'काका नमस्कार!'
'नमस्कार बाबू कहिले आयौ गाउँ तिर? अनि आज बिहानै के-कति कामले आयौ त हाम्रामा?'
'बुहारी नानी घरमा छैनन् काका? उनीसित अलिकति काम परेर आएको म त।'बाहिर ओस्रामा बसेका ससुरासित बोल्ने मान्छेलाई भित्रैबाट मैले स्वरले नै चिनेँ, दलबहादुर दाइ। दाइ त मलाई नै खोज्दै आएका रहेछन् भन्ने थाहा पाउना साथ बाहिर निस्किएँ म।
'नमस्कार दाजु, मेरो काम हुने भयो त?'
'मैले हुन्छ भनेपछि नहुने त कुरै छैन नि। तर तिमीसित अलिकति सल्लाह गर्नु पर्ने भएकोले भात भान्साको काम सकेर एकछिन हाम्रो घर तिर झर न ल।'
हुन्छ भनेर भन्न नपाई दाइ बाटो लागि हाले। म पनि भित्र पसेर भातभान्सामा लागेँ। दुई छोरी, सासू-ससुरालाई खाना खुवाएर आफूले पनि खाएर म बाटो लागेँ।
दलबहादुर दाइले धेरै गाउँका केटाकेटीलाई विदेश उडाईसकेका छन्। मेरो श्रीमान धेरै वर्षदेखि भारतको सिमलामा स्याउ खेतीमा काम गर्नु हुन्छ। उहाँले पठाएको पैसाले हामीलाई खान लगाउन मात्र पुग्छ। म पनि विदेश जान पाए पक्कि घर बनाएर बस्न सकिन्थ्यो कि जस्तो लागेर घर सल्लाह गरेँ। सासू-ससुरा र श्रीमानबाट अनुमति पाएपछि चैते दशैँमा घर आएको बेला दलबहादुर दाइलाई विदेश जाने कुरा बिसाएकी थिएँ।
'हुन्छ म अर्को पल्ट आउँदा खबर ल्याउछु। तिमीले यो बीचमा पासपोर्ट भने बनाएर राख्नु ल' भनेका थिए दाइले। आज बिहानै आएर खुसीको कुरा सुनाएर गए। म कहाँ जाने? के काम गर्ने? केही थाहा छैन तर छिमेकीका पक्की घर हेर्दै आफ्नो घर कल्पनामै बनाउँदै म तल झरेँ।
दाइलाई बाहिरै दलानमै भेटेपछि म पनि त्यही बसेँ। मान्छे विदेश पठाएर धेरै कमाएका दाइको गाउँमा जोडेको सम्पत्तिको त लेखाजोखा नै छैन भने घर पनि गाउँभरीको ठूलो र राम्रो बनाएका छन्। आफू पनि दुब्ला पातला थिए सहर तिर लाग्दा, अहिले त मोटाएर डम्म परेका छन्।
दौतेरी आफ्ना श्रीमान् भने सधैँ हाड र छाला मात्र आईपुग्छन् घर आउदा पनि। सम्पत्ति भन्ने पनि भाग्य मै लिएर आउनु पर्ने त रहेछ नत्र उति नै पढेका हुन् दुवैले अनि गाउँ पनि सँगसँगै छोडेका हुन् तर हाम्रो घरको बिजोग र उनको घरको रवाफ कति फरक छ। मनमा यस्तै कुरा खेल्दै थिए।
'ल भन त बुहारी तिमीलाई किन विदेश जानु परेको हो?'
एक जनाको कमाई, खाने मुख पाँच। खै कति गर्दा पनि पैसा जोगाउन सकिएन। छोरीहरू पनि बढ्दै छन्। एउटा गतिलो घर पनि छैन। आफू पनि केही वर्ष विदेश जान पाए एउटा घर बनाउन सकिन्थ्यो कि भनेर हो दाजु।'
'पासपोर्ट बनाएर राख्नु भनेको थिएँ, बनायौ त?'
