त्यस दिन हाम्रो घरमा परदेशबाट महिना दिनपछि नयाँ रेडियो भित्रिएको दिन थियो। कारण, पुरानो रेडियो बिग्रनाले। पुरानो रेडियो घरमा कसरी बिग्रन पुग्यो? त्यो घरभित्र रहस्यकै कुरो थियो। तर, रेडियो घरमा भित्रिनुपूर्वको समय निकै सकसपूर्ण रह्यो।
'हिजोसम्म बजेको रेडियो आज किन बजेन हँ!' उमेरले करिब छ दशक काटिसक्नु भएको मेरो बा भुन्भुनिनुभो आफ्नै पारामा। रेडियो नबजेपछि छट्पटिएर बा कहिले यता र उता, कहिले उता र यता गर्न सुरु गर्नुभयो।
रेडियोलाई बोकेर सिपालुकामा पनि पुर्याएको देखेँ। अफसोच्! कसै गर्दा पनि रेडियो बजेन। त्यसपछि आजित भएर बाले एक साँझ मलाई हेर्दै रिस पोख्नुभयो, 'ए रेडियो कसले बिगार्यो हँ?' म भने बाको कड्काई सुनेर हप्ता दिनसम्म थाहा नपाएजसरी परपर भागिरहेँ।
घरमा रेडियो कसरी बिग्रन पुग्यो? त्यो त मलाई मात्र हेक्का थियो। अनि, घरदेखि बाहिरको एक मान्छे, मेरो घनिष्ठ साथी जंघेलाई। हामी दुई बाहेक कसैलाई पनि सुईको थिएन। न मेरी दिदीलाई थाहा थियो न हजुरआमालाई। न त आमालाई नै। तर, बालाई थाहा थियो थिएन म ठ्याक्कै भन्न सक्दिन्ँ अहिले। यद्यपि, बाको मप्रतिको हेराईलाई अड्कल काट्दा म यो भन्न सक्छु कि मेरो चतुर बालाई थाहा नहोस् पनि कसरी?
म सोच्थेँ, 'सात समुन्द्रपारी दश नङ्ग्रा खियाईरहनु भएको बाबालाई त कसरी थाहा होस् र यस्तो कुरो? होइन बाबालाई थाहा भएपनि मलाई केही फरक पर्दैन नि।' मानिसको उमेरअनुसारको सोचाई न हुँदोरहेछ।
हो, सोचाईको क्षितिज उमेरअनुसार फाचिलो हुने रहेछ। मेरो सोचाई यस्तै थियो, ‘त्यत्रो क्षितिजपारि हुनु'भा बाबा कसरी आइपुग्नु हुन्छ र भन्ने बित्तिकै? बाबा आइपुग्दा त यो कुरो पुरानो भई सकिहाल्छ, खुइलि सकिहाल्छ। पक्कै पनि सबैले बिर्सिसकि हाल्छन् नि जाबो यो कुरो।‘
'बज्दा बज्दै गरेको डाँडाघरे बाको रेडियो अचानक बिग्रियो रे', सबैले गाउँमा यस्तै भनेको सुन्थेँ। घरभित्र भने यस्तो, 'कस्तो कमसल रेडियो परेछ, दुई महिना पनि बजेन!'
त्यसपछि घरमा रेडियोको अभाव लगातार खड्किरह्यो। हरपल रेडियो बज्ने घर सुनसानप्राय: भयो। बा बिहानको समाचार सुन्न शम्शेर काकाको घरमा धाउन थाल्नु भयो। बेलुकाको घटना र विचार अनि बीबीसी नेपाली सेवा सुन्न पनि। दिउँसोको देश-परदेश सुन्न पनि उतै। धेरैजसो बाको समय शम्शेर काकाकै घरतिर गुज्रन थाल्यो।
यो कुरो परदेशी बाबाको कानमा फ्याट्ट परेछ क्यार। अथवा गाउँकै कसैले सुनाएछन्। सधै अरुको घरमा रेडियो सुन्नकै लागि धाउन पनि कतिन्जेल सकिन्छ र? फलस्वरुप एक महिनापश्चात घरमा बाकै लागि भनेर नयाँ रेडियो भित्रियो। रेडियोसँगै घरमा खुसीका लहरहरु झाँगिएर आए। बाले त्यस दिन खुसी थेग्न नसकेर साँझमा गाउँघरमा पुगिवरी सुनाउँनु भएछ, 'माया गर्छ मलाई छोरोले, रेगिस्थानबाट रेडियो पठाइदियो, अँ त अरबी रेडियो!'
