फेसबुक चलाउन थालेपछि धेरैजसो गफ मेरो फेसबुक मेसेन्जरबाटै हुन्छ। मोबाइलमा फोन नम्बर थिचेर कम नै कल गर्छु र आउने पनि त्यस्तै हो। कोरोना, लकडाउन र निषेधाज्ञाले त झन् कसैसित बोल्न पनि मन नलाग्ने मनस्थितिमा पुगेकी छु।
अमिताभ बच्चन र रेखाको सिलसिला भन्ने हिन्दी सिनेमा हेरिरहेकी थिएँ फोनको घन्टी बज्यो। नाम थिएन,स्क्रिनमा नम्बर चिन्न सकिनँ र बिस्तारै भनें, ‘हेलो’
‘मेडम हजुरको नाम रितु हो ?’
‘हो हजुर को बोल्नु भएको होला ?’
उताबाट परिचय आएन बरू प्रश्न नै तेर्सियो।
‘आरडी मुखियालाई चिन्नु हुन्छ ?’
‘चिन्छु किन ?’ फेरि दोहोर्यारै सोधें ‘हजुर को बोल्नु भएको ?’
‘म गौशला प्रहरि कार्यालयबाट। आरडीको कोरोनाको कारणले मृत्यु भएछ। दुई तीन दिनदेखि कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले खबर गरेर हामी पुग्यौं। जाँच गर्दा कोरोना पुष्टि भयो।
उनले तपाईंलाई एउटा पत्र लेखेका छन् दुई बजे गौशाला पुलिस चौकीमा आएर लैजानू ल।’
म छाँगाबाट खसेजस्तै भएँ। दस दिन पनि भएको छैन होला आरडी मुखियासँग मेरो फोन भएको। दुई दसकभन्दा बढी समयपछि उनीसँगको पहिलो फोन वार्ता थियो त्यो। अनि आज उनीसित जोडिएर आएको फोनले उनकै मृत्युको समाचार उफ्…. । म दुई बजेको प्रतीक्षा गर्दै सोफामा थ्याच्च बसेर आरडीलाई नै सम्झन थालें।
***
‘हेलो , रितु कमरेड होइन ?’
‘हजुर बोल्दैछु , हजुर को ? मैले चिन्न सकिनँ त’
‘म धरानको आर. डी. मुखिया चिन्नु भयो ?’
‘खै गाह्रो पो परो त।’
‘धेरै वर्ष भयो बिर्सनु पनि भयो होला नि। हामी भेंडेटारमा भेटेर मैले नै तेह्रथुम लगेको थिएँ नि सम्झनु भयो ?’
‘ए हो हो सम्झिएँ। अनि तपाईं त पार्टीमा त्यति सक्रिय मान्छे। त्यति बेलाको सम्झँदा त अहिले मन्त्रीको हुनुपर्ने तर तपाईं कता हराउनु भएको थियो ?’
‘मरिसक्यो भन्ने लागेको थियो कि के हो ?’
‘त्यो बेला भेटेको मान्छे , अहिलेसम्म कतै नदेख्दा त्यस्तै लाग्नु स्वभाविक पनि हो नि होइन र?’
