दशैँको टिकाको दिन। बिहान नौ बजे पेरिसको पोर्ट डे ओर्लियन्स होटलबाट ब्रसेल्सतर्फ प्रस्थान गर्यौँ हामी। तीन दिनको पेरिस बसाई सकियो। निकै आरामदायी थियो बस। बसको बीचौबीचमा थियो हाम्रो सिट। युरोप झरेपछिको पहिलो लामो बस यात्रा थियो। एक देशबाट अर्को देशमा पुग्ने यात्रा।
तन युरोपमा भए पनि मन भने नेपालमा नै। मेरी श्रीमती अन्जुलीको छोराछोरीसँग टिका छुटेको जीवनकै पहिलो दशै थियो। परिवारै आउनेहरुका लागि त रमाइलै हुँदो हो। तर हामी श्रीमान-श्रीमती मात्र आउनेका लागि भने टिकाको दिनको यात्रा त्यति जमिरहेको थिएन।
सफा र फराकिलो सडकमा बेतोडले कुदिरहेको थियो बस। पेरिस सहर पछाडि छुटिसकेको थियो। हेर्न लायकको थियो हामी कुदिरहेको युरोपको हाइवे। सडकका दुवैतर्फ देखिएका बान्की परेका सुन्दर एकनासे घरहरु, उन्नत कृषि बालीहरु, हरिया घासे मैदानहरु र एकै छिमलका रुखहरु भएका जंगलहरुले युरोपको सम्पन्नताको कथा भनिरहेको थियो।
राजधानीमै धुवा र धुलोले थलिएका हामीहरुलाई युरोपको यो अवस्थाले नराम्ररी गिज्याईरहेको थियो। कालो चिल्लो हाइवेमा आउने र जाने गाडीहरुको उपस्थिति बाक्लै थियो। साना-साना कारहरु र लामा-लामा कन्टेनरहरु सबै तीव्र गतिमा हुईकिरहेका थिए। राजमार्गमा कुनै किसिमको बाधा अवरोध थिएन।
युरोप भ्रमणको खुसी एकातिर थियो। परिवारसँग मनाइने दशैँको पूर्व स्मृतिहरुले मनको भित्तामा बनाएको रुन्चे चित्र अर्कोतिर। छोराछोरीहरुको निधारमा हात पुर्याएर आशिर्वाद दिन नपाएकोले मन अमिलिएको थियो। युरोपमै भए पनि दशैको टिका लगाउन छुटाउन नहुने कुरामा सबै एकमत थियौँ।
गुड्दै गरेको बसमा कसरी टिका लगाउने भन्ने द्विविधा थियो। टिकाको साइतको समय बित्ला भन्ने चिन्ता पनि थियो। बस रोकेर दशैँ मनाउदा पनि भ्रमणको समय तालिकामा असर पर्न जान्थ्यो। ब्रसेल्स भ्रमणको समय छोटिन सक्ने अवस्था आउथ्यो। त्यसैले चल्दाचल्दैको बसमा नै टिका लगाउने निर्णय भयो।
बसमै टिका लगाउने कुरोमा कसैको बिमति नरहे पनि कसले र कसरी लाउने भन्ने सम्बन्धमा भने केहिबेर छलफल चल्यो। अन्ततः बसको जेष्ठ सदस्यलाई घरको मुली मानेर टिका लगाई आशिर्वाद थाप्ने निधो भयो। जन्म मितिको आधारमा हामी मध्ये सबैभन्दा जेठा अच्युत भण्डारी देखिनु भयो। हामी सबैले उहाँलाई घरमुली बनिदिन आग्रह गर्यौँ।
उहाँले हाम्रो आग्रहलाई सहर्ष स्वीकार्नु भयो। उहाँको स्वीकृति पछि हामी सबैले ल्याएको टिका सामग्री एउटै थालीमा राखेर उहाँको सिटमा पुर्याईदियौँ। उहाँकी धर्मपत्नी समा भण्डारी दिदी खुसी-खुसी सघाउन अघि बढिन्। बसमै टिका थाप्ने कुरोले केहिबेर अघिसम्म घरको चिन्ताले चाउरिएको हाम्रो अनुहारमा थोरै खुसी पोतियो।
