कविता
उर्लदैछिन् प्रकृति पनि,
माधुर्यता हराएको देख्छु,
लत्रिएका उमंगसँगै,
खर्चिएका सपनीको,
बगावत देख्छु,
खुम्चिएकी विज्ञानका ज्ञाता अचेल,
भाइरस र जिवाणुका,
छलाङ् देख्छु,
घरमै बन्दी जीवन सकस हुन्छ क्यारे,
देह त्यागको,
लामलस्करनै देख्छु,
नियन्त्रित हुनुपर्छ अचेल भन्छन्,
एउटा मास्क पनि,
बाध्यताको लगाम देख्छु।
कार्यालय र दोबाटोमा अचेल,
लुकेका मुस्कान उदाङ्ग देख्छु,
ट्राफिकको डरले,
गाडीको सिटबेल्ट लगाए जस्तै,
मास्कले पनि,
खल्ती र चिउँडोको शोभा बढाएको देख्छु,
अचम्मका समाचार,
सुर्खी बन्छन् अचेल,
आफ्ना भन्नेहरुनै दोषी करार देख्छु,
मर्दा रित्तै जाने जिवन,
पैसाकै पर्दामा रमाएको देख्छु,
के गर्छौ पुस्तौलाइ पुग्ने धन?
सर्वहारा भन्नेहरुले पनि,
बेजोड धन कमाएको देख्छु।
लर्खराएको अर्थतन्त्रमा पनि,
वर्गरुपी विभेद देख्छु,
बढ्दैछ गरिब र धनीबीचको खाडल,
भोका र नाङ्गा मौलाएको देख्छु,
बुद्धिजिवी भन्नेहरु त्यसै बौलाएको देख्छु,
अनेक खेला देख्छु अचेल, अनेक मेला देख्छुु।