कुरा पाँच वर्ष अगाडिको हो। सन् २०२० को सुरुतिरको। कोभिड-१९ भाइरसले संसारलाई अत्ताएको बेला। अझ प्रष्टसँग भन्नुपर्दा, कोरोनाको माहामारी फैलिएको बेला।
नेपालमा पनि लकडाउन भएको दुई महिना जति भएको थियो। सवारीसाधन चल्दैन थिए तर अचम्म सडक दुर्घटनमा ज्यान गुमाउनेको संख्या ५० बढी भइसकेको थियो। सोही दुई महिनाको अवधिमा कोरानाको कारणले ज्यान गुमाउनेको संख्या बीसको हाराहारीमा थियो भने आत्महत्याको कारणले ज्यान गुमाउनेको संख्या एक हजार बढी।
सरकारले जति-जति लकडाउन थप्दै जान्थ्यो, त्यति-त्यति कोरोनाका बिरामी थपिँदै जान्थे। त्यसैले लकडाउन कहिले सकिन्छ अर्थात मेरो टेन्सन कहिले सकिन्छ केही टुंगो थिएन।
त्यतिबेला मैले आत्महत्या त गरिसकेको थिइनँ तर आत्महत्या गर्ने सोच दिमागमा आइरहन्थ्यो। घरको छतमा जान्थेँ। यही छतबाट हाम फालौँ कि? छतबाट हाम फालेर त के मरिएला? उ त्यो डाँडामा जान पाए पो। डाँडा तर्फ फर्केर सोच्थेँ। लकडाउनको समय थियो।, हाम्रो घरको छतबाट बाटामा आर्मी पुलिसले गस्ति गरिरहेको राम्रोसँग देखिन्थ्यो। एकछिनलाई तिनीहरुको बन्दुक पेस्तोल माग्न पाए...।
दारी काट्न लाग्दा सोच्थेँ... यहि ब्लेडले हात काटौँकी? होइन, योभन्दा त चक्कुनै ठिक। मेरो दिमागले नसोचको केही हुन्थेन। नाम्लो, दाम्लो, छतमा लुगा सुकाएको डोरी, विभन्न तारहरु, विष, आगो, नदी, ताल, पोखरी, झुण्डिने, विषखाने, हामफाल्ने, डुब्ने ...कति हो कति।
आमाको पटुकी, बाको ठूलो जुत्ताको लामो तुना, छोरोको टाइ, छोरीको रिबन, बुढीको सल। याहाँसम्म कि बिहान ट्वाइलेट जानेबेला जनै काँधमा राख्ने बेलामा सम्झिन्थेँ, हो... यो पो ठिक हुन्छ कि।
धत् आत्महत्या त कायरले गर्छन्।
अँ... सानो सर्पको बच्चा मार्न त कति शाहस चाहिन्छ। यो घुन पुत्ला नलागेको शरीर । होइन... आत्महत्या गर्नु त गैरकानुनी हो, अपराध हो।
हुन्छ अपराध.... कुन-कुन विदेशी मुलकतिर त इच्छा मृत्युको प्रावधान छ रे। इच्छा मृत्यु र आत्महत्या त उस्तै उस्तै त हो नि। यदि अपराध भएको भए यस्तो प्रवधान राख्थे र त्यस्ता विकशित मुलुकले?