नेपाली समयअनुसार टिकाको साइत हेरि कुदिरहेको बसभित्रै दशैको टिकाटालो प्रारम्भ भयो। कन्या, कुमार, अध बैंसे, बृद्ध बैंसे सबैले एक-एक गरि अच्युत दाजुको हातबाट टिका ग्रहण गर्यौँ। बस दशैँमय भयो। बसका ड्राइभर जर्ज हाम्रो टिकाटालो देखेर अचम्म माने। फ्रान्सको भूमिमा नेपाली परम्परा अनुसारको दशैँ मनायौँ।
बसभरी सबैको निधारमा रातो टिका टल्केपछि बस नै नेपालमय बन्यो। सबैको अनुहार उज्यालियो। खै के थियो कुन्नी त्यो रातो टिकामा जसले सबैको मुहारमा हाँसो छरियो। सबैको मनमा आनन्दको फूल फुल्यो।
तीन दिनसम्म सामान्य रहेका अच्युत दाजु एकाएक हाम्रा अभिभावक बन्न पुग्नुभयो। टिका संगसंगै उहाँ र हामी बीचमा मायाको रङ्ग पनि मिसियो। सम्बन्धको अदृष्य धागोले बाधियो। त्यस दिनदेखि यात्रा अवधिभर उहाँप्रतिको आदरभाव कहिल्यै घटेन। सायद आफ्नोपन र आफ्नो संस्कार भनेको यहि नै होला।
टुर लिडर सृजना महर्जन बहिनीले सबैले टिका लगाएको तस्बिर मोबाइलमा कैद गरेर युरोपको दशैँलाई अविस्मरणीय बनाईदिइन्। हामी सबैको तस्बिर हातहातको मोबा्इलमा तुरुन्तै पुर्याउने काम पनि गरिन्। एक किसिमले एउटा उत्सव जस्तै बन्यो बस भित्रको दशै। सिंगो बस नै बन्यो एउटा घर र हामी सबै बन्यौ एकै परिवार।
बस भित्रको माहौल निकै रमाइलो बनिरहेको थियो। हामीलाई आजै ब्रसेल्स हुँदै आम्सटरडम पुग्नु थियो। सात घण्टाको बस यात्रालाई कसरी अझै रोमान्चक बनाउने भन्ने सोचमा डुबेको थिएँ म। आरामदायी बस भएकोले सुतेर समय बर्बाद होलाकी भन्ने कुरोप्रति पनि सजग थिएँ। त्यसैले टिकाको कार्यक्रम सेलाउन नपाउदै ड्राइभर नजिकको सिटमा रहेको माइक उठाएर बस रहेका सबैलाई आफ्ना बारेमा विस्तृत परिचय दिन र आफूमा रहेको कला, अनुभव र क्षमता प्रस्तुत गर्न अनुरोध गरेँ।
तीन दिनसम्म पेरिसमा रहे पनि हामीहरु बीच अनुहारको परिचय मात्र थियो। पूर्णरुपले एक अर्कासँग परिचित हुने समय मिलेको थिएन। मेरो अनुरोध पछि बस भित्रै भयो हामीहरु बीचको वास्तविक परिचय। त्यो परिचयले हामी बीचको सम्बन्धलाई अझै फराकिलो बनायो।
कति बसाईले नजिकका निस्के। कति कामले नजिकका निस्के। कति क्षेत्रले नजिक देखिए। कति सम्बन्धले आफ्ना भेटिए। जे होस सबैले सबैलाई राम्रोसँग चिन्ने अवसर बन्यो बस यात्रा।