'बनाएकी छु दाजु।'
'ल पर्सी बिहानै हिड्ने गरि तयार भएर बस है त'
'पैसा के-कति लाग्ने हो दाजु? आजको भोलिनै कसरी जुटाउनु त?' मलाई पैसाको पिर लाग्यो।
'तिमी त पैसा कमाउन जाने हो, खर्च गर्न होइन नि। तिमीलाई पैसा पर्दैन। जाउ पर्सीको लागि लुगाफाटा तयार गर।'
यति भन्न किन बोलाई रहेको होला यहाँसम्म? बिहानै घरमा गएको बेलामा भनेको भए त भैहाल्ने थियो नि। झनक्क कन्पारो तातेर आयो तर पनि केही नबोली घर तिर लागेँ।
बिहे गरेर आएको दिनदेखि सासू-ससुराको सेवा गरेर नै बसेकी थिएँ। अब हिड्ने भनेपछि कस्तो-कस्तो नरमाइलो लाग्यो। छोरा पनि बाहिर, म पनि नहुने, दुई छोरीको जिम्मेवारी पनि बुढाबुढीकै काँधमा। जाँदा रमाउँदै गएकी म त्यै बाटो फर्किदा रुदै फर्किनेमा पुगेँ।
घर आएपछि पनि हिडिहाल्ने भन्ने सुनेपछि घरमा एक प्रकारको मौनता नै छायो। दुई दिनको बीचमा भएका लुगाफाटो पोको पारेर म दाइसितै बाटो लागेँ। जेठी छोरी र ससुराबा गाडी चढाउने ठाउँँसम्म आउनु भयो।
एकपल्ट श्रीमानले छोरीहरू नहुँदै मलाई यही बसपार्कबाट काठमाडौं घुमाउन लिएर जानु भएको थियो। परेवाका जोडी गुँडबाट उडेको पहिलो दिन कति रमाइलो भएको थियो। कति राम्रो र रमाइलो लागेको थियो यही बसपार्क। तर आज कति नरमाइलो लागेको छ, भनी साध्य छैन।
बस चढेपछि मलाई असाध्यै गाडी लाग्छ, त्यसैले बाटोभरी नै बान्ता गर्दा-गर्दा बेहाल भएर म दाइको घरमा पुगेँ। हात खुट्टा धोएर केही नखाई म घुप्लुक्कै सुतेँ।
बिहान मेरो आखा खुल्दा त सबै उठीसकेका रहेछन्। गाँउको घर त राम्रो छदै थियो, यहाँ त झन् राजषी ठाँटले पो बसेका रहेछन् दाइ त। दुई तले घर, तल आफू बस्ने, माथि भाँडामा लगाएको रे। भति्रको जमिन नदेखिने गरि बारेको घरको चारै तिर अग्लो पर्खालले।
बरन्डा, घर भति्र सबै तिर घुमी-घुमी हेरेँ। त्यस्तो सजिसजाउ घर देख्नु त के मेरो कल्पनामा पनि आउदैन थियो। 'कौसीको धारामा गएर नुहाएर आउ अनि चिया खानु' कल्पना दिदी (दाइकी कान्छी श्रीमती)ले भन्नु भयो।
म माथि कौसीमा गएँ, त्यहाँ त लाईनै चर्पी र धारा भएका चार वटा ससाना कोठा रहेछन्। बाहिर पनि एउटा धारामा दुई जना महिला गफ गर्दै लुगा धोईरहेका थिए। उनीहरूले मलाई यस्तरी हेरे कि म कुनै नौलो वस्तु हो कि जस्तो गरेर।
म अलमल्ल परेको देखेर एउटीले भनिन् 'नुहाउन आएको हो बहिनी?' होमा मैले पनि टाउको हल्लाएँ। उनले साबुन, मन्जन देखाउँदै मलाई नुहाउन धारा कसरी चलाउने सबै तरिका सिकाईदिइन्, एउटा कोठाको धारामा लगेर। म नुहाएर निस्कदा अर्कै दुई महिला लुगा धुँदै थिए त्यहाँ। म पनि त्यही गएर हिजो लगाएको लुगा धुन थाले।