पठाइदिने अरेबीयाबाट उहीँ बाबा नै हुनुहुन्थ्यो। रेडियो ल्याइदिनेले यसो भन्दै रेडियो बाको हातमा थमाईदिएथे, 'अति होसियार भएर रेडियो खोल्ने र बन्द गर्ने गर्नुहोला। पहिलाको पनि बिगार्नु भएछ, यो चैँ नबिगारी चलाउनुहोला है त बुबा। तपाईकै छोराको यति चै भन्दिनु है भन्नुभाथ्यो।'
बाले जीवनमै प्राप्तिएको खुसीलाई एकैचोटि अनुहारमा देखाएजसरी आवाज नियन्त्रण नगरी भन्नुभयो, 'हुन्छ बाबु, बाबुको कल्याण होस्। तर बाबु, यी मिसिनरी चिजहरु बिग्रिन कुनै कारण नै चाहिँदैन भन्या। बिहान बजेको रेडियो बेलुका बजेन। खै के भनुँ म?' बाले आफ्नो हात अकास्मत् त्यो मानिसको ललाटमा राख्दै थप्नुभयो, 'बाबुको कल्याण होस्।''
बाले यति भनिसक्दा म फन्नक फर्किएर सिँढी चढेँ। म फनक्क फर्किदा बाले पुलुक्क हेरेको देखेँ। मैले आँखा भुँईतिर बिच्छ्याउँदै गति लिएँ। साँच्चै माथि अन्धमुस्ली चोटामा पुगेपछि मात्र मैले खुई गरेँ। मलाई सार्हैँ घोचेछ त्यो बाको कुराले। मलाई केही बोल्न र केही भन्न सामर्थ्य आएन त्यतिखेर। म त भागेजसरी पो फड्किएछु। पश्चताप भैरह्यो।
बालाई भन्नुपर्थ्यो मैले, ‘यसभित्रका मान्छेहरु हेर्न खोज्दा रेडियो बिग्रियो बा, मलाई माफ गर्नुहोस्।’ मलाई निकै हिनताबोध भयो बाले मलिन तर हडबडिलो स्वरमा त्यसो भन्दा।
‘बित्थामा जान्ने टोपलिएर रेडियो खोलेर चिरफार गरेछु। मैले ठूलो गल्ती पो गरेछु जंघेको लहैलहैमा लागेर। मेरो कारणले बालाई कति चोट परेछ। अब म कसरी भन्न सकुँ र? बा हाम्रो रेडियो मैले बिगारेको हुँ भनेर। अहँ भन्नु हुँदैन मैले मेरो गल्ती। मैले जानीजानी सत्य कुरा खोलेँ भने त बाको रामधुलाई भेट्छु। फोकटमा किन रामधुलाई खानु र?’ उमेर अनुसारको सोचाई न हो।
मैले अरबी रेडियोलाई बाको हाता लगाउँदै गर्दा देखिहालेथेँ रेडियोको अनुहार। त्यसको मोटाई, चौँडाई र रंग रोगन। नयाँ रेडियो पुरानो रेडियोको तुलनामा ठूलो थियो। मिटर पनि ठूलो। भोलुम कि पनि ठूलो। अंकहरु पनि ठूला-ठूला। घन्काई पनि ठूलो। कालो र सेतो रंगको मिस्रित रेडियो ज्यादै आकर्षक थियो।
रेडियोमा माथिपट्टि समाउने ह्यान्डल पनि थियो। मलाई ह्यान्डल समाएर रेडियो यता र उता नचाउने रहन भएर होला, म खालि त्यही जोगामेसो कुरेर बस्न थालेँ। तर, त्यस्तो मौँका हप्ता दिनसम्म कहिल्यै पनि जुरेन। किनकी रेडियो बाको आसपासमा हुन्थ्यो। अथवा, बा नै रेडियोको आसपासमा।
मलाई लाग्थ्यो, सायद त्यतिखेर सबैभन्दा खुसी त म भाको थेँ। बा के खुसी देखिनु भाथ्यो र? स्कुलका साथीहरु सबैलाई भनेँ, 'हाम्रो घरमा नयाँ ठूलो रेडियो बाबाले अरेबीयाबाट पठाईदिनु भाछ।' अन्य कक्षाका उमेश, अखिलेश, दिप सबैले उत्सुक भएर सोध्न आइपुग्थे, 'ओए काले, तिमेर्कोमा रेडियो कत्रो छ हो?'
