कविता
कुनैबेलाका निकै सक्रिय
चमक्क चम्किने चम्चाहरू
बडो फूर्तिका साथ
भरिएको भाँडोमा
भित्र पस्न कोशिस गर्छन्
ढुकेर लुकेर
कुन भाडोमा खानेकुरा छ
खान पाइन्छ कि भनेर
यत्रतत्र सर्वत्र
सुरू सुरूमा ती चम्किला चम्चाहरू
भरिएको भाँडोसँग निकै नजिक हुन्छन्
अनि त्यही भाँडोलाई
कनाई कनाई
फकाई फकाई
आफ्नो प्रभावमा पार्छन्
अनि सुस्त सुस्त
त्यही भाँडोको खानेकुरा
कोपर्दै कोपर्दै
पूरै रित्तो बनाउँछन्
अनि
फेरि उस्तै उही कर्म
अर्को अर्को भरिएको भाँडो खोज्न भौतारिन्छन्
यसरी नै चम्चाको जिन्दगी चल्छ
चलिरहन्छ
तर एकदिन
यस्तो समय आउँछ
जब चम्चाको विश्वास हराउँछ
जब चम्चाको हैसियत थाहा हुन्छ
अनि
भरि भाँडो रित्ताउने
ती चमकदार चम्चाहरू
एकएक गरी
भुइँमा फ्याकिन्छन्
त्यसैले
समय बलवान छ
धैर्य गर्नुपर्छ
सबै देख्न पाइन्छ !!