बुधबार साँझ खुसी हुँदै सासुआमा भन्दै हुनुहुन्थ्यो- ‘यस वर्षको तिजमा पनि तिमी माइतिघर जान नपाउने भैहाल्यौ, के गर्छ्यौ त? पहिले त आफै सुरक्षित हुनुपर्यो, संस्कृति र चाँडपर्व त बाँचेपछि पो मनाउने। त्यही पनि नजिक हुनेहरुले त आमाकै आशिर्वादको साथ माइतिमै बसेर नच्दै तिज मनाउछन्।
ए साँच्चै छोरीहरुले त दिउँसो नै फोन गरेका थिए, राति अलि ढिलो हुन्छ भनेर। छिटो-छिटो गरेर भान्सा तयार पार अनि भोलिको दरको सुरसार गर। हामीहरुले आफ्नो परम्परा र संस्कृति त जोगाउनै पर्छ। बरु अर्काको देखासिखी गर्ने भड्किलो प्रवृत्ति त्याग्नु पर्छ। धेरै समयदेखि पर्खेर बसेको तिजमा रमाइलो गर्नु पर्छ, गफगाँफ गर्नु पर्छ, गित गाउनु पर्छ, कोरोनाको कहरले गर्दा कम्मर हल्लाई-हल्लाई कोठमै नाच्नु पर्छ। तिजको रहर आयो बरिलै, तिजको रहर आयो बरिलै।’
बुहारीले पनि सासुले अर्राएझै गरिदिइन्। झिसमिसे बिहानै उठेर जर्याकजुरुक्क गर्दै भान्सातिर लागिन्। आफ्नो बुहारीको दायित्व पूरा गर्न अघि बढिन्। अनि दिनभरी मिठो बोल्दै र उज्यालो अनुहार बनाउँदै राति मिठो मसिनो दर पस्किन्। तर एकाएक कान्छी नन्दले भनिन्- ‘भाउजू, टलक्क टल्केकै छैनन् खाना राखेका प्लेटहरु त, के सफा गरेको त्यस्तो?’
आमाजूले थपिन्-’ तरकारीमा त नुननै लागेको छैन, चिल्लो पनि अलि बढी नै भएछ, स्वास्थ्यको त विचार गर्नु पर्छ नि। कोरोनाको कहरका बीच हामीहरु तिज मनाउदै छौँ।’
बुहारीले मन खल्लो पार्दै आफन्ततिर हेरिनन् र खिस्स हासिन्। तर एक शब्द नझारी भित्र-भित्रै लामो सुस्केरा तानिन् र मनमनै भनिन्- ‘कसलाई मन लाग्दैन! आफ्नो प्यारो माइतिघर जान, आफ्नै आमा र दिदी बहिनीहरुसँग न्यानो तिज मनाउन।’
मनभित्र कति रहर र उमंग थिए होलान् आफन्तसँग बसेर नाच्ने, गाउने, हास्ने र रमाइलो गर्ने। आफ्नो मनको सुस्केरी बिसाउने, मनको बह पोख्ने। तर त्यस्तो शब्दको मर्म बुझाउनै सकिनन् बरु त्यसै गरिदिइन् जसोजसो उनीहरु चाहन्थे, उनीहरुले अह्राए। मन धेरै आत्तियो, एकदमै निरिह र एक्लो भएको महशुस गरिन्।
भान्छामा काम गर्दागर्दै आफ्नो आमाको फोन बझेपछि उनी हर्सित भइन्, फुरुङ्ग परिन्। तर सासुले भनिन्, ’सबैजनालाई खाना खुवाएपछि आफू पनि खाएपछि कुरा गर्ने, खाना चिसो हुन्छ, काम बाँकी रहन्छ। कति बज्छ तिम्रो फोन ट्वार-ट्वार गर्दै।’
बुहारीले डाइनिङ टेबलमाथि बजेको फोन उठाउने आँट गर्नै सकिनन्, केही पनि बोल्ने आँट गर्नै सकिनन्। चुपचाप लागेर भान्सातिरै अल्झिन्, भान्सामा नै आफूलाई पस्किइन्, अलमल्ल परिन्।
पछि फेरि राति आमाले फोन गर्दा उ हाँस्दै भन्दै थिई- ‘हेर्नुन, कति माया गर्ने घरपरिवार पाएको छु, सबै आफन्तहरुसँग रमाइलो गर्दागर्दै मैले त फोन गर्नपो बिर्सेछु।’ फोनमा आमा रुदै भन्दै हुनुहुन्थ्यो- ‘यो लगातार तेश्रो वर्ष हो नानी तँ तिजमा माइत नआएको, राम्ररी तिज मनाएस्। घरपरिवारलाई सधै आफूभन्दा माथि राखेस्।’
‘हुन्छ हुन्छ नि आमा’ उ आँखाँको डिलको आँसु लुकाउँदै अबरुद्ध आवाजलाई दवाउदै भन्दै थिई। ‘हजुरले भने झै गरिरहेको छु, सबैको माया र ममता पाइरहेको छु। तपाइले चाँहि आफ्नो स्वास्थ्यको ख्याल राख्नु, लामो समयदेखि निरन्तर सेवन गरिरहनु भएको उच्च रक्तचाप र सुगरको ओखती भोलि नटुटाउनु तिजको वर्त भनेर।
अरु त राम्रै छ यहाँ, त्यताको खबर के छ सुनाउनुहोस्, बाबाको खवर के छ’ भन्दै उ एकछिन मौन हुन्छे। आमाको मनले थाहा पाएर होकि, ‘एकचोटि समय मिलाएर जसरी भए पनि भट्न आइज नानी’ भन्दै रुनुभयो। आमाले मायालु पाराले आफ्नो मातृत्व प्रेम खन्याएपछि छोरीले भनि- ‘आमा तपाई धेरै नसोच्ने, चिन्ता नलिने।’
फोन राख्न नपाउदै दुखी हुँदै उ भक्कानिदै धेरै बेर रुन्छे र मनमनै भन्छे, नरुनु आमा मलाई सम्झेर, मनको व्यथा पोख्ने तथा बिसाउने ठाँउ पाइनँ। माफ गरिदिनु आमा मैले हजुरसँग कति पटक झुटो बोलेको छु किनकी मेरो विवाहको दिन गहभरि आँसु पार्दै अंगालोमा बेरेर हजुरले भन्नु भएको थियो-
‘सबैको मन जितेस् छोरी, नयाँ घर, नयाँ परिवार र आफन्तबाट सधै आफ्नोपन भेटेस्। त्यसैले असहज परिस्थितिमा पनि सहज वातावरणको सृजना गर्ने प्रयास गर्दैछु। सत्य सत्ये आमा अर्कोपालीको तिजमा नयाँ अठोटका साथ नयाँ ढंगले पुरानो परिपाटी त्याग्दै अगाडि बढ्ने छु। आफूजस्तै बुहारी, छोरी, आमा, दिदीबहिनी, काकी र साथिहरुले भोगेका दु:ख का भारिहरुलाई छलफल गरी भलाकुसारी गर्ने प्रतिवद्धताका साथ लम्कने छु।
सवैले आफुलाई समय बमोजिम रुपान्तरण गरे झै म पनि आमा दिदीबहिनीहरुसँग तिजको बत्ति बाल्न केही समयका लागि मेरो न्यानो माइतिघर बस्नेगरी आउने छु। यसपालिको तिजमा समस्त नारी जातीलाई आ-आफ्नो घर भित्रै रही हर्सोल्लासपूर्ण रुपमा मनाउनु भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’