हरि, रुपेश र घनश्यामले आश्चर्यता पोखे, 'ओए काले, तिमेर्कोमा गाउँ थर्काउने रेडियो छ रे हो?!' जंघेले त अघि सरेर नै उत्तर दिन्थ्यो, 'अस्ति भर्खर ल्याका कालेका बाले। क्या दिन्छ आवाज। गाउँ नै थर्काउछ पो त।'
'एकदिन स्कुल ल्या न झोलामा हालेर हेरौँ', जंघेको कुरा सुनेपछि अखिलेशले फकाउँदै भन्यो।
मैले भने, 'अबुई! हुन्न बाले पाता कस्नुहुन्छ।' त्यसपछि त सबै डराउँदै गए बादेखि र चकित हुँदै गए ‘अरबी रेडियो’ देखि।
भोलिपल्ट स्कुलबाट घर आउने बित्तिकै झोला फ्यात्त फ्याकी मैले रेडियोतिर आँखा घुमाएँ। तर, सधैँझैँ रेडियो राख्ने ठाउँमा रेडियो थिएन। बा भने अर्कोपट्टी झस्केलोमा टुसुक्क बसेर एउटा काठलाई तोडमोड गर्दै हुनुहुँदो रहेछ। हजुरआमा शिरदेखि पाउसम्म एक मखमलको बर्को ओढेर सुत्नुभा रैछ। ममी भर्खर मिलबाट ल्याएको चामल सिकुवामा बसि निफन्दै हुनुहुन्थ्यो।
निफन्दै गरेकी ममीले नाङ्लो रोकेर मलाई भन्नुभयो, 'जा खाजा खा, भुटेका मकै छन् भर्सेलोमा।' म धुमधुम्ती रेडियोको तलासमा थिएँ त्यतिखेर। रेडियो बजेको भए त मैले सुईँको पाउँथेँ रेडियो कहाँ थियो भनेर। तर, रेडियो घन्किएको थिएन त्यो क्षण। साँच्चै भन्नु पर्दा, भोकको ख्याल थिएन मलाई। फगत् रेडियोको थियो। रेडियो! ओहो रेडियो। कहाँ छ आज अरबी रेडियो?
यसो विपरित दिशातिर रेडियो खोज्दै हुइँकिरहेको थिएँ, झल्यास्स बालाई देखेँ। अचानक बाले रिस्सिएर हेरेकाले यसो कोल्टिएर छेलिएँ। खाजा खान त गएँ तर तन-मन सबै रेडियोतिरै त थियो। हातको मुठ्ठीमा दुई मुठ्ठी मकै मुठ्याएर म बातिर दगुर्दै गएँ र बाको दायाँतिर टुसुक्क बसेँ। केही मिनेटपछि बाले फेरि घुरेर हेर्नुभयो। धन्न केही भन्नु भएन। यद्दपि मुटुको धड्कन सुस्त धड्किन थाल्यो।
बा फेरि काठलाई मिलाएर चारपाटा बनाउनतिर लाग्नुभयो। म भने त्यो ठक् ठक् आवाजमा मकै कुटुक्-कुटुक् टोक्दै बाको नजिक-नजिक बसेकै ठाउँबाट घिस्रिएँ। अनि बाको काम नियालिर हेरेँ र मनमनै सोधेँ, 'बा यो तपाईँ के बनाउन लाग्दै हुनुहुँन्छ? किन काट्नुभाको काठ? खै त आज रेडियो चैँ?'
झ्याप्पै सोध्ने बर्कत त कहाँ थियो र मेरो? किनकी बा मदेखि रिसाउनुभाको सुईँको पाईसकेको थिएँ। एकछिनपछि बाले झर्किदै भन्नु भयो, 'जा है सुईपा लुगा फेर्, लुगा नफेरी मुन्टिन्छस् याँ, पाता कस्छु नि?'
