कथाः
'आज म बैठकमा जानुपर्ने छ, नानीलाई हेर्न भ्याइनँ, के–के होमवर्क छ सिकाइदे त,' मोटरसाइकलको हुइँहुइँसँगै मिसिएको दाइको आवाज मेरो कानमा ठोक्कियो।
नानी होमवर्क गरिरहेकी थिई। उसको झोलाबाट एउटा कापी झिकेर हेरेँ। कक्षाकार्यमै धेरै गल्तीहरू भेट्टाएँ।
'नानी यस्तो त हुँदैन नि,' भन्न मात्र के भ्याएको थिएँ, 'हजुर हाम्रो टिचर हो र, बढी जान्ने भएर सिकाउनु हुँदो रहेछ।'
निधारमा गाँठो पार्दै, चोसो बटारेर कर्के आँखा लाउँदै मेरो हातबाट कापी फ्वात्त थुतेर झोलामा राखी। म अक्कबक्क भएँ। बालबालिकाहरूमा शिक्षकप्रति यति धेरै विश्वास हुन्छ कि आफूलाई पढाउने शिक्षकबाहेक अरूले भनेका कुरामा उनीहरू विश्वासै गर्दैनन्। कुनै बेला उसले थाहा नपाउने गरी मिलाइदिउँला। फेरि उसकै अगाडि सच्याइदिँदा पनि उसमा शिक्षकप्रतिको नकारात्मक धारणा बस्न जाला भन्ने डरले म पनि हच्किएँ।
म पनि उसकै स्कुलमा पढाउने शिक्षक हुँ। तर मैले उसलाई पढाउन उसको कक्षामा मेरो पिरियड पनि छैन। मैले नपढाउने भएपछि उसको नजरमा म शिक्षक नठहरिनु त स्वाभाविकै थियो।
हामी तीन भाइ नै जागिरे। जेठो दाजुको खरिदार, माइलो मा.वि. स्थायी शिक्षक। म कान्छो, गाउँको बोर्डिङ स्कुल पढाउँछु।
जेठो दाजु जागिरपायक पार्न परिवारसहित सहरको बसाइमा हुनुहुन्छ। बाँकी गाउँमै छौं। माइलो दाइको स्कुलनजिकै पसल पनि छ। स्कुलमा फुर्सद भयो कि पसल आएर बस्नुहुन्छ। ताल परे विद्यार्थी कक्षाकार्य लिएर पसलमै पुग्छन्। उहाँ शिक्षक नेता पनि हो। चारैतिर भ्याउनुभएको छ। परिवारमा चखिलो हुनुहुन्छ।
मलाई मात्र यो जागिर काउसोको माला जस्तो भएको छ। निल्नु न ओकल्नु। न घरमा समय दिन पाउँछु, न राम्रो कमाइ।
घरमा सधैंको कचकच।
बुवाको मुखबाट सधैं सुन्नुपर्छ- जाबो दस हजारको पनि के जागिर खाइराको। एउटा हलीले पेट चर्कने गरी दुई पहर खाएर दिनकै हजार ठटाउँछ। तँ लखर लखर महिना दिन धाउँदा नि जम्मा दस वटी हजार। लाज लाग्दैन तलाईं? यस्तो चालाले हुँदैन, छोड्दे स्कुल।'
'ए बा, यो त इज्जतको जागिर हो नि, हलीलाई कसैले नमस्कार गर्छ,' म तर्क राख्छु।
'तेरो नमस्कार तैंसँग कुहाएर राख। त्यो बिक्ने होइन, नभए जा नुन तेल सक्या छ, त्यसैले किनेर लेरा,' बाको तर्क अझै बलियो हुन्छ।
'नमस्कारको नि कुनै मूल्य हुन्छ र बा?' यो दोहोरी यत्तिकै अन्त्य होला जस्तो लागेन मलाई। अरू कुरा सुन्न पर्ने डरले यत्ति भनेर म फुत्त हिडेँ स्कुलतिर।
बिहानभरको कचकच दिमागमा सिनेमाको रिल झैं घुमिरह्यो।
'आज त हिम्मत गरेर प्रिन्सिपल सरलाई तलब बढाइदिन भन्छु' मनमा खेलाउँदै हिँड्दै थिएँ कुन बेला स्कुल आइपुगेछु। गेटपाले दाइले नमस्कार गर्दा पो झस्किएँ।
अरू दिनभन्दा आज ढिलो भइसकेको रहेछ। हतारहतार भित्तामा राखेको विद्युतीय हाजिरी मेसिनमा बुढी औंला डोबेर स्टाफ अफिस तिर लागेँ।
पियन दाइले भनिहाले, 'सर तपाईंलाई त प्रिन्सिपल सरले बोलाउनुभएको छ।'
भारी मन प्रफुल्लित भयो, 'ओहो, सरले मेरो विनय सुन्नुभएछ क्यार!'
