कविता
उसले भन्यो
बा,
धर्ती चिरौं
भान्सा फोडौं
भाँडाकुँडा र गाईवस्तु भाग लगाऔं।
सियोदेखि सुनसम्म
नूनदेखि बैगुनसम्म
छानादेखि मानासम्म
सबैको एक-एक हिसाब गरौं।
बाले उसले खोजेजस्तै गरिदिए।
बाले कहिल्यै भनेनन्
तिम्रो कलमको टुप्पोबाट निस्किएका
हाम्रा रगत-पसिनाका थोपाहरू
तिम्रो शरीर ढाकिँदा
चिसोले दुखेका हाम्रा करङहरू
तिमीले जुत्ता लगाएर दौडदै गर्दां
काँडाले घोचेका हाम्रा पैंतालाहरू
सबै-सबैको हिसाब गरौं।
उनलाई पनि मन हुँदो हो
आधा पेट बाँझो धर्ती फोडेको उनको विगत बाँड्न
असारे झरीमा रूझेको उनको ओसिलो आङ् बाँड्न
पुसको चिसोमा फाटेका उनका कुर्कुच्चाको दर्द बाँड्न
सन्तानका सपनाहरूको सारथी हुँदा
स्खलित भएका आफ्नै सपनाहरूको फेहरिस्त सुनाउन।
अहँ उनले त्यस्तो केही गरेनन्।
बाले त्यसै गरिदिए
जसो-जसो ऊ चाहन्थ्यो
बा-आमाको रगत पसिनाले जोडेको धर्ती
आफ्नो नाममा दर्ज गरेर ऊ
अहिले सहर भासिएको छ।
अहिले बा ऊसँग
कहिले सुख बाँड्न खोज्छन्
कहिले दु:ख साट्न खोज्छन्
कहिले बोलाउन खोज्छन्
कहिले बोलाइदिए हुन्थ्यो भन्छन्
ऊ बालाई बिल्कुल सुन्दैन
ऊ बालाई बिल्कुल सुनाउँदैन।
धर्ती चिरेको दिन नचिरिएको उनको छाती
भान्सा फोडेको दिन नफुटेको उनको मुटु
अहिले क्षत-विक्षत अवस्थामा छ।
(कुशे औंसीको अवसरमा यो कविता बुढेसकालमा आफ्नै सन्तानबाट उपेक्षित तमाम् बुवा-आमाहरूप्रति समर्पित गर्दछु।)