एकोहोरो बाको कृयाकलाप नियालिरहेको म बाको काकतालिय आवाजले तर्सिन पुगेछु। फलस्वरुप, यथास्थानबाट जुरुक्क उठेँ। अनि अलि पर उभिएर हेरिरहेँ बालाई, एकोहोरो भएर। बालाई हेर्दा अरिगांललाई हेरिरहेँजस्तो भान भयो। तिरमिर तिरमिर भए आँखा। कतै आँखामा पर्दा लागेजस्तो। त्यस्तो तर्सिएँ बादेखि म, बल्ल थाहा पाएँ बा मदेखि कति रिस्सिनुभएछ।
उदास-उदास बनि आमा भएतिर पुगेँ र आमालाई उठाएँ। त्यतिखेरै जंघे टुप्लुक्क आईपुग्यो सी.. सी.. गर्दै। आइपुग्ने बित्तिकै मैले जंघेलाई घरपछाडि बोलाएर सचेत गराएँ, 'किन आको अहिले? बाले थाहा पाइसक्नु भएछ नि त्यो कुरो।' जंघे मैले त्यती भन्नेसाथ केही नबोलि ठाड्-ठाडैँ सुईकुच्चा ठोक्यो। जंघे र म घर पछाडि जाँदा आमा पनि पछ्याउँदै आउनुभएछ।
जंघे कुदेको देखेर आमाले अच्चमित हुँदै सोध्नुभो, 'के गरिस जंघेलाई हँ? कुटिस?' मैले कुरो छल्दै भनेँ, 'का कुट्नु मैले?' आमा झन् तातिन थाल्नुभयो, 'घरमा आएकालाई कुट्छस त? ए अलच्छिना! कस्तो कलंक जन्मिस् हँ त! तलाई बाले बाँकी राख्नुहुन्न आज।' मैले आमातिरै फर्किएर भनेँ, 'होइन के, किन कुट्नु मैले? उता शम्शेर काकाले एक्कासी बोलाउनु भयो अनि दगुरेर गको पो त', मैले आमाको हात समाउदै हतासमा भनेँ।
आमाले अनभिज्ञता दर्साउनुभयो, 'किन आएकोथ्यो कुन्नी त्यो सिँगाने! मैले भनेँ, 'किन आउनु हौ आमा, जंघे त्यतिकै आउछ नि साथीको घर।' मैले यति भनेर चार पाहिलामै बुइगलमा पुगेँ र पसिना पुछेँ अनि लुगा फेरेँ। त्यसपछि जंघेको घरतिर एकोहोरिएर बटुकाका मकै कुटुकुटु खाएँ। उता जंगे सिकुवामा किताब समाएर बसिसकेको रहेछ। म उसको चर्तिकला देखेर मनमनै हाँस्न पुगेछु।
हो, तल्तिरबाट ठड़ ठड़ गरेको आवाज अबिरल आईरहेथ्यो। मकै टोकिरहेको आवाजसँग तलबाट आएको आवाज मिलाउदै कुटुङ् कुटुङ् मकै टोक्दै जंघेलाई हेर्दै निकैबेर हाँसिरहेँ। आईरह्यो निकै बेरसम्म तलबाट आवाज। तर, मकै सकियो। अनिमात्र, तल्तिर झरेँ रेडियो सम्झिदै।
बाले घरको खम्बाको बिममुन्तिर चारकुने काठलाई असिनपसिन भई ठोक्दै हुनुहुँदो रहेछ पेचकिला, कुर्सीमाथि चढेँर। मलाई जिज्ञासा लाग्ने त भईहाल्यो। तर, सोधु कोसँग? म आमासमिप गएँ। कानमा खुसुक्क सोधेँ, 'किन यो ठोकेको आमा?' आमाले ठोकेकै तिर हेर्दै भन्नुभयो, 'सोध्न तेरै बालाई।'
'ह्या भन्नु न के', मैले हात समाउँदै आमालाई फकाएँ। आमाले चुइक्क बोल्नु भएन। बरु मलाई अर्हाउनु पो भयो, 'जा त पानी लिएर आईज अम्खोरामा, निकै बेर कल पेलेर। तेरो बाको घाँटी सुक्यो त्यहाँ।'
