यमुनोत्ररी हिमश्रृंखलालाई यमुना नदीको मुख्य स्रोत मानिन्छ। यमुनोत्ररी भारतको उत्तराखण्ड राज्य अन्तर्गत गढवाल क्षेत्रमा अवस्थित छ।
यमुना नदीको स्रोत विन्दुबाट अन्तिम विन्दु प्रयागराज सम्मको दूरी(लम्बाई) १३७६ किलो मिटर रहेको छ। यो नदी भारतका पाँच प्रदेश उत्तराखण्ड, हिमाञ्चल प्रदेश, हरियाणा, दिल्ली र उत्तर प्रदेश हुँदै बगेको छ।
यमुना नदीको झण्डै बीचभागमा आगरा सहर पर्छ। मुगल शासकले आगरालाई राजधानी बनाएका थिए। तीन शताब्दी (सन् १५२६–१८५७) लामो मुगल शासनको केन्द्र विन्दुमा आगरा सहर पर्दथ्यो।
मुगल शासक शाहजहाँले आफ्नो प्राणप्रिय श्रीमती मुमताजको स्मृतिमा आगरा सहरमा ताजमहल बनाएका थिए। यमुना नदीको दक्षिण किनारामा बनेको ताजमहललाई विश्वभर अमरप्रेमको प्रतीक मानिन्छ।
ताजमहल बनाउन २१ वर्ष (सन् १६३२ –१६५३) लागेको थियो। यसलाई निर्माण गर्न बीस हजार श्रमिकले काम गरेका थिए।
मुगल शासनको पतनपछि भारतमा ब्रिटिस शासन लागू भयो।
ब्रिटिस राजको प्रारम्भसँगै भारतको राजधानी दिल्ली हुन पुग्यो। विस्तारै विस्तारै आगराको राजनीतिक ओझ घट्दै गयो। तथापि आगराको ताजमहल सधैं चर्चामा रह्यो।
सत्रौ शताब्दीमा निर्मित ताज महललाई युनेस्कोद्वारा सन् १९८३ मा विश्व सम्प्रदा सूचीमा सूचीकृत गरेको थियो। ताजमहल विश्वको सातौं आश्चर्यमा समेत सूचीकृत छ। त्यही ताजमहलमा कासिम अली १४ वर्षदेखि माली पदमा कार्यरत थियो।
कासीम आगरा सहरको सुल्तानपुराका बासिन्दा थिए। कासिमको नेपालगञ्ज फतिमा खातुनसँग निकाह (विवाह) भएको थियो।
फतिमा असाध्यै मिलनसार र परिश्रमी थिइन्। उनले तीन सन्तानलाई जन्म दिएकी थिइन्।
कासिम र फतिमाका तीन सन्तान मलाला, जमिला र खालिदा सुल्तानपुराकै मदरसामा पढ्थे।
मलाला १२, जमिला ११ र खालिदा ९ वर्षकी थिइन्। छोरीहरू पढाइ पछिको समयमा आमालाई खुब सहयोग गर्थे। उनीहरू बाबासँग पनि निकै रमाइलो गर्थे।
कासिम र फतिमा बीच सुमधुर सम्बन्ध थियो।
अभिभावक र तीन छोरीहरू बीच पनि उत्तिकै घनिष्टता थियो। तर आफन्तहरू कासिम र फतिमासँग बेखुस थिए। फतिमाले तीन सन्तान जन्माएपछि थप सन्तान नजन्माएकोमा आफन्तहरू रूष्ट थिए।
फतिमाले एउटा छोरो जन्माइदिए हुन्थ्यो भन्ने चाहना आफन्तले राखेका थिए।
कतिपय आफन्तले कासिमद्वारा फतिमालाई “तीन तलाक” सुनाइदिए हुन्थ्यो भन्न भ्याइसकेका थिए। ताकी कासिमलाई अर्कै महिलासँग ‘निकाह’ (विवाह) गरेर पुत्र लाभ मिलोस्।
भाग्यवश कासिम त्यस्ता कुराहरूको पछाडि कहिल्यै लागेन। कासिम एक सच्चा मुसलमान थियो। ऊ आफ्नो काम इमान्दार ढंगले पूरा गर्थ्यो। दिनमा पाँच पटक नमाज पढ्थ्यो । ताजमहलमा दिनहुँ पुग्थ्यो। त्यहाँभित्रका बोट बिरूवाहरूलाई माया गर्थ्यो।
