'टाइम फ्लाइज लाइक एन एरो' भाषाको अस्पष्टता र यसको सीमितताबारे धेरै बहकिनु भयो हाम्रा ल्याङ्ग्वेज एन्ड कम्युनिकेसन पढाउने देव सर।
उहाँले एउटै वाक्यमा धेरै अर्थ लाग्न सक्ने उदाहरण दिनुभयो। मलाई भने यसले अर्कैतिर उडायो। उडेको बाल्यकाल र फेरिएको आफूलाई पुनरावलोकन गर्न थाले। म एउटा भाषाबाट अर्कैतिर उडेको कुरा पनि भाषाको बहुआयामिक अर्थ नै हो।
यस्तै गन्थन–मन्थन भयो आजको अनलाइन जुम कक्षामा। यो कुरा जीवनमा काम लाग्छ? कसरी? मनमनै एउटा विचार आयो। विचारले डेरा जमाउन नपाउँदै टेलिकमले २०० एमबी डेटा मात्र बाँकी भएको समाचार पठायो। कक्षा पनि सकियो।
सबै गएपछि सरले मलाई भन्नुभयो, 'बिनय बाबु, तिमी गाउँ गएका रहेछौ, मेरो पनि त्यही वडा हो। त्यहाँका बारे मलाई सबै थाहा छ। हेर, त्यहाँ बसिरह्यौ भने तिमी पागल हुन्छौ। पढाइ पनि बिग्रिन्छ। तिमी छिटो काठमाडौं आइहाल।'
आफ्नो मात्रै कुरा गरेर 'हतारमा छु, पछि कुरा गरौंला' भन्दै हिँडे देव सर- मिटिङ इन्डेड बाइ होस्ट।
मनमनै सोचेँ, 'सर किन गाउँप्रति यति धेरै वितृष्ण हुनुहुन्छ? केही नमिठो अनुभव हुनसक्छ। लेक्चरर जस्तो मान्छे सबै कुरा विचार गरेरै भन्नुभएको हुनसक्छ। मैले उहाँको कुरा मान्नुपर्छ, काठमाडौं जानुपर्छ म।'
लकडाउनका कारण स्नातक दोस्रो सेमेस्टरको परीक्षा रद्द भएपछि म गाउँ आएको हुँ।
मिटिङ सकिएपछि बाहिर बार्दलीमा निस्किएँ।
हेरेँ– घाम लाग्दा टल्किएको गाउँ। मेरा आँखा नामका लेन्सहरूलाई मेरो शरीरको ट्राइपडमा राखेर विस्तारै घरबारीमा तेर्स्याएँ। बारीका धानको रोपो गजबले गाँजिदै छन्।
मन्द हावाको झोक्कासँगै लहराएका छन्। बारीमा छाल आएको जस्तो देखिन्छ। आँखाको लेन्स जुम गर्दै विस्तारै खोलाको बगरमा हेर्छु, गाईवस्तुहरू चरिरहेका छन्। मैले देखिरहेका यी खेत बगर र यो ठाउँमा मेरा बा, हजुरबुवा र हाम्रा पुराना पुस्ताहरू जन्मिए, खेले र यहीँ बिलाए। यो ठाउँ जस्ताको त्यस्तै छ। कहिले बुढो भएन, कहिले सकिएन यो ठाउँको आयू।
समयको यात्रा गर्न मिल्ने भए इतिहासमा गएर मेरा पूर्खाहरूलाई यही ठाउँमा नियाल्न मन छ मलाई। कसरी बाँच्थे? कसरी हाँस्थे उनीहरू? के हाम्रा व्यथा पनि उस्तै हुन्?
अघिल्ला हुँदै मेरा पछिल्ला पुस्ताको परिकल्पना सुरू गर्न के लागेको थिएँ, आमा नेपथ्यबाट अघि सर्नुभयो।
'छोरा पारि खेत जान्छस्?'
मैले उत्तर दिन ढिला गरेपछि आमाले अर्को पुच्छ्रे वाक्य जोड्नुभयो, 'खेतमा पानी हेरेर आइज। अनि फर्किँदा मामाको घरमा पनि निस्केर आउनू। तलाईं सोध्दै हुनुहुन्थ्यो तेरा जेठा मामा।'
मामा भनेपछि मरिहत्ते गर्थेँ रे सानोमा। मामाले पनि तलाईं औधी माया गर्नुहुन्थ्यो।
म बालापन सम्झिने प्रयास गर्दै थिएँ। किन नबोलेको भनेर आमा कड्किनुभयो।
'आमा म जान्नँ, भाइलाई पठाउनू। मलाई जान मन छैन। सधैं गएकै त हो नि।'
मेरो जवाफ सुनेर आमाको चम्किलो अनुहार उत्तिनै खेरै झ्याप्प निभ्यो। उहाँ छक्क पर्नुभयो। हुन पनि म रहिनँ। लकडाउनका कारण मात्र म अडिन परेको हो।
गाउँ हेरेपछि मैले फरक हुँदै गरेको आफूलाई प्रष्ट देख्दैछु। म के भइरहेको छु? म किन यस्तो भइरहेको छु?
