यहाँ कयौँ संघ-संस्थाहरु छन् जसले मानव अधिकारको लागि काम गर्छन्, महिलाको हक र अधिकारको लागि काम गर्छन्। त्यसैगरी समाजमा घट्ने विभिन्न किसिमका घटनासँग सम्बन्धित रहि मानव अधिकार, उसको कर्तब्य र कानुन बमोजिमको सजाय हामी बेला-बेलामा सुनिरहेका हुन्छौँ।
तर, मैले देखेको एक फरक सामाजिक परिदृश्य जसको लागि न त कुनै संघ-संस्थाले काम गरेको छ न त कुनै संविधानमा लेख्न मिलेको छ। हो, आज हामीले नाङ्गो आँखाले देख्न सक्ने भेदभावभन्दा मानसिक भेदभावले लैंगिक विभेद निम्त्याई रहेको छ।
मेरो नजरमा महिलाभन्दा पुरुषमाथि समाजले ठूलो मानसिक भेदभाव गरेको छ। ठिक छ! हामी लड्नु पर्छ महिलाको हक-अधिकारको लागि पनि। महिला पुरुष दुवैले आफ्नो-आफ्नो कर्तब्य पूरा गर्नै पर्छ जुन कुरा प्रकृतिले नै छुट्ट्याइदेको छ। तर पुस्तौ पुस्तादेखि पुरुषमाथि थुपार्दिएका यति धेरै सामाजिक संस्कार छन् जसमा महिलालाई आफू अनुकूल हुँदा समानता चाहेको छैन।
समाजले यस्तो संस्कार बसालेको छ कि पारिवारिक र सामाजिक कुरामा पुरुषले आफ्नो कर्तब्य पूरा गर्ने हो, अधिकार खोज्ने होइन। हो, मैले यस्ता कयौँ पुरुष देखेको छु जसले भोगेका कतिपय पीडा नाङ्गो आँखाले देख्न सकिन्छ, कतिपय पीडा भोग्नेलाइ मात्र थाहा हुन्छ। चाहे ती पीडा खाडी मुलुकमा गएर आफ्नो गुजारा चलाउनेहरुका लागि होस् चाहे धनि र सम्पन्नशाली महलमा बस्नेहरुको लागि होस्।
आफ्नो आर्थिक स्थिति कमजोर भएकै कारणले पुरुष खाडी मुलुकमा पैसा कमाउन जान्छ। दिनरात रगत र पसिना बगाएर महिनैपिच्छे घरमा पैसा पठाउछ। उसले पठाएको रेमिट्यान्सले घर मात्र होइन, देश पनि चल्छ। कुनै महिना घरमा पैसा पठाउन सकेन भने, घरबाट श्रीमतीको फोन जान्छ। फोनमा रुदै कराउदै भन्छिन्, घर चलाउन कति गाह्रो छ तिमीलाई थाहा छ?
श्रीमानलाई पनि श्रीमतीको भन्दा ठूलो-ठूलो स्वरमा रुदै कराउदै भन्न मन हुन्छ, विदेशमा ४४/४५ डिग्रिको गर्मीमा रगत र पसिना बगाउन कति गाह्रो हुन्छ तिमीलाई थाहा छ? तर श्रीमान मौन रहन्छ किनकी उ पुरुष हो। मन जति रोए पनि आँसु बगेको देखाउन मिल्दैन। कहिले सुख कहिले दु:ख, कहिले हाँसो कहिले रोदन, जसोतसो ३/४ वर्ष बिताएर घर फर्किन्छ।
घर फर्किदा पुरानै भत्किन लागेको घर हुन्छ। राम्रोसँग पालनपोषण नपाएका जस्ता देखिने बालबच्चा हुन्छन् तर श्रीमती हुँदैनन्। उ सम्झिन्छ त्यही श्रीमती र बाल-बच्चाको लागि रगत र पसिना बगाएको। उ सम्झिन्छ आफू भोकै बसेर भए पनि घरमा पैसा पठाएको। उ राम्रोसँग सम्झिन्छ सपनामा आफ्नो घरको र जिन्दगीको छानो फेरेको।