'बहिनी कहाँबाट आउनु भएको?' एक जना दुईजिउकी महिलाले म तिर हेर्दै सोधिन्।
'सिमपाखा गाउँबाट।'
'सिमपाखा भनेर हामी बुझ्छौँ त? जिल्लाको नाम भनन।'
'पाँचथर।'
लुगा पखालेर सुकाउन पनि भ्याएको थिइनँ, दाइको काम गर्नेले चिया खान आउनु रे भन्दै बोलाउन आयो।
दुई/तीन दिन म यसै दाइको घरमा बसेँ। चौथो दिन माथिदेखि तलैसम्म सेतो रंगको अनौठो पहिरनमा चार जना पुरुषहरू दाइको घरमा आए। उनीहरुले बोलेको केही पनि बुझिएन। केहिबेर पछि म सहति अरु पाँचजना महिलालाई दाइले उनीहरूको अगाडि उभ्याउनु भयो।
'यिनीहरू तिमीहरूको परीक्षा लिन आएका हुन्, नमस्कार गर।'
हामी सबैले हात जोड्यौँ। केहिबेर उभिएपछि हाम्रो फोटो खिचे उनीहरूले। हामीलाई बैठक कोठाबाट बाहिर जान भन्नु भयो दाइले। त्यसको दुई दिनपछि हामी उड्ने भयौँ भनियो। तेस्रो दिन एक जना डाक्टर आएर हामीलाई सुई दिए। सुई दिएको दुई दिन जस्तो म तान्द्रा अवस्थामै छु जस्तो भए।
के भएको मलाईभन्दा दिदीले सुईले हो तिम्रो शरीरको धेरै कुरा जाँच्छ त्यो सुईले, कडा थियो त्यो सुई त्यसैले तिमीलाई यस्तो भएको भन्नु भयो। तेस्रो दिनदेखि सामान्य भयो मेरो शरीर। यो बीचमा ती मान्छे पनि बेला-बेलामा दाइको घरमा आउथे।
एक दिन एकजना नेपाली पनि साथै लिएर दाइ र ती चारै जना आए। नयाँ आएका मानिसले कागजमा के-के लेख्दै हामी तिर फर्किएर सोधे 'मुनादेवी को हो?'
'म हुँ' मैले भनेँ।
'आफ्नो नाम लेख्न आउछ?' मैले आउछ भन्दै टाउको हल्लाएँ।
उनले लेखिरहेको दुई/तीन वटा कागजमा मेरो नाम लेख्न लगाए। जता-जता सही र ल्याप्चे लगाउन लगाए हामी सबैले लगाई दियौँ।
हाम्रो सबै कागजपत्र भयो र हामी उड्ने भयौँ। घरबाट निस्कदा त भाउजूले सयपत्री फूलको माला र राता अक्षता लगाएर हामी चार जनालाई बिदा गर्नु भयो। दाजु हामीलाई प्लेन चढाएर फर्किन्छु भन्दै हामीसितै हिड्नु भयो। हिड्नु अगाडि गाउँमा ससुरासित पनि कुरा गराई दिनु भयो दाइले।
न कुनै नाता न केही, कति माया गरे यी दुवै श्रीमान श्रीमतीले हामीलाई भन्ने मनमा लाग्यो। भगवान नै भएर आएछन् मेरो लागि त भने जस्तो लाग्यो। एयरपोर्टमा पुगेपछि म त त्यहाँको रमझम हेर्दै थिएँ। पहिलो पल्ट श्रीमानसित आउदा पनि एयरपोर्ट हेर्न त आएकी थिएँ तर प्लेन चढ्ने गरि त्यो दिन म त्यहाँ पुगेकी थिएँ।
