‘ऐना के-का लागि हेर्छन मान्छेहरु?’
गलल हाँसेर मैले भनेँ- ‘के-का लागि हेर्नु नि, हामी त आँखामा गाजल अनि ओठमा लाली लगाउन हेर्छौं। ’
'अनि आफैलाई हेर्न नि?
'त्यो त अरुले टिकाटिप्पणी गरीहाल्छन् नि हौ, प्रश्न सकिन नपाउदैं जवाफ फर्काइहालें मैले। फेरि उसले भन्यो- 'होइन, म त्यस्तो ऐनाको खोजीमा छु कि जसमा अरुको मन नि हेर्न सकियोस् के। '
'हे हे... खुब हुन्छन् त्यस्तो!’ गिज्याउदै भनेँ।
किन हाँसेकी? अलि रिसाउदो पाराले सोध्यो उसले।
'हाँस्न नि नपाई अब? लौ न प्रभु, के आइपर्यो यस्तो!' मेरो हरेक जवाफ सुनेर अच्चम लाग्दो हो उसलाई।
कति प्रश्नको जवाफ त म गीतले नै दिन्थेँ। सायद गीतको पारखी भएर होला। उ पनि त गीतकै पारखी जो थियो। त्यसपछि त अरु के चाहियो र नि! नातिकाजीदेखि तारादेवी अनि नारायण गोपालका गीतले नै कुरा हुन्थ्यो। उसले सोध्ने हरेक प्रश्नको जवाफ म आफ्नै तरिका अनि बुझाईले दिन्थें। कतिको त म प्रश्नै बुझ्दिन्नथें, र पनि जवाफ भने फर्काईहाल्थेँ।
कतिपय प्रश्न त यस्ता नि हुन्छन् कि त्यसको बारेमा हामीलाई केही बोल्ने मन नै हुँदैन पनि। त्यस्तोमा आफै त्यसको ब्याख्या गरेर सहज बनाईदिन्थ्यो उसले। जे होस्, राम्रैसँग बोल्न जान्ने के! लेखाईको त कुरै नगरौं, जति पढे नि नपुगेजस्तो! मलाई सत्यवादी भनेर खुब भन्थ्यो।
हुन नि हो, जे बोले नि सिधा अनि सत्य अनि सरल बोल्ने खालकी न परेँ। मैले बोलेका अनि मेरा हरेक चित्रको छुट्टै खालको शिर्षक हुन्थ्यो। ओहो! शब्द चयन कति गहन। लाग्थ्यो, ती जादुमय शब्दहरु शब्दकोषमा खोजिखोजी जुराएका हुन्। मैले भने कुनै त्यस्ता शब्दहरु भेटिन्न। आखिरमा उसको १२ वर्षको अनुभव जो छ यस्तो लेखाईमा।
मैले सोधेँ- 'होइन, लेख्नेहरुले अरुको मनको कुरा चोरेर किन लेख्नु परेको हो?’
‘चोर्नुमा नै त छ नि मज्जा! तर त्यो कहाँ त्यति सजिलो छ र! त्यसको लागि त धेरै सोच चाहिन्छ। '
जीवन यात्रामा धेरै मान्छेहरु भेटिन्छ। कोही लामो यात्रासँगै तय गर्छन त कोही केहिछिन् मात्र सँगै हुन्छन् अनि आफ्नो बाटो लाग्छन्। हिड्दाहिड्दै कोसँग कति बेला भेट हुन्छ थाहै हुन्न। लेखान्तमा विश्वास नलागे पनि कहिलेकाही भाग्य भन्ने कुरा नि हुन्छ जस्तो लाग्छ। यी सबै समयसँगै जुर्दै जादो हो।
जबदेखि संसारमा आँखा खुल्यो, तबदेखि संसार सिक्दै जान्छ मान्छे। जन्मेदेखि नै रुन सिकेका हामी जीवनको उतराधमा भने अरुलाई रुवाएर जान्छौं, यो सायद प्रकृतिको नियम नै हो। जीवन अनि जगत सिक्दै हुर्किन्छ मान्छे। कति पढेर त कति परेर। पढ्नु त धेरै तरिकाले गरिन्छ।
औपचारिक पढाई त प्रायः आममान्छेले गर्छन नै तर त्यो भन्दा नि अलि भिन्नै थोरैले मात्र गर्छन। अथाह ज्ञानसागरबाट टपक्क चाहिने कुरा टिप्नु सरल भने पक्कै छैन। फेरि पढेका कुरा सबै बुझ्नु पनि सहज हुन्न। केही पढेर अझै त्यो भन्दा सरल रूपमा प्रस्तुत गर्ने सीप अझ झन् थोरैले मात्र देखाउन सक्छन्।
फेरि उसले थप्यो 'किताब पढ्नु पो सजिलो, मान्छेको मन पढ्न त कहाँ सरल छ र नि! अझ त जीवन पढ्न त धेरै गाह्रो!'
