कविता
छोरो जन्मेको दिन बा,
फुरूङ्ग हुनु भा थियो
छोरा जन्मिएकोमा
भुईंमै खुट्टा थिएन बा को
बधाई थाप्नुको चटारो
सुत्केरीको स्याहार सुसार
छैठी न्वारान भोज भतेर
आफन्तको चहलपहल
भ्याई नभ्याई थियो बा लाई।।
यसो अनुहार हेर्नुहुन्छ बा ले छोराेको
खै के सोच्नुहुन्छ
र मन्द मुस्कुराउनु हुन्छ
जिस्काइदिन्छ कसैले
काटिकुटी बाबु जस्तै
लजाउनु हुन्छ बा
टाउको निहुराएर ।।
विस्तारै छोरो,
हुर्किएको छ
हर्लक्कै बढेको छ
पढेको छ सहर पसेर
तर बा अझै निहुरिरहनु भएको छ
खेतका आलिमा
पाखोबारीका कान्लामा
भन्ज्याङका उकालीहरूमा
भोको पेटमा पटुकी कसेर
किनकी छोराेलाई ठूलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर।।
मतलब छैन बा लाई,
आफ्नो भोकको
फुटेका पैतलाको
जवानीमै चाउरिएका गालाको
फाटेको जाँघेको
फित्ता टालेको हात्ती छाप चप्पलको
छाना उजाडिएको छाप्रोको
किनकी छोराेलाई ठूलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर।।
थाहा छ बा लाई,
यो देश ठूलाको हो
ठालुको हो
हलो जोत्नेको होइन
गफ चुट्नेको हो
त्यसैले त बा लाई पनि ठूलो हुने रहर छ
केबल एक सपना छ बा को
आफूले पूरा गर्न नसकेको सपना
ठूलो मान्छे बन्ने सपना
छोराेबाट पूरा गराउनु छ बा ले
त्यसैले त बा ले यो सब गरिरहनु भएको छ
छोराको निम्ति
किनकी बा ले छोराेलाई ठूलो मान्छे बनाउनुछ
र चिनिनु छ फलानोको बा भनेर ।।
हिजो कुनै दिन,
यही सहरमा
छोराेको छिडी कोठामा
बा आउनु हुन्थ्यो
अलिकति गुन्द्रुक लिएर
दुई माना घिउ लिएर
दुई पाथी सेरी खेतको चामल लिएर
आमाको माया नासो लिएर
पूरै गाउँको रैवार लिएर ।।
तर आज छोराे,
महलमा सरेदेखि
गाउँ बिरानो भयो
बा गँँवार भए
दाजु भाइ पाखे भए
आफन्त आफन्त रहेनन्
दुई थान कुकुरसँग छ उस्को मित्रता ।।
हुन त बा लाई,
केही दिन बास नदिएको होइन छोराेले
महलको छिडी कोठामा
के गर्नु
कसैले सोधे बा भन्न गाह्राे मान्छ छोराेले
उसको ईज्जत घट्छ रे
साथीभाइले के सोच्लान् भन्ने डर छ
छोराेको बदलिँदो व्यवहार
बुहारीको मौनता
र नातिनातिनाको नाक खुम्चाई
सबै बुझेर पनि नबुझेझैं गर्नुहुन्छ बा
किनकी छोरो ठूलो मान्छे भएको छ
तर पूरा भएको छैन
बा को फलाना को बा सुन्ने रहर ।।
आज बिहान,
मन्दिरबाट फर्किंदा
गेटमै एक थान बोर्ड थपिएको छ
प्रवेश निषेधको /सावधानको ।।
कुकुरदेखि सावधानको बोर्ड
गेटमै झुण्डिएदेखि
बा र घरको सम्बन्ध सकियो
रगतको नाता सकियो
बा लाई पनि प्रवेश दिएन
त्यो कुकुरले
मालिकको ईज्जत घट्ने डरले ।।
अचेल बा,
फेरि छोराेकै ईज्जत जोगाउन
बसाइँ सर्नु भएको छ
खोला छेउमा
र हेर्दै बस्नुहुन्छ त्यही घर
वृद्धाश्रमको झ्यालबाट
अझै मरेको छैन बा को
छोराेलाई ठूलो मान्छे बनाउने सपना
र फलानाको बा भनेर चिनिने रहर ।।
तर छोराे,
देश बदल्ने गफ गर्छ
समाज परिवर्तनको वकालत गर्छ
सब भन्दा जान्ने भएको अभिनय गर्छ
ठूलो मान्छे भएको अहंकारसँगै
त्यही वृद्धाश्रममा गएर
बा को एक थान तस्बिर ल्याउँछ
र मुहार पुस्तिकामा देखाउँछ
पितृभक्ति ।।