मनको लड्डु घिउसँग चोब्न मात्रै खोजेको थिएँ, प्रिन्सिपल सरको क्याबिन पुगेपछि भुइँमा खसेर फुट्यो।
मेरो नमस्कारको प्रतिक्रिया स्वरुप टाउको मात्र हल्लाएर प्रिन्सिपलले भन्नुभयो, 'सर, यो वर्ष हजुरले नर्सरी कक्षामा एक-दुई पिरियड भए पनि लिइदिनुपर्ने भयो।'
खासमा मेरो नियुक्ति प्रा.वि. मै भएको हो। तर सेवाको एक दशकमा ९ वर्ष अधिकांश खटाई मा.वि. मै रह्यो। मा.वि. तहमा शिक्षक अभावका कारण मैले माथिल्लो कक्षा हेरिरहेको थिएँ। माथिल्लो कक्षामा पढाउन सजिलो त थियो नै, त्यसको अलावा तल्लो कक्षामा जस्तो गाडिएर गृहकार्य परीक्षण गर्न नि नपर्ने। अभिभावकको 'यो भएन' र 'त्यो भएन' को कचकच पनि सहनु नपर्ने।
प्रा.वि. तहकै शिक्षक भएकाले प्रिन्सिपल सरको त्यो प्रस्ताव 'नाइ' भनुँ पनि कसरी?
मनले नमान्दा नमान्दै जबरजस्ती भए पनि 'हस सर' को स्वकारोक्ति थमाएर लुरुक्क फर्किएँ।
अहिलेसम्म त माथिल्लो कक्षा पढाएको छु भनेर तलब बढाइदिने प्रस्ताव लिएर जान स्वाभाविक र सहज थियो। अब केको बहानामा तलब बढाइदिन भन्ने?
अघिल्लो वर्ष, 'सर म प्रा.वि. मा नियुक्ति भएको शिक्षक मा.वि. मा पढाको छु, यसो तलबमा दुई-चार रुपैयाँ भत्ता स्वरुप बढाइदिनुपर्यो' भनेका 'हुन्छ म विचार गर्छु' भन्नुभएको प्रिन्सिपल सरले अहिले आएर यस्तो निर्णय लिनुभएछ। अचम्म परेँ।
मनमा कुरा खेलिरह्यो- अहिलेसम्म माथिल्लो कक्षामा पढाइराखेको अब नर्सरीमा गएर पढाउँदा अरूले के भन्लान्!
लामो सास फेरेँ। भोलिबाट त नर्सरी कक्षा जानु नै छ। आजै गएर त्यहाँको अवस्था नियाल्नुपर्यो भनेर पुगेँ।
नर्सरी बालमैत्री कक्षा थियो। सुविधा सम्पन्न। खेल्ने खेलाउने साधन भरिपूर्ण। भित्तामा रंगीचंगी तस्वीरहरू। र पनि नवआगन्तुक बच्चाहरूको मन भुल्न सकिरहेको थिएन। नयाँ भर्ना भएका दूधे बालक आमालाई पछ्याएर हैरान पारिरहेका थिए, रोइरहेका थिए। गीत बजाइएको थियो। मिसहरू बच्चा भुलाउन नाचगानमै मस्त अनि व्यस्त हुनुहुन्थ्यो। ती बच्चा भने आजीवन कारावासमै परेजस्तो चिहिल र बिहिल।
मनमनै सोचेँ- यो खहरेलाई समुद्रमा परिणत गर्न त निकै मुश्किल छ नि?