'गाह्रो रे? केको गाह्रो हुनु नि, प्रयास गर्नु पर्यो नि अनि पो, डरछेरुवा’ फेरि मैले उडाईहालेँ।
‘लौ, उसो भए तिम्रो आँखा पढ्न दिने हो त? अनुमति दिन सक्छौ?’
‘के रे? आँखा पढ्ने रे! किताब हो र थोडी न पढ्नलाई! फेरि केही लेख्या नि हुनु पर्यो नि’ आफ्नो जिज्ञाशा राखिहालेँ।
'हैट् लाटी! पढ्नेले पढछन् नि। तिमी अनुमति मात्र देउ न।' एउटा बुझक्कड़ले जस्तै अर्तिउपदेश दिएपछि दिमागले पनि अनुमति दियो।
'लौ न त नि, पढ्नुस् अनि हामीलाई भन्नुस् त के-के लेखेको छ हाम्रो आँखामा? राम्रो अनि गहन भएर पढ्नुस् है, चश्मा या गजल या त परेलीले छेक्यो भने भन्नुस् है, हामी सजिलो बनाईदिन्छौँ।'
यति भन्न पाएकी थिइनँ, जवाफ फर्काइहाल्यो 'हेर न त्यहाँ, राम्री छु भनेर धाक लगाएकी होलिन्।'
वास्तवमा लेख्नेहरुले मन चोर्न सफल हुन्छन् अनि पो लेख्न सक्छन्। कोही मन धनीले चोरेको मन पराउँछन अनि त झन् चोरौ भै नै रहने रैछ अनि त लेख्ने कि चोर्ने भन्ने रणभूलमा परिन्छ। कहिलेकहीं चोर्ने प्रवृति नि राम्रो होइन, मन चोरी रहने बानी लाग्छ। लेख्नलाई चोर्यो अनि लेखीसकेपछि पनि चोरी गरिरहन मन लाग्छ। आखिरमा लेखक नि मान्छे त हो नि।
आँखा पढ्ने अनुमति धेरै बेर दिन नि मन मान्दैन कहिलेकाहीं। जति सक्दो छिट्टो पढोस् भन्ने लाग्दो रैछ। सायद, अलिकति डर हुँदो हो, नलेखेका कुरा नि पढी देलान् भनेर। समयको पावन्दी लगाउदा उसले फेरि भन्यो 'अरे बाबा, मनको चाबी हुन्न, फुटाउन झन् भएन, साह्रै जतन गरेर चोर्नुपर्छ।'
'हे हे, हामीले थोडी न मन चोर्नुस भनेका हौं र नि! आँखा पो पढ्न अनुमति देको!' गलल हास्दै भनेँ।
'लौ, अब आँखाबाट त हो नि मान्छेको मनभित्र पस्ने! फेरि एउटी राम्रा आँखा भाकी युवतीसँगको अनुभूती!' उसको १२ बर्षको अनुभव थियो होला सायद। मजस्ती सोझीले कहाँ बुझ्नु यस्ता गहन कुराहरु।
‘सबै कुरा भनेको एउटा सोच न हो। उसले आफ्नो सोचको परिकल्पनाको खाकी तयार गरेको थियो क्यारे! एउटा मान्छे आँखामा बस्न मन गर्छ, तपाईको एक जोर आँखाले मोहित गर्छ, आँखाबारे राम्रा-राम्रा कोर्छ, अनि मन पगालेर आँखा पढ्ने अनुमति पाउछ, पछि त्यहाँबाट निस्किन खोज्दा झिमझिम गर्ने परेलीले दिँदैन अनि त्यहाँबाट निस्किनै सक्दैन अनि कथा सकिन्छ।'
गजबले हाँसो उठ्यो मलाई, हाँसो रोक्नै नसकिने गरी।
'किन, चुट्किला भन्याजस्तो लाग्यो र हासेकी?'
