१० वर्षको वृद्धाश्रमको बसाईपछि घर फर्कदै थिएँ म। झ्यालबाट सरर छिरेको चिसो बतास, बेलाबेला बीचबीचमा आउने घर बाहेक झट्ट आँखा अगाडि आउने ती हरिया जंगलमा रहेका रुखहरुसँगै अतितलाई सम्झदै टोलाईरहेकी थिए म।
बिहानीपखको कुखुरी काँको आवाज सँगसँगै आएको आवाज पनि मेरो कानमा गुन्जन भएको थियो।
‘ठूली, ए ठूली उठ अब। अबेर भैसक्यो हेर त घाम झुल्किन लागिसक्यो। हैन कति सुत्न सकेको हो। छोरी मान्छेले धेरै अबेरसम्म सुत्नु हुन्न।’
आमाको यी आवाजसँगै मेरा आँखा खुल्ने गर्दथ्यो। टिकटिक आवाजमा रातभरी चल्ने कोठाको पूर्वपट्टिको भित्तामा रहेको त्यो भित्ते घडीमा आँखा गएर टक्क अडियो। साँच्चै बिहानको ४:३० पो बज्न लागेको रहेछ।
हतार-हतार उठेर बिहानको नित्यकर्म गर्दै मेरो दिनको सुरुआत भएको हुन्थ्यो। मसिनो बोली, लजालु स्वभावकि थिए म। परिवारमा पनि सबैभन्दा ठूली छोरी म। बुवाआमा कि असाध्यै प्यारी।
म जन्मेपछि धेरै वर्ष छोराछोरी नभएको रे। धेरै वर्षपछि आमाले २/२ वर्षको फरकमा भाइ र बहिनीलाई जन्म दिनु भएको थियो। बहिनी सबैभन्दा सानी भएकाले आमाको काखमै थिइन्। सायद जेठीबाठी भएर पनि होला, घरको सम्पूर्ण काम गर्नु पर्थ्यो मैले।
बुवाको मुख्य पेशा भनेको कृषि थियो। बिहानै उठेर आमालाई घरधन्दा सघाएर स्कुल जानु पर्थ्यो। स्कुल पनि एक घन्टा नै हिडेर जानुपर्ने ठाउँमा थियो। भाइबहिनी साना-साना भएकाले बुवालाई बाहिरको काम सघाउने पनि म नै थिए।
कोदाली खन्ने र हलो जोत्ने त मेरो दिनचर्या नै बनिसकेको थियो। मलाई जोत्दा कुनै अनौठो काम गरेको नौलो अनुभव भने कदापि हुन्न थियो। एक दिनको कुरा हो, जाडो महिना भएकाले हामी सबै परिवार नै घाम तापेर आँगनमा बसिरहेका थियौँ।
भाइ आफ्नै सुरमा माटो खेल्नमा व्यस्त थियो भने बहिनी आमाको काखमा सुतेर त्यो आइरन नगरेको लुगा झै खुम्चिएको दुध चुसिरहेकी थिई। म र आमा भने बुवाका रमाइला किस्सा सुन्दै पेट मिचिमिची हासिरहेका थियौँ। त्यतिकैमा एकजना मामा पर्ने आउनु भयो। उहाँसँगै २/३ जना मान्छेहरू पनि आएका थिए।
बुवाले मलाई चिया पकाएर सबैलाई ल्याएस् ठूली भनि आग्रह गर्नु भएको थियो। मेरो नाम कोपिला तर घरकी ठूली छोरी भएकाले होला सायद, घर लगायत गाउँभरी मलाई ठूली भनेर बोलाउने गर्थे। म भन्सामा चिया पकाउन जाँदा आमा भने बुवाको छेउमा काठको पिरामा टुसुक्क बसेर सानी बहिनीलाई आफ्नो स्तन चुसाएर सारीको सप्कोले चाउरिएको त्यो स्तनलाई छोप्दै होमा हो मिलाईरहनु भएको थियो।
