शान्ति सम्झौता भयसँगै संयुक्त रष्ट्र (यूएन) को निर्देशनमा जनशक्ति सेनाबाट असक्षम भनी केही जवानलाई घर फर्काइदै थियो। यसैमा चितवनको शक्तिखोर क्याम्पबाट आलोक मगरलाई पनि असक्षमको दायरामा राखियो। शनिबार क्याम्पमा बिदाई कार्यक्रम थियो।
शुक्रबार बेलुका आलोक क्याम्प इन्चार्ज किसन गुरुङलाई भेटे। इन्चार्जलाई उनी आफू घर नजाने, बरु जसो-तसो गरेर भए पनि क्याम्पमा नै बस्ने कुरा गरे। उनलाई क्याम्पमा राख्न नसकिने बरु सदरमुकाम काठमाडौँ पठाउन सकिने कुरा इन्चार्ज गुरुङले गरे।
आलोक स्याङ्जाका थिए। उनको उमेर २४ तर सेनामा भर्ती हुँदा उनी सत्र वर्षका थिए। उनको कद पनि सानो भएकाले उनलाई असमर्थ भनियो। शनिबार बिदाइ कार्यक्रम सकिएपछि उनलाई काठमाडौं पठाइयो। यसरी पार्टीले आफूलाई असक्षम भन्दा सयौँ जनशक्ति सेनाको मन रोएको थियो।
बिदाई कार्यक्रममा घर फर्किने होस् वा नफर्किने, सबैका आँखामा आँसु देखिन्थ्यो। कसैको नजिको साथी गए त कसैको मनको प्रेम। कसैले दुईजीउ भएकी बुढीलाई छोडनु पर्यो, त कसैले आफ्नो सपना मार्नु पार्यो।
सदरमुकाममा आलोकलाई मोबाइल पसलमा मोबाइल बनाउने काम सिकाइयो र नजिकै एउटा बस्नलाई कोठा दिइयो। छ महिनाको सिकाइपछि उसलाई एउटा मोबाइल रीपेर् सेन्टर खोलियो। वरिपरिका व्यापारीसँग उसको चिनजान त भयो तर नजिकको मित्रता हुन सकेन।
पसलमा हुँदा उसको ध्यान काममा थियो तर जब उ कोठामा एक्लै भयो, उसलाई एक्लोपनले सताउन थाल्यो। करिब पहिलो छ महिना उसलाई गाह्रो महसुस भएन। पछि द्वन्दकालका समयको घटनाले निन्द्रा लाग्न छोड्यो। कहिलेकाहीँ उसलाई रातभर निन्द्रा लाग्दैन थियो। निन्द्रा लागे पनि छट्पटाउन थाल्यो।
नराम्रो सपना देख्थ्यो र पसिनाको सागरबाट उत्रिएझै शरीरबाट पसिना छोड्थ्यो। उसको दिमागमा संकटकालको लडाइँ, बन्दुक, बारुद, साथीको मृत्यु, महिला सहकर्मीमा नेपाली सेनाले गरेको अत्याचार जस्ता कुराले निकै सतायो। यस दश वर्षको जनआन्दोलनले यस्तरी नै धेरै युवाको निद्रा पचाएको छ र आजसम्म यस्को फल देखिएको छ त शून्य, केबल शून्य।
काठमाडौँ आएको एक वर्ष भएकै थियो कि राति ११ बजे अलोकको मोबाइल बज्छ। आफ्नो ओछ्यानमा निद्राको लागि तड्पिएको उ कुनै ग्राहकको फोन होकि भन्ने सोची, फोन उठाउँछ।
'हेलो… आलोक!! हेलो'
ग्राहक भएको भए दाइ कि भाइ भन्नु पर्ने। तर अचानक नामले बोलाउँदा को हो, मेसो पाउदैन।
'हेलो!' आलोक उताको हेलोको जवाफ फर्काउँछ।
'आलोक, चिनेउ मलाई?'
आवाज चिनेको जस्तो भान त पर्छ तर मान्छे ठम्याउन सक्दैन।
'म फुल्की के! तेरो फुल्की।'
यस्तो मधुर स्वरले आलोकको भित्री आशा फुकेर आँसुको दिव्य गति लिन्छ।
'आलोक!! आलोक!! के भो? ठिक छस्?'
