कविता
अभावको अँध्यारा दिनहरूसँग जुध्दै गर्दा
छिचोल्दै गर्दा गरिबीको घना जंगलहरू
लाग्दो हो तिमीहरूलाई
पखाल्दैछौं पूर्वजन्मको कुकर्मको पाप
आठ घण्टा काम
आठ घण्टा मनोरञ्जन
आठ घण्टा आरामका प्रावधानहरू
तिम्रै जुनीमा सम्भव बनाउनेछौं भन्दै
सरकार, पार्टी र नेताहरू कुर्लिंदै गर्दा
उनीहरूकै सपनाहरूको भारी बोक्दा बोक्दा गलेका शरीरलाई
पाँच घण्टा पनि निन्द्राको पोल्टामा हाल्नै नसक्दा
रातारात करोडपति भएका मालिकहरूलाई हेर्दै
दुत्कार्दै होलाऊ तिमीहरू आफ्नै भाग्यलाई
फालेर सदियौंदेखि पूर्वजन्मको पाप र भाग्यको अश्रु ग्यास
तिमीहरूलाई आँखा खोल्नै नसक्ने बनाइरहँदा
तिमीहरूले स्वास फेर्नै नसक्ने पारिरहँदा
उम्किने कुनै बाटो फेला नपरेपछि
उदासिन तिमी र तिम्रा सन्तानहरू
आफैंलाई ध्वस्त पार्ने बाटो रोज्दै गर्दा
उनीहरूले नै फैलिइरहेका भ्रमका सिकार भएका तिम्रा सन्तानहरू
तिमी र तिम्रो पुस्तालाई यसको जिम्मेवार बनाउँदै होलान्
युगौं देखि तिमीहरूको पुस्ता
पसिना बगाउँदै छ यो धर्तीमा
धर्ती गोडेर अन्न उब्जाउँदै आएको तिमीहरूको पुस्ता
दु:खले समय अघिनै चाउरिएका फुंग अनुहारहरूमा
खुसीको मुस्कान छर्ने ठेक्का लगाउनेछन् उनीहरू
हरेक चुनावमा, हरेक कारखानामा, हरेक बजारमा
प्रत्येक दिन, प्रत्येक साल
तिमीहरूले सुनौ
तिमीहरूको लालाबालाहरू कुपोषणले अहिलेसम्म
तङ्ग्रिन नसकिरहेको बेला
सर्वहाराको सरकारले
पठाएको छ तिमीहरूको नाममा सन्देश
जनतालाई भोकै नमार्ने सन्देश
तिम्रो सरकारलाई महशुस भैइसकेको छ
समृद्ध देश बनाउन स्वस्थ जनता चाहिन्छ
पूर्खालाई झै तिमीहरूलाई पनि
बेवकुफ बनाऊ सफल हुनेछन् नियत बिग्रेकाहरू
समाजवाद सहितको समृद्धि ल्याउने वाचा लिएर
फेरि तिमीहरूको झुपडी धाउनेछन्
गएको चुनावका भन्दा नविन र ठूलो हुनेछ
उनीहरूका योजनाहरू
ढुक्क भएर बस
उनीहरूको काम भने तर
तिमीहरूको आवश्यकता भन्दा फरक हुनेछन्
तिमीहरूको चाहना भन्दा विपरीत हुनेछन्।