मेरो दिमागले यस्तै कुरा सोच्दै थियो। कुन दिन हो बुढीको सलको पासो लगाई हालेछु। ठ्याक्कै मिति त याद भएन। म मरिसकेको मानिसलाई किन चाहियो तिथि र मिति। श्राद्ध गर्नेलाई थाहा होला। हुन त, आत्महत्या गर्नेको श्राद्ध नगरे पनि हुन्छ रे तर मेरो भने गर्दा रहिछन्।
म मरेको दिनदेखि हो मैले यमराजसँग बिलौना गर्दै बिन्ति बिसाउन लागेको। हे यमराज, मलाई मेरो घर परिवारको साह्रै माया लागेको छ एक पटक भए पनि भेट्न पठाइदिनुहोस् भनेर। म जति रोए कराए पनि अहँ! यमराजको मन पग्लिनको त कुरै छाडौँ, कानमा बतास लागेन। मेरो मन भने अत्ताल्लिएको अत्तालियै। मर्नुपूर्वभन्दा बढी।
‘बाबु यति वैँशालु उमेरममै ज्यान फालेछौ। समस्या त जीवनको अभिन्न पाटो हो। मानिसलाई परिपक्व गराउने माध्यम। कुनै पनि समस्याले समाधान पनि बोकेरै ल्याउँछ। तिमी आत्तिनु हुन्थेन। म अशिक्षित समाजमा जन्मेको मान्छे त इन्टरनेटको जमना पनि देखेर पृथ्वीमा पूरा उमेर बाँचेर आएँ। तिमीले त झन् के के देख्थ्यौ।
मेरो चौरासी पूजाताका मेरा दामलीका पनाति पानातिनी भर्खर जन्मिन थालेका थिए। मेरा त जवान जुरुक्कै बोकेर जग्गे घुमाएका हुन्। तिमीले पनि आत्महत्या नगरेको भए मैले जस्तै सबैकुरा देख्न भोग्न पाउने थियौँ।’
नेपालबाट मरेर आएका एकजना बाजेले कुरा सुनाउदै हुनुहुन्थ्यो।
‘आत्महत्या नभन्नुस बाजे। इच्छामृत्यु भन्नुस्। मेरो ईच्छामृत्यु हो। आत्महत्या र इच्छामृत्यु फरक कुरा हो। इच्छामृत्यु रोजेको हुँ मैले।'
स्विजरल्याण्डतिरबाट मरेर आएकी एक जना बुढी बज्यैले मलाई रोक्दै भन्नुभयो। 'हाम्रो देश स्विजरल्याण्मा छ, इच्छामृत्यु सम्बन्धी कानुन। दीर्घरोग लागेर सञ्चो नहुने अवस्थामा भएको, बाच्दा आफूलाई पनि कष्ट हुने, धेरै बुढो उमेर भैसकेको मानिसले घरपरिवारको सहमतिमा डाक्टरको सहयोग सिफारिस लिएर इच्छामृत्यु रोजिन्छ। त्यसैले इच्छामृत्यु र आत्महत्या फरक हो।’
म बुढीबज्यैको कुरामा कन्भिन्स भएँ किनभने मैले घरपरिवारको अनुमती लिएको थिइनँ। बज्यै खुसी हनुहुन्थ्यो। मलाई औडाहाका औडाहा।
पाँच वर्षसम्म लगातार यमराजसँग मैले घरपरिवार भेट्न जान पाउँ भनी गरेको बिलौना र घरपरिवारले मलाई गरेको सम्झनाको चेपुवामा परेर यमराजले मलाई आज मेरो श्राद्धको तिथि पारेर एकदिनको लागि छुट्टी दिए। त्यो पनि जम्मा एक पटकको लागि मात्र। बल्ल पृथ्वीमा झर्ने अवसर पाएँ बिना शरीरको मैले।
‘ए... आत्महत्या त गरिस् तर कारण के हो? पढेर आधा सकिन लागिसक्यो तर खै कारण नै खुल्दैन त?’
