जुलिया र अमोलीसित जोडिएको यो तस्बिर कथा करिब २० वर्षअघिको हो। त्यति बेला उनीहरू आफू आवद्ध संस्थाको स्वास्थ्य अभियान लिएर अमेरिकाबाट नेपाल आएकी थिइन्।
समाजसेवाका लागि सुदूरपश्चिम पनि उनीहरूको रोजाइको क्षेत्रमा पर्यो। बुबा काम गर्ने कार्यालयसँग सम्वद्ध कार्य भएकाले केही समय उनीहरू हाम्रै घरमा बसे। त्यसै बखत हाम्रो परिवारले उनीहरूसँग आत्मीय संगत गर्ने मौका पायो।
जुलिया अमेरिकाको फ्लोरिडा राज्यको अर्धग्रामीण परिवेशमा जन्मेकी रहिछन्। त्यति बेला हामी उनलाई अमेरिकन्नी नामले चिन्दथ्यौँ अर्थात् डोटेलीमा अमेरिकनको स्त्रीलिङ्गी रूप। सायद यो हामीले नै बनाएको मौलिक शब्द थियो।
देशको राजधानी त पाइला नटेकेको म, मेरो बालमस्तिष्कले सन् २००० तिरको अमेरिकी समाज र त्यहाँको जीवनशैली बारे के नै पो कल्पना गर्न सक्थ्यो र! फ्लोरिडा कुन चराको नाम हो? थाहा थिएन। उनीहरू अर्कै ग्रहबाट आएका प्राणीजस्तै लाग्थे।
उनीहरू फर्किएको धेरैपछि मैले बुबाको पुरानो डायरी पल्टाएँ। ती हँसिला अनुहार र तिनका ठेगाना खोजे। मलाई वर्तमानको सहरको हावाको प्रभावले अतीतको गाउँतिर धकेल्यो।
अनेक प्रयत्नपछि म जुलियासँग सम्पर्क सत्रमा बाँधिन सकेँ। जसरी पुराना किताबका पानामा छुटेका मयूरका प्वाँख भेटिन्छन्, त्यस्तै अनुभूति भयो। समयलाई सम्झिन थोरै पनि विलम्ब गरेको भए सायद समयले नै हामीलाई बिर्सिने रहेछ।
एकअर्कालाई पुनः भेट्दा खुसीको सीमा नै रहेन। उनै जुलिया, उस्तै भावना र मिजाज। मुहारमा निश्चल हाँसो। उस्तै सक्रियता। उनी नेपालमा आएको भूकम्पबारे चासो राख्थिन्। सहयोगको तत्परता त छँदै थियो। सात आठ वर्षदेखि हाम्रो कुराकानी भई नै रहन्थ्यो।
मेरा बुबा र उनको मनमा पेशाभन्दा पनि समाजसेवाको भावना गहिरो गरि फैलिएको थियो। बुबाको मृत्यु प्रसंग सुनाउँदा भने उनी झस्किइन्। सहयात्री अमोली अर्कै राज्यमा बस्ने रहेछन्। उनलाई मैले जति प्रयास गर्दा पनि भेट्टाउन सकिनँ।
अहिले म हाम्रा पुराना तस्बिरको एउटा एल्बम नियाल्दैछु। मौन छन् यी तस्बिर। श्वेतश्याम या जस्तोसुकै रंगका तस्बिर भए पनि यहाँ कैद भएको मुस्कानको रंग भने सुनौलो नै छ। मुस्कान सौन्दर्यको स्वागतद्वार बने पनि यी तस्बिरले मलाई नमिठो काउकुती लगाइरहेका छन्। यिनले स्मरण गराएको विगत मेरो मानसपटलमा कुहिरी मण्डलजस्तै व्याप्त छ।
यो एल्बम धूमिल यादहरूको सङ्ग्रहालय बनेको छ। जसमा कैद भएका छौँ, जुलिया, अमोली र हाम्रो परिवार।
