कविता
लु हेर कान्छा,
त्यता हैन यता हेर जाबा
सिंहदरबार भन्या यही हो
यता उता त जंगल पनि छैनन् त
हाम्रा गाउँमा जस्तो
ए! लाटा
यो ठूला बडाको अड्डा हो
यहीदेखि देश चल्छ
हो र बा!
अनि किन चाहि आफू खुसी चल्न नसक्न्या
यी हात नभएका, खुट्टा नभएका
लाचार मानिस
कसोरी आएर बसे त यहाँ?
यो बडेमाको दरबार भित्र
सिंह बस्छ्न् कि मानिस?
ओहोरदोहोर, ओसारपसार त
मानिसको भैरहेको छ त
बा! अनि मलाई यो देखाउन किन ल्याएको?
गाउँ भनेको के हो?
सहर भनेको के हो?
राजधानी भन्या के हो?
राजनीति भनेको के हो?
हो, यी सबको उत्तर खोज्लास्
र यो सहरमा बाच्न सिक्लास् कि भनेर
हा हा हा हा…
तेरो बुद्धि फिरोस भनेर नि लाटा
लौ हिड् जाउ! भोक लाग्या छैन?
छ नि! क्याउ क्याउ गरिसको पेट
हो, यसलाई रेस्टुरा भन्छ्न्
छिर भित्र, त्यो खाली कुर्सीमा बस्दै गरेस्
म शौचालय गएर आउछु
हस्, हुन्छ
के ल्याउ सर हजुरलाई?
पानी पिउदै गर्नुस् है,
भन्नुस् त हजुरको अर्डर?
बा, हेर्नुस त वाहाँले मलाई सर भन्दैछ्न्
म, दुई हजार बहत्तरमा एसएलसी फेल भएकोलाई
यस सहरमा काम खोज्न आएकोलाई
म त अकमक्क परे,
हजुर नै उत्तर फर्काउनुस् त
भाइ, दुई पिलेट चाउमीन ल्याउ त
हस् सर हुन्छ,
देखिस् मलाई पनि सर त भन्यो नि
चिटिक्क परेर आएका छौँ नि त
त्यसलाई बरा के था कि म ज्यामी हुँ भन्ने
बा! यहाँका टेबुल कुर्चि त हाम्रो गाउँको
स्कुलको भन्दा पनि राम्रा रहेछ्न् हगि,
हा हा हा… हसाउछ जाबाले
विद्या अर्जन गर्ने ठाउँ हो नि त स्कुल
यो भन्या धन आर्जन गर्न्या ठाउँ
हाम्रो गाउँ बाउन डाँडा
यो त टाउन हो नि त
यहाँ पैसो बोल्छ
त्यसपछि मात्र त
घरबेटीले ढोका खोल्छ
छाडी दे यस्ता कुरा
आज खुवाएको छु तलाई मिठो मसिनो
भोलिदेखि त मसँगै काममा जान पर्छ नि
काम गर्ने ठाउँ नजिकैको भट्टिमा पनि पाइन्छ
मैले मगाएको यस्तै चाउमीन
त्यहाँ पैतिस रुपे पर्छ, यहाँ सय पर्छ
बुझिस् नि, यसपाली दशैमा टिन छाउन पर्छ घरा
तेरी आमाले पैसो यसरी खर्च गरेको थापाइ भने मार्छे
हा हा हा… हसाउँछ्न् बा पनि
अनि यत्तिको बुझेको मानिस तपाई
यत्तिका वर्ख भयो सहर पस्या
कसरी धेरै धन कमाउन सक्नु भएन त?
विद्वान् मान्छे गरिब नै हुन्छ्न बाबै,
लिनुस् सर हजुरको अर्डर
अनि अरु केही ल्याउ?
चिसो लिनुहुन्छ कि?
भयो भयो पर्दैन
बरु पाइलोट चुरोट छ?
छैन सर, सुर्य हुन्छ?
नाइ भयो छाडिदिनुस् भाइ
पानी ल्याउनुस् है
मिनिरल वाटर कि पानी सर?
खाने पानी ल्याउनुस् न है
पैसा नपर्ने वाला चाहि
हस, हुन्छ सर,
बा! यहाँ पानी पिएको नि पैसो पर्छ हो?
हा हा हा… हसाउँछ मुरदार
यहाँ मुतेको नि पैसो पर्छ
अहिले देखाइदिउला,
रत्नपार्का
दिसा- १०, पिसाप- ५ लेखेको
बाच्न सकिदैन जस्तो छ बा, यस सरहा
सकिन्छ बाच्न त, तर हरेक दिन मरौ-मरौ जस्तो लाग्छ मात्रै
हड जुम डेरामा,
यही हो कामान्डु बुझिस्
दसौँया चस्मा टोपी लाएर,
लाहुरे भएर जान पर्छ बाउछोरा यसपाला
तेरी आमालाई रत्नपार्का पाइने घडी लग्दिन पर्छ
लुगाफाटा सबलाई किन्न पर्छ,
छानो टिनको हाल्न छ
धेरै मिहिनेत गर्नु पर्छ बुझिस्
था पाइस् नि कामान्डु भन्या कस्तो रछ भन्ने?
अ, था पायेँ
अनि यो के गर्या?
बुद्धको मूर्ति होइन र बा यो?
बुद्धलाई बेच्न राख्या
हाम्रो हैसियत छैन किन्या
धनिमुनीले लगेर सजाउँछ्न।