कविता
बजारमा नयाँ आएका
संगीका छोरीहरूले लगाएका
रंगीविरंगी जामा अनी स्कर्टहरूमा
उनी आफ्नी छोरीको बारे निरन्तर कल्पना गर्छिन्
र बरोबर घचघच्याई रहन्छिन्
‘मलाई ता छोरी नै चाहिन्छ है’
पुतलीजस्ती छोरीलाई, जे लगाइदिए पनि सुहाउँछ’
चैत्ररथका पुष्पहरू, के पुतली बिना मगमगाउँछ र?’ ।।
छोरीको चाहना उनलाई झैं
मलाई पनि उत्तिकै छ
काँधमा राखेर एकदिन उनलाई
सगर को शिर जो देखाउनु छ
आवरणमा श्यामश्वेत देखिने जीवन-घामहरूका
प्रचुर रंगहरू सँग साक्षात्कार गराउनु छ
उकाली चढ्न सिकाउनु छ
ओराली झर्न सिकाउनु छ
उनलाई एकदिन ‘ठूलो' मान्छे भएको देख्ने औधि रहर छ
उनलाई ‘ठूला' हरूको माझ
भुइँमान्छे नै भइरहेको देख्ने अझ उत्कट रहर छ।।
उनलाई लिएर
रहरका खातहरूको ठूलै संगालो मनमा छन्
संगालोहरूका कटु भंगालोहरू टड्कारा छन्
यद्यपि मेरा रहरका स्वैरकल्पनामा
मेरी जन्मदै नजन्मिएकी छोरी
शक्तिशाली साम्राज्यको 'थ्याचर' भैसकी,
घाइते जगतलाई करूणाको मलमपट्टी गर्ने
ऊ 'नाइटेङ्गल' भैसकी
सगरमाथाको उचाइ नापिसकेकी 'जुनको तावेइ' ऊ नै हो
बादल छेड्ने दुस्साहस बोकेकी 'टेरेस्कोवा' ऊ नै हो
मेरो स्वैरकल्पनामा
उसले नपाएको सायदै कुनै पदवी छैन
उसले नचिरेको अभेद्य कुनै बादल छैन।।
यस्ती विलक्षण छोरीको पिता बन्ने स्वैरकल्पनाले
मा जति हर्षातिरेक महशुस गर्छु
अप्रत्याशित उर्लिने भंगालाहरूको कटुतालाई
म नजरअन्दाज गर्न सक्दिनँ
निसन्देह, उनको दृष्टिकोण समाजको मूल प्रवाह भन्दा फरक हुनेछ
निसन्देह, उनका कैयन निर्णयहरू भीड भन्दा पृथक रहनेछन्
निसन्देह, उनले स्वतन्त्र भएर सोच्ने छिन्
निसन्देह, उनले स्वतन्त्र भएर बोल्ने छिन्
निसन्देह, उनले कसैको प्रेम स्वतन्त्र भएर स्वीकार्ने छिन्
निसन्देह, उनले कसैको प्रेम स्वतन्त्र भएर अस्वीकार गर्ने छिन्
निसन्देह, उनले 'नाइँ' भन्ने छिन्
हो, उनले अवश्य कैयौं पटक 'नाइँ' भन्ने छिन्।।
त्यसबखत,
मेरी छोरीको अस्वीकृति अनि दुस्साहसहरूलाई 'ठेगान' लगाउन
पुरूषार्थी 'तेजाब' हरू उनी उपर अवश्य छ्यापिनेछन्
पितृसत्ताको नशामा धुत भएर युगौं युगदेखि
प्रेमीको भेषमा प्रेमिका उपर
श्रीमानको भेषमा श्रीमती उपर
आफूलाई 'पुरूष' ठानेर 'नारी' उपर
सम्बन्धका विभिन्न आयाम अनि आवरणहरूमा छ्यापिने
त्यस्ता पुरूषार्थी 'तेजाब' उत्पादन गर्ने 'महापुरूष' हरू मध्ये एक मै हुँ
मेरी छोरी उपर छ्यापिने ती तेजाबहरू
म पिता भेषी 'पुरूष' कै अंश हरूले बनेका हुन्
उनी उपर तेजाब उनकै पिता सँग पनि रहेको 'पुरूषार्थ' ले छ्यापेको हो
जसका तथाकथित पौरूष ग्रन्थीहरू अस्वीकृति सहन सक्दैनन्
जसलाई शक्तिको मिथ्या घमण्ड सिकाइएको छ
जसको पट्टीमा बेरिएर उसले कसैलाई चिन्दैन
उसले आफैंलाई चिन्दैन।।
बजारमा नयाँ आएका
संगीका छोरीहरूले लगाएका
रंगीविरंगी जामा अनि स्कर्टहरूमा
उनी आफ्नी छोरीको बारे निरन्तर कल्पना गर्छिन्
र बरोबर घचघच्याई रहन्छिन्
‘मलाई ता छोरी नै चाहिन्छ है’
‘पुतलीजस्ती छोरीलाई, जे लगाइदिए पनि सुहाउँछ’
चैत्ररथका पुष्पहरू, के पुतली बिना मगमगाउँछ र?’।।