अफसोच्, घरको छानो पनि फेरिएको छैन। जिन्दगीको छानो फेर्न घरमा श्रीमती पनि छैनन्। उ घर न घाटको हुन्छ। श्रीमतीलाई खोज्न जान पनि मिल्दैन किनकी उनीले आफ्नो अधिकार प्रयोग गरेर अर्कोसँग बिहे गरेकी हुन्। उसको भौतिक सम्पत्तिको हिनामिना भएको भए २/४ जना उसको पक्षमा बोलिदेलान्। त्यसको लागि पनि संसदमा बोल्ने सांसद गंगा चौधरी जस्ता महिला खोज्नु पर्ला।
मान्छेहरु किन बिछोडको पीडा भौतिक सम्पतिसँग मात्र जोडेर हेर्छन्? कसैले यो सोधे पनि त् हुने- उसको मन कति दुखेको छ? उसले देखेका सपनाहरु कसरी चक्नाचुर भएका छन्? उ दिनरात कति रोएको छ, कति तड्पिएको छ? तर यो सब कसैले सोध्ने छैनन्। मन भित्र जति पीडा भए पनि उ चुपचाप लाग्नु पर्ने छ किनकी उ पुरुष हो।
च्यातिएका सपनाहरु सिलाउन र भाचिएको मन जोड्न कति गाह्रो हुन्छ, भोगनेलाई मात्रा थाहा हुन्छ। यसको ठाउँमा श्रीमानले श्रीमतीलाई छोडेको भए श्रीमती रोई-कराई गर्ने थिइन्। समाजमा सबै जनाले श्रीमानमाथि दोष लगाउने थिए। कयौँ महिलाहरुले उनीलाई सानोतोना दिन कोशिस गर्ने थिए, पुरुष भनौदाहरु पनि उनीलाई सानोतोना दिन पछि पर्ने थिएनन्।
उनी रुदा, कराउँदा पनि सुहाउँछ किनकी उनी महिला हुन्। हो, आफ्नो मन भित्रका पीडा अरुसँग साट्दा पनि केही हदसम्म पीडा कम हुन्छ, मन हलुङ्गो हुन्छ। यस्तै अर्को घटना मैले कयौं वर्षदेखि मेरो घर नजिकै देखिरहेको छु। सकेसम्म बुझ्न कोशिस गरिरहेको छु।
घरै घरको बाक्लो बस्तीमा एउटा ठूलो घर छ। मेरो घरको कौसीबाट त्यो घरको कौसी मात्र होइन, प्रत्येक कोठाहरु पनि राम्रोसँग देखिन्छ। घर झट्ट हेर्दा कुनै एक नेताको जस्तो देखिन्छ। तर, त्यो घर कुनै नेता अथवा ठूलो व्यापारीको नभई एक सरकारी कर्मचारीको हो। घरमा ती उमेरले मेरो हजुरबा जस्तो देखिने बुढा र उनका छोराहरु छन्।
छोराहरु आफ्नो काममा व्यस्त देखिन्छन्। जुन दिनदेखि उमेरले पाको ती बुढालाई नजिकदेखि नियाल्न खोजिरहेछु, त्यो दिनदेखि मलाई उनी मेरै हजुरबा जस्तै लाग्छ। साहेद मेरा हजुरबा आज हाम्रो सामु नभएर पनि होला।
बिहानको ठिक ९ बजे उनी अफिसको लागि टाईसुट लगाएर तयार हुन्छन्। उनको आफ्नै गाडी छ। दिनभरी अफिसको काममा व्यस्त हुन्छन् होला। बेलुका अफिसबाट फर्कीसकेपछि हरेक दिन ठिक सात बजे उनी एक कप चिया र हातमा एक खिल्ली चुरोट सल्काएर घरको कौसीमा उक्लिन्छन्।
चुरोटको खिल्ली दुई औलाले सम्माउन मिल्दासम्म तानी रहन्छन्। तर जब चिया आधा जति पिएका हुन्छन्, उनी चियाको गिलास नजिकैको टेबलमा बसाल्छन्। चियाको अन्तिम सर्को तानिसकेपछि उनी आफ्नो मुख यसरी बिगार्छन् कि मानौँ चिया एकदमै खल्लो छ। म सोच्न बाध्य हुन्छु, यदि उनीलाई गुलियो चिया नै मन पर्छ भने जानी-जानी उनी किन सधैँ खल्लो चिया बनाउँछन्?