‘पर्खनु होस् पाठकवृन्द नआत्तिनु होस्। मैले त्यही भन्न लागेको छु।’
कारण खासमा केही पनि होइन। आफूसँग भएको कुरामा खुसी नहुने। जे छैन त्यसमा टाउको दुखाउने। समस्याको समाधान कसरी गर्नेभन्दा पनि मलाई समस्या पर्यो भनेर पिर मानेको मानै गर्ने।
गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड भेट्न नपाएर, किस्ता तिर्न नसकेर, ब्याज तिर्न नसकेर, लकडाउनले गर्दा महिनौँसम्म घरमा सपरिवार थुनिएर बस्नु पर्दा घरेलु हिंसा सहन नसकेर, घर चलाउन नसकेर आदि यस्तै-यस्तै उत्तर आउथे फलानोले किन आत्महत्या गर्यो भन्ने प्रश्नमा। तर मेरो विचारमा मान्छेले जिवन जिउने क्रममा आएका समस्याहरुबाट श्रृजित तनावहरुको उचित व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छ।
आफूसँग भएको कुरामा त खुसी नै छैन मान्छे... ल तपाई एकछिन कल्पना गर्नुहोस् त। कुनै दुर्घटनामा परेर तपाईको हात कुमैदेखि काटियो। त्यतिखेर तपाईले महशुस गर्नु हुनेछ। हे भगवान् मेरो हात जस्ताको त्यस्तै बनाईदेउ। म जस्तो खुसी त संसारमै कोही हुनै छैन तर तपाईलाई अहिले कुनै खुसी छैन हात हुनुमा।
तपाईले कल्पना गर्दा मात्र पनि झसंग हुनु भयो। मनमनै हो त नि भन्नुभयो। मैले साँच्चिकै भोग्दा कस्तो भयो होला? एउटा हात मात्र हो र? दुवै हात। दुवै हात मात्र हो र? चार हातखुट्टा सबै मात्र होइन पूरै शरीरै सुइँकाइदिए मैले। हारे मैले जिन्दगीसँग। नाम बिजय भएर हुन्छ र?
मैले आत्महत्या गर्दा ताका नेपालमा लकडाउनको अवस्था थियो। व्यापार व्यवसाय ठप्प थियो। म सानोतिनो व्यापार व्यवसाय गरेर घरपरिवार चलाउने मान्छे। कसरी घर चलाउनु। सटर भाडा कसरी तिर्नु। घर बनाँउदा लिएको ऋण कसरी तिर्नु। आमाको प्रेसर, बुढीको थाइराइड, बाबाको दमको औषधी उपचार कसरी गर्नु?
साथिभाइसँग सरसापाट गरौँ भने घर बनाउने बेलामा सापट नमागेको कोही छैन। बुढीका गहना पनि घर बनाउँदा बेचियो। यस्तो लकडाउन होला भन्ने के थाहा? आमाका गहना मागौँ भने घर चलाउन नसकेर आमाको गहना माग्ने कस्तो नामर्द छोरो पाइछु भन्नुहोला। भन्नुत हुन्थेन, सोच्नु होला।
कुन समस्याको समाधान गर्नु? एउटा समस्या समाधान गर्यो, दुई वटा समस्या निस्कन्छ, दुई वटाको गर्यो, फेरि चार वटा।
अरुणा लामाले गाएको गितले भने जस्तो एकातिर टाल्यो, अर्कोतिर फाट्छ।
आ... कति टेन्सन लिएर बाँच्नु।
एक दिन त मर्न पर्ने जिन्दगी। यसै मर्न पर्ने जिन्दगी, उसै मर्न पर्ने जिन्दगी। कति औडाहा भएर बाँच्ने। यस्तै सोचेर पासो लगाएँ।
यसरी आत्तिनु, खडबडी हुनु, औडाहा छुट्नु पनि एक प्रकारको रोग रहेछ। अमेरिकातिरबाट मरेर आएका साइक्याट्रिक डाक्टरले भनेपछि बल्ल थाहा पाएँ। मलाई त यस्तोलाई पनि रोग भन्छन् भन्ने त शंका पनि थिएन नत्र त पक्कै डाक्टर भेट्थेँ होला।
