बिहे गरेको दुई वर्ष भो। छोरी एक वर्षकी भइसकी तर श्रीमतीको नागरिकता बनाएको छैन।
भदौ १८ गते भाइ १८ वर्ष पुग्यो, उसको पनि नागरिकता बनाएको छैन।
घरमा ८४ वर्ष कटेकी वई (हजुरआमा) छिन्। भाइलाई असाध्यै माया गर्छिन्। दिनमा दसचोटि भन्छिन्, खलङ्गा गएर भाइको नागरिकता बनाइदे।
प्रशासन कार्यालयको अगाडि उभिएको छु। श्रीमती र भाइलाई नागरिकता बनाइदिन आएको छु।
प्रशासनको गेट खुल्लै छ तर छिर्न डर लाग्छ। ठूलो भवनको अगाडि केही मानिस बेञ्चमा बसेका छन्, केही उभिएका छन्, केही यताउता हेर्दै छन्, केही खोजे जस्तै गरी।
भवनको उत्तर पूर्वमा रहेको झण्डा फरफराइरहेको छ, त्यही छेउमा एक जना पुलिस उभिएको छ, काधमा बन्दुक भिरेर।
उसलाई देख्दा खुट्टा लुगलुग काप्न थाल्छन्। पाइलाहरू अगाडि बढ्नै मान्दैनन्। म उभिएको उभियै हुन्छु।
‘पिपिप’ को आवाजले तर्सिन्छु, पछाडि फर्कन्छु। आर्मीको गाडी रै’छ।
म अत्तालिँदै छेउ लाग्छु, ठाउँको ठाँउ मुर्छा परेजस्तै हुन्छ। नागरिकता बनाउने ठाउँमा आर्मीको गाडी किन आएको? मलाई अपहरण गर्न? मलाई बेपत्ता बनाउन।
म डराउँछु, तर्सिन्छु, मरेतुल्य हुन्छु। शरीर तातिन्छ, खलखल पसिना आएजस्तै लाग्छ।
‘के भयो दाइ ?’ भाईले प्रश्न गर्दा झस्किन्छु। केही बोल्दिनँ। भारी खुट्टाहरू प्रशासन कार्यालयभित्र बढाउँछु।
‘कता हो तपाईंहरू ?’ झन्डाको छेउमै उभिएको पुलिसले सोध्दा मन खङ्रंग हुन्छ।
डराएर बिस्तारै भन्छु, ‘नागरिकता बनाउन आएको’।
‘त्यहाँ हात धोएर जानुस्।’धारा देखाइ दिन्छ उसले।
त्यतैतिर अगाडि बढ्छु म। मेरो पछिपछि भाइ र श्रीमती आउँछन्। धाराको माथिपट्टि कोरोनाबाट बच्ने उपाय लेखिएको पोष्टर टाँसिएको छ।
विश्वमा कोरोनाको महामारी फैलिएको छ। विदेशमा कोरोनाबाट धेरै मान्छे मरिसके भन्ने सुनिन्थ्यो। नेपालमा पनि मर्न थालिसके। दुई चार जनाले कारोनाबाट ज्यान गुमाएको खबर दिनहुँ आउँछ। सल्यान पनि अछुतो छैन कोरानाको संक्रमणबाट।
सबै स्थानीय तहमा कोरोना लागेका मान्छे छन्। जिल्लामा ३०० भन्दा बढी बिरामी भएको जानकारी गराउँछन् एफ.एम.ले। कोरोनाबाट मृत्यु भने कसैको भएको छैन।
नागरिकता बनाइदिनु थियो मलाई। नागरिकता बनाउने कोठा खोज्न थाले। कोठा नं. १ को झ्याल अघि मानिसहरूको भीड थियो। त्यही गएर उभिएँ।
झ्यालको माथिपट्टि नागरिकता भनी लेखिएको थियो, त्यही गएँ।
श्रीमती र भाइ सँगै थिए। आफूले ल्याएका सबै कागजात त्यही झ्यालबाट भित्र पुर्याए।
‘तपाईंका भाइको नागरिकता बन्दैन। कोठा नं. १० मा जानुस्,’ झ्याल भित्रैबाट कसैले भन्यो।
कसको लागि भनेको थियो त्यो ? मेरो लागि वा अरु कसैको लागि। मैले वरिपरि हेरें। भाइको नागरिकता बनाइदिन अरु पनि आएका थिए त्यहाँ।
‘शिशिर को हो ?’
