म हजुरलाई सधैं सम्झिन्छु
विशेष दिनमा अझ धेरै सम्झिन्छु
खुसीले रमाएको बेला झन् कत्ति सम्झिन्छु
सुखमा पनि दुःखमा पनि बुवालाई सम्झिन्छु।
अगाडि बढेका पाइला पछाडि धकेलिँदा
रोकिएका ती पाइला अझै अगाडि बढ्न खोज्दा
कहिले जागिरे त केहिले बेरोजगार
खल्ती रित्तिँदा पनि, भरिँदा पनि बुवालाई सम्झिन्छु।
संघर्ष र गरिबीको गुरू तपाईं
आफूले आधा पेट, मलाई टन्न खुवाउने तपाईं
तपाईं व्यवहारको डिग्री, म केवल विश्वविद्यालयको
सफल हुँदा पनि असफल हुँदा पनि बुवा सम्झिन्छु।
मेरा काममा टेको लगाउने तपाईं
आज टेको मसँग छैन, हिँड्नु छ एक्लै
लड्दै उठ्दै त कहिले खुसी हुँदै
लड्दा पनि उठ्दा पनि बुवा सम्झिन्छु।
टेको भत्कियो, माया छुट्यो
कर्म गर्न सक्ने हुँदा, मेरो गुरु टुट्यो
सबै भएर पनि रित्तो घर हाम्रो
सुखमा पनि दुःखमा पनि बुवा म कत्ति सम्झिन्छु।