मायाको टुकटुकेले टुकटुक पार्दै
छिनेटोले कुँदी-कुँदी
म जस्तै बनाउँछु भन्थेँ मेरो म
भरोसै-भरोसाको तानमा
बुट्टाभरी बुन्दा-बुन्दै
हतासोले ठकठक मिलाई मिलाई
आफूजस्तै जनाउँछु भन्थेँ मेरो म
तिम्रो नजरमा
'ऊ' जस्तो पो भएछ।
कहिले मेघ गर्जिंदैँ
घटा घेरिन्छ यहाँ
कहिले बिजुली चम्किँदै
आवरण फेरिन्छ यहाँ
जुन मेघ गर्जिन्छ मात्र
उही मेघ क्रान्तिकारी बन्छ
जुन घटा बर्सिन्छ यहाँ
त्यही घटा भ्रान्तिधारी बन्छ।
तिमी कालो चस्मा लगाउँछौ
अनि सत्यलाई पटकौँ-पटक
मोडिएको देख्छौ त म के भनूँ
जोड्दा-जोड्दै जोडिदैँ गरेको मेरो म
तोडिएको देख्छौ त म के भनूँ।
भन्ने बेला एक हो भन्यौ
तर दुईजस्तै ठान्यौ
कालै आँचलले छोपेर आँखा
नेपथ्यबाट दिग्भ्रमित हुँदै
मेरो म लाई पनि उहीजस्तै ठान्यौ।
कति पढाएँ तिमीलाई
पिरतीका कखराहरु
कति घोकाएँ जीविकाका बार्हखरीहरु
पिसाब नै गड्बड् हुने गरी मिलाएका
गरिबीका हिसाब-किताबहरु
कता कता घट्बढ हुँदा
तिम्रो अभिमानका खहरेहरु
गड्गड हुन्छन् त मेरो के लाग्दोरहेछ र टुकुली।
यौवनको ढाकर बोकी
गोरेटोमा हिँड्दा-हिँड्दै कतै
भट्टीवालीले मस्किँदै-जिस्किँदै
नडाकेको पनि त होइन
आरुढाले इशारै-इशारामा
परबाट नबोलाईराखेको पनि त होइन
तर,
बैँसको बगानमा बेलौती पाक्दा पनि
दौंतरीले तिनै बेलौती स्वाद मानी-मानी चाख्दा पनि
आफूलाई तरक्कै तर्काएर ल्याएको मेरो म
वरै मर्यादाको नेटबाट
आफूलाई फरक्कै फर्काएर ल्याएको मेरो म
तिम्रो लागि रत्यौलीको लुठो हुन्छ भने
मेरो कथा सबै झुट्टो हुन्छ भने
मेरो के डेग चल्छ र टुकुली।
अल्लि अस्तिसम्म
खै के-के वादको गुड्डी हाँक्थ्यौ
म त कर्महारा हो भन्थ्यौ
खुला आकाश ओढेर सुत्ने
हामी त सर्वहारा हो भन्थ्यौ
तर आजकल तिम्रो नशा-नशामा
अर्कै वाद दौडिरहेको देख्छु
आत्मवादको बर्को ओढेर तिमी
सम्पतिको आहालमा पौडिरहेको देख्छु।
तिमी सेतो देखे सेतै बन्दोरहेछौ
रातो भेटे रातै हुँ भन्दो रहेछौ
तिमीलाई कतिबेला हरियो मन पर्छ
कुनै बेला बलेको दियो मन पर्छ
तिमीले मेरो 'म' लाई पनि आफूजस्तै
छिन-छिनमा भेष बद्लेको देख्यौ
दिन-दिनमा केश बद्लेको देख्यौ
जोगाई-जोगाई राखेको
स्वाभिमानको धरोहर ढलेको देख्यौ।
अगेनामै ठोसी-ठोसी
फिलिङ्गो बाल्दा पनि मैले
जुनकिरीकै लुसिफेरिन बलेको देख्यौ।
तर,
तिमीले जस्तै छेपारो बन्न नसकी
जिजीविषाको पहरोमा ठोकिँदै-रोकिँदै अल्झिरहेको
मेरो 'म' को पीडा तिमीलाई के थाहा टुकुली।
सिस्नेरीमा सिर्रसिर्र चलेको
लालसाको चिसो सिरेटोसँगै
तृप्तिको तकियामा शिर अड्याउँदै
प्राप्तिको डसनामा लम्पसार पर्दै
प्रेमको न्यानो सिरक ओढी
मस्त निद्रामा स्वप्न-महल ठड्याउँदै
पुग्नु त आखिर कहाँ हो र टुकुली।
भत्केको मिलाउँदा-मिलाउँदै जाने जीवन
फाटेको सिलाउँदा-सिलाउँदै जाने जीवन
तल ओढ्यो माथि नाङ्गै हुन्छ
माथि तान्यो तल छ्याङ्गै हुन्छ
आफ्नै ढंग पनि त फेर न अब
ओइलिँदा अंग पनि त हेर न अब
रंगमात्रै कति बदल्छौ र टुकुली
यसरी त कति चल्छौ र टुकुली।
* **