आरडी मुखिया उनको भूमिगत पार्टीले चिनाउने नाम त विमल थियो। मलाई चिनाउनेले पनि विमल नै भनेर चिनाएका थिए। तर जब मैले उनलाई भेंडेटारमा भेटें उनी मेरो लागि नौलो मानिस थिए।
पहिलो भेटमा एकछिन बोल्ना साथ उनी वर्षौवर्षदेखि चिनिराखेका व्यक्ति जस्तो भै हाले।
भेंडेटारबाट बाटो नलाग्दै, उनले मसँग बोल्नको लागि एउटा बेग्लै नाम राख्नु त भनेर हाँस्दै भनेका थिए।
भेंडेटारबाट सिन्दुवा पुगुन्जेलसम्म धेरै नाम सोचिए तर उनको लागि कुनै नाम पनि चित्त बुझ्दो भएन। सिन्दुवामा हामी बसबाट ओर्लियौं।
पहेंला ठूल्ठूला अम्बा बेच्न राखेको थियो हाम्रो बस रोकेकै ठाउँमा। अम्बा खान मन लाग्यो र मेरो मुखबाट फुत्त निस्कियो ‘ओ आरडी मुखिया अम्बा खाने ?” हिँडिरहेका उनका पाइला टक्क रोकिए र मतिर हेर्दै एउटा हात उठाएर बेस्कन कराए ‘एस , यो भयो नि मेरो न्वारन।’
एक्कासि उनी कराएको सुनेर वरपरका मान्छे पनि के भयो , के भनेको होला भनेर हामीतिर हेर्न थाले।
विमलको व्यवहारले मलाई नै असजिलो भयो। के गरूँ, कसो गरूँ भएको थियो। उनलाई पनि पछि होश आयो होला र हाँस्दै अम्बा किनेर ल्याउँछु भन्दै अम्बा भएतिर लम्किए। त्यसपछि उनी एक हप्ताको त्यो घुमाइमा मेरो लागि आरडी मुखिया नै भए।
सिन्दुवाबाट पूर्वतिर हिँडेका हामी शुक्रबारे हुँदै कतै कोदोबारी, कतै अकबरे खुर्सानीबारी, कतै इस्कुसको झ्याङ छेउछाउ हुँदै बासबस्न तेह्रथुमको फाक्चामारामा पुग्यौं।
बाटोमा आआफ्नै कुरा गर्दै हिँडेको सम्झना छ मलाई। हुनत भूमिगत भएका साथीहरूले आफ्नो बारेमा सही जानकारी त दिँदै थिए त्यै पनि आरडीले दिएको जानकारी अनुसार उनी बि ए पास, एक छोरीको बाबु थिए मैले भेट्दा।
सहायक प्रधानाध्यापकको जागिर छोडेर भूमिगत भएका रहेछन् उनी। ‘यति धेरै पढेको, यति राम्रो जागिर र घरजम भएको मान्छे के नपुग्दा थियो र भुमिगत हुनु भएको ?’
‘म जस्ताले पनि म मात्र भनेर सोच्ने हो भने जनताको लागि आम परिवर्तन गर्न को निस्कने त ? पढेको, राम्रो जागिर भएको मान्छे पार्टीमा लाग्दैनन् र ? हामीसँग त डाक्टर, इन्जिनियर थुप्रै छन् नि। ”
‘प्रयोग मात्र भएको छु जस्तो लाग्दैन ?’
‘प्रयोग हैन समर्पित भएको हु म त कमरेड।’
उनी के थरी थिए त मलाई थाहा भएन तर त्यो समयका मुखियाले मलाई लिम्बूको घरमा बास बसाउने भएछन्। बेलुकाका पाहुना देवता समान भन्ने उखान अनुरूप हामीलाई पनि अतिथि सत्कार गर्नकै लागि भान्सामै तामाको गाग्रीमा राखेको चामल निकालिन आमैले।
‘दिदी बाटोभरि कोदोबारी हुँदै आइयो घरमा कोदोको पिठो छ भने ढिडो पो खान मन लागेको थियो मलाई त। गाह्रो हुँदैन र पिठो छ भने त ढिडो पकाउनु न ल।’
‘आमूई , साँझमा आएका पाहुनालाई पनि के को ढिडो खुवाउने हौ ? एक छाक खान आइपुग्नु भएको छ फेरि कहिले पो आउनु होला र हाम्रा गाम मा बुइनी। चामलकै भात पकाइ हाल्छु नि।’
होइन दिदी चामलको भात त सधैं खाएकै हो नि ढिडो पो हाम्रो लागि कहिलेकाहीँ पाइन्छ त खान।’
‘जे भए पनि पाहुनालाई खुसी बनाएर बिदा गर्न पाइयोस् उहाँको चाहना ढिडो नै खाने रहेछ भन्ने बुझियो पकाइ देऊ न त ढिडो नै।’
बिडीको सर्को तान्दै घर धनी बुध्दिबहादुर लिम्बूले भने।
कोदाको ढिडो इस्कुसको तरकारी र कचौराभरि दहीले अतिथि सत्कार गरे। खाना खाएर बुद्धिबहादुरसँग गफ गर्न सुरू गरेका हामी भाले बासेपछि मात्र दुई घन्टा निदायौं होला।
बिहानको नित्यकर्म सकेर पित्तलको गिलासमा रातो चिया पिउँदा जिब्रो डामेको अहिले सम्झँदा पनि पोलिरहेको जस्तो लाग्छ।
