व्यंग्यात्मक लेख
एकादेशमा कुनै गाउँमा एकजना युवक थिए जसको नाम किसान बहादुर थियो। किसान बहादुर ज्यादै परिश्रमी र इमान्दार पनि थिए। नामै किसान बहादुर, कामै किसान बहादुर। उनको कामै बाउ बाजेले गर्दै आएको काम खेतीपाती गर्ने थियो। उसले आफ्नो सारा समयनै खेतिपातीमा अर्पेको थियो।
'दि गुड अर्थ' नामक प्रसिद्ध अंग्रजी उपन्यासमा मुख्य पात्र 'वाङ्गलुङ्गले' भने जस्तै धर्तीमातालाई कोरीबाटी गर्नु नै हाम्रो धर्म हो भत्रे गर्थे। यसरी आफ्नो जीवननै कृषिमा अर्पेको किसान बहादुर बाह्रै महिना परिवार सहित आफ्नो जमिन श्रृंगार्न व्यस्त हुन्थे। उनको जमिन कहिलेपनि बाँझो रहदैनथ्यो। मौसम अनुसारको बाली लागिरहेको हुन्थ्यो।
यसरी रातदिन खेतिमै लागिरहने किसान बहादुर एकदिन आफ्नो थाप्लोमा हात राखेर खेतको कुनामा दिक्क मानेर बसिरहेको थियो। 'कुनै बेला त यो पेशानै छोडिदिउँ, जमिन बिक्री गरेर घर बनाएर भाडा लगाएर बसि बसि खाउँ। यो देशमा किसानलाई सरकारले कहिले पनि सहयोग गरेन, हरेक वर्ष वर्षे बाली अनि हिउँदे बाली लगाउने बेला आयो, समस्या नै समस्या। तर आजसम्म हल नभएको सबैभन्दा ठूलो समस्या भनेको मलकै समस्या हो।
यो वर्ष मात्रै हो, अर्को वर्ष त सहयोग पाइन्छ भन्यो जहिलेपनि त्यस्तै।' यस्तै मनमा कुरा खेलाएर निराश भएर बसिरहेको बेलामा आकाशवाणी भयो। पहिलेत झस्क्यो, डरायो पनि तर आकाशवाणीले नै डराउनु पर्दैन म तिमीहरू जस्तै कृषकहरूको लागि सहयोग गर्न, बाटो देखाउन आएको हुँ भनेपछि मनमा सन्तोष मानेर हजुर त मेरो भगवान हुनुहुँदो रेछ, लौ हजुर बाटो देखाउनुहोस् भने।
त्यसपछि भगवानबाट वाणीहरू सुरु भयोः
'हेर तिमी किसानहरूले यो मलको समस्या भोगेको कति वर्ष भयो? धेरै परसम्म नजाउँ सायद तिम्रा बाका पालामा नेपालका कृषिमन्त्री थिए एकजना धनुषा जिल्लाका मल्ल जि। उनलाई मलमन्त्री पनि भन्थे किनकी मलनै उनको रमाउने र कमाउने पनि मुख्य श्रोत थियो। तर जनताको हितको लागि उनले कहिले पनि सम्झौता गरेनन्।
भनेको दिनमा समयमा कृषकहरूले सजिलै सित मल प्राप्त गर्थे। अहिलेको जस्तो कोरोनाको टाइममा पनि घच्याड घुचुड गरेर लाइन लाग्नु पर्ने थिएन। त्यतिबेलाको व्यवस्थापनलाई काम नलाग्ने, देश विकासमा बाधक भत्रेहरूले मल कारखाना नेपालमा खोल्नुपर्छ भन्थे तर खोइ कति पटक सरकार परिवर्तन भयो, कतिवटा आवधिक योजनाहरू बने, ठूलादल प्रायः सबैले सरकार बनाइसके तर मलकारखानाको कुरा गायब छ।
किनकी मलकारखाना नै यही भएपछि कमिसन त हराउने भयो। त्यसैले कृषिको विकास र देशको विकासभन्दा पनि ठूलो आफ्नो र आफ्नो दलको विकासमा तल्लीन रहेको फल हो यो।'
'उसो भए त्यतिबेला पनि मलको हाहाकार नै थियो प्रभु?'
