'उठ्ने बितिकै मोबाइलमा आँखा नजुदा है नानी, बाहिर गएर एकछिन चिसो बिहानको हावा खाएर आइज जा।' म उठेर आमा भए ठाउँ भान्सामा जाँदा आमाको हरेक बिहानको पहिलो शब्द नै यही हुन्थ्यो। म पनि आमाले भनेको मानेर बाहिर एकछिन टहलिन निस्कन्थेँ।
सधै झैँ एकजना अंकल मेरो घरको छतबाट देखिने अलिक परको घरमा पत्रिका फाल्दै हुनुहुन्थ्यो, लाग्यो कुनै दैनिकी पत्रिका कम्पनीमा काम गर्नुहुन्छ होला। तर फेरि अरु घरमा पत्रिका गेटमा राखेको देख्दिनँ त, त्यै घरमा मात्रै सधैँ किन रहेछ! हाम्रा तिर अर्कै दिदी आउनुहुन्छ त्यही पत्रिका लिएर। एउटै एरियामा त एउटै मात्र मान्छे हुन पर्ने जस्तो लाग्यो।
२/४ दिन त के कारण रहेछ भनेर आफ्नै घरको छतबाट सधैँ उहीँ समयमा नियाल्न खोजेँ तर केही पत्तो पाइनँ। सधैँको उहीँ दैनिकी। एकदिन समय अलिक फरक पारेर छतमा उक्लिएँ। उहीँ अंकल दुधका पोका प्लास्टिकमा लिएर छिर्दै हुनुहुन्थ्यो। अचम्म लाग्यो, अलि अघि पत्रिका लिएर आयजस्तो लागेथ्यो, अहिले फेरि दूध।
म फरक-फरक समय पारेर छतमा उकल्न थालेँ। आमाको दैनिकी शब्द फेरिन थालिसकेको थियो। 'धेरै तल माथि नगर है नानी, खरु खुरु कोठामै बसेर पढ' अब चाहिँ म आमाको आँखा छलेर तल माथि गर्दै ती अंकलको दैनिकी नियाल्ने सोच बनाइसकेको थिएँ।
सधै झैँ बिहानीपख मटरसाइकलको अगाडि भरीभराउ पत्रिका लिएर त्यो अंकल गेट भित्र छिर्नु भयो। अलिक समयपछि फेरि गेट खोले जस्तो घर्याक्क्क आवाज आयो। यसो हेरेको, अंकल एउटा हातमा दुधका पोका लेर अर्को हातमा तरकारी सकि-नसकी हात फेर्दै बोक्दै, खुट्टाले गेट धकल्दै भित्र छिर्नु भयो।
एकछिनमा त्यही घरको रुखको छहारीमा रहेको पजेरोलाई सरफ पानी हालेर अघि पछि गर्दै कतै जान ढिला भएझै गरी पानीको पाइप तान्दै गाडी पखाल्दै हुनु हुन्थ्यो। लाग्यो, आफ्नै गाडी होला, अफिस जान ढिलो भएर होला। तर त्यो गाडीमा त अरु नै कोही सुटेड बुटेडले चढेर गए।
ती अंकल घडी हेर्दै कतै जान ढिला भए झै गरी देख्दैमा २/४ लात नहानी सुचारु नहोला जस्तो बाइकलाई किक हानी स्टार्ट गर्न थाल्नु भयो। ती अंकलको मटरसाइकल स्टार्ट भैनसक्दै मेरो मनमा अनेकन प्रश्नले किक मारीसकेको थियो। न गएर सोध्नु, न आफै यही नै हो भनी ठम्याउनु।
अलिक बेर छतबाट तल झरी कोठामै बसि पढेँ। दिउँस खाजा खाने समयमा यसै आफ्नै सुरले छतमा केही गर्दै थिएँ, तिनै अंकल बिहानको गाडीबाट स्कुले झोला भिरेर झर्दै बच्चालाई गेटबाट भित्र छिराउदै आफू हस्याङ फस्याङ गर्दै त्यही गाडी चडि जानु भयो।
यो दृश्यले मलाई अचम्मित मात्र हैन, आश्चार्यचकित पारीसकेको थियो, बिहानको त्यो न्वारानदेखिको बल लाउदानी नकुदेको मोटरसाइकल अनि अहिले त्यो पजेरोमा भ्याइ नभ्याइ चडेको दुई भिन्न कुराले।
त्यो दिन म छतमा नै बसि साँझसम्मको क्रियाकलाप नियाल्ने सोचका साथ कुर्सी लगेर बसिसकेको थिएँ। साँझको यस्तै साढे पाँच बज्न आटिसकेको थियो। अंकल फेरि त्यै थोत्रो मटरसाइकलमा पछाडि पट्टि खस्न लागेको केही सामनको काटुन एउटा हातले समाउदै अर्को हातले बाइक धान्दै आईपुग्नु भयो। मनमनै सोचेँ, त्यति हत्ते गरेर ल्याउनभन्दा त अघिकै गाडीमा ल्याको पनि हुने...