उनीहरूलाई भेटेको केही वर्षसम्म मेरो बालमस्तिष्कले बिर्सेको थियो। फेरि भेट्दा मलाई वर्षौँ पहिले हराएको कुनै जीवन्त वस्तु फेला पारेझैँ लाग्यो। एल्बमका हरेक तस्बिरमा मुस्कुराएकी यी तिनै जुलिया हुन् जसले मलाई फोटो खिच्दा मात्रै होइन जीवनमा मुस्कुराउने अभ्यास गराइन्। जसबाट मैले उन्मुक्त आकाशमा चंगा उडाउन सिकेँ। बेलुन रङले नभई हावाको प्रभावले उड्ने ज्ञान पाएँ।
मेरो तस्बिर उतारी जसले त्यसमा जुँगाका रेखी निकाली भविष्यको मार्गचित्र कोरिन्। जसबाट डोटेली लबजको मेरो जिब्रोमा अङ्ग्रेजी उच्चारणको बीज पनि रोपियो।
उनीहरू हाम्रो गाउँ प्रवेश गर्दा र समाजसेवामा रमाउँदाका क्षण आज क्यासेटका रिलजस्तै मनमा घुम्दैछन्। जुलिया र अमोली बुबासँगै पाटन बजारबाट गाउँ आएको दिन स्वागतका लागि हामीलाई बाटोमा उभ्याइएको थियो। लस्करै उभिएका बालबालिकालाई अंकमाल गर्दै चकलेट बाँड्दै उनी गाउँ प्रवेश गरेकी थिइन्।
त्यति बेला चाखेको चकलेटको स्वाद अहिले पनि मेरो जिब्रोमा ताजै छ। जताततै फालिएका चकलेटका खोस्टा बटुलेर झोलाको खल्तीमा हाल्थिन् र पछि कतै ढाटा लगेर मिल्काउँथिन्।
पातलो अग्लो शरीर भएकी जुलिया। दुधले धोएजस्तो सेतो हँसिलो मुहार। खैरो रातो कपाल। बुद्धको तस्बिर अङ्कित सेतो टिसर्ट र हाफ पाइन्ट। छातीमा छड्के झुण्डिएको एक हात लामो क्यामेरा। पिठ्यूमा तुनैतुना भएको बडेमनको झोला। हल्का झुकेको शरीर। पहाडी बाटा छिचोल्न हातमा लौरो। नाडीमा टाढैबाट टल्किने सुनौलो घडी। बाहिरी रूप हेर्दा उनीहरू यस्तै देखिन्थे।
फूलमा माहुरी झुम्मिएझैँ गोलबद्ध पारेर हामी उनको वरिपरि जम्मा हुन्थ्यौँ। यस्तो मौका पाउने बित्तिकै उनी क्यामेराको बिर्को खोलेर स्माइल प्लिज भन्दै फोटो खिचिक्क पारिहाल्थिन्। एकछिन तिनै फोटा हेरेर रमाउँथ्यौँ।
जीवनमा पहिलो पटक म जत्रै ठूलो क्यामेरा देखेको थिएँ। त्यसको सिस्टमबारे खुलदुली हुन्थ्यो। फोटोको महत्त्व थाहा थिएन तर पनि फोटो खिच्न पाउँदा मख्ख हुन्थे। गाउँमा क्यामेरा नभएकाले सम्झना स्वरूप उनले एउटा क्यामेरा उपहार छाडेर जान खोजेकी थिइन्।
प्रयोगविहीन हुने भन्दै बुबाले लिन अस्वीकार गर्नु भयो। गाउँ बस्दा खिचेका सबै फोटाहरूको एउटा एल्बम बनाएर फर्केको एक महिनापछि पठाइदिएकी थिइन्। हामी यो गुन कहिल्यै बिर्सिन्नौँ।
उनी आफ्नो स्वास्थ्य अभियान लिएर बुबासँगै टाढा-टाढा गाउँवस्तीसम्म पुग्थिन्। वृद्ध, बालबालिका, असहाय, गरिब परिवारलाई स्वास्थ्य उपचारसम्बन्धी सहयोग गर्नु उनको जिन्दगीको एकमात्र लक्ष्य बन्थ्यो। आफ्ना बुबाको प्रेरणाले समाजसेवामा लागेको बताउने उनी स्वार्थले भरिएको संसारमा अँध्यारोकी जूनकिरीजस्तै लाग्थिन्। अरूलाई स्वस्थ तथा खुसी राख्नु, हँसाउनु नै उनको जीवनको ठूलो ध्येय हुन्थ्यो।
