यसैले सबै कुरा सेयर गर्न मन लाग्यो।
म पनि कमलो मनको मान्छे आफू अगाडि बसेकी आफ्नी फुपू/आन्टी समानकी महिला रुन थालेपछि मन थामिएन। अनि आँसु पुस्दै हस् भन्दै म्याडमका कुरा सुन्दै गर्दा मेरो जीउ भरी सिरिङ, सिरिङ गर्दै काँडा उम्रिन थाल्यो। मन आत्तिएर के गरुँ र कसो गरुँ हुन थाल्यो।
महिलाका हकअधिकार सुनिश्चितसँग सम्बन्धित विषयमा डिग्री हासिल गरि, त्यसैसँग सम्बन्धित कार्यलयको त्यति माथिको पदमा काम गर्ने म्याडमको मुखबाट म घरेलु हिंसाको शिकार भएको छु बहिनी भन्दा म छाँगाबाट खसे जस्तै भएँ।
‘मेरो उमेर ढल्किदै गयो रे बहिनी, मेरा छाला चाउरिन थाले रे, २ वटा छोराछोरी कि आमा भइसकेकी मेरो शरीरको बाहिरी आकर्षक पहिलाको जस्तो छैन रे। उहाँलाई मेरो श्रीमती भनेर चिनाउन साथीहरुको माँझमा लाज लाग्छ रे। अर्की भर्खरकी केटी मन पराउनु भएको छ रे, उसैलाई श्रीमती बनाएर भित्र्याएर अन्तै घरमा लएर राख्छु भन्नू भएको छ।
म केही बोल्न पाउदिनँ बहिनी। उठ् भने उठ् हो, बस् भने बस्। आफ्नो इच्छाले आफ्ना साथीभाइ इष्टमित्र कसैलाई घरमा बोलाउन पनि पाउदिनँ। छोराछोरीको खर्च मेरै यही जागिरको भरले धानेकी छु। उहाँले त हेर्नु हुन्न। घर छोडी डिभोर्स दिउँ, आफ्ना बा-आमाको मुख हेरेर सक्दिनँ।
डाँडामाथिका घाम भैसकेका बा-आमालाई मेरै पिरलोले छिट्टै लान्छकी भन्ने डर लाग्छ। छोराछोरीको पनि बिहे गर्नै बाँकी छ, भोलि भविष्यमा यही कुराले अप्ठ्यारो पार्छ कि भनी डर लाग्छ। त्यसैले चुपचाप सहेर बसेकी छु बहिनी। यी दुइटा छोराछोरी बिहे उम्काउन पाए, म एक्लै बस्ने थिएँ।’
कुरा सुन्दै गर्दा, मेरा हातखुट्टा पूरै गलिसकेका थिए। म्याडमका आँखा आँसु पुस्दा-पुस्दा रातै भइसकेको थियो।
‘अलिकति भनेनी मन हलुका भयो बहिनी, कसैलाई नभन्नु है।’
म हस् भन्न बाहेक केही गर्न सकिनँ।
‘लौ बहिनी जाउँ, निकै समय भएछ। फेरि अफिसम काँ गए भन्लान्। भोलिदेखि महिला अभिमूखिकरणको तालिम छ, सबैथोक मिलाउनु छ। जाउँ ढिलो भयो’ भन्नु भयो म्याडमले अनि हामी आफ्नो काम तिर लाग्यौँ।
चिया पसलबाट अफिस पुग्ने बेलासम्मको कुरामा थाहा पाएँ, उहाँको श्रीमान् राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न संघसंगठनमा एक ख्याती प्राप्त मानिस हुनुहुँदो रहेछ।
यी म्याडम हाम्रो नेपाली समाजको एक उदाहरण मात्र हुनुहुन्छ। बाहिरबाट हेर्दा ठूला घर अनि जहान पिच्छेको गाडी अनि माथिल्लो पदको जागिरले लुकेको यस्ता बेथा, प्रत्येक घरमा कसैले आँकलननै गर्न नसक्ने गरि छुपेको छ। आज पनि कैयौँ लेखपढ गरि कलम चलाउने दिदी बहिनीहरु समाज र परिवारको डरले आफू प्रति हुने अन्याय विरुद्द आवाज उठाउन सक्नु हुन्न।
हामी आफैमा लड्ने क्षमता भएका दिदी बहिनीनै समाजको डरले हिंसाको शिकार भयौँ भने हाम्रा घर भित्रैकै पर्खालमा सिमित आमाहरुको लागि आवाज कसले उठाइदिन्छ?
आफ्नो-आफ्नो ठाउँबाट आफूले सक्ने तरिकाले महिला हिंसा विरुद्ध आवाज उठाउँ। मानसिक रोगको शिकार भइ जीवन गुमाउनबाट जोगाउँ।