बुद्ध जन्मेको देशमै म बुद्ध खोज्दै हिँडिरहेकी छु।
लकडाउन हुनुभन्दा ठीक एक हप्ताअगाडि मात्र म्याग्दीको भट्टीभिरबाट मध्य पश्चिमी सपनाको सहर लुम्बिनी झरेको थियो मेरो बैंसालु छोरो बुद्ध।
त्यस दिनदेखि ऊ सम्पर्कविहिन छ। काल–बेला पनि ठीक छैन यो वर्ष। भाइरस आतंकले सुगमदेखि दुर्गमका सहरबजार, गाउँघरका कुनाकाप्चामा हलचल मच्चाएको छ। यस्तो परिस्थितिमा बुद्ध भने लापता छ, महिनौ दिनदेखि।
प्रत्येक घडी उसको मोबाइलमा सम्पर्क गर्न खोज्छु। तर यही सन्देश मात्र आउँछ– 'तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर स्विच अफ गरिएको छ।'
मेरो मुटुमा चिसो पस्छ।
पल–पलको ताजा खबरदेखि छिमेकीका गफमा होस्, सबैले एउटै विषय पाएका छन्- 'यो जिल्लामा यति मान्छे संक्रमित भए, त्यो जिल्लामा यति मान्छे मरे।'
'पल्ला घरको शिव, वल्लो घरको देव, अनि माथ्लो घरको वैकुण्ठ पनि खाडीतिर कोरोनाले मार्यो रे' भन्दै थिए गाउँलेहरू। परिवारकाले आफ्नो रित पुर्याएर कर्मकाण्ड पनि गर्न पाएनन् रे। शव पनि उतै गाडियो रे उनीहरूको।
यस्ता घटना सुन्दा मुटुले हंस छोड्न थालिसकेको छ।
'कतै मेरो बुद्धलाई पनि कोरोनाले त मारेन? उसको शव पनि त्यसरी नै गाडेकी क्या हो? शवसँगै उसको मोबाइल पनि गाडिदिएर नम्बर पनि स्विच अफ भनेको त होइन? मेरो छोरा त्यसैले त सम्पर्कविहिन भएको होइन?' बारम्बार मनमा प्रश्न उठ्छन्।
समयानुकूल वातावरण र हावापानीको असरले हो कि अचेल जे भए पनि कोरोना। यो भए नि कोरोना, त्यो भ एनि कोरोना। कोरोना, कोरोना, कोरोना। दिनमा हजारौं पटक यही कोरोना मात्र सुनेर होला, दिमाग आधाउधि खलबलिसक्यो।
'कहाँबाट आएको हो भयानक रोग? फलानालाई केही हुँदा पनि कोरोना, ढिस्कानोलाई जे हुँदा पनि कोरोना' यस्तै खाले सोच मात्र आउँछ।
केही भएको छैन मेरो बुद्धलाई। ऊ जहाँसुकै होस्, जस्तोसुकै हालतमा होस्, ऊ सुरक्षित रहोस्। यही कामना र प्राथना गर्छु म।
उता बुद्धका बा पनि खाडीमा खारिएका छन्। यही एउटा सन्तानको उज्ज्वल भविष्यका लागि मरभूमिको तातो रापमा काम गरिरहेका छन्। तातो हावामा पानीको सट्टा पसिना पिएर बसेका छन्। छोरो बुद्ध सम्पर्कविहिन भएको खबर सुनेपछि उनको पनि होसहवास उडेको छ। सुर्ताले ज्यान सुकेर हाडछाला मात्र बाँकी छ।
'केही खबर आयो र छोराको?' खाडीबाट हरेक दिन फोन गरेर सोध्छन्।
'छैन बुद्धका बा' भन्नासाथ निशब्द भएर फोन काट्छन्।
नौ महिनासम्म पाठेघरमा उसलाई बाहिरी आँखाले नदेखे पनि हेरचाह गरी पालेकी बुद्धकी आमा हुँ म। उसले यस धर्तिशमा जन्म लिएपछि पूर्ण रूपमा अदृश्य स्नेह र अमृततुल्य ममता दिएकी छु। दियो निभेझैं झ्याप्प छोरो बेपत्ता हुँदा यो मातृत्व मन बेस्सरी आत्तिएको छ। उसको यादमा आमाबाको हृदय छियाछिया बनेको छ। उसका बारेमा सोच्दासोच्दा आशा र निराशामा रात छर्लंग बितेका छन्। तर किन उसलाई हाम्राबारे थोरै पनि मतलब छैन?