अब त घरै बस्ने होला, साँझ परिसको यति नै होला ती अंकलको दैनिकी भनी कुर्सी पछि सार्दै आफ्नै हातमा अड्याएको च्यापुलाई छोड्दै तल झर्न खोज्दै थिएँ, अंकल त फेरि त्यै बाइकलाई रिसायझै गरी लात हान्न थाल्नु भयो।
कयौँ मिनटको प्रयासपछि भट् भट्... पार्दै लिएर खै कता जानु भयो। छतमै बसि नियाली राखुँ, आमाले खाना खान झरिन भनेर कराउन थालेको आधा घन्टा बढी भैसकेको थियो। झरम् ती अंकल कतिखेर आउनुहुन्छ, नदेखिएला भन्ने जस्तो लाग्यो। त्यो दिन छतमै बसेर खाना खाइ कुरेर बसिरहेँ।
घडीमा १० बज्न आटिसकेको थियो, निन्द्राले आँखा लठ्ठिन थालीसकेको थियो, त्यै पनि अघि साँझमा निस्केको अंकल आउनु भएन। म त्यो साँझ यतिकै तल झरी सुतेँ तर निदाउन सकिनँ। कारण थियो, थोत्रो बाइक र नयाँ पजेरो।
निद खासै नलागेकोले भोलिपल्ट बिहान अरु दिनभन्दा चाडै नै उठि छत तिर लागेँ। आमा पुजाका भाडा माझ्दै हुनुहुन्थ्यो। 'के भयो तलाई सन्चो भएन क्या हो, चाडै नै उठिस!' भन्दै भित्र बाहिर गर्दै 'जा नानी उठिहालिस्, उ त्यो पल्तिर घरको पर्खाल नेर फूल छन् टिपेर लेर आइज। म त्यतिन्जेल कलशमा जल राख्दै गर्छु।'
म हुन्छ भन्दै तल झरेँ, फूल टिप्न त्यै घरको पर्खालको आडमा पुग्दा यसो आँखा तन्क्याइ भित्र हेरेको, तिनै अंकल पानी हालेर भुइ पुस्दै गरेको देखेँ। म त सोचिराथेँ, ती अंकल हिजो साँझ आउनु भएन। अहिले बिहान त त्यही पोछा लाउदै गरेको देख्दा, मनमा उब्जिएका अनेकन प्रश्नमाथि झन् धेरै प्रश्नको थाती थपिए जस्तो भयो।
म सरासर फूल लगेर आमालाई दिइ माथि छत तिर लागेँ। त्यसपछि त अंकलको उहीँ दैनिकी सुरु भै हाल्यो, पत्रिका ल्याउनेबाट। तल झरी आमालाई सोधेँ 'आमा, उ त्यो अघि म फूल टिप्न गएको पर्खाल आडको घरको अंकल केमा काम गर्नु हुन्छ र?'
आमालाई अघि दूध लेर आइज जा पसल गएर भन्दा नटेरी नटेरी माथि छत तिर चडेको बेलाको रिस अझ मर्या रैन्छ क्यार, मेरो प्रश्न सकिन नपाउदै 'अर्काको घरको कुरो के थाहा मलाई, तै छतमा गहिरहन्छेस्, तलाई थाहा होलानी' भन्दै भान्सा तिर लाग्नु भयो।
आमाको मन न हो, एकैछिनमा फेरि 'किन चाइयो तलाई्! खै ठूलै २/४ वटा व्यापार छन् भन्छन् क्यारे वरपरकाले, त दुई चार दिन घर आउनेलाई किन गाउँभरिको चासो गर्न पर्यो, खरु खुरु बसेर पढ जा।'
आमाको यति उत्तरबाटै बुजिसक्या थिएँ, ती व्यापारी पक्कै पनि तिनै सुटेट बुटेट वाला हुनपर्छ, आखिर ती अंकल चाहिँ को रहेछन् त भनी पत्तो नलाएसम्म मेरो मनलाई शान्ति मिलेन। अनि अनेकन तरिका अप्नाइ धेरै समयपछि थाहा पाएँ, ती अंकल तिनै व्यापारीको कुनै शाखाको एक कर्मचारी हुनुहुँदो रहेछ।
ती अंकलको त्यो ठाउँमा काम छोडे, अन्त काम नपाउने अनि गाउँमा रहेका आफ्ना परिवार पाल्न गाह्रो हुने मजबुरीको फाइदा उठाएर ती व्यापारीले सोही थोरै अरु सरह कर्मचारीको तलबमा घरदेखि अफिससम्मको काममा लद्याउने गरेका रहेछन्। ती अंकल आफ्नो मजबुरीले लादिएको हुनुहुँदो रहेछ।
लाग्थ्यो, समय फेरियो, समाजमा सोच परिवर्तन हुँदै छ, मेरो नेपाली समाज आधुनिकता तर्फ धकेलिदै छ, शोषक सामन्तीहरु मासिइसके, हरेक नागरिक आफ्नो स्वतन्त्रामा जिउनी वातावरण विकास हुँदै छ। तर म गलत रहेछु। यहाँ काजीहरु घोडा छोडी पजेरो चड्ने गरेका रहेछन्, कमारी शब्दलाई कर्मचारीमा बदलेका रहेछन्, गाउँको भेलालाई क्रान्तिको नाम दिई भाषण गर्ने गरेका रहेछन्।
आजका दिनसम्म पनि हामी दुई छाक टार्न दुख गर्ने मजदुरमाथि श्रम्रको उचित मूल्यांकन हुन सकेको छैन त, क्रान्तिका ती हाकिमहरु एक आपसमा हातेमालो गरेर हामी मजदुरलाई के नै हुन सक्छ र?