चिया पकाउदै गर्दा बुवाले अलि मधुरो स्वरमा सानै छ, बिहे गर्ने उमेर त भएको छैन भन्दै गरेको मैले सुनेकी थिएँ। त्यति बेला भने मेरा हातखुट्टा नै लल्याकलुलुक भएको थियो। बिहे जुन कुरा त मेरो मानसपटलको कुनै भागमा पनि सोचेको थिइनँ। चिया लिएर बाहिर जाँदै गर्दा त्यही मध्येको एउटाले गिद्धको जस्तो आँखा पारेर एक टकले हेरेको देख्दा रिसले त्यही तातो चियाले आँखामा छ्यापिदिउकी झै पनि भएको थियो मलाई।
ती मानिसहरु गैसकेपछि पनि बुवा र आमा भने आँगनमा नै खुसखुस गरिरहनु भएको थियो। आफू भने अब बिहे गरेर पो पठाउने हुन कि भनेर निराश भैसकेकी थिएँ। काम गरेर बुवालाई बिहे गर्दिन भनेर फकाउन धमाधम काम देखाउन थालेकी थिएँ। धन्न बुवाले छोरीको बिहे अहिले नगर्ने भनेर सल्टाएर पठाइदिनु भएको कुरा आमाले मलाई मेरो छेउमा आएर खुसुक्क सुनाइरहँदा म भने खुसीले गद्गद् भएर उफ्रिनु जस्तै भएको थियो।
घर, खेत, स्कुल, भाइबहिनी यसरी नै मेरो दिनचर्या बितिरहेको थियो। प्रकृतिले ग्रिष्म ऋतु पार गर्दै वर्षा ऋतुलाई आगमन गरिरहेको थियो। सबैतिर खेती लाउने चटारो थियो। बुवा भने धान रोप्न भनि बीउ उखेल्न जानु भएको थियो। आमा बहिनी सानी र आमाको दूध नछोडेकी हुनाले अँगेनाको डिलमा बसेर उसलाई दूध चुसाइरहनु भएको थियो।
भाइ र म भने आफ्नै आफ्नै तालमा कोठामा रमाइरहेका थियौँ। अत्याधिक वर्षा भएका कारणले टिनको घरमा पानीको बज्रिएको आवाजले एक अर्काले बोलेको केही पनि सुनिरहेको थिएन। अविरल वर्षाको भने रोकिने अत्तोपत्तो थिएन। आकाशबाट गड्याङगुडुङ चट्याङका साथ पानी परिरहेको थियो। त्यो रिलवाल क्यामेराबाट फोटो खिचेझै अकासमा बिजुली चम्कदा भने हंसले ठाउँनै छोडेझै भएर भाइ र म भने एकै ठाउँमा गुट्मुटिएका थियौँ।
निरन्तर चट्याङ पर्ने क्रम जारी थियो। केहिछिनपछि पानी अलि कम भएको जस्तो महशुस त्यतिबेला भयो जतिबेला बुवाले बाहिरबाट ‘सबै निथ्रुक्क भिज्यो, गम्चा ल्याओ-ल्याओ’ भनेको आवाज सुन्न सकेकी थिएँ। भाइ मभन्दा अलि सानै थियो। गम्चा लिन भान्साकोठा हुँदै बुवा, आमाको कोठामा जानु पर्थ्यो। म पनि बुवाको आज्ञाको पालना गर्दै गम्चा लिन भनी निस्किएकी थिएँ।
भान्साको अँगेनामा आमा र बहिनी ढलिरहेको देखेँ। कतिबेलादेखि आमा र बैनी अचेत भएर ढलिरहनु भएको थियो हामीले पत्तै पाएका रहेनछौँ। मैले एकैचोटी चिच्याएर आमा भन्ने शब्द पुकारेकी थिएँ। म चिच्याएको सुनेर बुवा पनि आतिएर भान्सामा आउनु भएको थियो र आमालाई उठाउन खोज्नु भएको थियो। बहिनीलाई भने मैले न्याउरोलाई च्यापे झै गरेर च्याप्प च्यापेकी थिएँ।
दैव पनि कति निर्दयी, मेरो आमालाई त्यो सानी दुधे बच्ची लगायत हामी दुई भाइ र मबाट लुटेर आखिर कसरी लान सकेका होलान्। चट्याङले लागेर आमाको ज्यान नै गएछ। दिन आइनपुगी मरिदो पनि कहाँ रैछ र? त्यो सानि बहिनीलाई भने केही पनि भएको थिएन। घरमा कोलाहल भयो। रोयौँ, करायौँ तर आमा कहाँ फर्केर आउनु भयो र खै?