हाम्रो बाटोमा पर्ने लम्बू खोला तर्न म डराएको देखेर आरडी ले मेरो पनि ब्याग बोकेर एक हातले मेरो पाखुरा च्याप्प समाएर
‘गाउँगाउँ डुलेर कमरेड समाज रूपान्तरण गरौंला
नचिप्लेर हेर कमरेड लम्बु खोला सजिलै तरौंला ।’
भन्दै गीत गाउँदै तारेको पनि सम्झनामा आइरहन्थ्यो।
हरिया डाँडाकाँडा छिचोल्दै बेलुका औलोजस्तो परेको गाउँमा पुग्यौं। ‘कुन गाउँमा आइपुग्यौं हामी ?’ गाउँ पसेपछि सोधें।।
‘कालीमाटी , यो काठमाडौंको कालिमाटी होइन यो तेह्रथुम शोल्मामो कालिमाटी हो।’
पहाड भए पनि आँपका बोट कति हुन कति कालिमाटीमा त। लुइँटेल बाहुनको घरमा बास बसियो।
भात सिमीको दाल आलुको तरकारी र एक गिलास मोही पेटमा पुगेपछि त दिनभरिको थकाइ पनि मेटिए जस्तो भयो। छोरो जागिरमा मधेसतिर , बुहारी र तीन नाति नातिना लिएर बसेका बूढाबुढीले हामीलाई के देखे कुन्नी बोल्नै डराए। हिजोको निन्द्रा नपुगेकोले म पनि सुतिहालें।
बिहान त्यहाँबाट बाटो लागेको त आरडी मुखियाले त मलाई पूरै गाउँ पो घुमाए।
गाउँलेको आँखाले कस्तो नौलो मानेर मलाई हेरिरहेका थिएँ।
उफ ! मुखियाले त मलाई चटकिको बाँदर नै बनाए त्यहाँ। उनी त मसित गफ गराई दिने मान्छे पो खोज्दै रहेछन्। बल्ल भेट भइन् सुनिता मिस। द्वन्द्वको डरले त होला उनले हामीलाई घरमा पनि बस्न नदिएर बाटो हिँड्दै मैले सोधेको प्रश्नको जवाफ दिएकी थिइन्।
हाम्रो त्यो बेलाको यात्रा गाउँगाउँकै थियो। दिउँसो गफ गर्दै हिँड्नु, राति कुनै गाउँमा बास बस्नु, खानु अनि सहजै मिलेसम्म प्रश्नको पेटारो फुकाउनु बस।
शोल्माको कालिमाटीबाट हिँडेका हामी जिरिखिम्ती हुँदै अझ उत्तरतिर मराहाँङ्ग पुग्यौं। मराहाँङ्गमा मुखियाका सुबास नाम गरेका साथी भेटिए। नचिनेको घरमा बास बस्दा त बोलेर मख्ख बनाइदिने आरडी मुखिया साथी नै भेटे पछि त गफको नदी नै बगिहाल्यो। बास पनि उनकै घरमा बसियो।
रातो भाले काटेर उनले साथीको सत्कार गरे। बिहान उनीसँगै गफ गर्दै खोरुङ्गा खोला तरेर हामी उकालो लाग्यौं। पौंठाकको टुप्पोमा पुगेपछि पो सुवारले भने ‘ल त अब म फर्कन्छु है त।’
‘ओहो! हामीलाई छोड्न पो यति परसम्म आउनु भएको? म त हामीसँगै हिँडनु भएको हो कि भन्ठानेकी थिएँ,’ मैले भनें।
‘के भयो त गफ गर्दै आउनाले तपाईंले यताको कुरा पनि त धेरै थाहा पाउनु भयो नि। हामीलाई त हिँड्न डर लाग्दैन नि, जति पनि हिँडिन्छ यति त के हो र ?’ उनले पनि हाँस्दै भने।
उनी बिदाको हात जोड्दै ओरालो झरे। हुन त मजस्तो उकालो ओरालो नगरेको माटो ज्यानलाई यस्तो उकालो नबोली चढ्नु परेको भए धनसन हुन्थ्यो होला। ठिकै भयो गफ गर्दै आएकोले बाटो कटेको थाहा भएन जस्तो लाग्यो। साथीसँग बिदा भएपछि आरडी मुखियाले मतिर हेर्दै भने “अब हामी आठराईतिर जाने ल।’
आठराइको घटना ताजै थियो मनमा किनकिन मलाई आठराईतिर जानै मन लागेन।
आठराई नजाने भनेपछि हामी फेरि ओरालो लाग्यौ त्यै खोरुङ्गा खोलैतिर।
खोलामा पुगेपछि अर्कै बाटो समाएर तेह्रथुमको सदरमुकाम म्याँङलुङ पुग्यौं। मेरो सातदिने यात्रा त सफल भइसकेको थियो।
म्याँङलुङ बजार पुगेपछि सिंह बाहिनी मन्दिर दर्शन गर्न मन लाग्यो। यहाँ भने हाम्रो बसाइँ होटलको रहेछ। होटलमा पुगेर आ-आफ्नो कोठामा झोला थन्क्याएर एकएक कप चिया पिएर हामी मन्दिरतिर लाग्यौं।
मेरो साथी मुखियाले मलाई मन्दिरसम्म त पुर्याइदिए तर उनी मन्दिरभित्र पसेनन् कट्टर कम्युनिष्ट जो परे।
देवीको दर्शन गरेर बाहिर निस्किएपछि ‘दर्शन भयो त देवीको के वर माग्नु भयो त कमरेड?’