'थियो, तर खेती लाउने बेलामा, धानलाई चाहिने बेलामा कहिले पनि अभाव हुँदैन थियो। सजिलै सित मलको आपूर्ति हुन्थ्यो, जति कचिङ्गल हुन्थ्यो अगाडि नै हुन्थ्यो। अहिलेको जस्तो धानको लागि ल्याउने मल, गहुँ लाउने बेलामा आउँदैनथ्यो। ठेकेदारले कुनैपनि हालतमा धानलाई चाहिने मल धानकै र गहुँलाई चाहिने मल गहुँकै समयमा ल्याउनै पर्थ्यो, नत्र सजायको भागिदार हुनै पर्थ्यो।
मल्ल जि धेरै कडा थिए। अहिलेको जस्तो घरबेटी, मित वा जिल्लाको भनेर चुप लाग्नेवाला थिएनन्। हुँदा हुँदा अब त तिमीहरूले गाउँघरमा नुन तेल पैँचो मागे जस्तो मल पनि पैँचो माग्न थाल्यौ, त्यो पनि आफूभन्दा कति कान्छो देश सित पैँचो माग्दैछौ। तिमीहरूको देशले करिब २५०० वर्ष अगाडिदेखिको गौतम बुद्ध हाम्रो देशको भन्दै गौरब गर्दै आएका छौ।
अब त रामायण पनि हाम्रो भत्र थाले छौ। कुन दिन महाभारत पनि हाम्रै हो भत्र कत्ति बेर नलाग्ला जस्तो छ। तर यो कुराको ख्याल गरेका छौ, त्यति लामो इतिहास भएको तिमीहरूको देशले अस्ति भरखर जस्तो (सन् १९७२ मा) उदय भएको देशसँग पैँचो माग्दैछौ, आफ्नो इज्जतको ख्याल गरेका छौ!
अझ त्यो पैंचो कति उपयोगी हुनेहो शंकै छ। त्यो मल आउँदा धान काटिसकेर धानको ठोसामा छर्न भ्याउला जस्तो छ। अनि पैँचो तिर्न अर्को मल कहाँबाट ल्याउने? अनि फेरि हिउँदे बालीलाई कहाँबाट ल्याउने? लथालिङ्ग छ तिमीहरूको देशको व्यवस्थापन्।'
'एकदम सही हो प्रभु।'
'त्यतिबेलाको सरकारले राम्रो काम गरेन भनेर तिमीहरूले यत्रो राजनीतिक परिवर्तन ल्यायौ, लोकतन्त्र, गणतन्त्र, जनयुद्ध, संघीय जस्ता नामधारि परिवर्तन खुब गर्यौ तर खोइत त्यतिबेलाको समस्या अहिलेपनि उस्तै देख्छौँ हामी! जनतामा चेतना आएको छ भन्छौ तर के गर्ने झन् नैराश्यता छाएको छ। राजनीतिक पद् पाएका, ठगठाग गर्न सक्ने २, ४ जना धनी हुँदैमा हुन्छ र?
तिमीलाई पक्कै थाहा होला, माओको देश चाइनामा ९ वर्षमा समुन्द्रमुनि सुरुङ मार्ग, र समुन्द्रमाथि ५५ किलोमिटरको विशाल पुल बनाएर चलाए, तर माओको सिद्धान्त मात्रे भत्रे तिमीहरूले झापाको एउटा आधा किलोमिटरको खोलाको पुल पनि ९ वर्षमा बनाउन सकेनौ। २० वर्षदेखिको मेलम्चीले खोइ पानी खान दियो तिमीहरूलाई? अहिले पानी आउने हल्ला फिँजाइयो, सबै दङ्ग पर्यौ, तर माफिया साफिया के के भन्छौले मेलम्ची भत्कियो।
खोइ कसैले राजिनामा दिए? कसैको जागिर गयो? कसैले सजायँ पाए? मेलम्ची त एउटा कमाइ खाने आयोजना थियो, सबै दलका सरकारले शक्तिमा हुँदा पैसा, पजेरो सबै लिए लाष्टमा आएर मेलम्चीको यो हाल भयो। खोइ पक्ष, विपक्ष कोइ बोलेका छन्?'
'ओहो प्रभु हजुरको रेकर्डमा त जस्ताको तस्तै बस्दो रेछ। आइटी सिष्टम त हाम्रोभन्दा बलियो रेछ। हाम्रो त नाम आइटी काम चाहिं जाइटी, केही सूचना र रेकर्ड चाहियो भने यता जाउ उता जाउ यस्तै छ प्रभु। हजुरको रेकर्डमा अरु पनि यस्तै हाम्रा लागि उपयोगि छन् की प्रभु?'
'छन् नि सबै छन्, जस्ताको तस्तै छन्। उपयुक्त समयमा सबै खुल्दै जानेछन्।'
'मेरा लागि अरु आदेश परमादेश केही छन् कि प्रभु?'
'आदेश परमादेश त नभन, त्यहाँ हाम्रो आदेश परमादेश मात्रैको छ र अब? हामीलाई मात्रेहरू सबै अल्पमतमा परिसके। यस्तै अहिलेको जस्तो कोरोना, बाढी पहिरो, अनि भूकम्प दुर्घटना जस्ता आपत विपद परेको बेलामा सम्झिने हुन्, टरिसकेपछि त सकियो। फेरि अहिलेको २१ औँ शताब्दीमा त भगवान भत्रेहरूलाई त असभ्य, परम्परावादी भन्छन्। तर विदेशका धेरै पढेका ठूला दार्शनिकहरू हामीलाई एउटा शक्ति छ जस्ले सबै बस्तु चलायमान गरेको छ भन्छन्। आ-अफ्नो विश्वास हो। यो तिमीहरूले नै समीक्षा गर्ने विषय हो।
'तिमीले सोधेको हुनाले, अन्त्यमा एउटा सुझाव र आफ्नो सानो भनाइ राख्दै म तिमीबाट छुट्टिन्छु पनि अब।'
'हेर किसान बहादुर, तिमीले नाम अनुसारको काम भने जस्तै खेतीपातीमा धेरै दुख गर्दै आएका छौ। तर दुख गरे अनुसारको फल पाएका छैनौ। न उत्पादनको लागि मल बीउ पाउछौ न उत्पादन पछि बजार पाउछौ। तिमीहरूलाई एकातिर सरकारको अकर्मण्यता अर्कोतिर बिचौलियाको चलखेलले गर्दा आफ्नो घर धात्र पनि मुस्किल भैसक्यो। खेती गर्न छोडेर बरू जमिन बेच्ने तिर सोच बनाइसकेउ। हो की होइन, सत्ते सत्ते भन त?'