मैले हत्तपत्त भान्सातिर पसि अम्खोरा बोकी कलतिर हुँईकिएँ र चिसो पानी ल्याएर आमालाई दिएँ। आमाले बातिर आँखा तेर्साउँनु भयो। मलाई सजिलो थिएन बासम्म पानी पुर्याउँन। मदेखि अचाक्ली रिसाईरहनुभाको बाले मैले दिएको पानी के खान्थेलान र? मैले आँखाले नै बताएँ आमालाई, 'तपाई नै पुर्याईदिनु न।' आमा पनि ठिंग उभिरहनु भयो याचित मुद्रामा।
हो, मलाई निकै दहकस भयो। आमाले ढिपि कसेपछि मैले सुस्तरी पाइला चाल्दै बा चढेँको कुर्सिसमिप पुगेँ। आमाले परबाटै बालाई भन्नुभयो, 'पहिला पानी पिउनु त।' अचानक बाले मुन्टो बटार्नुभयो पछाडिपट्टि र मतिर हेर्दै आँखा सन्काउनु भयो। मैले बाको अनुहारमा हेरिरहन सकिनँ। मुन्टो तल्तिर झुकाएँ। त्यति नै बेला बाले मेरो हातबाट अम्खोरा फुत्त तान्नुभयो। परिणामस्वरुप, म तर्सिन पुगेछु। हत्तपत्त आमापछाडि पुगेँ।
आमाले भान्साकोठाबाट एक काइयो केरा दिँदै भन्नुभयो, 'जा त, खोलापट्टि बाख्रा छन्। रात पर्यो, स्यालले शिकार गर्छ। साना पाठापाठी पनि उतै छन्, फुकालेर ले। डोरी समाएर ले नि, गुजुल्टिन्छन् फेरि।'
मैले आमाको हात समाउदै ढिपी कसेँ, 'भन्नु न त किन? अनि मात्र जान्छु म।' मैले नजाने अड्डि कसेँ आमासित। आमाले फकाउँदै भन्नुभयो, 'अहिले थाहा पाउँछस् किन भनेर। जा त पहिला झट्टै।' म एक काइयो केरा च्याप्प बोकी खोलापट्टि दगुरेँ।
बाटोपारी शम्शेर काकाको घर थियो। गाउँमा सानादेखि ठूलासम्मकाले शम्शेर काका भन्थे। म पनि शम्शेर काका भनेरै बोलाउँथेँ। खोलातिर जान शम्शेर काकाकै घर भएर जानुपर्थ्यो। ठ्याक्कै शम्शेर काकाको घरमा पुग्दा तल बरन्डामा जंघे किताब अगाडि राखेर जीउ अगाडि पछाडि हल्लाउँदै रटान मार्दै रहेछ। अझ नेपाली कविता पो रट्दै रैछ, किसान शिर्षकको।
मैले अनौठो मान्दै आश्चर्यता पोखेँ, 'ला यो त पढाएको छैन त तिवारी सरले।' मैले त्यसोभन्दा जंघेले आँखा झिम्मिक पार्यो। अनि त मैले बुझिहालेँ।
बिड्म्बना! शम्शेर काकाले सुनिहाल्नुभएछ मैले त्यसो भन्दा। पेट मिचीमिची हाँस्नुभयो। त्यसपछि त जंघे रातो न पिलो भैहाल्यो। शम्शेर काका हाँसेपछि जंघेले कुटाई नखाएको दिन हुँदैन्थ्यो। मात्र समय तलमाथि हुन्थ्यो। म भने त्यति धेरै डराएको थिइनँ। फेरि म किन डराउनु र जंघेले स्कुलमा नपढाएको पाठ मच्चीमच्ची छिचोल्दा?
रमरम साँझको श्रृड़्खला सुरु भैसकेथ्यो। म खोलातिर हुँइकिएँ अघिल्लो दिन रेडियोमा सुनेको एक गीत गाउँदै,
आजैमा राति के देखेँ सपना मै मरी गएको...
बतास बिना हाँगाको फूल भैँई झरी गएको......।
गीत गाउँन साह्रै लजाउथेँ म। मान्छेहरुले सुन्छन् भनेर कि त खोलातिर कि त बनतिर गएर गाउथेँ। गीत गाउँदै आफ्नै सुरमा जाँदै थिएँ, जंघे दगुरेर ‘काले काले’ भन्दै बोलाउँदै आइपुग्यो। उ हुत्तिदै झ्याप्प अडियो मेरो अगाडि। आईपुग्ने साथ स्याँस्याँ गर्दै भन्यो, 'तेरो बाले थाहा पाउनुभयो रे! अब के हुन्छ त? कसले भन्यो र तलाई भन्त?'