मलाई उनको जवाफ दिनै मन लागेन र चौवन्नी मुस्कान मात्र दिएँ।
‘कमरेड यो ठाउँको नाम किन म्याँङलुङ भयो थाहा छ? भरियाहरू यै रूखमुनि आएर तीनवटा ढुङ्गाको चम्को बनाएर भात पकाउन थाले छन्। आगो बालेपछि एउटा ढुङ्गा चलमलाएर भातको भाँडो बसाउन नै दिएन रे। भोको भरियाले के भएको यो ढुङ्गालाई भनेर फुटाउन ढुङ्गामा खुकुरीले हान्दा त्यहाँ त बिरालो रहेछ।
खुकुरीले काट्दा म्याउ गरेर कराएको थियो रे त्यो बिरालो। त्यसैले यो ठाउँको नाम म्याउबाट म्याँङलुङ हुन गएको रे। त्यै ढुंगालाई कमरेडले देवी मानेर आउनु भयो हा हा हा’
उनले होटल पुगुन्जेलसम्म मलाई जिस्काई नै रहेका थिए। त्यहाँबाट भोलिपल्ट बस चढेर हामी तल झर्यौं। उनी भेंडेटारमै मसँग बिदा भएका थिए भने म सिधै धरान झरेकी थिएँ।
यसरी सात दिन दिदी भाइ भएर सँगै हिँडेका मान्छेले धेरै वर्ष पछाडि त्यो दिन फोन गरेका थिए मलाई।
‘अनि यत्तिका दिन कहाँ हुनु हुन्थ्यो त आरडी मुखिया जी ?’ फोनवार्तामै मैले सोधेकी थिएँ।
एउटा सपना थियो समाज रूपान्तरणको। के के न गरिएला भनेर भूमिगत भएर हिँडियो। तर कमरेडले त्यो बेला सही भन्नु भएको रहेछ मलाई, म साँच्चै प्रयोग नै भएछु।
हाम्रो योग्यता र योगदानको कदर भएन। भूमिगत हुँदा सबैले हाम्रो पार्टी भन्थ्यौं तर पार्टी सत्तामा पुग्नासाथ हिजो नेतालाई शत्रुबाट बचाउन बोकेर दौडँदा लडेर करङ भाँचिएका लडाकुहरू अयोग्य साबित भए।
आधा लडाकुहरू आँखामा आँसु लिएर बिदा भए। नेताहरूको स्वभाव ठीक उल्टो भएको आभास भयो। त्यत्रो सहिदको बलिदान खोलाको पानी सरह बगेर गयो। हामीजस्ता केही पढेका बुझेका अलमल्लमा पर्यौं। हाम्रा विकल्प थिएन अनि हामी फेरि सानो आशा लिएर सत्तामा डुबेकासँग होइन, अर्को समूह बनाएर बाहिरियौं।
त्यसमा पनि खुब डुलियो, सपना देखियो, देखाइयो तर खै त्यहाँ पनि सन्तोष गर्ने ठाउँ रहेन।
त्यहाँ पनि नेताको पकडमा कार्यकर्ता देखिएनन्। अराजक भएको पार्टीमा आइएछ जस्तो लाग्यो। तर पनि के गर्नु त्यसलाई पनि त्यागेर कहाँ पो जानु ?’
‘अनि घरपरिवारको खबर के छ ? कहाँ हुनु हुन्छ हिजोआज ?’