भोलिपल्ट नयाँ रुटिनअनसार कक्षामा जान प्रिन्सिपल सरबाट उर्दी जारी भयो।
उमेर नै नपुगेका, बोल्न त परै जाओस्, दिशा पिसाब समेत तर्काउन नसक्ने बच्चाहरु। घरमा आमाबुवा दुवैको जागिर भएर हेर्ने मान्छे नभएकाले हो या झ्याउ मानेर हो, स्कुल पठाइएका। भेउ पाउन गाह्रो थियो।
एकजना मिस बच्चाको हात समाएर जबरजस्ती लेखाइरहनुभएको थियो। बच्चा निरीह देखिन्थ्यो, आशुँका थोपा कापीमा झरिरहेका थिए। उसको आँसुले कापीमा आफैंले कोरेको धर्को धमिलो हुँदा पनि मिसले उसलाई कक्रक्क पारेर लेखाउन छाड्नुभएको थिएन। आफ्नै धुनमा हुनुहुन्थ्यो।
अभिभावकहरू लाम लागेर आफ्ना बच्चाले रूँदै लेखेको हेरिरहेका थिए। यहाँनिर मिसको बाध्यता थियो नै- अभिभावकहरू आफ्ना बच्चा भर्नाको भएको दिनदेखि नै शैक्षिक परिणाम खोज्छन्।
म ढोकामै उभिएर हेरिरहेको थिएँ। षडानन्द सर आइपुग्नुभो।
'के छ सर ? ठीक छ नि, अब त तपाईंको पिरियड पनि यही कलासमा छ हैन? रमाइलै हुन्छ बच्चाहरूलाई पढाम्दा।'
उनले कसरी भनेका हुन्, मलाई भने व्यंगको मन्द गन्ध आयो। कक्षाभित्र पसेँ।
'म कुन ठाउँमा आएँ' आफैंलाई अचम्म लाग्न थाल्यो। निशब्द भएँ। अभिभावकले मेरो प्रतिक्रियाको आशमा मलाई एकटक हेरिरहनुभएको थियो। मेरो एक दशकको शिक्षण पेशामा सबभन्दा पेचिलो क्षण यही थियो।
के गरूँ र कसो गरूँ? सबै बच्चा एकनासले रोइरहेका छन्। कहाँबाट कसलाई फुलाउन सुरू गरूँ। यतिबेला बल्ल मलाई थाहा भयो, दुःख त जग बसाउनेलाई हुँदोरहेछ, जगको चिन्ता गर्नेलाई हुँदोरहेछ। तर ती जगका इँट्टा र कवच बनेर ठडिएका खम्बालाई किन यसरी अवमूल्यन गरिएको होला?
सुरूका दिनमा त मलाई जागिर छोडिदिऊँ जस्तै लाग्यो। घरको कचकच, स्कुलमा न तलब बढाइदिने, त्यहीँ माथि तल्लो कक्षामा झरेको।
जसोतसो एक महिना पढाउँछु, त्यसपछि सहज हुन्छ कि! नभए त्यतिबेलै सोचौंला भन्दाभन्दै महिना दिन बित्यो।
परिस्थिति बीसको उन्नाइस भएन। अब म यो जागिर खान्न छोडिदिन्छु भनेर प्रिन्सिपल सरकहाँ गएँ।
प्रिन्सिपल सरले 'तपाईंले अहिले शैक्षिक सत्रका बीचमा आएर जागिर छोड्न पाउनुहुन्न भनेपछि दुखी भएँ। सोचेँ, आज पनि त्यही घरमा जानु छ जहाँ 'तलब कहिले बढाइदिन्छन् रे, आज कुरा गरिस् त?' भनेर बारम्बार सोधेर आजित पारेका छन्।
घर गएँ, खाना खाइवरी ओछ्यानमा पल्टिएँ। किन निन्द्रा लाग्थ्यो र?
मनोसंवाद सुरू भयो- 'म स्कुल प्रवेश गर्दा अवस्था अर्कै थियो। अहिले सबैजसो स्वरुप परिवर्तन भएको छ। मेरो पेशागत करियर भने धमिलोको धमिलै रह्यो, सुकिलो बन्न सकेन कहिल्यै। अक्षरहरू त कालोपाटीबाट यात्रा सुरू गरेर सेतोपाटीमा आइसके, त्यही अक्षरका सारथी शिक्षक भने मियोमा बाँधेर दाइँमा लखेटिएको गोरु झैं जहाँको तहीँ छ।
म आफैंदीप बनेर प्रज्वल्लित हुँदा पनि आफ्नो सेरोफेरोको अन्धकार अझै चिर्न सकेको छैन। अज्ञानताको पर्दा हटाए पनि मप्रति अरुको दृष्टिकोणमा जकडिएको कालो पर्दा हटाउन सकेको छैन। कक्षाका कयौं समस्या हल गर्न सक्ने म आफ्नो सामान्य चुल्होको समस्या टार्न सकेको छैन।
निन्द्रा आफ्नो भए पनि अरूकै लागि सपना देखिरहनु परेको छ। म विद्यार्थीको नारी छाम्नमै व्यस्त, विद्यार्थीको पेट छाम्नमै व्यस्त, आँत छाम्नमै व्यस्त। आफ्नो पकेटतिर ध्यान दिने समय नै भएन। सबैले 'टन्न होला कमाइ' भन्छन् तर मेरो परिस्थिति अर्कै छ। कसैले बुझ्दैनन्। चकको धुलोले लत्पतिएको पसिना बगाउने शिक्षक एक शिक्षक मात्रै होइन, ऊ हर क्षेत्र, पेशा वा विधामा आवद्ध दिग्गज व्यक्तित्वको जननी हो। यथार्थमा शिक्षण पेसा अरू पेसालाई पनि पढाउने पेसा बन्यो, तर त्यही अनुसारको हैसियतमा किन रहन सकेन?'