मैले भनेँ, 'हेर्न, त्यस दिनदेखि बा मदेखि रिसाएको रिसाई हुनुहुन्छ। बोल्नु त परै जाओस्, हेर्नु भाको पनि छैन मलाई।'
'अब के गर्ने त?' जंघेले डराउँदै प्रश्नवाचक चिन्ह लगायो।
'केही हुँदैन, छाड्दे अब। अस्ति पनि त केही गरेनन् नि बाले। त्योभन्दा पहिले पनि एक इन्डियन रेडियो चिरफार गरेकै हो क्यारे।' म त्यति भन्दै लागेँ बाख्रा भएतिर रेडियोलाई सम्झिँदै। हामी दुई विपरित दिशातिर दगुर्यौँ। बाख्राहरु बेजोडले कराका कराई थिए साझ छिप्पिदै जादाँ। सायद बाख्राहरु पनि आफूलाई साँझमा सुरक्षित महशुस गरेका थिएनन्। मैले बाख्राका किलो सबै उखेलिदिएँ। बाख्राहरु पिञ्जडाबाट पंक्षी छुटेझैँ रफ्तारिए घरतिर। उनीहरु टासिएर एकजुट हुँदै दौडिए अनि म पछिपछि।
घरमा आईपुग्दा त रेडियो घन्किरहेको रहेछ ठूलो आवाजमा। बा चैँ खटियामा खुट्टा चढाएर रेडियोलाई सुनिरहनु भएको रहेछ, दत्तचित्त भएर। मैले बालाई हेरेँ। बाको दुबै हात छातीमा कस्सिएका थिए शिशिरको जाडोले पिरोलेजस्तै। यसो हेरेको, रेडियो त्यहीँ बिमको मुनिपट्टि मुल खम्बाको साँधमा रहेछ जहाँ बाले अघिदेखि चारपाटे काठ मिलाएर ठोकिरहनु भाथ्यो।
मैले एकाएक रेडियो त्यहाँ देखेर जिल्ल परेँ, 'ए बाले रेडियोको ठाउँ पो परिवर्तन गर्नु भएको, मैले भेट्टाउँन नसकुम् भनेर होला।'
'यो रेडियो नेपाल हो, अब सुन्नुहोस् सात बजेको समाचार।'
बा जुरुक्क उठेर रेडियो नजिक जानुभयो र दत्तचित्त भएर सुन्न हतारिनु भयो। बाख्राका डोरी गलाबाट फुकाल्दै गरेकी आमासँग गएर त्यही मौकामा डराउँदै सोधेँ मैले, 'आमा यो रेडियोमा मान्छेहरु कसरी बोल्छन् हँ? अस्तिको रेडियोमा भन्दा यो रेडियोमा मान्छेहरु धेरैँ छन् कि क्या हो?'
आमा केही बोल्नु भएन। प्रतिकृयामा थोरै मुसुक्क हाँस्नुभयो। त्यो चोटि मात्र होइन, पहिला-पहिला पनि आमा मेरो यो प्रश्नमा मौन बस्नुहुन्थ्यो। बासँग सोध्ने सामर्थ्य थिएन ममा। आमा र दिदीसँग सोधुँ भने सत्य बिस्फोट हुने भय थियो। यस्तो लाग्थ्यो, 'एकदिन त रेडियोको बारेमा भलिभात जानकारसँग पुगेर सबै जिज्ञासा मेटाउँ।'
तर, कहाँ जान सक्थेँ र म? कसले पत्याउँने र म फुच्चालाई? सोध्ने उही साथी जंघेसँग थियो। जंघेले भन्थ्यो, 'काले, याँभित्र हरेक किसिमका मान्छे हुन्छन्, ती मानिसहरु भित्रै बस्छन्, त्यही सुत्छन्, सबै थोक त्यही गर्छन्।' अनि म अधिर भएर फेरि सोध्थेँ, 'अनि बाहिर चैँ किन निस्कदैनन् त?'
जंघेसँग जवाफ थिएन मेरो प्रश्नको। रैपनि एकछिन पछि घोत्लिएर उ भन्थ्यो, 'हामीले देख्दैनौँ रे तिनीहरुलाई। बहुतै साना हुन्छन् रे।' उ रे को, सुनेको कुरा गर्थ्यो। तर मलाई त्यहाँ भित्र मान्छे नै, विशेष त गायक नै हुन्छन् भन्ने जतिखेरै लाग्थ्यो।
एकदिन उसैले स्कुलबाट फर्कदा भन्यो, 'रेडियो ठूलो छ। यहाँ अब चै मान्छेहरु देखिन सक्छन् काले।'
उसले त्यसो भन्दा मलाई मेरो विचारको दियोमा तेल थपिदिएझैँ भयो। सोचेँ, 'जति ठूलो रेडियो त्यति धेरैँ मानिस। सही हो जंघेको कुरा। तर कहिले हेर्नु त अरबी रेडियो भित्रका मानिस!'
आहा! गीत गाएको हेर्न पाए, समाचार भनेको हेर्न पाए। नाटक खेलेको हेर्न पाएँ, ती बोल्नेहरुसँग चिनिन पाएँ। तिनीहरुजस्तै बोल्न पाएँ। बाजा बजाउन पाएँ। आहा! कस्तो हुन्थ्यो होला? फेरि यति धेरैँ फरक-फरक मानिसहरु यहाँ कसरी अटाउन सके होलान!