हामी पुगेको केही समयपछि नै तीनै पुरुषहरू आए। माथि देखि तलसम्मैको सेतो लुगा, कालो चस्मा अनि कपालमा पनि एउटा कोठे कपडा बेरेका। कस्तो अनौठो पोसाक। देखिरहेको अनुहार भएकोले मैले उनीहरूलाई देख्नासाथ नमस्कार गरेँ। दाइले हामी चारै जनालाई एक ठाउँँमा बोलाउनु भयो। ती मानिस पनि हामी भएकै ठाउँँमा आए।
बुहारी तिमी यिनको घरमा काम गर्न जाने हो। तिमी यिनीसित जाउ, तिमीलाई पहिले यिनीहरूको भाषा नबुझेर समस्या पर्न सक्छ, सुरुमा इसाराले काम चलाउनु र जति सक्दो चाँढो बोल्न सिक्नु ल यिनीहरुको भाषा। मैले पनि टाउको हल्लाएर हुन्छ भने। त्यहाँ हामी चार जनालाई तीनै चार जानाले लैजाने रहेछन्।
दाइले, राम्ररी काम गर्नु, मेरो नाम राख्नु, बोल्न सिक्नु भन्दै सबैलाई आ-आफ्नो मालिक चिनाई दिए। हामी त्यसपछि दाइसित बिदा मागेर आ-आफ्नो मालिकको पछि लाग्दै भित्रति्र पस्यौँ।
कतै पुलिसले जीउ छाम्ने, कतै मेसिनभति्र झोला छिराउनु पर्ने गर्दै हामी प्लेन देखिने ठाँउमा पुग्यौँ। त्यहाँ गएपछि हामीलाई एक-एक गिलास चिया दिए खानलाई। मेरो मालिकले मेरो फोटो लिरहेको थियो। दुईटी साथी र दुई जनाको प्लेन चाढो आएछ हाम्रोभन्दा। उनीहरू उडेपछि हाम्रो पनि प्लेन आयो एउटै प्लेनमा भएपनि साथी र म पनि छुट्टियौँ।
उनी र उनको मालिक कता पुगे, म र मेरो मालिक एक ठाउँमा भयौँ। बोल्न आउदैन, उ भने मेरो फोटो लिएको लिएै छ, म भने एक्लो भए। उफ् के होला नि? कस्तो होला यसको घर? को-को होलान्? के-के काम गर्नु पर्ने होला? यस्तै-यस्तै कुरा मनमा खेलिरहेका थिए।
प्लेन उड्यो। मन ठुक-ठुक गर्यो झ्यालबाट तल हेर्दा। घरमात्र देखिए तल त केहीबेरमै बादलमाथि पुगेँ म त। म झ्याल तिर थिएँ, बाहिर नै हेरेर रमाईरहेको थिएँ भने बीचको सिटमा भएको मेरो मालिक त अगाडि भएको सानो टिभी पो हेर्न थाल्यो।
बसको जस्तै बान्ता आउने हो कि भन्ने डर लागि रहेको थियो मनमा तर आएन। प्लेनका केटीहरूले तात्तातो भात पनि खान दिए। झण्डै पाँच/छ घण्टा उडेपछि हामी ओर्लने ठाउँमा पुग्यौँ। एकपल्ट झुलुक्क साथीलाई पनि देखेँ तर बोल्न पाइनँ। एयरपोर्टकै पसलबाट किनेर मलाई माथिदेखि तल सम्मकै कालो लुगा लगाउन लगाए मालिकले। उनैले गाडी चलाएर मलाई उनको घर पुर्याए।
घरमा महिलाहरू थुप्रै भएकोले मैले सोचेजस्तो धेरै काम पनि गर्नु परेन। एक महिना नहुँदै मैले धेरै उनीहरूको भाषा जानी सकेकी थिए। कामको बोझ थिएन। खान बस्न लगाउन कुनै दुख थिएन। मलाई ल्याउने केटाको नाम इशुफ रहेछ। उसको श्रीमतीको नाम निलोफर। बुढाबुढी, उनीहरूका तीन छोरा, तीन बुहारी र नौ जना नातिनातिना भएको परिवार थियो त्यो।