बुढापाकाले भन्ने गर्थे, 'हेर नानी, आमाबुवाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुडामाथि।'
अझै यत्तिले नपुगेर भन्थे, 'बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि!'
साँच्चै हो रहेछ। मेरो हालत पनि अहिले दुरुस्तै छ। सन्तान सुख होइन, सन्तान दुःख र पीडाको जड भएको छ। के दिन दशा बज्रेको होला ममाथि? हाम्रो फोन नउठाएपनि यसो एक कल फोन गरेर 'म यता यस्तो हालतमा छु' भनेर जानकारी मात्र दिए पनि हामी आमाबाको ज्यान हल्का हुने थियो।
कतिसम्म लापरवाही गर्न सकेको होला यो बुद्धले पनि?
त्यहीमाथि हामी आमाबुवा पनि कति सम्मका छौं भने नि, आफ्नो मुटुको टुक्राजस्तो सन्तानले हाम्रो आलो घाउमा नुनचुक छर्के पनि छाती फुलाएर गर्व साथ मायाममता दिइरहन्छौं।
यस्तो सन्तान पीडा कसैलाई नहोस्।
अब बुद्धलाई खोज्न कहाँ जाऊँ? केही आधार छैन।
कहाँ छ? कस्तो अवस्थामा छ? के गर्दै होला? भोको होला कि खायो? कुन ठाउँमा छ यत्रो महिनासम्म? कुन बाटो लागेको होला? किन यस्तो व्यवहार देखाएको होला? सन्चो छ कि विसन्चो? ज्युँदै छ कि मर्यो?
केही थाहा छैन।
हुनत, यथार्थ मलाई थाहा छैन। उसको खोजी नगरी मभित्र किन हावाहुन्डरी कुराहरूका भरमा नकारात्मक सोच हुर्किँदै छ कि? किन म बेकारको मानसिक तनाव लिएर बसेकी छु? समाचार र छिमेकीका झारपाते गफले मेरो माथिंगल हल्लाइरहेको छ। खासमा सत्य नबुझी म भ्रममा डराइरहेकी छु। मैले सत्य खोजी गरिनँ भने वनको बाघले खाओस्, नखाओस् मनको बाघले पक्का खानेछ मलाई।
त्यसैले जतिसक्दो चाँडो म लुम्बिनी प्रस्थान गर्नुपर्छ। कर्फ्यु, सिलडाउन, कडा लकडाउन लगाउने गाँइगुँइ सुनिन्छ बजारतिर। जे भए पनि म भोलि नै लुम्बिनी पुग्छु, अनि बुद्धलाई खोज्न थाल्छु। ढुंगा खोज्दा देवता त भेटिन्छ भन्छन्, बुद्ध कसो नभेटिएला र?
नातागोता, छरछिमेकी, माइती-मावलीलाई पनि खबर गर्नुपर्यो। केही दिनका लागि लुम्बिनीतिर लागेँ, छिमेकीलाई आफ्नो घरको हेरचाह गरिदिनू भनेर।
भोलिपल्ट म काँइलो भाइको एम्बुलेन्समा चढेँ। सूर्य उदाउनुअघि नै लुम्बिनी झरेँ। झिसमिसेमा लुम्बिनी शान्त सुतिरहेको थियो। यस्तो दिन पनि आउँदो रहेछ– कहिल्यै नसुत्ने पश्चिमी राजमार्गका चोक, गल्ली, बाटा र पसलेहरू पनि सुतिरहेका।
अचम्म लाग्यो।
चिहानजस्तो चकमन्न, सुनसान र शून्यतामा बाँचिरहेको छ लुम्बिनी। आतंककारी भाइरसले यहाँको रुपरङ पनि पूरै परिवर्तन गरिसकेको रहेछ। पुरानै रुपरङमा फर्किन्छ या फर्किन्न, त्यो समयले बताउला। यता मलाई यहाँसम्म ल्याइपुर्याउने भाइ भने हतारमै एम्बुलेन्स लिएर पुनः काठमाडौतिर फर्किसक्यो।
चोक–चोकमा प्रहरीको बाक्लो हुल थियो। पश्चिम राजमार्ग भएर आउने र जाने मालबाहक गाडीलाई चेक पोष्टमा कडीकडाइ गर्दै थिए प्रहरी जवानहरू। खानतलासीको दृश्य हेर्दा लाग्थ्यो, यिनीहरूले कतै कोरोना भाइरस ओसारपसार त गरिरहेका छैनन्?'
