बिहानको त्यस्तै ६ बजेको थियो सायद, भाइबरमा मेसेज आएको नोटिफिकेशनको संकेत आयो। उ हतारमा थिई, झस्किई। मनमनै सोची ‘को होला?’
बिहान कलेज पढाउने कार्य थालेको त्यस्तै दुई वर्ष जति भएको थियो होला र जाडो महिना ६:३० बजेको पहिलो पिरियडले साह्रै धपेडी बढेको थियो। मोबाइलमा हेरी, नयाँ नम्बरबाट मेसेज आएको रहेछ।
‘हेलो जुनु म्याम, सन्चै हुनु हुन्छ?’
एकछिन सोची ‘को होला? नाम नै लिएर मेसेज त पक्कै नचिनेको व्यक्तिले त गर्दैनन्।’
उत्तरमा ‘उम् सन्चै छु। मैले त चिनिनँ हजुरलाई, नाम पनि सेभ गरेको छैन रहेछु।’
उताबाट ‘होर? म सरद, बिर्सनु भयो? एक वर्ष अघि हामी फेसबुकबाट चिनाजानी भएका थियौँ। म व्यापारी हुँ। त्यसैले नेपाल बाहिर आउने जाने हुन्छ। म ६ महिना अगाडि थाइल्याण्ड जान लाग्दा फोन गरेको थिएँ, हजुरले उठाउनु भएन।’
उ ढुक्क भई चिनेकै मान्छे रहेछ।
‘मैले नै बिर्सेको हुँला’ उसले उत्तरमा भनि ‘उम् बिर्सिएछु सायद, सरी। अनि अरु के छ हजुरको?’
‘केही छैन, व्यस्त छु हेर्नु न… नयाँ वर्ष सन् २०१७ को शुभकामना भन्नलाई मेसेज गरेको थिएँ।’
‘धन्यवाद यहाँलाई पनि।’
‘मैले मेरो मोबाइल नम्बर पनि दिएको रहेछु हजुरलाई भनेपछि मेरो सम्झने क्षमतामा कमि आएछ सरद जी’ .....
त्यस दिनपछिको कुराकानीले विस्तारै दिनमा अलि बढी नै व्यस्त हुन थाले दुवै जुनु अनि सरद।
एक छोरा र एक छोरीकी आमा जुनु, लगभग ४ वर्षदेखि श्रीमानसँग अलग भएर बसेकी थिई। पेशाले उ कलेजमा पढाउथी। एक्लो संघर्ष र छोराछोरीको खर्च जुटाउन लागिपरेकी उनी, लगभग आफ्नो लागि बाँच्न बिल्कुलै बिर्सेकी थिइन्।
सरदसँगको कुराकानीले फेरि एकपटक आफ्नो लागि पनि बाँच्ने रहर जाग्यो। उता सरदको पनि घर बिग्रिएको र एक्लो भएको कुरा थियो। दुवैले एकअर्काको सुखदुखमा साथ दिने वाचा गरे। सरदको घर काठमाडौँमा छ अनि व्यापारको सिलसिलामा प्रायःजसो जिल्ला बाहिर नै बस्ने कुरा गरेको थियो।
चिनजान, एकअर्कालाई साथ दिनेसम्मको गाढा भए पनि एकअर्कालाई आमुन्ने सामुन्नेबाट भेटेका थिएनन्। सरद सधै कहिले कुन जिल्लामा त कहिले कता भनेर व्यस्त रहन्थ्यो।
करिव ४ महिनापछि सरदले जुनुलाई भेट्न काठमाडौँ आउने कुरा गर्यो। उ महेन्द्रनगरबाट काठमाडौँं आई एक साँझ जुनुलाई भाटभटेनीको हिमालयन जाभामा कफि खाउँ, भेट गरौँ भन्यो। त्यो दिन जुनु निकै खुसी थिई। जिन्दगी रंगिन चलचित्रको रंगिन पाना झै लागेको थियो।
दुवैको भेट भयो, कफि खाए। सुन्दर भविष्यको योजना बनाए। जुनुलाई लाग्यो सरद कति भलादमी मान्छे। यत्रो महिनापछिको भेट एउटा कफि सपमा बसेर मिठा-मिठा कुरा गरी दुई घण्टा बितायो।
जुनुलाई एक्लो देखेर धेरैले अप्रत्यक्ष रुपमा घटिया प्रस्ताव राख्नेको कमि थिएन। ती ब्वासाहरुको माझमा सरदको त्यो साथलाई एकदम फरक पाई, उसमा कुनै कुराको बासनाको सानो रुप पनि झल्किएन। दुई दिनको काठमाडौँको बसाईपछि उ फर्कियो महेन्द्रनगर।
दुई जनाको हरेक आधा घण्टामा कुरा हुन्थ्यो। दैनिक क्रियाकलापको बारेमा। सानो-सानो कुराहरुको जानकारी एकअर्कालाई हुन्थ्यो।
एकदिन सरदले भन्यो ‘जुनु तिमी मलाई कति माया गरछ्यौ?’
