कविता
हजारौं लाखौं करोडौं आमाहरूका बीचमा,
आज एउटा बुवा देख्दै छु।
आमाको माया र ममताका कथाका पाठहरूमा,
लुकेर बसेको एउटा विशेष पात्र म देख्दै छु।
भूमिका र कर्तव्य महत्वपूर्ण भए पनि,
पर्दा पछाडि बसेको देख्छु।
र,
आज त्यही कठोर देखिने,
तर भावुक हृदयका धनी व्यक्तित्वको,
चित्र म कोर्दै छु।
एउटा सन्तानको प्राप्ति पछि,
पुरूषले बुवाको उपाधि पाउँछ।
हर्ष, खुसी र उल्लासका साथ,
पारिवारिक जीवन अघि बढ्छ।
तर,
यस सँगै बढेको उनको काँधको जिम्मेवारी,
खै कस्ले देख्छ? खै कस्ले लेख्छ?
श्रीमानबाट बुवा बन्न,
उनलाई अरू कसैको रोक छैन।
किनकी,
यो त उनकै आफ्नो छनोट हो।
अनि यो नयाँ जिम्मेवारी थपिनुलाई,
उनले कुनै बोझ मान्दैनन्,
किनकी,
यो त उनकै एक पिँढीबाट अर्को पिँढीको खोज हो।
आमाको माया र ममतामा हुर्केर,
सन्तानले बाबाको उदार छहारी बिर्सन्छ।
सन्तानलाई आफ्नो काखमा खेलौदा खेलाउँदै,
आमाले पनि उनलाई बुझ्न नै छोड्छ।
अनि उनको यो दुखेसो,
खै कसले सुन्छ? खै कसले बुझ्छ?
सन्तान र परिवारको शुभ भविष्यको लागि,
एउटा बुवाले आफ्नो सम्पूर्ण जीवन काम कारोबारमा सुम्पिन्छन्।
तर,
त्यो त्याग र समर्पण किन घर परिवारले बिर्सन्छन्?
अनि उनको व्यस्त जीवनको आलोचना गर्छन्।
उनको शरीरमा खानलाई भोक थियो,
हातमा पैसा र पसलमा खानलाई रोटी थियो।
यी सबै पाएर पेट टम्म पार्न,
र,
शरीरमा नयाँ कपडा लाउन उनलाई कसको रोक थियो?
यहाँ त केबल उनलाई सन्तानको सुनौलो भविष्य,
र,
श्रीमतीको मुहारमा हाँसोको मात्र खोज थियो।
यही खोज्दा खोज्दै,
आफ्नो परिवारबाट नै हराउने उनको सोच कहाँ थियो?
घरमा बसेका उनका बुढाबुढी आमाबुवाका,
समय अनुसारका कुरा।
यता उती गर्दै खेल्ने,
अनि,
नयाँ मोबाइल, ल्यापटप र बाइकको माग सुनाउँछन्,
उनकै आफ्नै भुरा।
त्यसपछि,
श्रीमतीको थपिन्छ,
गलामा हार, पहिरनलाई साडी र हातमा चुरा।
यी सबै कुरा कसरी गर्छन पूरा?
यो कुरा,
खै कसले बुझ्ला? खै कसले सुन्ला?
अनि बुवा मन मनै सोच्नु हुन्छ:-
‘धन्न!
लैंगिक भेदभावको कुरा आको छ,
घरमा मात्र होइन, अफिस नि धाउने भाकी छ।
उनमा एउटा नयाँ सोच र ऊर्जाको विस्तार भाको छ,
अनि,
मैले नि घरमा समय दिँदा,
छोरा छोरी आमाबुबा र श्रीमतीको,
साथ पाउने अवसर पाको छु।
घरमा बस्दा बाबा भन्ने बोली धेर सुन्न पाको छु,
सबैको मनको रहर इच्छा बुझ्ने मौका पाको छु।
आमा जस्तै बनेर बुवा हुन पाउँदा,
निकै राम्रो अनुभव गर्या छु।
असल बुवा बन्ने सपना,
अब साथमा बोक्या छु।