फुली भिरेका एक प्रहरी नजिकै आएर मलाई पनि सोधपुछ गर्न थाले, 'यस्तो झिसमिसेमा कताबाट आउनुभएको दिदी? या कतै जान लाग्नुभएको? पहाडी जिल्लाबाट आउनुभएको हो भने पिसीआर रिपोर्ट देखाउनुस्।'
नडराई उनीहरूले सोधेका सबै प्रश्नको जवाफ दिएँ। आफू यता आइपुग्नुको वास्तविक कारण पनि बताइदिएँ। गुम्सेर बसेको पीडित मन हलुका भयो।
'तपाईंको हराएको छोरा बुद्धको तस्वीर, घरबाट निस्किँदाको हुलिया सम्पूर्ण विवरण दर्ता गराइदिनुस्। बुद्धको खोजीका लागि हामी तपाईंलाई सक्दो सहयोग गर्नेछौं। खोजतलासीका लागि नजिकैका सबै वार्ड, नगर, प्रहरी चौकी, स्वास्थ्य चौकी, समस्त लुम्बिनी इलाकाभर मान्छे हराएको सूचना टासौँला। विज्ञप्ती पनि निकालौंला। अहिलेलाई तपाईं यहाँबाट जान सक्नुहुन्छ दिदी। १० बजे कार्यालय खुल्छ, त्यही बेला आउनुहोला,' प्रहरीले भने।
देशका सेवकहरूको कर्ममा उदाउँदो सूर्यझैं प्रकाश उनिएको छ। त्यही प्रकाशले हामीले शान्तिको सास फेर्न पाएका छौं।
प्रहरी चौकीबाट बिदा भएँ।
'अब मेरो बुद्ध भेटिने भयो!' मनमा आश पलायो। अनि आफ्ना खुसीका पाइला विस्तारै साइँलो भाइको घर लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्धशान्ति चोकतिर लम्काएँ। खाद्यान्न, दुग्ध, औषधीलगायत दैनिक उपभोग्य वस्तुका बजार खुल्न थाले। पहिलाको जस्तो चहलपहल भने कतै देखिएन।
माइती घर पुग्दा भावविह्वल थियो मन। साइँलो भाइलाई देखेपछि गर्लम्म अँगालो हालेर रुन मन लाग्यो।
'हाम्रो बुद्धलाई हामी पनि खोज्न निस्कौँला तपाईसँगै,' भाइबुहारी, भतिजी र भदाले केही सान्त्वना दिए।
'किन चिन्ता गर्नुहुन्छ? हामी छैनौं र? जसले जे भने पनि मर्दा, आवश्यक पर्दा आफन्त आफ्नो हुन्छ दिदी। तपाईं ढुक्क हुनुस्, हामी तपाईंको साथमा छौं। ढुक्कको स्वास फेर्नुस्। पीडाको भारी बिसाइदिनुस्। चिन्ताले चिताको बासमा पुर्याउँछ,' जब भाइको साथ पाएँ केही साहस बढ्यो। हौसलाले आश जागेको थियो।
बुद्धलाई खोज्ने कार्य तीव्र बन्यो। म, भाइ, भाइका साथीसंगी, पुलिसको सहकार्यमा उसको खोजी अगाडि बढ्यो, लुम्बिनी र देशैभरी।
एक हप्ता, दुई हप्ता हुँदै तीन महिना बित्यो। तर अहँ, सुइँकोसम्म पत्तो लगाउन सकिएन बुद्धका बारेमा।
'अब म हारिसके साइँलो...घरतिर पनि लथालिंग, भताभुंग छ। मुखमा माड लगाउन खेतीपाती गर्नै पर्यो। अन्नबाली भित्र्याउन बाँकी छ। सबै काम त्यसै छोडेर बेहोसीमै हिँडेकी थिएँ। तर के गर्नु मेरो भाग्यमा सन्तान सुख लेखेको रहेनछ। हे दैव, कस्तो दिनमा यो कोखमा त्यसको सृष्टि भएछ? यही सोचेर चित्त बुझाउनु पर्यो साइँलो। बरु म भोलि नै काइँलासँग जान्छु,' मुटु खाने बाध्यताको भारी मनलाई बुझाउँदै भाइसँग बिदा मागेँ।
अब यो जुनीमा बुद्ध भेटिँदै–भेटिन्न, यथार्थ यही हो। यही सत्य स्वीकार्नुमा नै भलो हुनेछ।
मेरा निम्ति यही मोक्ष हो भन्नेमा म स्वयमसँग सहमत भएँ। अबको बाँकी जीवनमा मैले प्राप्त गरेको मोक्ष नै मेरो बुद्ध हो!
(लक्छु सापकोटाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)