परिचयको क्रम सकिएपछि सुरु भयो आ-आफ्नो मन परेको विषयको प्रस्तुति। सुरुमै माइक समाउन पुगे नारायण थापा भाइका सुपुत्र आर्यन। उमेरभन्दा निकै धेरै ज्ञान राख्ने उनले बाल चुटकिलाहरु सुनाएर बसमा हाँसोको माहौल बनाए। त्यसपछि नरेस्वर पौडेल आफ्नो लामो योग अनुभव सुनाउन तम्सिए। पेशाले शिक्षक भए पनि उनी योगका विषयमा उपल्लो स्तरका गुरु नै रहेछन्। केहि समय उनले योग संबन्धी ज्ञान बाँडे।
हामी सबैले आ-आफ्नो स्वास्थ्य समस्याका बारेमा प्रश्नहरु राख्यौँ। गुड्दा गुड्दैको बसमा स्टीलको पोलमा समाएर आँखा, कम्मर, घुँडा, सुगर, नाकको समस्या हुनेहरुले गर्नुपर्ने योगाभ्यासका बारेमा हामीलाई जानकारी गराए। उनले बसलाई योगमय बनाईदिए। हामी सबै लाभान्वीत भयौँ।
योग शिक्षा लगत्तै अगाडि उभिन आईपुग्नुभयो ईश्वरीराज लौडारी दाजु। लामो समय विश्वविद्यालयमा प्राध्यापन गरेर निवृत्त भएपछि श्रीमतीलाई डुलाईदिने इच्छाले आएका रहेछन् युरोप। उहाँले देशमा बिग्रदै गएको राजनीति, बढ्दै गएको भ्रष्टचार र हुर्कदै गएको प्रशासनिक बेथिति र सामाजिक बिचलनका बारेमा प्राज्ञिक प्रवचन नै दिनुभो।
उहाँको प्रवचनले देशका सबै नेताहरुलाई एउटै खाल्डोमा हालेर पुरौं-पुरौं जस्तो जोश चल्यो। उहाँले भनेझै हामीले यो देश बनाउने एउटै नेता पनि पाउन नसकेको कुरामा कसैको बिमति रहेन।
मन र कान लौडारी दाजुको कुरामा भए पनि आँखा भने बेलाबेलामा बसको झ्यालबाट फुत्तफुत्त बाहिर निस्केर सडकको दायाँबायाँ देखिएका हरिया घाँसे मैदानमा कुदिरहेको थियो। कतै एकै लहरमा लगाएका फलफूलका बगान, कतै एकान्तमा ठूला गाडीहरु बनाउने कारखाना, कतै सिधासिधा सलक्क परेका एउटै साचोबाट निकालेका जस्ता रुखहरुका जंगल र कतै झुरुप्प झुरुप्प उस्तै-उस्तै खालका साना-साना घरहरुको सुन्दरतामा हराईरहेका थिए आँखाहरु। यी सबै दृष्यहरु आफ्नो देशको भन्दा बिल्कुलै भिन्न थिए।
बसको पछाडि सिटमा बस्ने साथीहरुको बियर प्रेम पनि सम्झन लायकको थियो। नेपालमा भन्दा आधा सस्तो भएकोले पनि बियर प्रेमीहरुको हौसला बुलन्द देखिन्थ्यो। कतै बस रोकिदा केसका केस बियर आईपुग्थ्यो बसमा। बियर किन्दा सस्तो देखिए पनि बियरका कारण शौचालय जाँदा तिर्नु पर्ने एक युरोले मुल्य समायोजन भई उस्तै-उस्तै पर्न जान्थ्यो।
बियर र पिशावको चर्चाले पनि यात्रालाई निकै रोचक बनाएको थियो। बेलाबेलामा झापाली जोडी आनन्द र बालिका थापाको गीतले बसमा छुट्टै रौनक थप्दथ्यो। उनको गीतमा स्वर मिलाउन कस्सिन्थ्यौ हामी। गीतले बसै गुन्जायमान हुन्थ्यो। गीत, चुटकिला, सायरी, योग शिक्षाले बसका सबैलाई निंद्रामुक्त पारेको थियो।