चियाले खल्लो बनाएको जस्तो देखिने मुख मात्र होइन, एकछिनमा उनी आफ्नो चाउरी परिसकेको अनुहार झन्-झन् चाउरी पार्छन्। उनको पूरै अनुहार यति अध्यारो हुन्छ कि मानौँ अघि बलिरहेका सबै बत्तिहरु उनले निभाएका छन्। घरि बसी रहेको कुर्सीबाट उठेर आफ्ना हातखुट्टा तन्काउछन् त घरि यताउता हेरेर आफ्ना बुढा भैसकेका आँखा चाउरी परेकै हातले मिच्न थाल्छन्।
आधा-एक घण्टा कौसीको दैनिकी बिताईसकेपछि उनी आफ्नो किचेन कोठामा जान्छन्। बुहारीले पकाईदिएको खाना मिठो माने जस्तो गरेर खान्छन्। खाना खाईसकेपछि उनी आफ्नो सुत्ने कोठामा जान्छन्। त्यहाँ भित्तामा टाँसिएको एउटा ठूलो टिभि छ तर उनी त्यो कहिले खोल्दैनन्। प्रत्येक राति उनी सुत्नुभन्दा पहिले एक-दुई घण्टा जति कुन्नि के-के लेखिरहन्छन्।
लेख्दा लेख्दै उनी कौसीकै व्यवहार बारम्बार दोहोर्याउछन्। दुई-तीन खिल्ली जति चुरोट तान्छन्। बेलाबेला त्यो अध्यारो रातमा पनि झ्यालबाट बाहिर चिहाउन खोज्छन्। केही समय टोलाएजस्तो गरि बसी रहन्छन्। उनको यो दैनिकी देखेर मलाई अच्चम लाग्छ। हाम्रो घरमा आएको बेला उनी हाँसीखुसी भए जस्तो गरेर कुरा गर्छन्।
अफिस जाँदा टाईसुट लगाएर आनन्दको जिन्दगी बिताए जस्तो मुहार उज्ज्यालो बनाएर निस्किन्छन्। घरमा आएका पाहुना हुन् या आफ्नै घरका छोराबुहारीसँग उनी मज्जाले खुसी भए जस्तो गरेर कुरा गर्छन्। कौसीमा बिताउने दैनिकी होस् या आफ्नो सुत्ने कोठामा बिताउने रातको समय, उनी सकेसम्म एक्लै हुन्छन्। उनीलाई कसैले पनि देखेको हुँदैन्।
मैले हरेक दिन पछ्याउन थालेपछि एक दिन उनीले यो सब चाल पाएछन्। त्यसको भोलिपल्ट नै मलाई उनीले आफ्नो घरमा बोलाए। समय त्यही ठिक सात बजे। हातमा एक खिल्ली चुरोट र एक कप चिया। उनीले चिया वा चुरोट कुनै पनि अफर गरेनन्, कारण थाहा छैन्। चुरोट आधा जति तानीसकेपछि मलाई सोधे, ‘तिमी केही दिनदेखि मलाई नियालिरहेका छौँ हो?
मैले जवाफमा हो भनेँ। उनी हाम्रो घरमा बेलाबेलामा आइरहने भएर पनि होला मलाई उनीसँग कुरा गर्न कुनै संकोच थिएन। यति मात्र होइन जुन दिनदेखि म ती बुढाको चर्तिकला हेरिरहेको छु, त्यो दिनदेखि मलाई उनी आफ्नै हजुरबा जस्तो लाग्न थालेको हो।
उनीले चुरोट सकेर चिया आधा पlई मुख खल्लो बनाउदा मैले सोधेँ ‘चियामा चिनी छैन हो हजुरबा?’