आमाले सोच्नुभयो होला– केटाकेटी छँदा पारि खेतमा खेल्न पाउँदा म औधी रमाउँथेँ। मामा घर जाँदा म बेपत्तै खुसी हुन्थेँ। तर मैले यसरी रमाउन बिर्सिसकेको छु। मलाई यो पनि थाहा छैन, यसको सट्टामा म के सम्झिरहेको छु! किन यो बिदा लामो भइरहेको छ मलाई?
म गाउँ आएपछि आन्तरिक द्वन्द्वमा फस्दै गएको महशुस गरेको छु। त्यसैले म चाँडोभन्दा चाडो गाउँबाट भाग्नु छ। र हराउनु छ साँघुरो सहरमा। लुक्नुछ जीवनभरि आफैंबाट।
तर यो लकडाउन? म भाग्न सकिरहेको छैन गाउँबाट। तर सकेसम्म म भागिरहेको छु आफन्त, चिनेजानेका गाउँले र साथीभाइसँग।
म छु भनेको थाहा पाइसकेपछि यहाँका मान्यताले मलाई अरूसँग दाँज्न, जोख्न थालिसकेको छ। द्वन्द्व बढ्दैछ। भयको पारो माथिमाथि चढिरहेको छ। भाग्न खोजिरहेको म भाग्न नसक्दा निसास्सिएको छु। गाउँको स्वच्छ हावामा सास लिन गाह्रो भएको छ।
यत्तिकैमा हाम्रो घरमा कोही आयो। ऊ मेरो स्कुल पढ्दाको साथी भक्तबहादुर। जति लुके पनि उसले मलाई फेला पारिहाल्यो। मसँगैको ऊ दुईपटक विदेश बसेर आइसक्यो।
'स्कुले साथीहरू गाउँमा छैनन्। भएकाहरू बेरोजगारीले विरक्तिएका छन्। साथी रिताकी छोरीको बलात्कार भयो' भक्तले एकसरो गाउँको खबर सुनायो।
यस्तै विरक्तलाग्दा समाचारले गाउँप्रति मेरो मोह हराउँदै गएको छ।
भक्त हतारमा छ। आज गाउँमा स्थानीय तहको बैठक भएको र आफूहरू जानुपर्ने कुरा बतायो। नजान खोजेको मलाई उसको ढिपीले लग्यो। हामी गयौं।
चौतारीको अलिपर बसेर युवा केटाहरू चुरोटको धुवाँ उडाइरहेका थिए। उनीहरूमा धुवाँबाटै अनेक आकृति कोर्ने प्रतिस्पर्धा थियो। धुवाँको कला कति समय हेर्न सकिएला?
यहाँँ मैले कहिल्यै नदेखेका महिला, केटाकेटी पनि देखे। उनीहरू मलाई नचिनेको जसरी क्वारक्वार्ती हेरिरहेका थिए। मेरा आँखाले हामी सानो छँदा देखेका राम दाइका छोराछोरी खोजिरहेको थियो तर देखिएनन्।
भक्तले बुझेछ, भन्यो – राम दाइका छोरीहरू बिहे भएर गइसके।
हे भगवान, समय त उड्ने रहेछ!
म त बुढो भइसकेछु। म आत्तिएँ। मनले काठमाडौं सम्झियो। त्यहाँ म जस्तै उमेरका अधवैंशेहरू केटाकेटी बनेर बस्न पाएका छन्। सितिमिति कसैले प्रश्न सोध्दैनन्।
बैठकमा भक्तले विदेसिँदाको अनुभव बाँड्यो। र गाउँमा केही उद्यम सुरू गर्नुपर्ने उर्जाशील विचार राख्यो। त्यसका लागि वडाले पनि लगानीमा सहयोग गर्नुपर्ने बतायो।
वडाध्यक्षलाई रिसाएर तुरन्तै जवाफ फर्काए –रामेले साबुन उद्योग चलाउन वडाले सहयोग गरेको हाइन? उसले लगानीसम्म उठाउन सकेन।
वडाध्यक्षले त्यसो भन्दा राम दाइ केही बोल्न खोज्दै थिए। तर उनलाई वडाध्यक्षले रोक्दै भने– त्योभन्दा त सहरमा गएर काम गर्दै मुखमा माड लाग्छ।
यत्तिकैमा मेरो हात उठ्यो। हात उठाएँ तर के बोल्नु?