जंघेले एकदिन स्कुलबाट फर्कदा भन्यो, 'हो काले जति ठूलो रेडियो त्यति ठूला मान्छे हुन्छन् रे। अहिलेको रेडियोमा त मान्छेहरु पनि प्रष्टै देखिन सकिन्छ। गिटार, मादल, मुरली साथसाथै गायक गायिका सबै देखिन्छन् रे।'
मलाईभन्दा जंघेलाई बढी कौतूहलता बढेर जादै थियो। 'अनि त्यहाँ त गिटार र मादल पनि हुन्छ होला है?' म अस्वभाविक तरिकाले जिज्ञासा देखाउँदै निर्क्योल गर्थेँ। उ भन्थ्यो, 'हुन्छ रे के, अस्ति अखिलेशले पनि देखेको रे।'
जंघेसँग हरेक दिन रेडियोकै बारेमा, त्यहाँभित्रका फरक-फरक मानिसहरुका बारेमा कुरा हुन्थ्यो। म निकै कौतुक लयमा अगाडि बढ्थेँ उसले त्यसो भन्दा।
बिहान बेलुका जतिखेरै रेडियोको बारेमा कल्पना र कुराकानीले साँच्चै हरेक दिन सपना पनि रेडियोको देखेँ मैले। सपनामा रेडियोका मान्छेहरु पनि देखेँ। ‘कति बोलक्कड र राम्रा हुँदारहेछन मान्छेहरु।’
हामी मानिसहरु सपना पनि बिपनामा जे कुरा खेल्छ त्यसकै बारेमा त देख्दोरहेछौँ नि। जंघेले फेरि भन्यो, 'रेडियोभित्रका मान्छेहरु फेरि हेरौँ, बा नभएको मौका पारेर रेडियो खोलातिर लगेर हेर्नुपर्छ। अहिलेको रेडियोमा धेरैँ मानिसहरु छन्। त्यही भएर प्रष्टै देखिन्छ।'
हामीले यसैगरी हप्तौसम्म एकआपसमा सल्लाह गर्यौँ। तर, एक महिना आधा बितिसक्दा पनि मौकाले दैलो ढकढकाएन। यसको अर्थ बाले त्यो समयसम्म पनि रेडियो छाड्नु भएन। बाको काखिमै, सिरानमै, त्यहीँ मोहडामै हुन्थ्यो रेडियो।
एक दिनको कुरा हो। वैशाखको टन्टलापुर घाम लागेको थियो। हावा हुन्डरी बिहानैदेखि चलिरहेको थियो। रुखका पातहरुलाई बतासले जोडजोडले नचाईरहेको थियो। त्यही सुख्खा खडेरीमा तल्ला गाउँमा आगो लागेछ। त्यो कुरो म विद्यालयबाट घर आउनेसाथ थाहा पाएँ। घरका सबै त्यतैतिर आगो निभाउन भर्खर जानुभएको पनि बुझेँ।
हत्तपत्त लुगा नफेरी रेडियो हेरेँ। रेडियो जहाँको त्यहीँ थियो। कुर्सीमाथि मूडा राखेर रेडियो झिकेँ। झिकेर तल खाटमाथि होसियारपूर्वक राखेँ। मैले नयाँ रेडियोलाई पहिलो चोटि स्पर्श गर्न पाउँदा औधि रमाएँ। एकछिन अतिव स्नेहले च्यापे रेडियोलाई। साँच्चै भन्नु पर्दा मलाई रेडियो छुन मात्र पाएँ कस्तो अनुभूति हुन्थ्यो होला भन्ने लागेथ्यो।
म हर्षविभोर भएँ। रेडियो बजाएँ। गीत पनि त्यस्तै जगजगाउने बज्न थाल्यो। हो त्यतिखेरै, हत्तपत्त मैले रेडियोको कपडा खोलेँ। र, स्पिकरको अगाडिको सानो सानो छिद्रबाट आँखाले हेर्न थालेँ। ठूलो स्पिकरको अगाडिको छिद्र भने मेरो आँखाको गोलाईभन्दा दर्जन गुणा साना थिए।
आखिर यी गीत गाउँने मान्छे कहाँ बस्छन्? कहाँ बसेर यति मजाले गाउँदैछन्। कति जना छन्? के मानिस तीनै हुन् जो हिजो समाचार भन्ने? यस्तै विचारहरुसँग म विचारको पौँठेजोरी गरि रेडियोलाई बढो गम्भीर बनेर खेलाउन थालेँ। तर, मैले रेडियो फोर्न सकिन, मात्र बाको डरले। मैले रेडियोको आवाज बढाएँ, विज्ञापन बज्न थाल्यो। सबैभन्दा ठूलो बनाएर थुचुक्क बसि ती छिद्रबाट भित्र हेरिरहेँ।