यत्रो वर्षपछि कसैले उसको बारेमा चिन्ता देखाएकोमा उसका गहभरीका आँसु, हुल बाडिझै फुस्रा गलामा दौडन पुगे।
'म ठिक छु। तलाई कस्तो छ? घरमा सब ठिक छन्?' गालाका आँसुलाई हातले पुछ्दै भन्छ।
'यहाँ सबैलाई ठिक छ। मैले तलाई खोजेको महिनौँ भयो।'
फोनको अर्को तर्फबाट मायाको भावले चिन्ताका शब्द गुन्जिएसँगै आलोकले आफ्ना जिज्ञासा पोख्यो 'काहाँबाट पाइस् मेरो नम्बर?'
'गएको महिना पल्ला घरे घर्ती आएको थियो। त चितवनमा छैनस् भनेर उसैले भन्यो अनि क्याम्पमा फोन मिलाएर तेरो नम्बर मिलाईदिन अनुरोध गर्यो। आज बल्ल क्याम्पबाट फोन आयो, साथै तेरो नम्बर पनि मिल्यो।'
यस्तै-यस्तै उनीहरू बीच निकै लामो गफ हुन्छ।
यस्तरी नै फुल्की र अलोक बीचमा फोन सम्पर्क बढ्न थाल्छ। जुन रात आलोक फुल्कीसँग कुरा गर्छ, त्यो रात उ मजाले निदाउँछ। फुल्की, हेर्दा डल्ली-डल्ली गोरो वर्णकी बाहुनकी छोरी। घरकाले रिस उसको नाकको टुप्पोमा छ भन्थे।
सबै गाउँले ठूलाबढालाई सम्मान गर्ने अनि सानो बच्चा भनेपछि हुरुक्कै हुने फुल्की, दुई चुल्ठो बाटेरसँगै विद्यालय जान्थी आलोकसँग। आलोकले फुल्कीलाई गालामा चुम्बन गरेको कुरा गाउँमा फैलिएर फुल्कीका बुवालाई थाहा भएपछि आलोकलाई करुवाले हिर्काउनसम्म भ्याएका थिए।
आफ्नो छोरालाई अरुले हान्न खोज्दा कस्का बुवालाई रिस उठ्दैन र! आलोक र फुल्कीका बुवाहरु बीच निकै चर्काचर्की भयो। यसै कारणले छिमेकी भए पनि दुई घर बीचमा राम्रो सम्बन्ध हुन सकेन।
तीन महिना जति फुल्कीसँग कुरा गरेपछि अलोकलाई फुल्कीले गाउँ आउन अनुरोध गरी। फुल्कीको अनुरोधलाई टाल्दै केही दिन बित्छ। धेरै दिन अनुरोध टाल्न नसकेपछि आलोक अब आफ्नो गाउँ खैरीकोट जान तयार हुन्छ।
फुल्कीको लागि अलोकले जिन्स किन्यो, नीलो जिन्स। फुल्कीलाई नदेखेको वर्षेनी भएपनि आफ्नो कल्पनाको फुल्की बनाईसकेको थियो। अहिले उ हर्लक्क बढेकि होलि। बाहुन भए पनि छोटा फैलिएका नाक, साना कान अनि मिलेका दात बाहिर गुलाबी ओठ। फुल्कीको जवानीको मोहमा आलोक डुबेको छ र डुब्नुमा एक बाध्यत छ जहाँ मिठो आनन्दको अनुभूति छ।
खैरीकोट पुगेसँगै आलोक आफ्नो घरको बाटो लाग्छ। उसको घरसम्मको पैदल यात्रा केबल १५ मिनेटको छ। घर जाने बाटोमा एउटा बरको ठूलो रुख छ। आलोक बरको रुखनिर पुग्छ र आठ वर्ष पहिले देखेको त्यस रुखलाई नियाल्छ। उस्का मस्तिष्कमा आठ वर्ष पहिले यो बरको रुखमा भएका सबै घटना एकपछि आर्को गरी दौडन थाल्छ।
उ रिसले जुर्मुराउछ, कान र आँखा राता पार्छ। शरीरभरी काँडा उम्रन्छन् अनि क्रोधको आगोले राता अँखाबाट ताता आँसु झर्छ। खुला हत्केलालाई अचानक् बलिया मुठी बनाउछ अनि निदार खुम्च्याएसँगै दात किट्न थाल्छ।
क्रोधको आगोसँगै उ फुल्कीको घरमा पुग्छ। त्यहाँ आँगनमा फुल्कीको आमालाई देख्छ अनि सोध्छ, 'फुल्की, कहाँ छे आमोई?'
