कविता
हिजो,
तिमी पनि हामीजस्तै मान्छे भएको बेला,
तिम्रो क्षमता, विचार र आदर्श देखेर,
तिमी अब राजनीतिमा लाग, भनेको मैले हो,
तिम्रो नेतृत्व गर्ने क्षमता देखेर,
तिमीलाई चुनावमा उठ, भनेको पनि मैले हो,
नामांकन हुने बेलामा,
तिम्रो नाम प्रस्ताव गरेको मैले हो,
त्यसलाई अनुमोदन गरेको पनि मैले हो।
चुनाव हो,
जसरी पनि जिताउनु छ,
तिमीलाई हराउन तिम्रै दलबाट उठेका,
ती बागीहरूलाई थामथुम पारेको पनि मैले हो,
चन्दाबिना नजुट्ने त्यो खर्च,
थामेको पनि मैले हो,
प्रचार प्रसार गरेको पनि मैले हो,
भोट गन्दा हुने सदर र बदर मत,
कहिले स्वीकार र कहिले अस्वीकार गर्दै,
तिमीलाई शानदार जित दिलाएको पनि मैले हो ।
भोट नदिएकाहरूका अगाडि
तिमीलाई काँधमा बोकी बोकी,
बजार घुमाएको पनि मैले हो,
विजयको खुसीमा,
खर्चको व्यवस्था गर्न धौ धौ पर्दा,
आफ्नै मानोमुरीको खेत बेचेको पनि मैले हो ।
आफ्नो सर्वस्व नै तिमीलाई मानेर,
मतदाताका बारीबाट टिपिएका फूलले गाँसेको,
माला र टीका लगाएर,
यो गाउँको मुहार फेर्ने उद्देश्यले,
तिमीलाई सहर पुर्याएको पनि मैले हो।
असाध्यै मिजासिला घरबेटीलाई फकाएर,
तिमीलाई डेरा खोजिदिएको पनि मैले हो,
तिम्रो भलाद्मीपनलाई कमजोरी सम्झेर,
कसैले नठगोस् भनी,
एक जना सज्जन,
पि.ए. खोजिदिएको पनि मैले हो,
सोझो मान्छे तिमी,
सहर र संसदमा हेपिँदा अनि,
विवादमा तानिँदा,
जसोतसो गरी बचाएको पनि मैले हो ।
त्यसपछि,
त्यही सहरमा,
तिम्रो संगत,
एकाएक तिनैसँग भएछ,
जसबाट मलाई मेरो देश बचाउनु थियो।
तिमी, तिनैसँग यसरी गाँसिएछौ,
जसले देशलाई यो अवस्थामा पुर्याएको थियो,
यसै कामका लागि,
मैले तिमीलाई रोजेको थिएँ,
तर ।
तर, आज,
तिमीलाई भेट्न सहर आएका बेला,
तिम्रा रवैयाका विरूद्धमा,
माइतीघर मण्डलामा जम्मा भइरहँदा,
तिमीले बर्साएका,
ती लाठी खाएको पनि मैले हो,
पानीका फोहोरा अनि बुटहरूसँगै,
फेरि अपमानित हुँद चिसो जेलबाट छुटेर,
अन्यायपूर्वक हराइएको मुद्दाको फाइल बोकी,
गाउँ फर्कनु पर्दा,
तिमीलाई राम्ररी चिनेको पनि मैले हो ।
त्यसपछि,
सधैं प्रतिपक्षको भूमिकामा जनता बनेर,
देशलाई माया गरेको पनि मैले हो ।
देशकै लागि मर्ने कसम खाएको पनि मैले हो ।