मलाई निलोफरले मोबाइल चलाउन पनि सिकाई दिइन्। हप्तामा एक पल्ट घरमा र श्रीमानसित कुरा पनि गर्न दिन्थ्ये। म खुसी थिएँ, आउँदा जुन डर लिएर आएकी थिएँ त्यो सबै हराई सकेको थियो। त्यो घरमा मैले कुनै दिन पनि नोकर जस्तो व्यवहार गरेको पाइनँ।
एक महिना पछाडि मेरो स्वास्थ्य ठिक भएन। एकदम जे खाए पनि बान्ता हुन थाल्यो। निलोफरले मलाई डाक्टरकोमा लिएर गइन्। मलाई त बान्ता भएको थियो तर डाक्टरले त के-के औजार छिराएर मेरो गुप्ताङ्ग पो हेरिन्। उफ कस्तो दुख्यो त्यो के के हतियार छिराउदा। डाक्टरले बोलेको फेरि कति पनि बुझिनँ। निलोफर मेरो अनुहारमा हेरेर मुसुमुसु हाँसिरहेकी थिइन्।
घर पुगेपछि सबैले मलाई माया गर्दै पैसा र गहना दिए। जेठी बुहारी रूस्मीनाले मलाई भनिन् 'तिमी आमा बन्ने भयौ। तिम्रो पेटमा इसुफको बच्चा छ। त्यही थाहा पाएर हामी सबै खुसी भएका हौ। मलाई विश्वास नै लागेन। जो मान्छेलाई मैले छोएको त छैन, उसको बच्चा मेरो पेटमा कसरी सम्भव हुन्छ र भन्ने लाग्यो।
म सोचमग्न भएको देखेर उनैले भनिन् दलबहादुरको घरमा मलाई सुई हानेर दुई दिनसम्म होस बेहोस बनाएको बेलामै इसुफको बीउ मेरो पेटमा पुर्याएको रे। मबाट सन्तान भईसकेपछि उनीहरूले त्यो सन्तान लिने र मलाई २५ लाख दिने भन्ने कागज गराएको रहेछ। दलबहादुरलाई त्यसका लागि कति पैसा दिए थाहा भएन भनिन उनैले।
रुस्मीनाको कुरा सुनिसकेपछि त म छाँगाबाट खसे झैँ भएँ। बोल्न सकिनँ। एक महिनासम्मको सुख सबै पिरमा पोखियो। यो मुसलमानको बीउ मेरो पेटमा लौन नि। अब के गर्ने म त बरबाद भए। मेरो पतिवत्रा कता गयो, कुल खान्दान के भयो? यो अर्काको देशमा आएर म दुई जीउको भए म के गरुँ?
बच्चा तुहाएर फर्कियौँ, कता जानु डाक्टर खोज्न? म पापिनी भएँ। मुसलमानसित नसुते पनि उसको बच्चाको आमा बन्दै थिएँ म। उफ! मेरो दिमागले काम गर्नै सकेन। निलोफरको सन्तान नभएको र इसुफलाई हिन्दुको पेटबाट मुसलमान जन्माउने चाहना भएकोले त्यहाँ म उनीहरूको खेलौना हुन पुगेकी रहिछु।
खरले छाएको चुहिने घर नै बरू ठिक रहेछ, मलाई कुन दशाले यो पक्की घरको लोभ लागेछ हे भगवान्। आफ्नै गाउँघरमा भएको भए यस्तो समस्या त आउने थिएन। किन आउन मन लाग्यो विदेश? म बौलाए भन्दा पनि हुन्छ।
मेरो पेटमा इसुफको बच्चा छ भनेदेखि नै मलाई कुनै पनि काम गर्न दिएनन्। मलाई बिहानदेखि बेलुकासम्मै समय तालिका मिलाएर तागतिलो खाना र फलफुलका जुस खुवाउथे। घरबाट बाहिर निस्कनु भनेको निलोफर र इसुफले बेला-बेलामा डाक्टरकोमा लिएर जान्थे।