बसभित्र कोहि दुःखी थियो भने त्यो ड्राइभर जर्ज थियो। हाम्रा गीत, चुटकिलाहरु, हाम्रा हाँसो र हल्लाहरु पक्कै पनि उसका लागि रुचिकर थिएनन्। त्यसैले बेलाबेलामा म जर्ज नजिक पुगेर सरी माग्दथेँ। उ हाँस्दै इन्ज्वय, इन्ज्वय भन्दथ्यो।
ड्राइभरले फ्रान्सको भूमि सकिन लागेको जनाउ दियो। मैले दुई देशको सिमाना हेर्न बाटो तिर आँखा तन्काएँ। सिमानामा कुनै सुरक्षा पोष्ट थिएन। कुनै भन्सारका काउण्टरहरु थिएनन्। रोडको साइडमा कतै पनि दुई देशको सिमाना झल्काउने त्यस्तो कुनै संकेत थिएन। हेर्दा-हेर्दै हामी बेल्जियमको भूमिमा प्रवेश गरिसक्दा पनि हामीलाई अर्को देशमा पुगेको अनुभव भएको थिएन।
वाह! एक अर्कामा कति उच्च विश्वास। कति आत्मीय सम्बन्ध। हाम्रो भाइ-भाइमा देख्न नसकेको हार्दिकता यहाँ देश-देश बीच रहेछ। असल छिमेकी भनेको त यस्तो पो हुँदोरहेछ। सिमाना देख्दैमा देशको सोंच, सभ्यता र इमानको परिचय मिल्ने। असल छिमेकी भयो भने त सिमानाको कुनै पिर नहुँदो रहेछ।
हामीलाई भने बाह्र हातको पिलर गाड्दा पनि सधै सिमाना कै चिन्ता। कहिले कहाँको पिलर हरायो भन्छ। कहिले कहाँको बार भत्कायो भन्छ। कहिले कहाँको जमिन चेप्यो भन्छ। कहिले हाम्रै भूमिमा सडक बनायो भन्छ। आँखा झिमिक्क गर्दा पनि पिलर गायब पार्ला भन्ने डर। भात खान जाँदा पनि सुरक्षा पोष्ट नै सार्ला भन्ने आशंका। छिमेकीको नियत र नजर नै खराब भएपछि कसैको केही लाग्दो रहेनछ।
बेल्जियमको भूमि टेकेको केही समयमा नै ब्रसेल्स पुग्ने जानकारी आईसकेको थियो। अनयासै मेरा आँखा यात्राका जेष्ठ जोडी मध्येको कृष्ण कुमारी दिदीको जोडीमाथि पर्यो। उहाँलाई म पहिलेदेखि नै चिन्दथेँ। उहाँका ज्वाई राजकुमार राजभण्डारी मेरा अनन्य मित्र थिए। उहाँको अन्तरजातीय बिहेका बारेमा पनि थोरै जानकारी थियो।
आधा सतक अघिको त्यो समाजमा अन्तरजातीय बिहे गर्ने आँट गर्नु कुनै पनि महिलाको लागि नालापानीको लडाई लडनुभन्दा कम कुरो थिएन। मलाई उहाँकै मुखबाट उहाँहरुको प्रेम कहानी सुन्ने इच्छा जाग्यो। मैले अनुरोध गरेँ। राजी हुनु भयो। म माइक उहाँको हातमा थमाएर चुप लागेँ।
कृष्ण दिदीले रसिलो पारामा सुनाउनु भयो आफ्नो आधा शताब्दी पुरानो प्रेम कथा। चितवनको एउटा सम्पन्न नेवार परिवारकी एक्ली छोरीले गिरी थरका चिन्नु न जान्नुको केटालाई मन पराउँदाको प्रेम कथा कुनै सुपरहिट चलचित्रको कहानीभन्दा कम थिएन। त्यहाँ रोमान्स, द्वन्द, साहस, पींडा सबै थियो।