जुनु- ‘त्यसको सीमा छैन सरद। सायद तिम्रो ज्यान बचाउन परे मेरो ज्यान दिन तयार हुन्छु।’
त्यतीखेर जुनुलाई आफ्नो छोराछोरीको भन्दा नि सरदको बढी माया लाग्थ्यो। सरदको मिठा कुराले उसलाई जे गर्न पनि तयार छु भन्ने निचोडमा पुर्याएको थियो।
सरद्- ‘तिमीले मेरो लागि ज्यान दिन पर्दैन जुनु, एउटा कुरा गर न है?’
‘के कुरा भन न सरद?’
सरद- ‘मलाई मेरो प्रेमिका वा श्रीमतीले मेरो अगाडि अरुसँग सहबास गरेको हेर्न मन छ। मेरो यो सपना हो। मलाई माया गरेर मेरो श्रीमतीले यो त्याग गर्न सकी भनि म जिउँदै स्वर्ग पुग्थेँ।’
जुनु अवाक् भई, केही बोल्न सकिन। दुई दिन कुरा गरिन तर सकिन। फेरि उसले भनि ‘म तिमी बिना बाँच्न नै नसक्ने भईसकेकी रहेछु। म सायद तिमी खुसी हुन्छौ भने नग्न भई बाटोमा कुद्न नि तयार छु।’
यी कुरा हुँदा लगभग जुनु र सरदको चिनजान भएको डेढ वर्ष भैसकेको थियो। यो डेढ वर्षमा उनीहरुको भेट मात्र मुस्किलले दुई पटक। सरद पटक-पटक काठमाडौँ आउथ्यो तर जुनुलाई भेट्ने समय नै हुँदैन थियो। जुनु त्यही सम्झिथिई कि उ व्यस्त छ।
अरु जुनुलाई सिधै शारीरिक सम्बन्ध राख्ने प्रस्ताव राख्थे भने सरद अरुसँग राख्न प्रस्ताव राख्थ्यो। सरद बेलाबेला जुनुको अर्ध नग्न तस्बिर पठाउन कर गर्थ्यो। जुनु उ खुसी हुन्छ भनि यो सब गर्थी।
एकदिन सरदले अर्को कुरा माग्यो।
‘जुनु तिमी केटीसँग पनि सम्बन्ध राखन, मलाई कति हेर्न मन छ।’
जुनु स्तब्ध भई। ‘के हो यो? मायाको नाममा म कुन दिशा तर्फ मोडिदै छु’ उ यति अन्धो भई कि उस्को मनले एउटा कुरा र दिमागले अर्को कुरा भन्दै थियो।
यस्तै सिलसिला एकदिन सरदको एउटा केटी साथी जसलाई उस्को एकदम मिल्ने साथी भनेर चिनाएको थियो, उसले कुरै कुरामा भनि- ‘जुनु, सरदको त अर्को पनि छ काठमााडौँमा। एउटा महिला जस्को छोरी छ र उस्को सम्बन्ध विच्छेद भर्खरै भएको हो। जसलाई उ एकदम माया गर्छु भन्छ।’
जुनु झसंग भई र तुरुन्तै मेसेज गरि र सोधी यो विषयमा। सरदले सजिलै जवाफ दियो ‘हो, मैले भन्न नसकेको तिमीलाई। म कहिले भनौँ भन्ने सोचेको थिएँ। एउटा महिला छ जोसँग मेरो सम्बन्ध रह्यो। अहिले त्यो महिलाले मलाई ब्ल्याकमेल गर्छे कि उसँग बिहे नगरे मर्छु भन्छे। दुई पटक भिडियो कल गरेर पासो पनि लगाई सकी, मलाई त्यो महिलाबाट उम्कन मद्धत गर न जुनु।’
यो भन्दाभन्दै जुनुको मन फेरि बिक्री भयो सरदको बोलीमा। उसको हरेक बोलीमा लिलाम भएकी जुनुलाई बल्ल थाहा हुँदै थियो सरदको वास्तविकता। अनेकौ पर्खाइपछि पनि न सरद जुनुको नजिक भयो, न उ नै जान सकी।
वास्तविकता यो थियो कि, त्यो अर्की महिला पनि जुनु झै सरदको माया जालमा परेकी निरिह शिकार थिई। तीन वर्षसम्म जुनुले कुरी। रोइ, कराई सरदसँग एक पल भेट्न। कति आँसु बगाई र उस्को नभेट्ने बाहाना पनि पत्याउँदै गई।
के यो माया हो या मानसिक रोग? र यो रोग भए कस्तो रोग हो? हरेकलाई माया गर्छु भन्दै रुवाउने, पागल बनाउने र उस्को हरेक प्रस्ताव स्विकार्ने बनाउने। के हो यो?