'पेटले साह्रै दुख दियो, यो भोकले नमागे पनि कति आनन्द हुन्थ्यो' गहिरो भाव बोकेका शब्दहरु पनि निशब्द बन्न पुग्दा रहेछन्। समय घर्किदै जाँदै छ। हिजोका ती कलकलाउँदा गाला चाउरी पर्दैछन्। पैतालामा धेरै बल परेको हुनाले होला पट्पटी फुट्न थालेका छन्, हत्केला बारीको गराझै चिरिएका छन्।
बल, फुर्ती हुँदासम्म के गरिएन र यो सहरको निम्ति? यो सहरको लागि रंगरोगन, सिंगारपटार गरेर सुन्दर सहर, आलिशान महल, देश हाक्नेका लागि कार्यालय भवन, सदन, टलक्क टल्कने सडक र सडकका पेटिहरु बनाइयो। कला र संस्कृति जीवित रहोस् भनेर मौलिकता जोगाउन कति बुट्टा कुँदियो।
ती आलिशान महलमा बस्नेका शरीरमा कति मालिस गरियो, कति सेवा गरियो। तर आज यी ख्यामरिएका पेटको भोकको मर्म बुझिदिने कोही छैनन्। किन बुझ्दैन यो राजधानीले हामी श्रम गर्नेको मर्म?
कहिल्यै बुझ्दैन यो सहरले हामीलाई। बुझोस् पनि त कसरी! यो सहर त गरिब बस्ने सहर कहाँ हो र! यो त गरिबको पसिनामा बाच्ने सहर हो। यो त गरिबको परिश्रम बेचेर धनी बन्ने सहर हो। यो त हुनेको सहर हो। मानवता नै नभेटिने सहर हो। अब केही आशा छैन मलाई यो सहरको। सक्दासम्म पसिना यही बगाएँ, आधा जीवन यही बिताएँ। अब भोको पेटसँगै गन्तव्यहीन भएको छु।
हो, देशमा अहिले विषम् परिस्थिति छ। पीडा, कष्ट सबैलाई छ तर हामी गरिबको पीडा असह्य छ। रोगले भन्दा भोकले पिरलेको छ। लकडाउन भयो काम खोसियो, काम नभएपछि माम कसरी खानु? यी सहरमा पाइला टेक्नुको उदेश्य यही पेट पाल्नको निम् तिनै थियो तर आज यी पेट भोकले कुइँकुइँ कराउँदा सुनिदिने कोही छैनन्।
सरकारमा भएकाको महल अग्ला छन्। यी पेटमा कराएका आवाज कसरी त्यहाँ पुग्न सक्छ र, होइन? साँच्चै सरकारले त स्थानीय तहलाई जिम्मा दिएको छ रे हाम्रो ध्वनि सुन्न। स्थानीयमा जाँदा आफ्नो स्थाईमा राहत पुगेको छ रे। कुम्लो बोकेर यो गरिबीको यात्रामा एक गाँसको लागि भौतारिएर सासको आश नगरी हिड्न बाध्य बनाउने आखिर कति स्वार्थी रहेछ यो सहर।
हामीलाई जति दुख, संकट पर्दा फर्कर कहिल्यै नहेर्ने, हाम्रो गुन कहिल्यै नसम्झने कति बैगुनी रहेछ यो सहर। हामी श्रम गरेर बाच्नेको सुरक्षा खोइ? हाम्रो भोको पेट कसले भरिदिने? जनताको लागि बनेको सरकारको उपनाम दिनेले आफुले गाँस हाल्नु अघि श्रम गरेर खानेले के गरेका होलान् यो परिस्थितिमा कहिल्यै सोचेछन्?
आखिर हाम्रो परिश्रम, मिहिनेतमा रमेको त छ यो सहर। हाम्रो श्रम बिना कति दिन बाच्न सक्छ र? हामी बिना टुहुरो नै त बन्छ यो सहर। हामीलाई आज उठिबास बनाए, एक न एकदिन सबैको उठिबास बन्ने निश्चित छ, घमन्ड पोखिन समय लाग्दैन।
आजभोलि कोरोनाले मरिन्छ कि भन्दा धेरै भोको पेटले छिटो मरिन्छ कि जस्तो लाग्न थालेको छ। जीवनभरि संघर्ष गरियो, यही पेटको लागि। यस्तै त रहेछ भगवानले गरिबको लागि बरु पेट नै नबनाइदेको भए हुन्थ्यो। भोक नै नलाग्ने बनाइदिएको भए हुने हामी गरिबलाई। भ्रष्टचारले बढेको पेटले भोकले चामरिएका पेटको अनुभूति कहिल्यै बुझ्ने छैनन्।