बोट बिरूवाहरूलाई हुर्काउन बढाउन परिश्रम गर्थ्यो। आफ्नो काम कर्तव्य सही ढंगले पूरा गर्थ्यो। त्यसैले कासिमको इमान्दारीको मुक्त कण्ठले प्रशंसा नगर्ने कर्मचारी ताजमहलमा कमै थिए।
चौध वर्षको अवधिमा कासिमले ताजमहल भित्र हजारौ बोट बिरूवाहरू हुर्काएका थिए।
कैयौ ठाउँमा मनिप्लान्ट पनि रोपेका थिए। तर घरमा मनी अर्थात् पैसाको सदैव अभाव रहन्थ्यो। त्यसैले चाडपर्वमा राम्रो लुगा र मीठो खानाको जोहो गर्न कासिमलाई त्यति सजिलो थिएन। प्रत्येक वर्ष मनाइने इस्लाम धर्मीधुको महान चाडहरू इद उल फित्र्र, होस वा इद उल अदा, यस परिवारले मितव्ययिता अपनाउदै मनाउने गर्थ्यो। तर यसवर्षको इद उल अदा स्मरणीय बनाउने प्रयत्नमा कासिम लागेको थियो।
वर्षौपछि बजारबाट खसी ल्याउने सोच बनाएको थियो। इद उल अदा पर्वमा खसी ल्याए फतिमा, मलाला, जमिला र खालिदा सबै प्रसन्न हुने कुरामा कासिम ढुक्क थियो।
हिजरी सम्वतको बाह्रौ महिना सुरू भएको थियो। भारतवर्ष भरिका मुस्लिम समुदायमा दोस्रो ठूलो पर्व इद उल अदाको चहल पहल सुरू भैसकेको थियो।
आगरा सहर पनि इद उल अदामय देखिन्थ्यो। सहरका पसल पसलमा मानिसहरूको बाक्लो भीड देखिन्थ्यो। खसी र राँगाको विक्री तीव्र भइरहेको थियो।
मस्जिद र मदरसामा सरसफाइ र रंगरोगनका कामहरू धमाधम चलिरहेको थियो। कामको सिलसिलामा बाहिरिएका आगरावासी क्रमशः आगरा भित्रिँदै थिए।
हिजरी सम्वतको १२ औं महिनाको १० औं दिनमा इद उल अदा पर्व परेता पनि त्यसको पाँच दिनअघि कासिमले परिवारका सबै सदस्यहरूका लागि लुगाफाटा किनिसकेको थियो।
चाडपर्वको पूर्व सन्ध्यामा नयाँ लुगा पाउँदा कासिमका तीन जनै छोरीहरू फुरुङ्ग भएका थिए। छोरीहरूको खुसीका रङ्गमा कासिम र फतिमा पनि घुलिएका थिए।
इद उल अदाको रङ्गले देश, प्रान्त, गाउँ सहर, समाज र परिवार हुँदै कासिमको परिवारलाई पनि छप्पक छोपेको थियो। घरमा हर्षोल्लास छाएको थियो। यस वर्षको इद उल अदा विशेष तरिकाले मनाउने पक्षमा अली परिवार देखिन्थे। कासिम त्यसको संकेत यसरी गर्छन् ‘प्रिय श्रीमती र छोरीहरू, यस वर्षको इद उल अदा विगत भन्दा भव्य तरिका मनाउने छौं। यस वर्षको इद उल अदामा बजारबाट खसी ल्याउने छौं। (खुदा) अल्लाहको इच्छा अनुसार खसीलाई तीन भाग लगाउने छौं। पहिलो भाग दुःखी गरिबलाई बाँड्ने छौं। दोस्रो भाग छर छिमेकीलाई दिनेछौं। तेस्रो भाग आफ्नै परिवारको लागि राख्ने छौं।’ कासिमको कुरा सुनेर छोरीहरू गदगद हुन्छन्। फतिमाको अनुहारमा पनि खुसी छचल्किन्छ।
घरमा खसी ल्याउने घोषणा गरेको चौथो दिन कासिम र फतिमा चौपाया बजार पुग्छन्।