‘मेरो भाइ हो,’ सुस्तरी भनें मैले।
‘तपाईंको भाइको नागरिकता बन्दैन। कोठा नं. १० मा जानुस्।’ भित्रबाट कर्मचारीले फेरि भने।
किन बन्दैन मेरो भाइको नागरिकता? मेरो भाइको नागरिकता नबन्नुको कारण के ? के ऊ नेपाली होइन ? नेपाली नागरिकको नागरिकता नबन्ने हुन्छ ? चिच्याएर भन्न मन लागेको थियो तर बोली फुट्दै फुटेन।
‘१० नम्बर कता हो ?’ मसिनो स्वरमा सोधें।
‘माथि हो, माथि जानुस्’, भन्दै मैले बुझाएको कागजात मलाई नै फिर्ता दिए। कागजहरू हेरें मैले।
श्रीमतीका कागजात थिएनन् त्यसमा, भाइका मात्र थिए, सायद श्रीमतीको नागरिकता बन्ने भयो कि ? श्रीमतीलाई त्यही बस्न भने। भाइ सँगसँगै कोठा नं. १० खोज्दै माथिल्लो तला गएँ।
प्रशासन कार्यालयभित्र छिर्दा लागेको डर झनै बढेको थियो।
प्रशासनभित्र काम गर्ने मान्छे पनि मान्छे नै हुन्, हाम्रै लागि काम गर्ने हुन्, हामीलाई सेवा दिने हुन् भन्ने सोच आउँदै आएन।
प्रशासन भित्रका मान्छेले शासन गर्छन्, भन्ने भावले दिमागमा शासन गरेको थियो। आफूले आफूलाई निर्धो अनि कमजोर ठानिरहेको थिएँ, देशमा लोकतन्त्र, गणतन्त्र आइसकेको थियो तर मेरो लागि यी तन्त्रहरूको कुनै अर्थ थिएन।
मेरा दुःख जहीको तहीँ थिए। मेरो जीवनमा कुनै परिवर्तन आएकै थिएन।
तन्त्र फेरिँदैमा जीवन नफेरिने रहेछ। तन्त्र सँगसँगै जीवन पनि फेरिने भए, म कहाँबाट कहाँ पुग्थे होला? प्रशासन आउँदा समेत डराउनु पर्दैन थियो होला।
कोठा नं. १० मा छिर्यौं हामी। अरु मानिस पनि थिए त्यहाँ। कोही उभिएका थिए, कोही सोफामा बसेका थिए। म के गरौं, उभियौं वा बसौं। बस्न आँट आएन। उभिरहें। भाइ पनि सँगै उभियो।
‘नजिक आउने होइन, टाढा बस्नुस्।’ बाल्यकालको झझल्को दिने गरी कुर्सीमा बसेका हाकिमले भने।
सानोमा बा अरुको खेतीपातीको लागि जान्थे, कहिलकाहीँ म पनि सँगै हुन्थे।
‘नजिक होइन, टाढै बस्, छोइन्छ’ बा लाई काम लाउने मान्छेहरू भन्थे। बा सोझा थिए, ‘हस् हजुर’ भन्दै सबैभन्दा टाढा बस्थे।
‘के भयो भाइहरूको ?’ हाकिमले सोधे।
‘नागरिकता बनाउन आएको’ हातका कागजात दिँदै भने।
‘के समस्या पर्यो ?’
‘थाहा भएन।’
कागजातहरू हेर्न थाले उनले। निवेदन हेरे। वडाको सिफारिस हेरे। जन्मदर्ता हेरे। मेरो नागरिकता हेरे अनि सोधे
‘बुवा-आमाको नागरिकता खोई ?’
