हतार अनि कुदाइमै, एक दशक भएछ जागिर खाको पनि,
रोकिएको छैन, खै के के अझै गर्नु छ भनि,
दोहोरो भूमिका निभाउनलाई हम्य हम्य भा छ
आधा जीवन जागिर मै, घरकी पूर्ण भइनँ
कति खानु जागिर अब, फुर्सद लिने मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
जागिर जागिर भन्दा भन्दै नसनाता टुटे
फुर्सद हुन्न कहिले पनि साथी भाइ छुटे
पर्दा, मर्दा मलामी भन्छन्,
खै जागिर त,पन्छिएर हिड्ने बहाना पो भा छ
सधैँको बहानालाई तोडिदिन मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
लिईसकियो सबै सुविधा पैसा कता गयो
महिनाभरि काम गर्यो, रित्तो खाता देख्दा,
जागिर पनि अब त घाँडो जस्तो भा छ
आफ्नो कमाइ भन्नु मात्र दुख झन धेरै,
श्रीमानको कमाइ खाई, घर्मै आराम गर्न मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
कहिले के कहिले के, दिनै हुन्न नबिर्सिएको कैले,
के पाउने हो, के लाने हो हतारमै जहिले,
आराम गर्न खोज्छ शरीर, निन्द्रा नपरेको राति
दोधारमै हिड्नु पर्दा दिक्क लाग्छ कति,
कस्तो तनाब मुक्त कहिले पाउँ जस्तो भा छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
आधा रात हुन लाग्छ, अफिसमै आजकाल,
कति ढाँटनु चाडैं आउ मामु भन्दा, हुन्छ हुन्छ भन्दै,
तरकारी किन्नलाई, पसल पसल चाहार्नुछ अझै
स्कुटरको कुदाइसँगै मन मस्तिक, भान्साघरमा पुग्छ
घरकाले के भन्ने हुन् , ओठ तालु सुक्दा
रमाउन्न यो मन पनि, नखाएरै बालबच्चा सुत्दा
थकित यो शरीरलाई, आराम गर्न मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
हामी दुवै जागिरे, उहाँ सधै अबेर,
बालबच्चा छाडा भए पढाइ लेखाइ कता,
घरमै बसी, गृहकार्य गराउनलाई मन छ
भविष्य कोर्न, वर्तमानलाई जोडिदिन मन छ
धोको पुर्याई बालबच्चा, स्याहार्नलाई मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
कहिले काँही घरमै, बस मामु बालबच्चाले भन्दा,
फेरो समाइ, झुण्डिएर बुबु-बुबु भन्दा,
सक्तिनँ म रोकिन, कस्तो होला यो जागिरको फन्दा,
दुई तिर खुट्टा भयो, न घर न अफिस भा छ
कति खानु जागिर पनि, अब छोड्न मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
श्रीमानको आइरन अनि मोजा पनि खै त,
भ्याइएन त भन्न पनि,
घरभित्रको काम खै के काम,
के काम छ र भन्दे मात्र भा छ,
सधैको गुनासोबाट मुक्त भई, घर्मै,
पूर्ण गृहिणी भइ बसिदिन मन छ
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।
जागिरेहरु हिडीहाल्छन बुबा-आमा घरमा,
के ल्याउने के खाने, सधै बिहानकै भरमा,
खाजा खाने बानी हट्यो नसकेर भन्दा,
जागिर छोडी घरमै बसि, फुर्किदिन मन छ
इच्छाहरु पुराएर स्याहार्नलाई मन छ।
त्यसैले त अब मलाई, राजिनामा दिन मन छ।