तिम्रो जस्तै सपना,
मेरो छ, डियर
आलिसान बंगलामा बस्ने
वरिपरी कम्पाउन्ड वाला
कारमा गुड्ने
कालो सिसावाला।।
खैर, म कुनै औषधी व्यापारी परिनँ
कुनै ठेकेदार पनि परिनँ
नदी खोलाहरु दोहन गर्ने
म जग्गा दलाली पनि परिनँ
मेरो क्रसर उद्योग पनि छैन
कुनै दलको नेता वा मन्त्री पनि भइनँ
सरकारले गाडी मोटर किनिदिने
अहिलेका जस्ता जनप्रतिनिधि पनि परिनँ ।।
म बबुरो पत्रकार!
सधैँ अक्षरसँगको संगत
खबरसँग साक्षात्कार
त्यसैले कहाँ पाउनु कार
अनि कहाँ हुन्छ, डियर
मेरो बंगला।।
तिम्ले कल्पना गरे जस्तो
सुनका सुर्कीले पनि बाँध्न सकिनँ
तिम्लाई जनावर बनाएर
मिनि स्कटमा सजाएर
तिम्लाई रोदी डिस्को र पार्टी प्यालेसहरु लैजान सकिनँ।।
सरी डियर, म बबुरो पत्रकार!
म त सधैँ लखर-लखर हिड्छु
वर्षौं भो, यसरी काम गर्न लाको
तर, जागिर र भविष्यको कुनै ग्यारेन्टी छैन
अरु पेशामा जस्तो
न कुनै उपदान
न कुनै पेन्सन।।
काम छोडेको दिन रित्तो हात फर्कियो
न सम्पत्तिमा चोर लाग्ला भन्ने टेन्सन
निकै सहज र हलुंगो मृत्यु मर्नु छ।
सुनेको छु,
धनीहरुलाई प्राण त्याग्न निकै सकस हुन्छ रे,
अनेक हतकण्डा गरेर थुपारेको सम्पत्तिले
उनीहरुलाई ढुंगाले जस्तै
छातीमा गरुङ्गो बनेर थिच्छ रे।।
त्यसैले मलाई यही जीवन प्यारो छ
सरी डियर, म बबुरो पत्रकार!