कहिले अङ्ग्रेजी त कहिले त्यही लवजमा नेपाली बोल्ने प्रयास गर्थिन्। थोरै मात्र बुझिन्थ्यो। उच्चारण सुन्दा पनि एक प्रकारको छुट्टै आनन्द। त्यति बेला गाउँमा खेलिने खेल डण्डीबियो, कबड्डी, मोजाको बल, लुकाछिपी हामीसँगै खेल्थिन्। घर नजिकैको सुर्नया नदीमा हामीसँगै पौडी सिक्न जान्थिन्। पानीको बहावलाई उनका खुट्टाले थेग्न सक्दैनथ्यो। हामीले वारिपारि तैराउनु पर्थ्यो। सहरका स्वीमिङ पुलको स्थिर पानीमा पौडिने उनले नदीमा पनि तैरिन, डुबुल्की मार्न सिकिन्। पछि माछा मार्न जाल समातेर सिधै नदी पस्थिन्।
सौन्दर्य सजावटका कुरामा विशेष रुचि थियो उनको। प्राकृतिक सौन्दर्यलाई प्रयोगमा ल्याउने अनेक जुक्ति थिए। सल्लाका सिन्का तथा ठिन्ट्युरा अनेकथरि रसरङले सजाई चिटिक्क पार्थिन्। नदी किनारबाट बटुलेर ल्याएका चिप्ला ढुङ्गामा अमेरिकाका स्टाच्यु अफ लिवर्टी तथा मुख्य स्थान, समुद्र आदिका चित्र उतार्थिन्।
अहिले सम्झिन्छु, ती कुनै आर्ट ग्यालरीमा राखिएका बहुमूल्य कला या आधुनिक सपिङ मलमा पाउने सौन्दर्य सजावटका सामानभन्दा कम थिएनन्। यसरी उनले गाउँका प्रयोगविहीन ढुङ्गा र हाँगा पातमा समेत कलाको प्राण भरेकी थिइन्। उनले गाउँबाट पाएको उपहार पनि त्यही थियो।
फरक धर्म संस्कृतिमा हुर्के पनि उनमा हिन्दु धर्म र भगवानबारे निकै चासो थियो। आमासँगै मन्दिर जान्थिन्। हजुरबुवासँगै आरती गाउथिन्। पूजाआजा गर्नु र निधारमा टीका लाउनु नित्यकर्मजस्तै थियो। गाईको पवित्रताबारे थाहा पाएपछि उसको सेवामा लाग्थिन्।
फुर्सदको बेला आमासँगै घाँस काट्ने, गाई दुहुने काम गर्थिन्। त्यहाँको मौलिक संस्कृतिप्रतिको अनुराग पनि उनमा उत्तिकै थियो। विभिन्न पर्व उत्सवमा देउडा खेल्न अघि सर्थिन्। पाइलामा पाइला मिलाउने प्रयास रहन्थ्यो। केही देउडा भाका मुखैमा झुण्डिएका हुन्थे।
प्रकृतिको सन्निकट रहेको हाम्रो गाउँघरको आँगनबाटै सिंगो आकाश देखिन्थ्यो। त्यहाँका छटा, नदी, भीरपाखा, खेत, वनजङ्गलको सौन्दर्य उनी आफ्नो क्यामेरामा कैद गर्दै हिँड्थिन्। सायद सहरका गल्ली र बन्द पर्खालभित्र हुने उकुसमुकुसको विरेचन त्यहाँ हुन्थ्यो।
पिँजडाबाट निस्किएको कैदी चराजस्तै प्रकृतिको विचरणमा उन्मुक्त भएर लाग्थिन्। दिव्य धर्तीमा हुने पाइतालाको स्पर्शले उनी प्रफुल्लित हुन्थिन्। उनको कपालसँग हावा खेल्थ्यो। सल्लाले आफ्ना फूलको सिन्दुरेजात्रा देखाउँथ्यो। प्रकृतिसँगको यस्तो सामिप्यता देख्दा लाग्थ्यो, उनले प्रकृतिलाई आफ्नो प्रेमी बनाइसकेकी छन्।
एकपल्ट म जुलियाको वर्तमानतिर फर्किन चाहन्छु। उनी जन्मेको सहर फ्लोरिडालगायत अमेरिकाका मुख्य राज्य अहिले कोरोना सन्त्रासले भयग्रस्त छन्। त्यहाँ निकै सन्नाटा छाएको छ, मानौँ तिनका पाउजु कतै अँध्यारोमा हराएका छन्।