सायद हाम्रो त्यो कोलाहल सुनेर होला पानी, झरी पनि निशब्द भएको। पानी रोकियो, बादल उघ्रियो, छरछिमेकी सबै भेला भए र आमाको अन्तिम संस्कार गर्न भनि खोलातिर लिएर गए।
आमाको १३ औँ दिनको कर्मकाण्ड नसकिदै बुबाको दोस्रो विवाहको लागि छरछिमेक र आफन्तहरुले धेरै कर गरेका थिए। तर बुवाले दोस्रो विवाह गर्दा छोराछोरीको झन् ठूलो बिचल्ली हुने डरले दोस्रो विवाह गर्दै नगर्ने र बाँकी जीवन यिनै छोराछोरीको मुख हेरेर बाच्ने कुरा अठोट गर्नु भएको थियो।
आमाको मृत्युपछि त झन आमाको सम्पूर्ण भार ममाथि आइलागेको थियो। त्यो सानी दुधे बहिनी र भाइको स्याहारसुसार लगायत घरको सम्पूर्ण कामधन्दा। अब भने मैले चाहेर पनि आफ्नो पढाइलाई निरन्तरता दिन नसकेर बीचमा नै पढाइ रोक्नु परेको थियो। भाइ र बहिनीलाई मैले आमा सरह माया र ममता दिएर हुकाएकी थिएँ।
मेरा ती साना भाइबहिनी पनि जवान भैसकेका थिए। बुवाले मलाई कति कर गर्दा पनि मैले भाइबहिनीकै लागि आफ्नो बिहे नै नगरी माग्न आएका धेरैलाई फर्काएकी थिएँ। त्यसपछि त सायद उमेर ढल्केकाले होला, कोही मेरो हात माग्न पनि आएनन्।
पालैपालो भाइ र बहिनीको बिहेदान भएको थियो। बहिनीलाई ज्वाइघर पठाइयो भने भाइको पनि बुहारी भित्राइएको थियो। सोचेजस्तो कहाँ हुँदो रहेछ र जीवन? आमाको स्थानमा उभिएर आमाको भूमिका निर्वाह गरि भाइबहिनीलाई बिहेदान गर्ने ठाउँसम्म ल्याइपुर्याउन सजिलो त पक्कै पनि थिएन मलाई तर बुहारी ल्याएपछि भाइको पनि स्वभावमा परिवर्तन भएको महशुस भएको थियो मलाई।
जान पनि कहाँ पो जानु र म? बुवालाई आफ्नो व्यथा सुनाउन पनि सक्दिनँ थिए। आफूले आफैलाई सिध्याइदिन मन लाग्थ्यो तर दस मुजा परेको बुबाको त्यो अनुहार हेर्दा रुन मन लागेर आउथ्यो। छरछिमेकी मेरो दुख हेर्ने दर्शक बनेका थिए।
जिन्दगी त्यसरी नै उतारचढाव हुँदै चलिरहेको बेला कोही मार्फत एक विदुर केटाको कुरा बुवासँग कसैले गरेका रहेछ्न्। जसको दुई सन्तानपछि श्रीमतीको मृत्यु भएको रैछ। बुवालाई पनि छोरीले पछि दुख पाउने पो हो कि बरु बिहे गरे नि हुन्थ्यो भनेर उक्त प्रस्ताव म सामु ल्याउनु भएको रे।
मैले पनि आफूले भाइ र बहिनीलाई गर्ने कर्तव्य पूरा गरिसकेको र उक्त केटासँग बिहे गर्ने सहमति बुवालाई लजाउदै घोसेमुन्टो लाएर सुनाएको थिएँ। त्यसपछि बुवाले पनि आफूले कन्यादान गर्दा गर्ने सबै प्रक्रिया पुर्याइ उक्त केटालाई सुम्पिदिनु भएको थियो।