त्यहाँको कानुनअनुसार मैले त्यहाँ बच्चा जन्माउन नपाउने रहेछु। त्यसैले चार पुगेर पाँच महिना लाग्नासाथ इसुफले मलाई फेरि नेपाल नै लिएर आयो। नेपाल आएपछि एउटा घर नै भाडामा लिएर मलाई राखिदियो। नेपालमा भएको उसको साथी इमरानको सहयोगबाट दुई श्रीमान-श्रीमतीलाई मलाई स्याहार्ने र मलाई घरबाट बाहिर जान नदिने गरि काम गर्ने राखेर चौध दिनपछि उ फर्कियो साउदी।
एकदिन, मलाई इमरानका बुढाबुढी भएर डाक्टरकोमा लिएर गए। बल्लबल्ल नेपाली डाक्टर पाएपछि मैले रुदै मेरो राम काहानी डाक्टरलाई भनेँ। म यो बच्चा गिराउछु भनेर डाक्टरलाई पनि भनेँ। तर धेरै हप्ता भैसकेकोले अब गर्भपतन गर्न सकिँदैन भनेर डाक्टरले भनिन्। मेरो एउटा झिनो आशा पनि मर्यो। डाक्टरले पुलिसकोमा जाउ भनिन्। तर मलाई एक मिनेट पनि एक्लो छोड्ने भए पो। फोन गर्न मोबाइल पनि थिएन। म मरिच खुम्चिए झै खुम्चिए।
विस्तारै पेटमा बच्चा चल्न थाल्यो। हिजोसम्म गर्भपतन गराउने विचार लिएकी मेरो बच्चा पेटमा चलमलाउन थालेपछि त ममा पनि मातृत्व उम्लेर आयो। एक महिनापछि इसुफ फेरि आयो नेपाल। यो पल्ट इसुफले मेरो लागि धेरै उपहारहरू लिएर आएको थियो।
पेटमा बच्चा खेल्न थालेको थाहा पाएपछि इसुफले पहिलो पल्ट मलाई छोयो। मेरो पेटमा बच्चा चल्मलाएको थाहा पाउन मेरो पेटमा आफ्नो कान जोड्यो। उसले आफ्नो सन्तानले खुट्टा फ्याकेको थाहा पाएपछि खुसी भएर उफ्रेर `या अल्लाह´ भन्दै मलाई अंगालोमा लिएर चुम्मा दियो। म मरे तुल्य भएँ।
हो, उसको सन्तान मेरो पेटमा उफ्रिदै थियो। उ खुसी हुनु स्वभाविक नै थियो होला तर म? म त एउटी खेताला, उसको लागि बच्चा जन्माई दिने मेसिन। कुन हकले इसुफले मलाई अंकमाल गरेर चुम्मा लियो जस्तो लागेर मनदेखि नै रिस उठेर आयो। त्यो बेला उसले मसित शारीरिक सम्बन्ध नै राखेको भएपनि म के गर्न सक्दथेँ होला र? म त एउटा बन्दी त थिएँ। तर पनि उसलाई देख्नासाथ मलाई बलत्कारी जस्तो लाग्दथ्यो।
इसुफले यो पल्ट सन्तानको स्वार्थले हो वा किन हो मलाई धेरै नै माया गरेर देखायो। तर मलाई उसको मायाले कति पनि पगाल्न सकेन। दुई हप्ता बसेर उ फेरि फर्किने भयो। थाहा छ अब दुई महिना मात्र इसुफको नक्कली माया र उपहारहरू पाउने हो मैले। त्यसपछि त म गाउँ फर्किने, उ बच्चा लिएर आफ्नो देश फर्कने। त्यै पनि हिड्ने बेलामा भन्न आयो' अब कहिले आउने फेरि?'