'कैले आइस बाबई त? निकै ठुलो भएछस्।'
'आमोइ फुल्की कहाँ छे। भन्देउ मलाई' आफ्नो क्रोधलाई लुकाउने प्रयासमा सोध्छ।
'बाबु हेर त्यस्को बिहे भाको थुप्रो भो। आइले पल्ला गाउँ सिस्लेमा छे।'
'त्यस्को पोइ को हो?' आक्रोशसँग प्रश्न गर्छ।
'गाउँमा खड्के भन्छन् बाबु।'
आलोक आफ्नो पाइला लम्काउदै सिस्ले तिर लाग्छ।
खोज्दै जाँदा आलोक दिउँसो मध्याह्नमा खड्केको घर पुग्छ अनि घाटीमा जोड पर्ने गरी कराउँछ, 'फुल्की!!!! ए... फुल्की'
आवाजको चर्काइकले गर्दा फुल्की हतासिदै घर बाहिर आउछे।
आलोकको क्रोधको अनुहार देखेर उ अलिक गम्भीर मुद्रामा प्रश्न गर्छे, 'आलोक! त कहिले आएको?'
फुल्कीलाई देखेपछि रिस देखाउन खोजेझै गरी घरको पाली बाहिर हात मुठी पारेर अँखा ठूलो पार्दै भन्छ, 'पापी… तँ पापी!!!' अनि एकोहोरो फुल्कीको आँखामा हेरिरहन्छ।
'आलोक तैले बुझिनस्' संवेदनाको भाव पोख्दै फुल्की आलोक तर्फ हल्का अघि बड्छे।
'बुझ् न त, बुझ्! मैले के बुझेको रैन रैछु, बुझ्!' फेरि पनि आलोक घाटीमा सक्दो जोर पर्ने गरी कराउँछ।
'मैले जे गरेँ, त्यो सबै समयको परिस्थितिले गरेँ। अनि मलाई के थाहा पछि त्यस्तो हुन्छ भनेर...' आँखाबाट आँसु झर्दै भन्छे फुल्की।
फुल्कीको आँखामा आँसु देखेर आलोक अलिक शान्त हुन्छ। केही क्षणको मौनतापछि आलोक आफ्नो झोलाबाट जिन्स झिक्छ। फुल्की जिन्स खोल्छे अनि आफ्नो कम्मरसँगै मिलाएर मुस्कुराउँछे। आफू अब यस्तो आधुनिक कपडा नलगाउने भनी जिन्सी आलोकलाई फिर्ता दिन्छे।
जिन्स आलोकको हातमा परेसँगै उ फुल्की तर्फ अघि बढ्छ। फुल्कीलाई च्यापेर अंकमाल गर्छ अनि भन्छ 'थाहा छ फुल्की तलाई, सहरमा म निकै एक्लो भएँ। निकै एक्लो!! बा-आमाको याद आयो, साह्रै नै। तसँग फोन पनि भयो मेरो। धेरै जसो राति जब म सुत्न सक्थिनँ, तँ मलाई फोन गर्थिस् फुल्की। हेर्न मेरो मस्तिष्कमा त कसरी बसेकी छेस्।
त्यति बेला मलाई थाहा भएन तर आज जब म त्यो बरको रुखलाई देखेँ, मलाई सबै कुरा प्रष्ट थाहा भो। तेरो फोन आउने त्यो मेरो कल्पनामा पनि एउटा उदेश्य लुकेको छ। जस्ले मलाई फेरि मेरो गाउँ डौहोरायो। मैले बुझेँ, सबै बुझेँ।'
फुल्कीलाई आफ्नो अँगालोबाट हटाउँदै दुवै हातले जिन्स समात्छ। जिन्स अचानक फुल्कीको घाटीमा बेर्छ अनि जोरसँग जिन्सलाई आफूतिर तान्छ। फुल्की विचरी बेसहारा, उस्को बोली फुट्न सक्दैन र केबल छट्पटाउछे।
फुल्कीलाई भुइँमा लडाएर आलोक भन्छ, 'पुलिसले त्यो बेला कसैको बयान सुनेर मात्र अरुलाई मार्थ्यो। बयान दिने तँ थिस् फुल्की, तँ! हो, मेरो घरमा क्रान्तिकारी आउथे, तर तिनीहरुसँग बाको कुनै सम्बन्ध थिएन। तैले गर्दा पुलिसथाना बोलाएर मारे मेरा बा-आमलाई अनि झुन्डाए त्यो बरको रुखमा।'
यति भनेसँगै फुल्की चलबलाउन छाड्छे। फुल्कीको घाटीबाट जिन्स फुकाउँछ अनि जिन्स हेरेर भक्कानो फुट्ने गरी रुन्छ।