‘छैन। नागरिकता नबनाउँदै... ।’ म बोल्नै सकिनँ।
‘नागरिकता छैन भने मृत्युदर्ता खोई ?’ हाकिमले ठूलो स्वरमा सोधे।
मृत्युदर्ता कसरी ल्याउनु मैले ? मृत्युदर्ता त मरेका मान्छेको पो हुन्छ। बा आउँछन् भन्ने विश्वासमा बाँचेका मान्छेसँग मृत्यु दर्ता माग्दा हाम्रा आशाका दीपहरू धिपधिप गर्न थाले। लास नदेख्दासम्म सासको आस हुने रहेछ। त्यही आसमा बाँच्दा बाँच्दा वर्षौ बितिसके। तिनै आसमा प्रहार हुँदा सँगै उभिएको भाइले च्याप्प समात्यो मलाई। केही बोलेन। आखाँबाट आँसु झार्न थाल्यो। घुक्कघुक्क गर्न थाल्यो।
‘दाइ हाम्रा बा को मृत्युदर्ता गर्नुपर्ने हो र ?’ भाइले भक्कानिँदै भन्दा म आफू पनि सम्हालिन सकिनँ।
बा को मृत्युदर्ता सोच्न सकिनँ। रोइरहेको भाइलाई सम्हाल्नु थियो तर सक्दै सकिनँ। मनमा गाँठो पर्यो। भाइलाई कसिलो गरी अंगालोमा च्याप्पें, सँगसँगै रून थालें। वरपरका मान्छेलले हेरे हामीलाई।
हामी दुवै रोयौं तर हाम्रा आँसु पुछिदिने कोही थिएनन् त्यहाँ। न त हाकिमले हाम्रा आँसु देखे न त जनताले।
‘के भो? रोएर नागरिकता पाइन्छ ?’ कर्कश आवाजमा फेरि सोधे हाकिमले।
भाइ रोइरहेको थियो। मेरै अंगालोमा थियो। मेरा आँखा पनि ओभाना थिएनन्। आँसु झरिरहेका थिए।
सबैले हेरिरहेका थिए हामीलाई। घुक्कघुक्क गर्दै रोइरहेको भाइलाई सोफामा लगेर बसालें।
आखाँबाट झरेका आसुँलाई हत्केलाले पुछे, आफूलाई सम्हालनै पर्थ्यो जसोतसो सम्हालिएँ।
‘बा को मृत्युदर्ता छैन। बा को मृत्यु भएको होइन। बा बेपत्ता हुनुभएको हो। बालाई बेपत्ता पारिएको हो द्वन्द्वकालमा। बा बेपत्ता भएको दुई दिनपछि भाइ जन्मेको हो। १८ वर्ष पुग्यो भाइ तर बा अझै भेटिएका छैनन्। कहाँ छन् ? कता छन् ? कस्तो छन् ? छन् कि छैनन् ? त्यो पनि थाहा छैन। केही थाहा छैन। देख्दै नदेखेको मान्छेको पनि सम्झना आउँदो रहेछ। बालाई धेरै सम्झन्छ, भाइले। बा आउँछन् भन्ने विश्वासमा छौं हामी। विश्वास पूरा हुन्छ, हुँदैन थाहा छैन तर आशै आशमा बाँच्नु धेरै गाह्रो हुने रैछ। बा को मृत्यु भएको भए बिर्सिसकिन्थ्यो होला तर बेपत्ता भएका बा अझै पनि आउँछन् भन्ने विश्वास छ। बा आउने बाटो हेरी रहेका हामीसँग मृत्युदर्ता माग्दा सम्हालिन सकेनौं,’मैले भने।
कोठा शान्त छ। सबै चुपचाप छन्। मेरो कुरा सुनिरहेका छन्, लाग्छ मैले कथा वाचन गरेको छु। म बोल्दै गर्दा भाइ सँगै बसिरहेका मान्छे जुरुक्क उठेर शौचालय छिर्यो। झन्डै चार पाँच मिनेटपछि ट्वाइलेटबाट निस्कियो ऊ। उसको मुहार हेरें मैले।
आँखा भिजेका थिए। किन भिजे उसका आँखा? के ले भिजे उसका आँखा ? पानीले वा आँसुले ? थाहा पाइनँ मैले। आँखा हेर्दा लाग्थ्यो, पानीले होइन, आँसुले भिजेका हुन् ती आँखा। पानीले त आँसुलाई पखालेको मात्र थियो। उसको पनि कोही बेपत्ता भएको छ कि? नत्र हाम्रो दुःखमा किन आँसु झार्थे होला? हाम्रो दुःखमा कसले आँसु झारेको छ र? अहिलेसम्म?