हिजोको त्यो खटाइ अहिले अनेक थरिको रोग बनेर शरीरमा देखिँदै छ। फोक्सोमा समस्या देखाएको छ। उपचार गर्ने पैसो पनि छैन, उमेर गैसक्यो ज्यामी काम गर्न शरीरले दिँदैन, योग्यता अनुसारको काम पनि पाउने कुरै भएन। रोग यस्तो लाग्यो कि दुई दुई हप्तामा अस्पताल पुग्नुपर्छ। दम बढेजस्तो हुन्छ खोकी पनि लागि रहन्छ। त्यसैले गाउँको घरमा परिवारसँग नबसेर एक्लै एउटा कोठा लिएर काठमाडौंमा बसेको पनि डेढ वर्ष भैसक्यो। घरबाट छोरीले पठाएको खर्चले म यहाँ पालिएको छु भन्दा पनि हुन्छ। यस्तै छ कमरेड मेरो खबर आफ्नो सुनाउनु।’
‘मेरो पनि ठीकै छ। लकडाउनको यस्तो अवस्थामा अस्पताल जानै डरमर्दो छ कसरी जानू हुन्छ ?’
‘यहाँ बस्नुको उद्धेश्य नै उपचार भएकोले अस्पतालकै छेउमा डेरा लिएको छु। हिँड्दै जान्छु। तर कमरेड, यो कोरोनाले त मलाई लगे हुन्थ्यो जस्तो पो लाग्छ, त्यसैले म त कोठामै बस्दिनँ हिँडिरहन्छु। के के न गरूँला जस्तो लाग्थ्यो अब बाँच्नुको उद्धेश्य नै केही नरहेको जस्तो हुन पुगियो।’
‘लौ न त्यस्तो निराश हुनु हुँदैन । राजनीतिमा नलागेका मानिसको जीवन चलेको छैन र ? अब परिवार समाजलाई समय दिने नि। केही सहयोग चाहिएमा मलाई भन्नू सकेको सहयोग गर्ने नै छु नि।’
‘हुन्छ कमरेड कुनै दिन भेट्न आउँछु ल। अनि बसेर धेरै कुरा गरौंला।’
यति कुरा गरेर आरडी मुखियासँग फोनबाट बिदा भएकी थिएँ म। कति छिट्टै यस्तो नराम्रो समाचार सुन्नु परेछ नि!
आजको फोनले मेरो त होश नै हरायो भने पनि हुन्छ। दौडेर गौशला प्रहरी चौकीको रिसेप्सन अगाडि पुगें।
एकजना प्रहरिले एउटा खाम दिए, बाहिर मेरो नाम र फोन नम्बर लेखिएको थियो। खाम खुल्लै भएकोले त्यही उभिएरै पत्र निकालें।
कमरेड
अभिवादन,
भेट्ने धेरै चाहना थियो तर तपाईंकी ढुङ्गे देवीले तपाईंसग भेट्न दिइनन्। मेरो प्राथना पो सुनिछन् र कोरोनाको रूप लिएर मेरो शरीरभित्र आइन् कि के हो। खोकी बढेको छ। कतै निस्कने शक्ति पनि छैन। अस्पतालले खोकी बढ्दा खाने दवाइ दिएको त्यै खाइरहेको छु तर कम हुने नाम नै लिएको छैन योपल्ट। कतै कोरोनाको खोकी पो हो कि जस्तो लागि रहेछ। तर अस्पताल गएर जँचाउन पटक्कै मन लागेको छैन।
हिजो मेरै कारणले धेरैलाई रुवाएको थिए होला त्यसैले उनीहरूको आँसु लागेर त होला आज सास जान नसकेर म धेरै रोएको छु। कोठामा एक्लै मुढो लडेजस्तो लडेर अतितका धेरै कुरा सम्झिरहेको छु। अनि सम्झिन्छु कमरेडले भनेको कुरा– तपाईं प्रयोग हुनु भएको त हैन भनेको।
हो कमरेड म वास्तवमै जिन्दगीभरि प्रयोग मात्र भएँ। आज एउटा कुरा भन्न मन लागेको छ कमरेडको आरडी मुखियाको वास्तविक नाम रुपेन्द्र थापा हो। म अब निको हुन्न होला बाँचें भने भेटेर भनुला भन्ने थियो तर खै भेट होला नहोला। मरे भने लास उठाउनेले तपाईंको हातमा पुर्याई देलान् कि भनेर यो पत्र लेखेको हुँ।
तपाईंले न्वारन गरेको
आरडी मुखिया