'वर्तमानको चुनौती सामना गर्न सक्ने ऊर्जा युवासँग रहन्छ। त्यसैले अब बाहरूले आराम गरेर युवालाई मौका दिनैपर्छ। दुःखको कुरा उद्यम गर्नुपर्ने यहाँका युवा कुलतमा छन्। पुरुषले जुवातास छोड्नुपर्छ। सबै सच्चिनुपर्छ। महिलालाई अघि बढ्न प्रोत्साहन गर्नुपर्छ।'
यो भाषण धेरैलाई मन परेन। युवाहरूले नै मलाई आँखा तरेर हेरे। तर कथित ठूलो परिवारको मैले बोलेको भएर मात्र कसैले हात उठाउने आँट गरेनन्। म र मेरो साथीबीच तुलना हुन सुरू भयो।
मेरो बुद्धि पछाडिबाट आयो– दुई दिनको पाहुना म किन जान्ने हुनु परेको?
मलाई रिस उठेको कुरा थाहा पाएपछि भक्तले मलाई चिया पसल लग्यो।
उसले दुइटा कडा चिया मगाउँदै भन्यो, 'हेर मैले तैंले जति पढेको छैन। तैंले राम्रो कुरा गरेको होस्। तेरो कुरामा मेरो समर्थन छ। तर हेर, तैंले गरेको कुरा व्यवहारमा उतार्ने कसले?'
मैले केही बोल्न खोज्दा-खोज्दै उसले थप्यो, 'तँ जस्ता मान्छे दुई-चार दिनै गाउँबाट उडिहाल्छौं। अनि कसले गर्छ यहाँ? गाउँमा विकास भएको संस्कार गाउँलेको चेतनामा भर पर्छ। जे हुनुपर्छ भन्दैछस्, त्यो चिज यो ठाउँका मानिसको चेतनामा छैन।'
यसपालि मैले केही बोलिनँ। उसले न एउटा प्रस्ताव राख्यो, 'तँ बसुन्जेल मेरो घर आएर नानीबाबुलाई केही नयाँ कुरा सिकाइदे। उसको इच्छा थियो, साथीले छोराछोरीलाई काठमाडौंमा सिकेको जीवनउपयोगी सिप सिकाओस्।'
मलाई लाग्दैन, मैले काठमाडौंमा केही चाहिने कुरा सिकेँ। म आफैं अस्वभाविक र अचम्मको प्राणी भइरहेको आमाको टिप्पणी छ। मैले जानेको कुरा आफैंलाई काम लाग्दैन, अरूलाई कसरी काम लाग्छ?
मेरा तर्कले भक्तलाई सन्तुष्ट पारेन। मलाई भने उसको जीवनशैली लोभ लागेको थियो। उसँग घरगृहस्थी थियो। स्कुलमा लभ परेकै केटीसँग दोस्रो पटक विदेश जानुअघि बिहे गरेको थियो। छोरीछोरी हुर्कँदै थिएँ।
मैले भने यो बेलासम्म आफूलाई पाल्ने जोहोसम्म गर्न सकेको छैन। चौतारीमा कुरा हुन्छ, 'विनयभन्दा भक्त निकै अगाडि र व्यवहारिक ठहरियो। भक्तले जित्यो। हामी कुनै खेल खेलेका थियौं र? समाजको तराजुले हाम्रो राम्रो सम्बन्धमा अनेक समस्या उमारिदिएको जस्तो लाग्छ। मेरो मन खल्लो हुन्छ।
मलाई बस्नै मन छैन यो गाउँमा। हैन, मलाई बस्नै दिँदैन यो गाउँले। मलाई कसैले खोजी निन्दा नगर्ने नरक काठमाडौंको सम्झनाले सताउँछ। यी सबै कुरा मनमनै केलाउँदै जाँदा अनायसै मैले भोलि नै गाउँ छोड्ने निधो गरेँ।
म बस्दिनँ यो गाउँमा। तुरुन्तै सरलाई पनि फोन गरे, 'सर तपाईंले भनेको कुरा सही रहेछ। म पागल हुन लागेँ। काठमाडौं आइहाल्छु।'
हाम्रो कुरा सुनिरहेको भक्त केही नबोली हिँड्यो।
भोलिपल्ट खाना खाने बित्तिकै भक्तको घर गएँ। भक्तले ठूलै परिवार बनाइसकेको रहेछ। उसका छोराछोरीलाई हेरेँ। उसकी छोरी ठ्याक्कै भक्तकी श्रीमती सारिकाजस्तै अनुहार परेकी, राम्री।