मुसुक्क मुस्कुराएर भन्यो 'मलाई त यो पल्ट जानै मन लागेको छैन तर काम छ जानै पर्ने। चाढै आउछु।' उ बाटो लाग्यो।
पन्ध्र दिन पनि नहुँदै इसुफ फेरि आयो। यो पल्ट उ आउँदा म किन-किन पहिलेको जस्तो रिसाउन सकिनँ। जे-जस्तो भएपनि मेरो पेटको बच्चाको बाबु हो जस्तो लाग्यो। यो पल्ट उ लामै समयको लागि आएको रहेछ। उसले मलाई दिनु पर्ने पच्चिस लाख पैसा पनि वाणिज्य बैँकमा खाता खोलेर राखिदियो।
एकसरो सुनका गहना पनि मसित भैसकेका थिए। खान लगाउन कुनै कुराको कमी थिएन तर यो सबै केही दिनसम्मको लागि मात्र थियो, पानी पर्दा बलेसीमा खसेको पानीको थोपाजस्तै।
नौ महिनामै छोरा जन्मीयो,बुखुल्ले ३ किलोको। इसुफ त कति खुसी भयो भयो। जब मैले मेरो छेउमा छोरालाई देखेँ, उसको अनुहार देख्नासाथ मलाई उबाट टाढा हुन सक्छु भन्ने नै लागेन। मेरो छोराले जब मेरो स्तनपान गर्यो, म पूर्ण रुपमा उसकी आमा भएँ। आमाको ममता सबै पोखियो उसैमाथि। मेरो घर परिवार, सासू ससुरा, श्रीमान र छोरीहरूलाई एकतिर पारेर यो छोरालाई एका तिर पार्न मेरो मन तयार भयो।
'इसुफ म मेरो छोरा तिमीलाई दिन्न, तिमी तिम्रो पच्चीस लाख लिएर जाउ' मैले विस्तारै भनेँ। उसले केही बोल्नै सकेन। धेरै बेरसम्म चुप लागेर बस्यो।
'कस्को बच्चा हो यो भनेर तिम्रो परिवारले समाजले सोध्दा के जवाफ दिन्छौ? परिवारले त तिमीलाई निकाली दिन्छन् घरबाट अनि यो बच्चालाई कसरी पाल्छौ? नचाहिने कुरा नगर तिमी काठमाडौंमा भएको कुरा कसैलाई थाहा पनि छैन। तिमी जस्तो आएकी थियौ, त्यस्तै घर फर्क। म निलोफरलाई बोलाउछु र छोरा लिएर जान्छु। बरू तिमीलाई अरु पैसा वा केही चाहिन्छ भने बिना झिझक भन, म दिन्छु' इसुफले मलाई सम्झाउँदै भन्यो।
'मलाई समाज पनि चाहिएन, घर पनि चाहिएन, पैसा पनि चाहिएन तर मेरो सन्तान तिमीलाई दिन्न। म आफै पाल्छु यसलाई।'आमाको ममताले जति्यो र म झन् अडिग भएर भने।
'त्यसो भए तिमी निकाह गर, मसित र मेरो बेगम भएर हिँड मेरो घर।'
मेरो तेस्रो सन्तान थियो छोरा भने इसुफको पहिलो। हामी दुवैको लागि यो छोरा आफ्नो थियो। तर मेरो कोख पो इसुफले किनेको थियो त, उसले बिहे नै गर्छु त भनेको थिएन। अहिले निकाह गरेर लैजान्छु भन्नुमा कतै इसुफको चाल त हैन भन्ने लाग्यो। फेरि यो मुसलमानसित म किन बिहे गर्दथे र जसले मेरो कोख किन्ने दुस्शाहस गरेको थियो।
'अहँ म तिमीसित तिम्रो देश पनि जान्न। त्यहाँ लगेपछि छोरा तिम्रो र निलोफरको हुन्छ, म नोकर्नी त भएर बस्नु पर्ने त हो नि। अब मलाई कतै जानु छैन आफ्नो घर छोडेर।'
होइन, म तिमीलाई नोकर्नी बनाएर राख्दिन्ँ। तिमी मेरो छोराकी आमा हौ। हाम्रो संस्कारमा चार पल्टसम्म हामीले बिहे गर्न पाउछौँ। तिमी मेरो दोस्रोो बेगम हुनेछौँ। म छोराकै लागि तिमीसित निकाह गर्न तयार छु। यो मेरो छोरा हो, यसको बाबुमा मेरो नाम आउनु पर्छ। 'इसुफको कुराले कोठामा केहिबेर मौनता छायो।
'इसुफ एउटा कुरा भन्छु मान्छौँ?