कस्तो काकताली! जंगे रेडियोको आवाज सुनेर आइपुगेछ। मैले त उसलाई बिर्सिसकेको पो रहेछु बोलाउन पनि। 'ए पख् पख्', परैबाट उसले भन्यो। मैले भनेँ, 'हेर् त, यहाँबाट देखिन्छन् कि?' मैले हेरिसकेको ठाउँबाट उसलाई हेर्न दिएँ। उसले रेडियोलाई उचालेरै हेर्यो। एउटा आँखा चिम्लिएर हेर्यो। फेरि अलि पर लगेर हेर्यो। आकाशतिर फर्काएर हेर्यो। कसरी हेरेन र उसले? नयाँनयाँ तरिकाबाट हेर्यो। मलाई लाग्यो, 'मान्छे हेर्न ज्यादै सिपालु छ उ।'
फलस्वरुप उसले दाबीका साथ भन्यो, कि मान्छेहरु रेडियोभित्रै छन्। कोही सुतिरहेका छन् डिलमुनी, कोही खाना खादै छन्। कोही गीत गाउन तयार हुँदै त कोही बोल्दै। मैले आत्तिदै सोधेँ, 'डिल मुनि! कस्तो डिल? के भित्र डिल पनि हुन्छ र?' तर उ बोलेन मेरो प्रश्नमा। हेरिरह्यो निकैबेरसम्म अरबी रेडियोलाई।
मभन्दा जंघे निकै हतारिएको थियो त्यो क्षण। मलाई लाग्यो, आज मनको खुल्दुली पक्कै मेटिनेछ। मैले सोधेँ, 'अब के गर्ने त?' उसले सोध्यो, 'बा खोई?' उसले चारैतिर फर्केर मलाई सोधेथ्यो। 'सबै तल्ला गाउँमा, आगलागिमा', मैले हतासिदै भनेँ। हामीले एकैछिनमा यही निर्णय गर्यौ कि रेडियो अन्त कतै लगेर चिरफार गरौँ र ती मानिसहरु आजै हेरौँ।
मैले रेडियो बोकेर दौडाएँ उसको घरतिर। उसले परालको कुनिउ पछाडि लग्यो। उ मभन्दा धेरै सिपालु थियो। उसले पेचकसको बट्टै बोकेर अगाडि बस्यो। तब चैँ मलाई पहिले पहिलेको जस्तै डर लाग्न थाल्यो, जब उ नडराई रेडियोलाई उत्तानो पारेर पेचकिला खोल्न थाल्यो।
मैले भने, 'ओए विस्तारै-विस्तारै, मानिसहरु भाग्न सक्छन् र रेडियो बिग्रन सक्छ।'
साँच्चै त्यो क्षण म गायकहरु हेर्न निकै आतुर थिएँ। उसले भन्यो, 'पख् पख् अहिले के गर्दै छन् यिनीहरु, चेक गरिहालौँ।' उसले रेडियोलाई सिधा पारेर बजाउने प्रयास गर्यो। तर रेडियो न स्याँ.. गर्यो न सु.. नै। केही पनि गरेन। त्यसपछि त मलाई अत्यास जाग्यो, 'ला! किन बजेन रेडियो? उसले भन्यो, 'हामीले रेडियो धेरै हल्लायौ नि त।' एकछिन उसले रेडियो सिधा पार्यो र फेरि बटार्यो। अहँ रेडियो बजेन। मेरो मनमा चिसो पस्यो।
मैले आफैँ रेडियो तानेर प्रयास गरेँ बजाउन। मैले गर्दा पनि रेडियो नबजेपछि म त धेरै आत्तिए साथसाथै उ पनि आत्तियो। मैले भनेँ, 'ला! बाले आज मार्नुहुन्छ आज, पाता कस्छन्। अब के गर्ने?!'
जंघेले भन्यो, 'रेडियो जहाँको त्यहीँ राखिदियौँ। हिँड्।' जंघे पेच बक्स बोकेर सुईकुच्चा ठोक्यो। मैले भने रेडियोको खोल पल्याक् पुलुक्क डराउँदै लगाएँ। त्यसपछि कमिजमुन्तिर छुपाउँदै घर आईपुगेँ र माथि चढीँ रेडियो त्यो चारपाटे मोहडामा राखेँ। त्यसपछि मात्र मलाई किन्चितै भएपनि आराम भयो।
भरे बाख्रा लिएर आउँदा त रेडियो बजिरहेको रहेछ। तल्तिर बा एकाग्रित भएर रेडियोलाई सुनिरहनु भएको पाएँ। अरबी रेडियो बज्दै थियो, 'यो रेडियो नेपाल हो अब सुन्नुहोस् सात बजेको समाचार।'
समाप्त।