प्रेमकै चक्करमा अभिभावकबाट घरको कोठामा थुनिनु परेको कठोर जीवन। झ्यालबाट फाल हानेर बाबुआमाको सुरक्षा घेरा तोडी दार्जिलिङसम्म पुगेको रोमान्चक शिलसिला। विवाहकै कारण माइतिबाट बहिस्कृत हुनुपरेको पीडा। आफन्तहरुको तिरस्कार र अवहेलनाले मनमा लागेको कहिल्यै नपुरिने घाउ। घर गृहस्थीमा भोग्नुपरेका सास्तिका अनगिन्ती घटनाहरु। निकै रोमान्चक, कारुणिक र साहसपूर्ण रहेछ कृष्ण दिदीको प्रेम कहानी।
कृष्ण दिदीको बाचनकला झनै मिठो र आकर्षक रहेछ। कृष्ण दिदीले आफ्नो संघर्षका दिनहरुको बयान गरिरहँदा उहाँ जति भावुक हुनुभयो हामी पनि त्यतिकै दुखी भयौँ। शून्यबाट सुरु गरेर आजको अवस्थासम्म आईपुगेको परिश्रमको गर्व गाथा सुनाउदा हामी पनि गर्वित भयौँ। सरल तरिकाले सुनाउनु भो श्रीमानको सोझोपन र निष्कपट प्रेमको जीवन्त घटना।
कृष्ण दिदीले दार्जिलिङ बसाईमा भएका नित्तान्त निश्चल र पवित्र प्रेमका प्रेमिल पलहरुलाई सविस्तार वर्णन गरिरहँदा उहाँका सहासी युवा प्रेमी कविराज गिरी भने लजालु पाराले मुसुमुसु मुस्कुराईरहेको देखिन्थ्यो। कम बोल्न रुचाउने भलाद्मी स्वभावका कविराज प्रेमका मामलामा भने मास्टर नै रहेछन्। अत्यन्त सुन्दर र संघर्षपूर्ण रहेछ कृष्ण दिदीको प्रेम कथा। निकै पवित्र र प्रेरणादायी रहेछ।
बस चल्दाचल्दै कृष्ण दिदीको प्रेम कथा त सकियो। तर हाम्रो कान र मन भने अझै अघाएन। बीचबीचमा हामीले पनि धेरे जिज्ञासाहरु गर्यौ। उहाँले हाँसी-हाँसी डटेरै उत्तर दिनुभयो। अझै धेरै सुन्न बाँकी रहे-रहे जस्तो भैरह्यो। उहाँले आफ्नो कथा सुनाईरहँदा पचास वर्ष अघिको समाजमा प्रेम प्रतिको दृष्टिकोण,जातजाति प्रतिको सामाजिक मान्यता, महिलाहरुको सामाजिक स्थितिको सजिव चित्र फिल्मको पर्दामा चित्र देखिए झै हाम्रो मानसपटलको क्यानभासमा कोरिएको थियो। उहाँको साहस र संघर्षको कथा सुनिसकेपछि सबैले प्रेमील जोडीको सम्मानमा ताली बजायौं।
हाम्रो तालीले एउटा सत्य र सहासिक नेपाली प्रेम कथालाई युरोपिय भूमिमा जोडजोडले समर्थन जनायो। आजको चेतनशील समाजमा पनि जातीय रंग दिएर बबाल मच्चाउने निष्ठुर अभिभावकहरुको मानसिक दिवालियापनमाथि दिदीको कथाले थप्पड हानेको महशुस भयो। चार घण्टाको बस यात्रामा भएको सबै-सबै कुराहरुलाई कृष्ण दिदीको प्रेम कहानीले फिक्का बनाईदियो।
दिदीको कहानीको रन्कोले नछोडदै बस ब्रसेल्स सिटी छिर्यो। ड्राइभरले ब्रसेल्स सहर आईपुगेको जानकारी दिए। बस रोकिनु अगावै सृजना बहिनीले तीन घण्टाको ब्रसेल्स सिटी टुरको योजना सुनाइन्। बस ब्रसेल्स सेन्टर नजिकै पुगेर रोकियो। बाहिर मनै शान्त पार्ने गरी सिमसिम-सिमसिम पानी पर्दै थियो। छाता र झोला बोकेर हामी सबै बसबाट ओर्लियौँ र ब्रसेल्सलाई मनको क्यामेरामा कैद गर्न लाग्यौ ब्रसेल्स सेन्टरतर्फ।