उक्त केटा यानिकी मेरो श्रीमान् जसले दुई सन्तानपछि आफूलाई बन्ध्याकरण गर्नु भएको रे। त्यसैले म आजीवन आमा त बन्न सक्दिनँ थिए तर पनि नासोको रूपमा छोडेर गएका ती दुई सन्तान मलाई आफ्नै कोखबाट जन्मिएका सन्तान जतिकै प्यारा थिए।
सौतेनी आमाको आभाष मैले आफूले जाने र भ्याएसम्म गराएकी थिइनँ सायद। जिन्दगी राम्रै चलिरहेको थियो। श्रीमानसँग पनि एकदमै खुसी थिएँ म।
एकदिन खाना बनाउने क्रममा पछाडिबाट जिस्काएर आँखा छोपिदिदा लौरो भन्ठानेर हान्न लाग्दा बलिरहेको दाउरा परेकोले आत्तिएर हात छोड्नु भएको थियो। ओहो! धन्न हान्न पाएकी थिइनँ। हासीखुसीका साथ जिन्दगी अगाडि बढिरहेको थियो। छोराछोरी पनि हुर्किसकेका थिए।
एकदिन गाउँबाट सबैजना मिलेर तिर्थयात्रा जाने तयारीका साथ हामीले पनि बाटोको लागि भनेर सातु, चिउरा, अदुवा लागायतका सामानहरुको जोहो गर्दै पोको पारेका थियौँ। छोराछोरीलाई घर राम्रोसँग हेरेस् भनेर १० दिनको तिर्थ यात्रामा हिडेका थियौँ।
आफ्नो श्रीमानको माया र साथ सदैव भएता पनि जिन्दगीमा केही केही कुराहरु सारै खल्ला भएर बसिदिदा रहेछ्न्। मेरी त्यो प्यारी बहिनी, उसको रोगका कारण अकालमा नै मृत्यु भैसकेको थियो। बुबाको मृत्युपछि भाइ बुहारीले पनि सम्पत्तिमा आँखा गाडेको हो कि भन्ठानेर होला, माइती जाँदा पनि सारै दुर्व्यवहार गरेका थिए। त्यहाँबाट आजसम्म माइतीमा पाइला टेक्ने साहस पनि गर्न सकिनँ मैले।
धेरै समयपछि सुनेकी थिएँ, भाइ र बुहारी दुबैको मृत्यु भैसकेको कुरा। भाइका छोराछोरी त छ्न् रे तर कहाँ छ्न्? आजसम्म देख्न त के सम्पर्कसम्म पनि भएको छैन।
हरियो डाँडाकाँडाहरुको मनोरम दृश्यहरुको साथमा गाडी एक गतिमा हुइकी रहेको थियो। गाडीमा कोही गित गाउदै थिए भने कोही नाच्दै, कोही आन्द्रा नै फर्कने गरि प्लास्टिकको झोला थापी-थापी बमिट गर्दै थिए भने कोही गाडी नै थर्काउने गरि घुरेर निदाइरहेका थिए। थपडी मार्दै नाच्दै गाउदै यात्रा अघि बढिरहेको थियो।
जाडो महिना भएकाले रातिको समयमा हुस्सुले बाटोनै नदेखिने कुरा गुरुले हामी तर्फ फर्कदै सुनाइरहेका थिए। पहाडी बाटो, अनकन्टार ठाउँ बीचमा बस्नका लागि केही पनि नभएको डाँडाकाँडा मात्र थियो। हामी मध्ये कसैले अलिकति तल सानो बजार छ त्यहाँसम्म भएपनि विस्तारै जाउँ र विश्राम लिउँ भनि गुरुलाई सल्लाह दिएका थियौँ।
कुइरोको मुस्लोले बाटो नै देखिरहेको थिएन। गाडी सुस्त रुपमा गुडिरहेको थियो। अचानक म बिँउझिदा अस्पतालको बेडमा थिएँ। त्यो गुडिरहेको गाडी दुर्घटना भएको कुरा मलाई होसमा आएसी मात्र थाहा भएको थियो। मैले झस्किदै श्रीमानको बारेमा सोधेकी थिएँ। पहिले उहाँ ठिकै हुनुन्छ र यही अस्पतालमा हुनुन्छ भनेर भनेका थिए। तर उहाँले त दुर्घटना स्थलमा नै देह त्याग गरिसक्नु भएको रहेछ।