उनीहरूको नजर कालो खसीमा पुग्छ। दुवैलाई त्यो खसी मनपर्छ। व्यापारीसँग सामान्य मोल मोलाई पछि कासिम कालो खसीको मूल्य बुझाउँछ। खसीको मूल्य तिरेपछि कासिम र फतिमा खसी लिएर घर आउँछन्।
इदमा प्रथम पटक खसी किनेर घर ल्याएको देखेर छोरीहरू फुरुङ्ग देखिन्छन्। भोलि हिजरी सम्वतको अन्तिम महिनाको १० औं दिन अर्थात् इद उल अदा पर्व हो। दुर्भाग्यवश, आज कासिम अलिको घरमा कालो ग्रहण लाग्छ। कासिमको घर अगाडि खाकी पोसाक प्रहरीका ब्रिटिस सिपाही, प्रहरी अधिकृत र छिमेकी आजम हुसेन देखा पर्छन्। सिपाही कासिमलाई घर बाहिर निस्कन अनुरोध गर्छ।
सिपाहीको आवाज सुनेर कासिम लगायत घरका पाँचै जना सदस्यहरू घर बाहिर निस्कन्छन्। प्रहरी र छिमेकी आजाम हुसेनलाई देखेर सबै सदस्यहरू असहज महशुस गर्छन्।
कासिमतिर हेदै प्रहरी अधिकृत भन्छ ‘कासिम भाइ, तपाईंमाथि खसी चोरीको आरोप लागेको छ। तपाईंले आजम हुसेनको खसी चोरेर घरमा लुकाउनु भएको छ भनेर आजम खानले प्रहरीमा उजुरी दिनु भएको छ। त्यसैकारण हामी तपाईंको घर खानतलासी गर्न चाहन्छौं। आशा छ तपाईंले प्रहरीको काममा सहयोग गर्नुहुन्छ।’
प्रहरीको कुरा सुनेर कासिम छाँगोबाट खसेझैं हुन्छ।
ऊ केहीक्षण अलमलमा पर्छ।
सपनामा पनि चिताउन नसकिने आरोप खेप्नु परेकोमा ऊ र उसको परिवारका सबै सदस्यहरू जिल्ल पर्छन्।
प्रहरी अधिकृत आफ्ना जवानतर्फ फर्किंदै कासिमको घरमा खानतलासी गर्न आदेश दिन्छ। प्रहरी अधिकृतको आदेश सुन्नासाथ सिपाहीहरू खोजतलासमा जुट्छन्।
सिपाहीहरू खोजतलासमा जुटेको पाँच मिनेटभित्र कालो खसी डोर्याउँदै हाजिर हुन्छन्।
खसी देख्ना साथ आजम हुसेन खुसी हुन्छ। आफ्नो अनुमान सही सावित भएको महशुस गर्छ।
प्रहरी समक्ष आजम हुसेन आफ्ना भनाइ राख्छ- प्रहरी अधिकृत ज्यू, अघिल्ला वर्षझैं यस वर्ष पनि इद उल अदा पर्व मनाउन ५ वटा खसी खरिद गरेको थिएँ । तर ती पाँच खसीमध्ये कालो खसी हिजोदेखि गायब भयो। आज बिहान कासिम र फतिमाले आफ्नो घरतिर कालो खसी लगेको देखें। एकतिर हाम्रो खसी हराउने। अर्कोतिर उस्तै खसी छिमेकीले डोराएको देखें। कासिम र फतिमाको परिवारले विगतका इदहरूमा कहिल्यै पनि खसी किनेका थिएनन्। त्यसैकारण उनीहरूमाथि शङ्का लागेर खसी चोरीविरूद्ध उजुरी दिएको थिएँ। जुन अहिले सत्य प्रमाणित हुँदैछ।
तर आजमको भनाइमा कुनै सत्यता नरहेको भन्दै कासिम र फतिमा एकै स्वरमा विरोध गर्छन्।
आफूहरू खसी चोर्ने कुरा सपनामा पनि सोच्न नसकिने जिकिर गर्छन्।