'हो नि त!' भनेर फेरि हासेँ।
फेरि उसले प्रश्नहरु तेर्साउन थाल्यो।
'केके बुझ्नु भो त? को-को डुबे ती आँखाको सागरमा? को-को उत्रिए? को-को अझै डुबीरहेका छन्? को-को डुब्न चाहेका छन्?'
कति जान्ने रहेछन् साँच्चिकै, आँखा पढ्न त धेरै सिपालु रहेछ। फेरि जुन कुरा नि दुगुना दिने सौख रहेछ,अलि-अलि डर नि भयो, कतै आँखामा लेखेभन्दा नि दुगुना पढीदियो भने! नपढ्नु पर्ने नि पढीदियो भने! हाय! सार्है गाह्रो रैछ आँखा पढ्न दिनु पनि।
लेख्नेले भन्न त भनेकै थियो, कसैले लेख्न कलम दिए, कसैले खाली पन्ना दिए अनि मैले? मैले चाहिं पंख दिएँ रे! अब त्यही पंखले खुल्ला आकाशमा मेरै आँखाले उडान भर्ने होला, अनि त झन् मेरा आँखाभित्रका सबै सपनाहरु, रहरहरु छर्लंग हुने होला। अनि त खोइ म?
हुन त उसको लेखनीको सोधमा मुख्य पात्र म भए नि मैले मै हुँ भनेर भन्न पाउदिनँ र पनि त्यही लेखनी अद्भुत लाग्छ। केही नभनिकनै लेख्न सक्नु नै शक्तिशाली लेखनी हो। अनि उसको त फेरि १२ वर्षको अनुभव नै छ। उसलाई सबै कुरा थाहै रैछ। र त भन्छ- 'कति कुरा पढ्न अनुमति नहोला, सीमारेखा होलान्, परिस्थितिले नेदेलान्। '
'सबै कुरा भनेको अनुसन्धान जस्तै त हो नि।' मलाई खाली यस्तै वैज्ञानिक कुरा मात्र आउँछ।
'मनको डेटा त कसरी संकलन गर्नु हो?' उसको प्रश्न थियो।
'दिनको उजेलीमा दिमागको सोचले नि' जवाफ भनिहालेँ।
'धेरै उजेलीलाई पढ्दा त आफ्नै आँखा खान्छ, कसरी पढ्नु अनि। फेरि धेरै उज्यालो भयो भने धेरै कुरा देखिन्छ, के-के मात्र पढ्नु फेरि। '
'आँखा हुँदै मनमा पुग्नु, आँखाले देखेका कुरामा लोभिनु,नदेखेका कुराहरुमा कौतुहल हुनु, अनि सबै मिलेर लेख्नु। ओहो! धेरै गाह्रो पो हुने भो!'
उसलाई गाह्रो भए नि त्यति गाह्रो नहोला भन्ने मेरो बुझाई हो किनकी लेख्नेले त लेखिहाल्छ नि। र पनि उ भने भनि रहन्छ- 'पढाइमा आइटी र लेखाइमा केटी, दुवै गाह्रो, बुझ्ने गाह्रो हुन्छन,म बीचरा यी दुइटीको बीचमा!'
'हे हे, अन्त नि, साह्रै मर्का रहेछ हजुर' फेरि हाँसो उठ्छ मलाई।
'रश्मीले चन्द्रको दाग लुकाएकै छ बेसरी भन्ने कविता पढेको हो?'
'अहँ, पहिला विद्यालयमा पढेको हो। आँखामा पढ्नु भएन र?' मैले सोधी हालेँ।
'आँखा हेर्दा त भर्खर फक्रिदै गरेको देखिन्छ, बाँकी त मलाई के थाहा!'