एकनजर सारिकालाई हेरेँ। स्कुलमा प्रायः सर्ट-फरकमा देखेको शरीरमा गला खोलिएको कुर्था र सलवार थियो। कति चाँडो आमा भइसकेकी थिइन् उनी।
यत्तिकैमा भक्तले भन्यो- मैले त धेरै पढ्न सकिनँ। तर छोराछोरीलाई असल मान्छे बनाउने प्रयास गर्छु।
यसो भन्दा उसको आँखा रसाएका थिए।
नरमाइलो मान्दै भक्तलाई भनेँ, 'भक्त त चिन्ता नली। तँ मभन्दा अगाडि छस्। देखिनस् मलाई त गाउँलेले पनि मन पराउँदैनन्।'
'हैन बिनय म बिग्रेको हुँ। केही गर्न नसकेर त बिहे गरेको,' उसले थप्यो।
'हैन तैंले बिहे गर्न सकेर आँट गरेको होस्। मसँग अझै त्यो आँट छैन,' मैले तारिफ गरेँ।
हामी यसरी एकअर्काको प्रशंसा र आफ्नो आलोचना गरिरहेको थियौं। तर कोही पनि सन्तुष्ट थिएनौं। हामी आफूसँगै समाजको विकासमा योगदान गर्न चाहन्थ्यौं। तर एक्लै त्यो काम सम्भव थिएन।
काठमाडौं जान सजिलो भएन। केही दिन गाउँमै रोकिएँ।
एकदिन देव सरले फोन गर्नुभयो, 'तिमी काठमाडौं फर्किदा नबिर्सी मेरो घर गएर केही सामान ल्याइदेऊ। मैले आमालाई भनेको छु।'
भक्त र म देव सरको घर गयौं। मैले सरको कुरा गर्दा उहाँकी आमाबुवा निकै खुसी हुनुभयो। उहाँहरूको उमेर अनुसार छोराको व्यग्र प्रतीक्षा थियो। तर देवसरको गाउँ फर्कने सम्भावना शून्य थियो।
म छक्क परेँ। किन मान्छे यसरी फेरिन्छ? किन मान्छे यसरी अस्वभाविक र अप्राकृतिक हुँदै जान्छ? मलाई सरदेखि रिस उठ्यो। फेरि आफैंलाई सम्झिएँ- म पनि त्यही बाटो हिँडिरहेको छु।
खपिनसक्नुको पीडा भयो। देवसरका लागि गुन्द्रक र घिउको बट्टा बोकेर फर्कियौं। अझैसम्म पनि बुवाआमा सरलाई सामान पठाउनु हुँदैछ। तर बुवाआमालाई सरले केही पठाउनु भयो र मसँग?
आज सोमबार देव सरकै कक्षा। सरप्रति घृणा पलाउन थालिसकेको थियो। पहिलाको जस्तो चुप लागेर हुँदैन अब। म मन नलागी-नलागी अनलाइन कक्षामा जोडिएँ। मलाई आज सरको कुनै कुरा ग्रहण गर्न सकिरहेको थिइनँ। अनेक प्रश्नले हिर्काउन मन थियो।
जसोतसो सकियो कक्षा। कक्षा सकिएपछि सरले देशको भविष्यको बारेमा निकै गन्थन गर्नुभयो– देश अब यस्तै हो।
मैले हिम्मत जुटाएर सोधेँ– सर तपाईं इच्छा एउटा छ काम अर्को किन गर्नुहुन्छ? तपाईंजस्तो मान्छेले निराशावादी कुरा गरेर हुन्छ? नयाँ विकल्पका बारे विद्यार्थीलाई ऊर्जा दिनु पर्दैन?
मेरो प्रश्न सरलाई गाह्रो भयो कि सजिलो, मेसो पाइनँ।
एकछिन त सर बोल्नुभएन। र एकछिनपछि गम्भीर भएर भन्नुभो, 'हेर मैले प्रयास नगरेको हैन। आफ्नै गाउँमा केही गर्न दिइएन मलाई। हाम्रो समाजको यथार्थ बताएको हो मैले। विस्तारै तिमीले पनि यो कुरा बुझ्छौ। हेर त्यो गाउँले झन्डै मलाई पागल बनायो। अब तिमीलाई पनि पागल बनाउँछ। तिमी चाँडोभन्दा चाँडो काठमाडौं आऊ।'
मैले भनेँ, 'तपाईं चाँडोभन्दा चाँडो आफ्नो गाउँ आउनुहोस् सर। तपाईं त्यहाँ नहुँदा त्यति फरक पर्दैन। तर तपाईं यहाँ हुँदा धेरै फरक पर्छ। एक्लै केही गर्न सकिँदैन। तर अब तपाईंलाई हामी साथ दिन्छौं। हो सर तपाईंलाई गाउँ पर्खिरहेछ।'