एकछिन चुप लागेर जवाफ दिए। ‘चिया खल्लो होइन बाबु, मन खल्लो छ। मन नै खल्लो भएपछि चियामा जति चिनी हाले पनि खल्लो हुँदो रहेछ।’
कयौँ दिनदेखि मैले उनको सबै कुरा देखेको निश्चित भएर होला अब उनीले मसँग लुकाउने पर्ने बाँकी केही नभए जस्तो गरि आफ्नो दैनिकी सुनाउन सुरु गरे।
‘जुन दिनदेखि मेरी श्रीमतीले ती साना नाबालक छोराछोरीलाई छोडेर अर्कोसँग बिहे गरेर गएकी हुन्, त्यो दिनदेखि मेरा दिनचर्या यसरी नै बितेका छन्। मैले मेरा दैनिकी कसरी बिताई रहेको छु, त्यो तिमीले सबथोक देखिसकेउ।’
उनीले आफ्नो लामो जिन्दगीलाई यति छोटो उत्तरमा समेटेर जवाफ दिए। तैपनि मैले केही कुरा सोधेँ जस्तै: ‘हजुरले हाम्रो घरमा आएको बेला त यस्तो कुरा गर्नु हुँदैन् नि किन? यो उमेरमा पनि किन जागिर छोड्नु भएको छैन्? घरमा छोराबुहारी छन्, उनीहरुसँग पनि यस्ता कुरा गरेको कहिले सुनेको छैन्?’ आदि इत्यादि।
यो बेला उनीले अघिको भन्दा पनि छोटो उत्तर दिए र भने ‘म तिम्रो घरमा आएको बेला मेरा पीडा, कथाबेथा सुनौन मिल्दैन बाबु। मेरा घरकै छोराबुहारीलाई पनि यस्ता कुरा उचित लाग्दैन्। उनीले छोडेर गएको केही दिनहरुमा मैले मेरा अफिसका नजिकका साथीहरुसँग मेरो पीर, मर्का, पीडा, बेथा साट्न खोजेको हुँ किनकी मन भित्रको पीडा बाड्यो भने केही हदसम्म भए पनि हलुङ्गो हुन्छ सोचेर।
तर बदलामा उनीहरु हाँसेर मेरै कुरा काट्न सुरु गर्थे। मेरै खिल्ली उडाउँथे र भन्थे- एउटा मर्द भएर पनि जाबो श्रीमतीले छोडेको पीडा यति समय हुँदा पनि बिर्सिन नसक्ने? मेरा आफ्नै साथी भनौदाबाट पनि यस्तो प्रतिक्रिया आउन थालेपछि मैले आफ्ना सबै मनका कुण्ठा मन भित्रै राख्ने निर्णय गरेको हुँ।
म भित्रभित्रै जति जले पनि, जुन पीडामा बाचे पनि, सबै कुरा आफै भित्र राख्न सक्नु पर्छ किनकी म पुरुष हुँ। मेरा छोरा-बुहारीसँग मेरा कथा बेथा सुनाएर सामाधान हुने त् होइन। तिम्रो घरमा गएको बेला तिम्रो परिवारसँग पीडा सुनाएर पीडा भुलिने त् होइन। मेरा अफिसका साथीसँग मेरा दैनिकी सुनाएर म पहिलेको अवस्थामा फर्किने त् होइन। तर यी सब म पुरुष हुनुको नाताले म भित्रै कुण्ठित गर्न नपरेको भए मेरा दैनिकी एक कप खल्लो चिया र चुरोटमा बित्ने थिएनन् होला।
बेलुकाको खाना खाईसकेपछि छोराबुहारीले केही समय मसँग बिताएको भए मेरा रातहरु आफ्ना पीडा कपिमा उतारेर बित्ने थिएनन् होला। तर म पुरुष हुँ। मैले मेरा पिरमर्का सबथोक मन भित्र कुण्ठित गर्नु पर्छ। यो समाजले बसालेको नियम हो। यो समाजले बसालेको संस्कार हो।’ उनी धेरै पीडा पोख्ने मुडमा देखिन्थे तर रात परि सकेकाले म आफै उनीबाट बिदा मागेर आएँ भोलि फेरि भेट्ने वाचाका साथ।