कविताः
तिमी आएको त्यो बेला,
बन्यो सुभसाइत, घडी पला
नत्र भने घुँडा टेक्दा हिम्मतले
जिन्दगी त परिसक्थ्यो थला
मृत्युशैयामा छट्पटाएको बेला
मूर्छित सपनाको कुरुवा सरी
वल्लो गल्ली पल्लो गल्ली
भौतारिँदा अन्यौलमा परी
टुक्रिएका पाइलाका डोबहरु
असरल्ल परी छरिँदा बाटोभरी
बिझ्ला कि भन्ने डर थियो
चसक्क मुटुमा काँडासरी
त्यही बेला
मेरो जिन्दगीमा तिमी आइदियौ
हात समाई हिँड्न सिकाइदियौ
मूल्यहिन हाँसो करोडौंमा बिकाइदियौ
रङ्गहीन ढङ्गहीन भइराखेको बेला
जिउने कला सिकाउने गुरु तिमी नै थियौ
चुक घोप्टिएको मध्यरातमा
आयौ तिमी टर्च लिई हातमा
यात्रा सहज हुने रैछ जिन्दगीको दौडाहामा
तिमी जस्तो सारथी भइदिँदा साथमा
श्यामश्वेत चित्रपटमा रङ्ग छर्यौ तिमीले
लयसहित जिन्दगीमा सङ्गीत भर्यौ तिमीले
'रिल' जस्तै हुँदा जीवन सबैले चाख मानी हेर्थे
'रियल' मै लोभलाग्दो छायांकन गर्यौ तिमीले
अहिले तिम्रै कारण
खहरे झैं उर्लेको मन ताल भा'छ सौरम्य
अर्थहीन जिन्दगी बनेको छ बोधगम्य..
(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि. केवरे भञ्ज्याङ, स्याङ्जामा शिक्षक छन्।)