दुर्घटनामा परेको त्यो मेरो थाङथिलो शरीर र श्रीमान् गुमाउनु पर्दाको पीडा मलाई सहि नसक्नु भएको थियो। तर मर्ने मरेर गए पनि मैले हरेस खानुहुन्न भनेर आत्माबल दरो पारेकी थिएँ तर मनमा आफ्नो मान्छे खड्को भने भैरहेको थियो।
श्रीमानको काजक्रिया पनि सकियो। श्रीमानको मृत्युको केही महिनासम्म त छोराछोरीसँगको सम्बन्ध पनि सबै राम्रै थियो। तर मेरो श्रीमानको मृत्यु त आफन्त र छिमेकीलै खिचडी पो भएको रहेछ। मेरो अनुपस्थितिमा मेरो छोराछोरीलाई नानाथरी कुरा लगाउने र उचाल्ने गर्दा रहेछ्न्। त्यसपछि भने छोराछोरीले मलाई हेर्ने व्यवहारमा नै परिवर्तन भएको थियो।
अब भने मलाई पनि बल्ल सौताका छोराछोरी त हुन् जति गर्दा पनि नहुने भन्ने आभाष भएको थियो। दिनरातको घोचपेच बुवा टोकुवाइ भनेर नानाभाती गाली गरेका थिए। अन्ततः मैले पनि आफ्नो मान्छे भनौदाले छोडेर गैहाले, को नै छ र मेरो भनेर आफ्नो पोको बोकी घर छोडेर निस्किएकी थिएँ।
त्यही क्रममा कसैले मलाई वृद्धाश्रमसम्म लगेर सहानुभूति देखाएको थियो। १० वर्षको वृद्धाश्रम बसाईमा कति आए, कति गए। सहरका अलि पैसावालहरु आफ्नो सानो-सानो उत्सव मनाउन पनि उक्त आश्रममा आउने गर्थे।
तर त्यो दिन आश्रमको बगैंचाको एउटा कुनामा बत्ति बनाएर बसिरहेकी थिए। सहरको नाम चलेको मान्छे रे, हेर्दा पनि सुकिलो मुकिलो, आफ्नै चिल्लो कारमा सुन्दर एक युवती र एउटा त्यस्तै ५-६ वर्षको जस्तो देखिने बालक जसको जन्मदिन भएकोले आएका रे।
हातभरी फलफूल बोकेर मलाई पनि दिन भनि आउदै गर्दा ढुंगामा ठेस लागेर लडेको थियो। हातमा भएको फलफूल भुइभरी भएको थियो। मैले सबै टिपेर झोलामा हालेर उसलाई उठाउदै उक्त झोला उसको हातमा राखिदिएकी थिएँ। उसले मुसुक्क मुस्कुराउदै आज मेरो जन्मदिन हो आमा भन्दै उक्त झोला मलाई नै थमाइदिएको थियो।
मैले पनि ठूलो मान्छे भएस् भनेर टाउकामा हातराखेकी थिएँ। बच्चा केही समय मसँगै अल्मलिएकोले त्यो सुकिलो मानिस मेरो छेउमा आएको थियो। मैले पनि उसको परिचय लिएकी थिएँ। उसले पनि मेरो बारेमा सबै सोधेको थियो। आज आएर उसैले मलाई आफ्नो त्यो चिल्लो कारमा चढाएर आफ्नो घर लादै छ।
उसँग नजान मैले धेरै प्रयास गरेँ तर अहँ! मैले हारे उसामु किनकी उ त मेरो नजिकैको मान्छे थियो। हो उ त मेरो आफ्नै भाइको छोरा भदा पो रहेछ।