उसले मेरा एक जोर आँखाको बयान यसरी गर्यो कि म आफै नि छक्क परेँ। कसरी लेख्न सक्छन्, कसरी पढ्न सक्छन् होला यसरी अरुको आँखा! त्यो पनि खाली! ओहो, साँच्चिकै, म आफै पनि अनविज्ञ रैछु आफ्नो बारेमा। मेरा आँखामा लुकेका कुराहरु अरुले देख्न, पढ्न सक्छन् भने, अहिलेसम्म मैले किन पढ्न सकिनँ, या त पढ्ने जाँगर चलेन।
न कुनै उपमा, न त कुनै उपमेय, र पनि कति गहन, कति सुन्दर लेखाई! साँच्चिकै, त्यस्तै छन् त मेरा आँखाभित्रका अदृश्य भाकाहरु! आँखा हुँदै मान्छेहरु मनभित्र नि पस्न सक्ने! अनि मनभित्रका सबै अमूर्त कुराहरु नि? के ती पनि सबै थाहा पाउछन्? वर्षौँदेखिन सम्हालेर राखेका मेरा सम्झनाहरु अनि यादहरु, के, ती पनि सबै पढ्न सक्छन्?
अनि मैले भोगेका सुखदुखहरु, खुसीहरु, के सबै पढ्न सक्छन् त? म आफैलाई प्रश्न गरेँ। सायद अलिअलि सक्छन् यदि चाहे भने। उसले मेरा एक जोर आँखा पढ्ने अनुमति मागे पनि, मलाई लाग्छ उसले मेरो सिंगो जीवन नै पढीसक्यो किनकी मान्छेको जीवन नै यिनै एक जोर आँखामा त हो नि बस्ने। फेरि आफ्नो जीवनको सबै रहिस्यहरु पढ्न दिनु, हर कोहीलाई पक्कै पनि दिँदैनन अनि हर कोहीले पढ्न नि सक्दैनन्।
वास्तवमा यसरी कुनै पनि साइनो नभएका मान्छेहरु एक्कासी जीवन यात्रामा भेट हुँदा, एक प्रकारले अद्भुत लाग्ने रैछ। साइनो बिनाका सम्बन्धहरु भनेका यस्तै हुन क्यारे! जुन मान्छेसँग न कुनै भेट, न कुनै साइनो, र पनि कति गहिरो आत्मियता रहन्छ। ती मेरा एक जोर आँखाको बयान पढेर धेरै पटक नियालेँ आफ्नै एक जोर आँखा, र पनि केही पढ्न या देख्न सकिन्न मैले।
कोही मान्छे आएर एक्कासी यसरी आफ्नै आँखाका सबै भाकाहरु पढ्दा, आफूलाई पनि पत्याउन गाह्रो! उसले कसरी पढ्न सक्यो, कुन चेतनाको चश्मा लगाएर पढ्यो अनि यति मिठो ब्याख्या गर्यो।
भन्न त भन्यो 'धन्यबाद, यति राम्रा एक जोर आँखा पढ्न दिएकोमा।'
सोचेँ, एक जोर आँखा मात्र पढ्न दिँदा त सिंगो जीवन पढ्न सक्छ भने, सिङ्गै अनुहार पढ्न दिए, कति जुनि अघिसम्मको पढ्न अनि लेख्न सक्ने होला।
'मैले मागेको कुरा पढ्न दिएरहने हो? फेरि एउटा नोबेल नै बन्ला है' उसले थपिहाल्यो।
'हे हे, झन् राम्रो नि' फेरि फिस्स हासेँ म।
'अनि जम्मै मेरो रुप चोरेर लेखेछ भनेर आरोप लगाउने हो कि? फेरि यो नोबेलको हेरोइन मै हूँ भन्न नपाउँदा पीडा हुन्छ कि? 'सोधिहाल्यो।
'लौ, आफैले थाहा पाए भैहाल्यो नि, बिगुल फुक्दै हिड्नु त पर्दैन नि' प्रतिउत्तर दिहालेँ।
'हुन्छ नि उसो भए, अब कैले लेख्नु, कैले छाप्नु, कैले हिरो बन्नु खै!' हाँसेरै बोलिदियो।