'त्यो त एकदम सही कुरा हो प्रभु, बैना पनि दिन आइसके।'
'हो, तिमीले सत्य कुरा गर्यौ। अब कृषि विकास भनेर यस्मा मात्र भर नपर। नेताहरूले, देशका योजनाविदहरुले त गर्न सकेनन् भने तिमी एउटा सानो किसान, नामै किसान बहादुरले के पो गर्न सक्छौ र!'
'के गरुँ त प्रभु अब?'
'अब यो कृषिको काम तिम्रा परिवारलाई जिम्मा देउ। कृषि विकास भनेपनि कहिलेपनि विकास नहुने कृषिको काम परिवारका सदस्यहरूले गर्छन्, तिमी चाहि जागिर खाउ।'
'जागिर'?
'हो, जागिर।'
'कसरी का खाउँ, जागिर खान आफ्नो मानिस चाहिन्छ भन्छन्।'
'त्यो त हो, तर पहिला सरकारी जागिर हेर, यसमा पेन्सन पनि आउछ, भन्सुन पनि चल्छ। यसको लागि पहिला लोकसेवा आयोगको जाँच देउ। अचेल मैले सुनेको छु लोकसेवा आयोगको जाँच पास गर्न पहिलेको जस्तो गाह्रो छैन रे। त्यहीकै कर्मचारीले सहयोग गर्छन् रे। बेठिक भनेर लेख्यो भनेपनि बे चाहिं काटिएर ठिक मात्र आउँछ रे।
होइन, यदि त्यो सकेनौ भने तिम्रो देशमा अहिले सरकारले माया गरेर आफ्नो मानिस राख्न अस्थाइ भर्ना गर्दैछ। विभित्र परियोजनाको नाममा मानिसहरू भर्ना गर्ने कुरा पत्र पत्रिकामा आएको त तिमीले पढेकै होला। यसो नेताहरूको चाकरी गर नभए दलको झण्डानै समाइदेउ। आफ्नो काम बन्छ भने झण्डानै समाउने हो। के भो र झण्डा समाउने राम्रै पनि हो।
तर यो पनि म तिमीलाई सल्लाह दिन्छु की जागिर खानको लागि उत्कृष्ट विभाग, मन्त्रालयहरू कुन कुन हो पहिलेनै थाहा पाउनु पर्छ।'
'ती विभाग, मन्त्रालयहरू कुन कुन हुन त हजुर?'
'सडक, पुल, सिंचाई, कुलो, कृषि, यातायात, वन, अनि अर्थ मन्त्रालयका विभागहरू। तर कमैलाई मात्र थाहा भएको स्वास्थ्य मन्त्रालय पनि त्यस्तै उत्कृष्टमै आउछ। झन् अहिले कोरोनाको जस्तो महामारीको टाइममा त यो अति उत्कृष्टमा रहेको ट। यस्ता तिर त अधिकारवालाको नजर पनि पर्दैन, परेपनि कालान्तरसम्म हराएरै जान्छन्।’
'हजुरले उत्कृष्ट भत्रुको आधार के हुन् नि'?
'चाँडै काम नसकिने, लामो समयसम्म काम गर्न पाइने, बिग्रियो भत्कियो भने मौसमलाई दोष दिने, आवश्यक कागजातहरूको मूल्यांकन वातावरण अनुसार आफै मिल्ने। त्यसैगरी रोग निको भयो भने राम्रो सेवा पुर्याएकोले र निको भएन भने जनतानै त्यस्तै भएकोले भत्रे। अहिले कोरोनाले गर्दा लकडाउन, निषेधाज्ञा के-के भन्छन् गरेका छन् तर काठमाडौँका नाकाहरूबाट भित्र खुरु-खुरु मान्छे छिराको पनि छन्। काठमाडौँमा कोरोना बढ्नुको मूख्य कारणनै यही हो। यस्ता धेरै छन् तिम्रा देशका कुराहरु।
अन्त्यमा, यी वाणीहरू सबै बैकुण्ठ जाला, जस्लाई जतिबेला चाहिन्छ फेरि तुरुन्त आइजाला।’
यी आकाशवाणी सुनेर विचरो किसान बहादुर ट्वाल्ल परिरह्यो।
(लेखक पोषण विद् हुन्।)