धन्य छौ भेरी तिमी
तिमीले मेरो लास बगायौ
यो बेहोश समाजमा हुर्किएको
मेरो आश त अर्कैले बगायो
ती मेरा कुण्ठिएका सपनालाई त
जातिभेदको दलदलले बगायो
दलदलमै फुलाएको प्रेमको कमललाई त
आँखा नभएको न्यायले बगायो
धन्य छौ भेरी तिमी
तिमीले मेरो लास बगायौ
खै ! देख्नै नहुने सपना साँचेछु क्यारे
आँखा देख्ने अन्धाहरूले सपनाको आँखा फुटाइदिए
जन्मिनै नहुने जातमा जन्मेछु कि खै !
मान्छे नै मान्छेले मान्छे देखेनन् मलाई
धन्य छौ भेरी तिमी
तिमीले हाम्रो लास बगायौ
आज तिमी नहुँदो हो त
यहाँ कत्तिका रिसले म डढ्ने थिएँ
आज तिमी नहुँदो हो त
मेरा सपना र विपनाका आँसुले
एउटा नयाँ भेरी बग्ने थियो
धन्न ती ठूला जातकाले कुटी बाँधी मारी फाले
नत्र म सानो जातको यो ठूलो समाजमा पौडिँदै आउँथे फेरि
धन्यवाद छ भेरी तिमीले मेरो लास मात्रै बगायौ
मेरा कैयौं कुण्ठित सास र आशलाई त
यो बेहोश समाजले उहिल्यै बगाई सकेको थियो ।।
....( जातिभेदको सिकार बनेका नवराज वि.क. र अन्य सबैमा समर्पित जो यस बेहोश समाजको सिकार बने )....