यस्तै कच्याङ्कुचुङ भावसँगै रात कट्यो मेरो।
रातभरि कचपचिएको निन्द्राले भारी बनेको टाउको बोकेर स्कुल गएँ। ज्यान शिथिल थियो। पढाउने कत्ति जाँगर थिएन।
नर्सरी कक्षामा विद्यार्थीको लो-टेबलमा थचक्क बसें। चारैतिरका भित्ता नियालेँ, रङ्गीचङ्गी पोस्टर टाँसिएको थियो। भित्तामा सधैं देखिराखेकोबाहेक अन्य धेरै कुरामा मेरो नजरमा पर्यो।
सोचेँ- मेरो पेशामा पनि पहिले 'नोटिस' गर्न नभ्याएका, पहिल्याउन नसकेका अवसर छन् नि। त्यसलाई पहिचान गर्ने क्षमता भयो भने लगनशीलता र परिश्रमबाट आफूलाई अब्बल साबित गर्न सकिन्छ। मेरो लागि यो पेसा नै उत्तम छ। अब यसमा अभाव भनेको समर्पण हो।'
आफ्नो मुड नै यसरी खराब भयो भने म बच्चाका लागि कसरी राम्रो गर्न सक्छु? कक्षामा म खुसी रहनु अति आवश्यक छ। म खुसी हुँद मेरा विद्यार्थीले राम्रोसँग सिक्न पाउँछन्। पेसामा तलब धेरै-थोरै भन्ने सामान्य हो।
पैसाको कोलाहलबाट अलग्गै बस्न कानमै रुई कोच्न किन नपरोस् अब मैले शिक्षण पेसा नछाड्ने निश्चय गरेँ। पारिश्रामिकभन्दा पनि मसँग कतिजनाको भविष्य आश्रित छ, मेरो जीवनसँग कति जनाको जीवन जोडिएको छ, त्यसमा मैले ध्यान दिनुपर्छ।
सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने योभन्दा राम्रो पेसा हुनै सक्दैन। म यसमै खुसी रहन सक्नुपर्छ। तनावशून्य बच्चाहरूबीच मेरो मुड राम्रो भयो भने यिनीहरू खुसी हुन सक्छन्। बच्चाको हाँसोमा इमानदारिता झल्किन्छ। म अहिले यस्तो ठाउँमा छु, जुन माहौल बच्चाको सम्पर्कबाट मात्र पाउन सक्छु। अरुबाट पाउन सक्दिनँ।
यहाँ पनि म खुसी हुन सकिनँ भने म कहाँ गएर खुसी हुन सक्छु र? मैले जिन्दगीमा जे सोचेका थिएँ त्यो पाइनँ। नपाए पनि आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ।
उराठिलो क्षणलाई रोचक बनाउन सक्नु नै जिन्दगीको ठूलो सफलता हो। म धैर्य बन्नुपर्छ, मेरो पसिनाको मूल्यांकन विद्यार्थीको भविष्यले निर्धारण गर्छ।
यी यस्तै आत्मगन्थनले मनमा नयाँ उर्जा थपियो। अवोध विद्यार्थीसँग ठुस्सिएर अहिलेसम्म केही पनि नबोली बसेको म अब एकएक गरेर सबै विद्यार्थीको टाउकामा हात राखेर मुसार्न थालेँ।
...
आज, जब मेरो शरीर स्कुलको चौघेराभित्र कैद हुन्छ तब मेरा खुसी स्वतन्त्र हुन्छन्। ती मेरा विद्यार्थीको निष्कपट व्यवहार र हाँसोमा संसार हाँसेको पाउँछु। मलाई त्यहाँबाट निस्कनै मन लाग्दैन। घडीको सुई बाँधेर राख्न मन लाग्छ। बिहान लगाएको मेरा कमिजका फेर बच्चाहरूले तान्दा-तान्दा खैरो-कालो भइसकेको हुन्छ। मेरा हात कहिल्यै खाली हुँदैनन्। कहिले औंलामा झुन्डिनेको तँछाडमछाड कहिले पिङ खेल्नेको...।
(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि. केवरे भञ्ज्याङ, स्याङ्जामा शिक्षक छन्।)