आज बिहान मेरो श्राद्ध हुदैँ रहेछ। म छोराछोरी नजिकै गएर बसेँ। मर्नु अघि पनि छोराछोरीको माया सबैभन्दा बढी लाग्थ्यो। मरिसकेपछि पनि तिनीहरुकै लाग्दो रहेछ।
‘दाइ लकडाउनको बेला मेरो साथी रोजीको बाबा विदेश हुनु हुनुहनथ्यो। उसले मलाई तिमीहरु त कति, भाग्यमानी यस्तो महामारीको बेला सपरिवार सँगै छौ भन्थी तर बाबाले हामीलाई त्यही बेलामा सदाको लागि छोडेर जानुभयो।’
छोरीले आफ्नो दाइसँग गरेको बिलौना देखेर म भक्कानिएँ। खुट्टा समातेर माफी मागेँ। अबदेखि कहिले पनि छोराछोरीलाई देख्न पाउदिन। म धेरै रोएँ। छोराछोरीलाई काखमा लिएँ। म्वाँई खाएँ। उनीहरुलाई अत्तो न पत्तो।
छेउमा बा-आमा बसीरहनु भएको थियो। उहाँहरुले के सोचिरहनु भएको होला भनेर म उहाँहरु नजिकै बसेँ। कस्तो अच्चम, बा-आमा दुवैले सोचेको कुरा एउटै।
‘बाबु… बा-आमा मरेको छोराछोरीलाई सुनाईदिनु भन्छन् तर छोराछोरी मरेको बा-आमालाई कहिलै नसुनाउनु भन्छन् तर हामी कति अभागी रहेछौँ। तिम्रो मृत्यु सुन्ने मात्र होइन, यिनै आँखाले देख्यौँ। हामीलाई मात्र थाहा छ बाबु मुटु चुँडालेर फालेपछि सास फेर्न कति गाह्रो हुन्छ। तिमी सानो हुँदा लाग्थ्यो तिमी कहिले बोल्न सक्ने हौला र तिमीले आफ्ना रहर अनि समस्या हामीसँग भनौला।
तिमी ठूलो मात्र होइन, छोराछोरीको बाबा पनि भैसकेका थियौ। तिम्रो काँध हाम्रो साहारा हुनेबेला हाम्रो हात छुटाएर काहाँ गयौ? आफैले आफैलाई सिध्याएर..?
तिमीलाई के समस्या थियो हामीलाई भन्नुपर्थो। किन टाढाको मान्यौ जन्म दिने बा-आमालाई पनि। लकडाउनताका सबैको व्यापार व्यवसाय ठप्प थिए। तिमी किन आत्तियौ। हामीले जोडेका जग्गाजमिन, गरगहना, वृद्ध भत्ताबाट बचाएको नगद सबै तिमीहरुकै लागि त हो नि।
तर हामीले जोडेका सुन पित्तलसरी, जग्गा-जमिन धुलो माटोसरी, नगद कागजसरी भए। कुनै अर्थ भएन। आखिर सन्तानको दु:ख-सुखमा काम लाग्ला भनेर हो पूर्खाले सम्पति जोड्ने।’
बा-आमा मलाई माफ गर्नुहोस्। पृथ्वीमा हजुरहरु पहिला आउनु भएकाले विधिवत् रुपमा हजुरहरुलाई बिदाई गर्नु अनि हरेक वर्ष श्राद्ध गर्नु मेरो कर्तब्य हो तर मैले गर्दा सबै उल्टो भो।
मैले खुट्टा ढोगेर माफी मागेँ तर मरिसकेपछि माफी माग्नुको के अर्थ?
बुढीका आँखा यताउति गर्दै थिए। मैलाई त खोजेकी होली भनेर नजिकै गएर बसेँ तर फर्कैर हेरिन।
कलेज जाँदा आउँदा एक अर्कालाई फर्केर हेरेको दुई वर्षपछि हो घरपरिवारको सहमतिमा हाम्रो धुमधाम बिहे भएको। कम्ति हेन्सम थिएँ र म... हुन त अरु राम्री-राम्री केटीले पनि मलाई फर्की-फर्की नहेरका होइनन् तर यही कालीमा मन बस्यो। रुप आफैसँग भएर होला सायद, मेरो प्राथमिकतामा असल गुणमा पर्यो।
जिस्काउने पाराले कुममा प्याट् हानेँ। अझै फर्किन्न। कस्ती घमण्डी भाकी... ए फेरि बिर्सिएछु। मसँग त शरीर नै छैन।
तर्पण दिने बेला भाथ्यो। के सोचेकी रहिछे भनेर यसो बुझेँ।