दुवै जना पुनः एकै स्वरमा भन्छन् - छिमेकी आजम हुसेनले भन्नु भए जस्तै विगतका पर्वहरूमा हामीले खसी खरिद नगरेको सत्य हो। तर उहाँले हामीमाथि लगाएको चोरीको आरोप सत्य होइन। आज हामी श्रीमान श्रीमती चौपाया बजार पुगेर खसी खरिद गरेका हौं। आवश्यक परे पुन: बजार पुगी खसी व्यापारीसँग सम्वाद गराउन सक्छौं।
आजम हुसेन र कासिम पक्षको कुरा सुने प्रहरी अधिकृत एउटा निष्कर्षमा पुग्छ।
‘चोरीको मामिला यहाँबाट नभई प्रहरी कार्यालयबाट मात्र सुल्झाउन सकिन्छ। त्यसैले कासिमलाई प्रहरी नियन्त्रणमा लिनुपर्ने देखियो। यहाँ भेटिएको खसी आजमले आफ्नो घर लग्दा हुन्छ।’
प्रहरीको अन्याय र विभेदपूर्ण निर्णय सुनेर फतिमाको आखाँबाट टिलपिल टिलपिल अश्रुदाना झरिरहन्छ।
आमाको आँखा रसाएको देखेर छोरीहरू पनि रून थाल्छन्।
कासिम श्रीमती र छोरीतिर हेर्दै विचलित नहुन आग्रह गर्छ।
आफू निर्दोष भएकाले छिट्टै घर फर्किने आश्वासन दिन्छ। हाकिमको आदेश अनुरूप प्रहरीले कासिमलाई नियन्त्रणमा लिन्छ र प्रहरी कार्यालय पुर्याउँछ।
प्रहरीले खसी चोरीको आरोपमा कासिमलाई समाएको घटना सुल्तानपुराभरि फैलिन्छ।
एकथरि गाउँले कासिम इमान्दार व्यक्ति भएकाले ऊ चोरी कार्यमा संलग्न हुनै नसक्ने अड्कल लगाउँछन्।
अर्काथरि, कासिमलाई रंगेहात समातिएको कारण उसले सजाय भोग्न पर्ने तर्क पेस गर्छन्।
प्रहरी हिरासतमा कासिमलाई अनेकौं प्रश्न सोधिन्छ। चोरीको आरोप स्वीर्कान लगाइन्छ। तर खसी चोरीमा आफ्नो संलग्नता नरहेको कुरा कासिम बारम्बार दोहोर्याउँछ।
यस कार्यालयको प्रमुख ब्रिटिस नागरिक रहेछ। उसलाई त्यहाँ साहेब भनेर सम्बोधन गर्दो रहेछ।
मध्यरातमा अंग्रेजी साहेब कासिम छेउ पुग्छ। खसी चोरीको आरोप स्वीकारे भोलि बिहानै रिहा गर्ने सुनाउँछ।
साहेबसँग पनि आफू निर्दोष रहेको पुरानै कुरा दोहोर्याउँछ। कासिमले आफूमाथि लागेको आरोप अस्वीकार गरेकोमा अंग्रेजी साहेब रिसले चुर हुन्छ। साहेबको मुखबाट मादक पदार्थको हस्को आइरहन्छ। यसलाई नकुटी आरोप नस्वीकार्ने भयो भन्दै कासिममाथि अन्धाधुन्ध लाठी बर्साउँछ।
कासिम लाठीको वेदना सहन नसकी जोड-जोडले चित्कार निकाल्छ। तर अंग्रेजी साहेवको मनमा कासिमप्रति रत्ती पनि सहानुभूति झल्किँदैन।
अनाहकमै दिनभरि झेल्नपरेको तनाव र एक दाना अन्न नपरेको शरीरमा, साहेबको क्रुर यातनाले कासिमको शरीर निक्कै कमजोर बन्छ। भोलि बिहान पुनः कासिममाथि प्रहरी बर्बरताले निरन्तरता पाउँछ।
कासिमको भोको र गभ्भीर घाइते शरीरले पानी खोज्छ। ऊ त्यहाँ तैनाथ प्रहरीसँग पानी पानी भन्दै पानी माग्छ। तर ब्रिटिस साहेब चोरलाई पानी होइन, लाठी दिनुपर्छ भन्दै दोस्रो पटक कासिममाथि लाठी बर्साउँछ।
दोस्रो पटकको यातनामा परी कासिमको ज्यान जान्छ। कासिमको शरीर निर्जिव बन्छ। कासिमको मृत्यृको खबर क्षणभरमै त्यहाँ तैनाथ सबै प्रहरीको कानमा पुग्छ।
