फलाम कुटेर धारिलो धार बनाउने बिर्खे दाइ
जीवनको बोधोपनमा धार लाउन कहिल्यै सकेनन्,
दुनियाँको भारी गन्तव्यमा पुर्याईदिने हर्के दाइ
मनको भारी बिसाउने छहारी कहीँ कतै पाएनन्,
गाउँले सबैका कपडा चिटिक्क सिलाईदिने टाले दाइ
आफ्नो फाटेको जीवन च्यातिएका सपनाले छोपिरहेछन्
मुखियाको घरबार सफा सुग्घर पार्ने सुन्तली दिदी
आफ्नो दैनिकी मैलो मजेत्रो र फरियाले नै हुर्काइन्
समय फेरियो, कुर्सी फेरियो अनि भाषण फेरियो
तर आज पनि ती दाइ दिदीको जीवन दुरुस्तै छ,
बिर्खे दाइ चिसो हात कमाउँदै तातो फलाम कुट्छन्
हर्के दाइ सलक्क परेको हलुका भारी गरुङ्गोसँग बोक्छन्
टाले दाइ आफ्ना सपना सिउने बेरंगी धागो छान्दैछन्
सुन्तली दिदीको आङले अझै सफा मजेत्रो भेटेको छैन
गाउँ फेरियो सहर फेरियो पुटुक्क परेका बिगुले फेरिए
तर जसका लागि फेरिए ती सबै अझै उस्तै छन्
खै! के फेरियो?