‘सात जुनिको वाचा गरेर बिहे गर्यौ। एक जुनि पनि धान्न सकेनौ। आपतको समयमा विपद थपेर गयौ। धोकेबाज... निष्ठुरी…’
मलाई झन्नक रिस उठ्यो। थुक्क नाटके... म मर्नु अघि यसले मलाई गर्ने माया त नाटक पो रहेछ। श्राद्धको दिन त मलाई गाली गर्छे, अरु दिन त झन् के गर्दि हो। असल गुण भएकी केटी भनेको त... गालामा एक थप्पड बजाई हालेँ मैले तर उसलाई हावाले छोएको जति पनि भएन।
श्राद्ध सकिएपछि बुढीले सबैलाई खाना पस्किई। मेरो श्राद्ध भएकाले खानाका परिकारहरु सबै मलाई मन पर्नेनै थिए। बाले सानो प्लेटमा सबै परिकार राखेर मेरो फोटो अगाडि राखिदिनु भयो।
मेरो माया नमाने पनि परिवार सबैको माया मानेकी छ। मैले भद्रगोल छोडेर गएको व्यवहार सम्हाल्दै घर धानेकी छ। आफ्ना वैँशका रहरहरु खुम्चाएर हाम्रो परिवारको जिम्मा लिएकी छ। मेरो रिस विस्तारै बस्यो।
सबैले खाएर उठेपछि बुढीले आफूलाई टन्नै खाना पस्की। आहार त बढेछ आजकाल तर खासै मोटाकी छैन। आज बिहानभरी श्राद्ध भएकाले खाना खान अबेला भयो, भोक पनि लाग्यो होला।
लौ, खाना पस्केको थाल त जुरुक्क उचालेर मेरो फोटो अगाडि पो राखी। अघि बाले मेरो फोटो अगाडि सानो प्लेटमा राखिदिएको खानाले बुढीलाई चित्त बुझेन छ सायद। आफूले डाडु, पन्यू, कराई, कुकर सबै पुछपाछ पारेर कचौरामा राखेर खान थाली।
म भक्कानिए। तिमी आफू भौके बसेर के गरेको हो यस्तो? म नमर्दै त तिमीले धेरै पटक यस्तो गर्थ्यौ। म बिना शरीरकोले खाना कसरी खान्छु र? न त कागजको फोटाले नै खान्छ।
मैले गल्ति गरेँ लक्ष्मी। मैले जानिनँ, म मरेर समस्या समाधान होइन, समस्या झन् बढ्छ भनेर। आखिर म मर्दैमा बैँकको ऋण, साथीभाइको सापट, बच्चाको स्कुल फि आदि तिर्न नपर्ने त होइन। सारा व्यवहार तिम्रो टाउकोमा थोपरेर म मरेँ। तिमीले भनेजस्तो म निष्ठुरी धोकेबाज मात्र होइन, पापी, हत्यरा र अपराधी पनि हुँ। यति असल श्रीमतीलाई बुझ्न सकिनँ।
हुन त मलाई रमेशले सम्झाएको थियो। तेरो ऋण त के ऋण, मेरो त तेरोभन्दा तेब्बर छ। तेरो त घरको ऋण मात्र तिरे पुग्छ। मलाई त गाडीको किस्ता पनि तिर्नु पर्छ। गाडी झिकीहालेँ। लकडाउन होला भन्ने के थाहा? तँ किन आत्तिन्छस् विजय। असल श्रीमती पाएको छस्। भगवान जस्ता बा-आमा हुनुहुन्छ। तामाका मुना जस्ता ज्ञानी छोराछोरी। मेरो त केही पनि छैन। दिनरात बुढाबुढीको कलह मात्र।
रमेश मेरो बाल्यकालदेखि म मर्दाको दिनसम्मको साथी। दुवै जना साना व्यापारी। मैले मलाई बिजय भनेर चिनेदेखि नै उसलाई रमेश भनेर चिन्छु। उसको बुवा हामी सानै छँदा बित्नु भएको हो। आमा पनि रमेशको बिहे भएको तीन वर्षपछि बित्नु भयो। नातिनातिना हेर्ने रहर पूरा नहुँदै।
म मर्दा ताका रमेशको बिहे भाको पाँच वर्ष भएको थियो तर बच्चाबच्चि भएका थिएनन्। त्यसैले होकी सायद उसले मलाई बेलाबेलामा भन्ने गर्थ्यो, बिजय तिमी कति भाग्यमानी।
