हे प्यारा कविश्रेष्ठ माधव तिमी, के सुन्न यस्तो पर्यो,
धड्क्यो धड्कन वक्षमा हृदयको गाँठो परेझैँ भयो,
हे स्रष्टा अविश्रान्त साधक तिमी छाया खस्यो मृत्युको,
हामी आज भयौँ नि आहत सुनी तिम्रो घडी अन्त्यको।
हौ प्यारा कविरत्न काव्य तपसी हौ राष्ट्रका गौरव,
सेवी वाङ्मयका महापुरुष हे, अहिले भयौ नीरव,
छर्क्यौ काव्यसुधा नवीन रसको बाँची शताब्दी तिमी,
आफै छौ परिपूर्ण दिग्विजयको हे लक्ष्यभेदी तिमी।
गुन्जन्छौ लयमा निरन्तर तिमी आशा रहेसम्म हे,
नेपाली जनको पवित्र घरमा भाषा रहेसम्म हे,
हे प्रातःस्मरणीय उच्च प्रतिभा पीयूष तिम्रै पिएँ
धर्तीका प्रिय भक्त, राष्ट्रकवि हे श्रद्धाञ्जली अर्पिएँ।
नेपाली जनका अमूल्य निधि हे, छौ सम्झनामा अति,
अस्तायौ कवि किन्तु छौ सकलको सद्भावनामा तिमी,
सम्झन्छन् सबले पढे कृति तिनी संसारले झल्झली,
पोखी दिन्छु कविन्द्र, आँसु गहका दुःखान्त श्रद्धाञ्जली।