कविता
महिनाको अन्तिम साता
हाम्रा आँखा
बाटोमै बिछ्याएर
हामी पर्खी रहन्थ्यौ
बुवा फर्कने बाटो
ती अन्तिम साता
लाग्थ्यौ किन यति लामा हुन्छन् ?
ती दिन लाग्थ्यो
घाम किन डुब्दैन छिटो ?
बुवा किन फर्कनु हुन्न छिटो ?
महिनाको अन्तिम साता
बुवाले हातै भरि सामान बोकेर फिर्दा
लाग्थ्यो यो दिन सकिँदै नसकियोस्
आमा रिसाउनु हुन्थ्यो
‘ऊ तलब बुझे जस्तो छ’
आमा रिस भित्र खुसी हुनुहुन्थ्यो
मलाई आमा सधैं
यसरी नै रिसाएको मनपर्थ्यो
अझ आमाको
अलिकति धेरै रिस
मेरो भागमा परोस् जस्तो लाग्थ्यो
महिनाको अन्तिम साता
बुवाको तलब जो आउथ्यो
तलब सँगै
लाला बालालाई मेवा र मिठाइ आउथ्यो
अन्तिम साता भरिने
फलफूलको टोकरी पनि
आफू भरिएको भनेर
छाती फुलाउथ्यो
त्यति बेला
सब भन्दा मलाई
बुवाको तलब मनपर्थ्यो
जस्ले हामी भित्र खुसी भर्थ्यो
आफू रित्तो हुन्थ्यो सायद
हामीलाई भने पूरा बनाउथ्यो
महिनाको अन्तिम साता
मलाई बाटोमा बुवालाई
कुरिरहुँ जस्तो लाग्थ्यो
जसरी म बुवालाई कुरिरहन्थे
आज बुवा पनि
मलाई, म आउने बाटो लाई
उसै गरी
कुरिरहनु भएको त छैन ?