रमेशलाई भेट्न उसको घरतिर लागेँ। मेरो अगाडिबाट एउटा कार घुईँकियो। मैले रमेशको गाडी नम्बर चिनिहालेँ। लकडाउन हुनभन्दा अलिकति अगाडि किनेको, आज पाँच वर्ष पछाडि पनि कस्तो नयाँ। रमेश घर पुग्नभन्दा पहिला नै म हावाको बेगमा उडेर उसको घरको गेट अगाडि उसलाई कुरिरहेँ।
रमेश गाडीबाट ओर्लियो। के छ रमेश भनेर अंगालो मारेँ। उसले थाहा नै पाएन। रीता पनि गाडीबाट ओर्लिइन्। ओहो... बुढाबुढी सँगसँगै। लकडाउनताका त यिनीहरुको सँगै हिड्ने त कुरै छाडौँ, भेटे पनि झगडा सुरू। कम्ति निहुँ खोज्थ्यो रमेशले बुढीसँग। केही निहुँ पाएन भने पनि उसिन्नु पर्ने अण्डाको अम्लेट बनाईस्। अम्लेट बनाउनु पर्नेलाई उसिनिस् भनेर पनि निहुँ खोज्थ्यो।
रमेशले केको फाइल बोकेको रहेछ भनेर जिज्ञासा लाग्यो। उसको हातबाट थुतेर भुइँमा खसालेर पढ्न थाले। ए... पाँच वर्ष भित्रमा घर र गाडीको ऋण चुक्ता गरेछ साथीले।
‘रीता तिमीले किन मेरो हातबाट फाइल थुतेर भुइँमा खसालेकी? बदमास काली... नजिस्किउन’ रमेशले रीतातिर फर्केर भन्यो।
हैन, मैले फाइल छोएकै छैन। रीताले अचम्म मान्दै भनि।
‘ओहो... हावाले कति छिटो-छिटो फाइलको पन्ना पल्टाएको हो’ रमेशले भुइँमा खसेको फाइल उठाउदै भन्यो।
रमेशले बुढीलाई गाली पनि कस्तो मायाको मोडेलले गरेको हो। लकडाउन ताका यही घटना भएको भए समाज खेदिने गरी झगडा हुन्थ्यो होला बीच बाटोमै यी दुई बुढाबुढीको तर आज बुढीले नै फाइल तानेर भुइँमा खसालेकी हो भनेर रमेशलाई पक्का भए पनि रीतालाई गाली गर्न त परै जावस्, उल्टै आफैले टिपेर कागजपत्र मिलायो।
त्यतिबेलै दुई र चार वर्षका देखिने दुई जना बच्चाबच्ची बाबा-मामु भन्दै गेटतिर आए। मैले बुझिहालेँ रिता-रमेश खुसी देखिनुको कारण।
रमेशले नआत्तिएर सबै समस्या बाँचेरै सेटल गर्यो जबकी मेरोभन्दा उसको समस्या धेरै थिए। उसले धर्य गर्यो बाच्यो। खुसी छ। म आत्तिएँ। आत्महत्या गरेँ, दुखी छु।
सबैतिर हेरेँ। अपांग, दृष्टिविहीन, असहाय लगायत अरु सबै त बाँचिरहेका छन्। दुख-सुख बिना को मान्छे हुन्छ र? म किन आत्तिएँ होला।
जेलनेल भोगेका, भविष्यको कुनै ठेगाना नभएका, सन्तान सुख प्राप्त नभएका, ठूला-ठूला रोग लागेर मृत्युको मुखमा पुग्दा पनि दरिलो आत्मविश्वास सहित मृत्युलाई जितेर संसार हाँकेका छन् मान्छेले। मलाई के नपुग्दो थियो र? घर चलाउन पनि नसकेर जिन्दगीसँग हारेँ।
आत्महत्या गरेर टेन्सन साफ होइन, शरीर मात्र साफ हुँदो रहेछ। हत्या त शरीरको हुँदो रहेछ, आत्माको होइन। नाम मात्र आत्महत्या।
यी सबै कुराको बोध म मर्नु अगाडि भएको भए...
बेकारमा आत्महत्या गरिएछ।
यमराजले दिएको एक दिनको छुट्टी एकछिनमा सकिहाल्यो। मलाई फर्कन करै लाग्यो। पश्चातापमाथि हिनताबोध थपेर। औडाहामाथि व्याकुलता थपेर...