जीवनका अत्याधुनिक उमंग गीत गाइरहेका मानिसको घाँटी नराम्ररी निमोठिएको छ। मानिसहरू अनुहारमा एक प्रकारको विषाद बोकेर बाँचिरहेका छन्। यस्तै त्रासदीका बीच कोरोना सङ्क्रमित भएर फ्लोरिडाको टाम्स हस्पिटलको आइसियूमा जुलियाले पनि जीवन र मृत्युसँग संघर्ष गर्दा गर्दै मृत्युवरण गर्नु परेको खबर उनको फेसबुक पेजमा व्यक्त भएका मृत्यु शोकबाट थाहा भयो।
उनका छोराले त्यहाँ लेखेअनुसार उनी कडा सुरक्षा पार गर्दै अस्पताल आइपुग्छन् तर आमासँग भेट हुँदैन। त्यहाँ एम्बिुलेन्सले साइरन होइन 'मृत्यु–संगीत' बजाएको भान हुन्छ उनलाई। सात माइल पर केन्टुकी राज्यमा बस्ने छोरा र जीवनको अन्तिम विन्दुसम्म समाजसेवाको कार्यलाई जारी राख्ने आमा बीच तीन वर्षयता भेट भएको हुँदैन।
छोराले त्यहाँ आमालाई अङ्कमाल गर्न पाउँदैनन्। धक फुकाएर रुन पनि पाउँदैनन्। मृत्युको औपचारिक पत्र लिएर बाहिरिन बाध्य हुन्छन्। कति निरस मृत्यु। कति सुनसान मृत्यु। आधुनिक विश्वले निम्त्याएको एक हृदयविदारक मृत्यु थियो यो। यस घटना प्रसंगले मेरो मन अमिलो भएर आउँछ, आँखा रसाएर आउँछन्।
हुन त मृत्युसँग नजिकको सम्बन्ध कसको छ र? अहिले जुलियाको पालो एकछिनपछि अरुको। मृत्युले कहिल्यै पनि पछाडि फर्केर हेरेको छैन। अझ मृत्युको रफ्तारमय उडानको हलचलले थप निर्दोष मृत्यु निम्त्याइएका छन्।
समाजसेवी जुलियाले मृत्युपछि देखिने संसार हेर्न पाइनन्। हाम्रो समाजमा ‘नमरी संसार देखिन्नँ' भन्ने एउटा भनाइ छ। मान्छेहरू कोही मरेपछि टाढाबाट भए पनि श्रद्धाञ्जली व्यक्त गर्न आउने र जिउँदोमा जस्तोसुकै दुःख पर्दा पनि नहेर्ने संसारको परिपाटी छ।
यस्ता केही मृत्युले मान्छेलाई मृत्युपर्यन्तको संसार देख्नबाट साँच्चै रोक्दो रहेछ। यस्तो लाग्छ, अचेल संसारको हावापानी, मान्छेको श्वासप्रश्वास र नशानशामा भक्षक जीवाणु घुसेको छ। अबको मान्छे यही जीवाणुले घाइते र विक्षिप्त मुटु लिएर बाँच्न विवश हुनेछ।
हरेक मान्छेको जीवनमा प्रेम र मृत्यु निमन्त्रण बिनै आउने अतिथि हुन्। कहिले आउँछन् थाहा हुँदैन तर यी दुवैमध्ये एउटालाई मन चाहिन्छ भने अर्कोलाई धड्कन। अहिले मृत्युले धड्कन मागेकी तिनै जुलिया हुन् जसले आफ्नो जीवनकालमा स्वास्थ्य सेवाका माध्यमबाट विभिन्न स्थानमा आफ्नो कृति छाडेकी थिइन्।
मृत्युको मुखबाट थुप्रै जीवनलाई फिर्ता ल्याएकी थिइन्। जसबाट मैले पनि सिकेको थिएँ जीवनमा खुसीको गीत गाउन। त्यति बेला वर्षातले मेटाएको थियो हामीले माटोको भित्तोमा बनाएको जुलियाको तस्बिर। आज एउटा प्रेरणा र निस्वार्थ भावले भरिएको मृदुल शरीर त्यसरी नै मेटिएको छ। तर उनको सुकृत्य भने व्यक्तिका मानसपटलमा अमिट भएर रहनेछ।