‘बा आमाको नागरिकता छैन। दाजुभाइको नाता प्रमाणित छैन। बा-आमाको मृत्युदर्ता पनि भएन। बा आमाको नागरिकता नहुनुको कारण पुलिस बुझ्नुपर्छ। पुलिसकोमा लेखेर पठाइदिन्छु। रिपोर्ट आएपछि मात्र नागरिकता बन्छ। एक हप्ता लाग्छ।’ हाकिमले नागरिकता प्राप्तिको प्रक्रिया सम्झाए।
चुपचाप टाउको हल्लाएँ मैले। कोठाबाट निस्किएँ। भाइसँगै थियो।
श्रीमतीको नागरिकता बनिसकेको थियो। ससुराको नागरिकता थियो श्रीमतीको नागरिकता बन्यो। बा को नागरिकता थिएन, भाइको नागरिकता बनेन। बा हुनु नहुनुको अनुभव फेरि गरें मैले। बा को नागरिकता नहुनुको पीडा भोगें मैले।
बा नहुँदा भोगेका पीडामा अर्को पीडा थपियो, कानुनी पीडा, अस्तित्वको पीडा।
खलङ्गाको काम सकियो। काम सकियो के भन्नु आधा काम सकियो। सदरमुकाममा उकुसमुकुस लाग्छ मलाई। बस्नै सक्दिनँ। कहिले निस्कौं जस्तो लाग्छ। छोरीलाई एक जोर लुगा किन्दियौं। बईको लागि सधैं एउटै उपहार हुन्थ्यो ढिके नुन, त्यही किनिदियौं। पाइलाहरू घरतर्फ मोड्यौं। गणेशस्थान, साहुटोल, पिपलनेटा, सिमखर्क हुँदै जैतपानी पुगेपछि टक्क अडिएँ।
अडेस लाएँ एउटा घरमा। ढुक्कले सास फेरें। शान्तिको अनुभव भयो, शरीर चंगा भयो। ढुंगा, माटोबाट बनेको घर थियो त्यो अरुको लागि तर मेरो लागि बा को अङ्गालो थियो।
बाको मिहिनेत थियो त्यो घरमा। बाको पसिना थियो त्यहाँ। त्यही घरमा काम गर्दागर्दै बा अपहरणमा परेका थिए। आर्मीको पोसाक लगाएका मान्छेले लछारपछार गर्दै लगेका थिए बा लाई।
घर पुग्दा झमक्क साँझ परिसकेको थियो। अरु दिनमा जस्तै बई पिँढीमा बसेर जैतपानी तिरै हेर्दै थिइन्। सूर्य पश्चिमतिर ढल्दै गर्दा बई पिँढीमा बस्छिन्। जैतपानीतिर हेर्छिन्। टाढाको मान्छेलाई राम्रोसँग चिन्दिनन्। आँखा कमजोर छन्। नजिक आउँदासम्म हेरिरहन्छन्।
गाउँ आउने हरेक मान्छेमा बालाई खोज्छिन् उनी। १८ वर्ष बितिसक्यो बईले यस्तो गर्न थालेको तर अझै थाकेकी छैनन्। कति ठूलो धैयर्ता, कति गहिरो विश्वास।
हामीलाई देख्ने बित्तिकै जुरुक्क उठिन्। श्रीमती, भाइ र मलाई पालैपालो हेरिन्। ‘भाइको नागरिकता बनाइदिस् ?’ बइले सोधिन्।
‘बनेन। बुवाको मृत्युदर्ता, नागरिकता चाहिन्छ भन्थे। नागरिकता नभए पुलिस बुझ्नु पर्छ भन्थे। पुलिस बुझ्न पठाएको छ’ बेलिविस्तार लगाएँ मैले।
बईले नागरिकताको महत्व बुझेकी थिइन्। भाइको नागरिकता बनिहालोस् भन्ने चाहिन्थिन्, तर बनेन। बई दु:खी भइन्। बईले निधार खुम्च्याइन्।
चाउरिएकी थिइन्, मुजामुजा पर्यो उनको निधार।
‘बेपत्ता भका मान्छे खोज्दैनन्, नागरिकता खोज्छन्, के भएको हो मुलुक?’ भाइलाई समाउँदै सुस्केरा हालिन्।
भान्छा कोठाातिर लाग्यौं। आगो बलिरहेको थियो। खाना पाकिसकेको थियो। छोरी सुतिसकेकी थिई। बई सधैंझैं आगोको छेउमा बसिन्। बईको लागि लगिदिएको उपहार दिए मैले, खुसी भइन्। बईलाई खुसी बनाउन केही गर्नु पर्दैन। ढिके नुन लगिदिए पुग्छ। बईलाई सबभन्दा मन पर्ने उपहार हो यो। बईले मेरो उपहारलाई खोलिन्।
नुनको एउटा ढिको हातमा लिइन्, बलिरहेको आगोमा हालिदिइन्। बई हरेक दिन एक ढिका नुन आगोमा राख्छिन्। बेपत्ता भएको मान्छे बाँचेको छ कि छैन? बईको जाँच्ने उपाय हो यो। नुन पड्कियो। बई फिस्स हाँसिन्। चाउरिएको मुहार फेरि मुजामुजा पर्यो। मुस्कुराउँदै भनिन्, ‘बाबु तेरो बा जिउँदै छ, मृत्युदर्ता गर्नु पर्दैन।’