कति सुन्ने
'डाक्टर चोर देश छोड' नारा
कति सहने
ब्यानर टास्ने हर्कतहरु
कति खाने पिटाई
कति भोग्ने अभाव
यहाँ त अत्ति नै भयो
होस्टेलमा बसेका
स्वास्थ्यकर्मीलाई
घेराउ नै गर्न आईपुगे स्थानीयहरु!
कति दुःख
लाग्ने विरोध
कति आँसु
आउने घटना
बरु सबै स्वास्थ्यकर्मीलाई
देश निकाला गर्देउ सरकार!
न रहन्छ बाँस
न बज्छ बाँसुरी!
जब सानो हुँदा
सोधिन्छ
भविष्यमा के बन्छौ भनेर
सहजै सबैले भन्छन्
डाक्टर बन्छु भनेर
तर डाक्टर बनेर के गर्ने?
भन्ने प्रश्नमा
अब
विदेश जाने भनेर उत्तर
नआउला भन्न सकिन्न।
देश
कोरोनाको महामारीमा छ
दिनानुदिन
संक्रमण बढिरहेछ
तर पहिलो पंक्तिका
सिपाही मानिने
स्वास्थ्यकर्मीको
उच्च मनोबल नै गिर्ने
काम गरिँदैछ!
समाजमा
बस्ने समुदाय नै
मानव हुन् कि दानव?
छुट्याउनै गाह्रो परिसकेको छ।
आफू अस्पतालमा
संक्रमितको उपचारमा लाग्दा लाग्दै
स्वयं संक्रमित हुँदा
समाजले
आफ्नो परिवार शुद्धलाई गर्ने
छिः छिः र दु दु
सम्झेरै तर्सिन परेको छ।
न जनैपूर्णिमा मनाए
न त तीजमा नाचे
यस्तै भईराखे
दशैंको टिका नि अधुरै हुनेछ
यो साल!
तर पनि
स्वास्थ्यकर्मीको
मिहिनेत र त्याग
नदेख्नु
कति हृदयशुन्य
भएछ समाज
कति विचारविहिन
भएछ समाज
बरु सबै स्वास्थ्यकर्मीलाई
देश निकाला गर्देउ सरकार।
यहाँ त
स्वास्थ्यकर्मीहरुले सपना देख्नु
नै बिडम्बना रहेछ
दुई छाकको रोटि
रसिलो मानेर
खानु नै सपना रहेछ।
प्रशंसा र जोखिम भत्ताको
कल्पना त कहाँ हो कहाँ
सबै समस्याको जड नै
स्वास्थ्यकर्मीलाई मान्दिएपछि
अब किन चाहियो डाक्टर?
अब किन चाहियो नर्स?
भगवान भरोसा र
नेता कै चाकरीमा नै सबै
बाँच्दा होलान् नि!
कहिले बन्छ भेन्टिलेटर?
कहिले बन्छ आइसियू?
कहिले आउँछ खोप? भन्दै
पर्खिएरै बस्दा होलान् नि!
त्यसैले
बरु सबै स्वास्थ्यकर्मीलाई
देश निकाला गर्देउ सराकर।
हामी नेपाली
आफूलाई बडो सभ्य
भन्ठान्छौँ
चेतको सौन्दर्यले भरिपूर्ण छौँ
भन्ठान्छौँ
त्यसैले त बिना काम
उत्तेजित हुन्छौँ
हाम्रै उपचार गर्ने हातहरुलाई
चोट ग्रस्त बनाउछौँ
स्वास्थ्यकर्मीको साहसलाई
छिया छिया पार्छौंँ
रोग जितेर हासिल गरेको
मुस्कुराहट चोरेर लान्छौँ
अनि
पक्षपात गर्छौँ।
अँ साँच्ची
देश किन युरोप अमेरिका जस्तो
भएन भन्नु अघि
जनताले आफ्नो व्यवहार
ऐनामा किन हेर्दैनन् हँ?
के यसरी नै पशुत्व
व्यवहार गरिन्छ हो
जीवनदान दिने स्वास्थ्यकर्मीलाई?
के यसरी हुन्छ
परोपकारको सूर्योदय?
के यसरी नै
पाइन्छ स्वर्गीय अनुभूति?
जति गर्यो
उति पोल्छ
यो विकृत संगतिको कुरा
जहाँ
स्वास्थ्यकर्मीको पसिनालाई भ्रम र
कोरोनाको डरलाई सत्य मानेर
हर क्षण
पार्थिव व्यवहारहरुमा
मुर्दा जीवन
बाँचिरहेछ समाज।