कविता
वर्षौं पहिले देखि नै
ताप र प्रकाशको आशामा
म, तिमी र हामी
बूढो चिसो मुढाको धुवाँमा रुमलिएका छौं
हामीले दाउराको घारबाट
कहिले साना टुक्रालाई बाल्न खोज्यौं
कहिले हाँगा झैं लाग्ने टुक्रा बाल्न खोज्यौं
बेला-बेला तिनैलाई ठोस्यौं
कहिले कहिले त फोक्सो नै फुट्ला झैं गरी
सोतेले हावा पनि दियौं
अहँ, तिनले कहिल्यै ताप र प्रकाश दिएनन्
एक समय त हामीले ठूला दाउरालाई
स-साना टुक्रा बनाएर पनि बाल्न खोज्यौं
कहिले साना-ठूला मिसाएर बाल्न चाह्यौं
हामीले हिमालबाट
तराई र पहाडबाट पनि
दाउराको जोहो कहाँ नगरेको हो र?
एकाध समय त हामीले जंगलबाट
भर्भराउँदा झैं लाग्ने लकडीसम्म ल्यायौं
भर्भराएर बल्लान झैं लाग्ने ती मुढाहरू पनि
फगत पत्पताएँ मात्र
तिनले धुवाँ सिवाय केही पनि फालेनन्
र, अदृश्य झैं भए
दुई कदम अगाडिका दृश्यहरू
तर, हामीले आँखा चिम्ली रह्यौं
आँखा मिचीमात्रै रह्यौं
वर्षौंसम्म लकडीले ताप नदिएपछि
अलिकति मात्र पनि प्रकाश नदिएपछि
म अहिले देख्दैछु
बरफका टुक्रा भर्भराई रहेछन्।