ब्ल्याक होल नियाल्न
सकिएला कि नाइ?
एउटा प्रश्न,
मलाई छाउपडीमा बारम्बार
किन धकलिन्छ?
अर्को त्यो प्रश्न,
पहिलेको उत्तरका लागि
मस्तिष्क अनेक
दोस्रोको उत्तरका लागि
चुप-चाप छन् हरेक।
करोडौँको भीडमा
पृथ्वी संरक्षण हेतु
उठाइएका ती प्रश्न,
आफ्नै भाइबन्धुबाट असुरक्षित
सुरक्षाका निमित्त
निसास्सिएका ती प्रश्न!
एउटीलाई न्युटनका परिकल्पना,
हेलेनका लेख,
लिओनार्दोका कला सिकाइरहँदा
अर्किलाई खुट्टामुनिको धुलो ठानी
बारम्बार कुल्चिँदा
उब्जिएका ती असमानताका प्रश्न!
एकले फेमिनिज्म, क्म्युनिज्म, जर्नालिज्ममा
प्रश्न ठडाउँदा
अर्किका दाइजो प्रथा, देउकी प्रथा
झुमा प्रथा विरुद्धका प्रश्न
त्यही घुम्टो प्रथाले बन्धकी राखी
मेरो साहसलाई डगमगाउने
कसको हिम्मत छ?
आडम्बरमा घुम्टोले गरेको त्यो प्रश्न!
यहाँ लिंग एक, युग एक
प्रश्न अनेक!
एउटीका प्रश्न
एक्ककाइसौं शताब्दीका प्रतिनिधि
अर्किका ती दबाइएका प्रश्न
कहालिलाग्दो युगको संकेत!
दोस्रो प्रश्न समेत गर्न
बन्चित ती नारी
पहिलो प्रश्नको हकदार
कहिल्यै नबन्दा,
वैज्ञानिकको उपाधी र
बोक्सीको आरोप
समानन्तर रेखाजसरी
अगाडि बढ्दा
के प्रगतिशील, भेदभावरहित भन्दै
नामकरण गरेको समाज
यही हो त?
के बन्दुकको आडमा
अलपत्र लासै-लासमा
भित्र्याएको परिवर्तन
यहि हो त? मेरो प्रश्न!