उसले पनि के कुरा भन भन्यो।
'छोराको बाबुको नाम तिम्रै हुनेछ तर छोरा मलाई छोडेर जाउ।'
'त्यसरी त हुन्न, यसलाई मेरो छोरो बनाउन त यसलाई मुसलमान बनाउनु पर्छ नि। तिमीलाई छोडेर गएपनि हाम्रो संस्कार गर्न नपाउँदा यो मुसलमान हुनै सक्दैन। अनि पछि यो हिन्दु पनि हुँदैन मेरो रगत भएकोले, मुसलमान पनि हुँदैन तिमीसित हुर्केकोले।'
'त्यसो भए तिम्रो कानुन र धर्मको लागि तिमी म सित निकाह गर। तर म तिम्रो लागि कहिल्यै पनि तिम्रो बेगम हुन सक्दिनँ। मेरो शरीरमा तिम्रो कुनै अधिकार दिने छैन। छोराको लागि म मुसलमान भएपछि त छोरा पनि संवत् नै मुसलमान भै हाल्यो नि। त्यति गरेपछि त छोरा छोडेर तिमी जान सक्छौँ नि।'
अब इसुफ चुप लाग्यो। फेरि कोठामा मौनता।
ठिक छ म तिमीसित निकाह पनि गर्छु र यसलाई पनि मुसलमान बनाएर फर्किन्छु। मैले तिमीलाई नछोए पनि अब तिमी मेरै बेगम भएर बस्नु पर्छ नि। तिम्रो र छोराको खर्च सबै म नै खेप्छु। म पनि बेलाबेलामा छोरा भेट्न आउछु। हुन्छ?'
छोरो मसितै हुनेभयो भनेर मैले पनि केही सोचिनँ र हुन्छ भनेर टाउको हल्लाई दिए। चार दिनको दिन घरमा मेरो निकाह भयो इसुफसित भने छोराको लिंगको छाला काटेर उसलाई मुसलमान बनाइयो। एउटा मुसलमानको लागि यी दुवै राम्रा संस्कार भएकोले त्यो रात घरमा भोज नै भयो।
इसुफले मलाई चार कोठाको घर नै किनिदियो। बेगम र छोरालाई आफ्नै घरमा राखेर मात्र उ फर्कियो।
छोरो तीन महिनाको भएपछि एक दिन ससुरालाई फोन गरेँ, उहाँ त बितीसक्नु भएको रहेछ। त्यति सुनिसकेपछि छोरा च्याप्दै गाउँ गएँ। बच्चा लिएर आएकी बुहारीलाई सासुले घर भित्र पस्नै दिनु भएन। जेठी छोरी त बोल्दै बोलिन, कान्छीले भने आँगनमै आएर मैले उसको लागि लगेको सामानहरू लिई। एकै छिनमा आँगनभरी गाउलेहरू भेला भए। अर्काको बच्चा जन्माएर आएकी तिमी हाम्रो गाउँकी बुहारी हुनै सक्दनौ भनेर मलाई सबैले बसपार्कसम्म ल्याएर बसमै चढाए र अब गाउँ नफर्किनु भन्दै बिदा गरे।
बस गुड्यो, बसका पांग्रा सँगसँगै मन पनि गुड्न थाल्यो। मेरो दोष कहाँनेर के भयो र? सबै कुरा थाहा पाएर पनि आफ्नै साथीकी श्रीमती, गाउँकी बुहारीको कोख बेच्ने दलबहादुरलाई पो सजाय दिनु पर्ने त गाउँलेले पनि। तर जो होचो उसैको मुखमा घोचो भने जस्तै सबैले मलाई नै दोषी ठहराए।
म दलबहादुरलाई पुलिस चौकीमा पुर्याउ भने म आफै मुसलमान भएको देखाउने मेरो छोरासित प्रमाण नै छ। बिना अपराध सजाय पाएँ मैले। दुई पुरुषको श्रीमती भएपनि मेरो बाँकी जिन्दगी पनि कुमारी आमा जस्तै हुने भयो।
एउटा सन्तानको लागि मैले सधैँका लागि दुई सन्तानलाई गुमाउनु पर्यो। इसुफले यो छोरा लैजाला भनेर कत्रो सम्झौता गरेर यो सन्तानलाई आफूसित राखेँ भने अब मेरा ती दुई मुनालाई कसरी आफैसित राख्ने होला?
म उनीहरूकी पनि आमा हुँ नि। आमाको माया पाएनन भने तिनीहरुको बालमस्तिष्कमा कस्तो असर पर्ला त? पक्कि घरको लागि उठेका मेरा पाइलाले पक्कि घर त पाएँ तर मैले के पाएँ र के गुमाएँ।