भर्खरै मात्र आँखा पढ्न सुरु गरेको उसले आँखा हेर्न दिएको साथीलाई भनेर पढ्न दिएको रे। बल्ल त पढ्न सुरु गरेको छ, र सुरुआतमै यति धेरै पढीसकेको छ भने सकिएपछि झन् त कति धेरै कुराहरुको खोज हुँदै जाने हो, म आफैलाई पनि उत्सुकताको विषय रह्यो।
उसले एउटा अनुहार चित्र मागेको थियो जसमा केही दुई/चार विशेषताको वर्णन थियो। मैले त्यही, मात्र एउटा चित्र खोज्न मेरो ल्यापटपभित्रका ती हजारौँ हजार चित्रहरुमा खोज्दा नि भेटिनँ। त्यसपछि लाग्यो, अहिले सम्मका सब बेकार रहेछन् जसमा ती सरल विशेषता नि थिएन। मेरा सबै अहिलेसम्मका जीवनका समयरेखाभित्र नि खोजेँ, तर त्यस्तो तस्बिर कहीं भेटिनँ।
मान्छेहरुले कसरी लेख्न सक्छन् त्यसरी खोइ! र पनि फेरि भन्छ- 'म आँखा अनि ऐनाबाट अघि बढ्न सकेको छैन, झन् ती समुन्द्रका परीहरुको खोइ कहिले लेख्ने हो।'
मेरा कुराहरु सुनेर कहिलेकाहीं त उसले मलाई हावा केटी नै भन्दो हो। उसले नि मलाई हावा केटी नै भन्छ। उसको लागि त म अझै सबैभन्दा धेरै हावा केटी रे! हुन त म अलि हावा केटी नै छु। अध्ययन पनि हावा नै हो। मेरो सुपरभाइजर नि हावा डाक्टर, हावा वैज्ञानिक नै हुन् अनि म ती सब हावालाई मान्छेको स्वास्थ्यसँग मेल गरी अध्यन गर्ने अल्प हावा केटी!
मेरो सोधपत्र पनि हावा नै छ, किनकी त्यसमा पनि म हावा, मान्छेको मुटुको ढुकढुकी अनि फोकसोकै बारेमा पढ्छु। सबैतिर बश हावा नै हावाको परिवेश छ, अनि त्यही बीचमा रुमलेकी म हावा केटी। उसले नि सायद यही सोच्दो हो। त्यही भएर कहिलेकाहीं सम्बोधन पनि तपाईबाट तिमी अनि कहिले तिमीबाट तपाईमा जान्छ।
मैले तिमी भन्दा हुन्छ भन्दा नि 'नाई, हुन्न' भनेर तपाई नै भन्छ। जस्तो जे भए नि आँखा पढ्ने मान्छे थियो उ, यसरी पढेको छ कि अहिलेसम्म मैले पनि कुनै किताब त्यति गहनताले पढेकी थिएन होला। आँखा पढ्ने उसले मेरो उपनाम नि पढ्न सुरु गरेछ। मेरो उपनामको उसले यति सप्रसंग ब्याख्या गरेर पढ्यो कि म स्वयं नै आफ्नो नामबारे अनविज्ञ थिएँ अहिलेसम्म जस्तो लाग्छ।
सेता पन्नामा निला कलमले लेखेका ती निला ओजनदार शब्दहरुले कति धेरै अर्थहरू बोकेको छ, म पढेर स्तब्ध छु। हैन, कसरी लेख्छ त्यसरी? म फेरि प्रश्न गर्छु। अनि उसको उही १२ वर्षको लेखनी अनुभवः
'तिमी त हुनेवाली डाक्टर साहिबा, र पनि कति राम्रा छन् तिम्रा हस्तलेखाइहरु, म त डाक्टर होइन, र पनि राम्रा छैनन् मेरा हस्तलेखाईहरु।' उसले हाँसेरै भन्यो।
मैले पनि मुसुक्क हाँसेर भनेँ 'तिमी पनि त आँखाको डाक्टर होइन, र पनि कति मज्जाले अरुको आँखा पढ्न अनि हेर्न सक्छौ नि।'