अंग्रेजी साहेब सिपाहीहरूलाई कासिमको घाँटीमा डोरीले बाध्न आदेश दिन्छ। त्यसपछि कासिमको मृत शरीरलाई पङ्खामा झुन्ड्याउन लगाउँछ। साहेबले प्रहरी चौकीमा तैनाथ सबै सिपाहीलाई कासिमले आत्महत्या गरेको भन्न सिकाउँछ। सिपाहीहरू हाकिमको आदेश मान्न बाध्य हुन्छन्।
इद उल अदाको दिन थियो। अंग्रेजी साहेब केही सिपाहीलाई लिएर कासिमको घरमा खबर सुनाउन जाँदै थियो। बाटोमा अंग्रेजी साहेब र आजम हुसेनको जम्काभेट हुन्छ।
आजम हुसेन उदास मुद्रामा साहेबलाई कासिम निर्दोष भएको जानकारी गराउँछ।
‘साहेब, कासिमको घरमा फेलापरेको खसी कासिमकै रहेछ। चोरी भएको ठानिएको कालो खसी हिजो मध्यरातमा आफैं गोठमा आइपुग्यो। मेरो घरबाट हराएको खसी र कासिमले खरिद गरेको खसी उस्तै रङ्गको भएकाले यत्रो ठूलो असमझदारी भएको रहेछ। मबाट ठूलो भूल भयो। निर्दोष मान्छेलाई दोषी ठहराउनु पाप जस्तै हो। म अल्लाहसँग यो पापको क्षमा याचना गर्दैछु। उसलाई छिटो भन्दा छिटो रिहा गरिदिनु हुन तपाईंसँग अनुरोध गर्दछु।’
आजमको भनाइ सुनेपछि, कासिम निर्दोष भएको कुरा अंग्रेजी साहेबलाई घामजस्तै छर्लङ्ग हुन्छ।
साहेब आजमभन्दा ठूलो पाप गरेको अनुभूति गर्छ। एउटा निर्दोष व्यक्तिको हत्यामा आफ्नो प्रत्यक्ष संलग्नता भएकोमा पश्चताप गर्छ। तथापि आफ्नो र जागिर रक्षाको निम्ति झूटो तथ्यकै सहारा लिन्छ।
कासिमको मृत्यु पङ्खामा झुण्डिएर भएको झूटो खबर पहिला आजम त्यसपछि फतिमालाई दिन्छ। कासिमको आत्महत्या प्रकरणले आजम हुसेन विक्षिप्त हुन्छ।
निर्दोष मान्छेले कसरी आत्महत्या गर्यो होला ? आजम आफैंसँग प्रश्न गर्छ। केही बेरअघि आजम हुसेनले फतिमालाई भेटेको थियो। भेटघाटको क्रममा कासिम निर्दोष भएको कुरा सुनाएको थियो।
आफ्नो श्रीमान निर्दोष हुन भन्ने कुरामा फतिमालाई पूर्ण विश्वास थियो। तथापि आरोपकर्ता स्वयमले कासिम निर्दोष छ भनेको सुन्दा फतिमा थप मजबुत हुन्छिन्। तर अंग्रेजी साहेबद्वारा श्रीमानको आत्महत्यासम्बन्धी अकल्पनीय खबर सुनेर फतिमा बेहोस हुन्छिन्। छोरीहरू रूवाबासी गर्छन्।
एक कान, दुई कान, मैदान भएझै कासिम निर्दोष भएको खबर सुल्तानपुरा भर आगोझैं फैलिन्छ।
पहिलो खबर फैलिएको एक दुई घण्टाभित्रै आत्महत्याको दोस्रो खबर फैलिन्छ।
तर गाउँलेहरू कासिमको आत्महत्या नभई प्रहरीको यातनामा परी मृत्यु भएको आशङ्का गर्छन्। तथापि अंग्रेजी पुलिस प्रशासन र ब्रिटिसराजविरूद्ध खुलेर विरोध गर्न हिचकिचाउँछन्।
कासिमको रहस्यमय मृत्युले सुल्तानपुरा शोकमा डुब्छ। सुल्तानपुरावासी यस वर्षको इद उल अदा खल्लो भएको महशुस गर्छन् ।