खाना खाएर बाँकी रहेका केही कामहरुलाई सकेर म आफ्नो ओछ्यान तर्फ लागेँ। कोभिडको समयले गर्दा भय भने निक्कै थियो, काठमाडौँ सहरमा गाडी खुलेको केही दिन मात्र भएको छ। केही मजदुर आफ्ना काममा फर्किएका छन्, कोही सडकमै पेट पाल्न सानोतिनो व्यापार गर्न सुर्किएका छन्, कोही माटो पाए माटो बालुवा पाए बालुवा निल्ने अवस्थामा छन्।
मैले सुत्नु अघि कोभिडबाट संक्रमित हुनेको संख्या काठमाडौँको हकमा उच्च दरले बढ्दै गएको समाचार रेडियोमा सुनिसकेको छु। आज काम गर्ने ठाँउ (बालुवाटारको भाटभटेनी नजिकको एक जुत्ता पसल) मा सामान धेरै ओसारपोसार गरेर गोदाम मिलाउने भएर होला, शरीर अत्याधिक गलेको छ।
मनमा घर जाने (मेरो घर हाल बुटवल) आकांक्षा धेरै छ, यो कोरोना भाइरसले कति बेला ज्यान जाने हो टुङ्गो छैन। अन्तिम पटक भए पनि आमाको हातको खाना खाने रहर भने कसलाई नहोला र? भोलि फेरि त्यही भयलाई चिर्दै काममा जानु नै छ, पापी पेटका कारण। मनमा रहेका आकांक्षालाई केलाउदै गर्दा कति बेला आँखा लागेछ पत्तै भएन। म मस्त निन्द्रामा छु, एक सपनाको सुरुआतमा।
एका बिहानै भएछ, किन हो आज सूर्यको चम्काइ अर्कै थियो। पल्लो घरमा रहेको कुखुरा फार्ममा बासिरहेको कुखुरोको कुखुरी काँ आवाज अर्कै लाग्दै थियो। त्यसैबीच मालिकको फोन आयो, 'तँ चाँडै गएर आज पनि सामान मिलाउदै गर्, एक गतेबाट गाडी खुल्छ भन्दैछन् त्यसपछि दसैँको व्यापार गर्नुपर्छ।'
एक गतेबाट गाडी खुल्छभन्दा मन हर्षित भयो तर दसैँको व्यापार गर्नुपर्छ भन्दा यो पाली पनि म अष्टमी अघि घर नपुग्ने मनमा शंका जाग्यो। त्यही मनलाई आजै पाए आजै हिडौँ भएको छ, बरु गुन्द्रुककै झोल नै भए नि खान त पाइन्छ आफ्नी आमाको हातको मिठोमसिनो। मनमा अनेकौँ प्रश्नहरुलाई जीवित राखी म आफ्नो कामका लागि बाटो तताएँ।
म पुग्दा मसँगै त्यहीँ काम गर्ने मुरारी नि आइसकेको रहेछ। दिउँसो भइसकेछ, जुत्ताका पोका पत्यौरा मिलाउने गर्दा गर्दै, साइज अनुसार बक्समा राख्दा राख्दै। त्यसपछि खाना खायौँ, मालिक आइपुगेँ। फोनमा कताको अग्रिम अर्डर टिपाउदै थिए, त्यसपछि हामीलाई सामान प्याक गर्न अह्राए। साँझ पर्यो, हामी दुई भाइ सटरमा तालाचाबी लगाएर निस्क्यौँ। जाने बेलामा मुरारीले घर जाने हो त भन्न लाग्यो।
मैले प्रश्न भुइमा झर्न नदिइ 'किन नजाने हो र भन्या? तर कसरी?' फर्काइहालेँ। भोलि थाहा पाउँछस्, मध्यरातमै कलंकी आउनु भन्यो। भोलि बिहान हुन नि कति समय लागेको झैँ भइरहेको थियो, मनमा एक आनन्द थियो। सबेरै मध्यरातमा मुरारीले बोलायो। घर जाने तर्खरमा भएको मलाई पनि केको मध्यरात, केको दिनका घाम! घरबाट अचार, लुगाफाटो अनि गुन्द्रुकको पोकोले ठेलमठेल भएर ल्याएको ब्यागमा दुई/चार जोर लुगा हालेँ, बाटो तताएँ।
काठमाडौँको रातको सडक केही डर भने थियो। हिड्दै मनमा अनेक प्रकारको तनाव र खुसीको समिश्रणले कलंकी पुगेको पत्तो भएन। त्यहाँ थप दुई सहित मुरारी अघि आइसकेको रहेछ। धेरै गन्थनमन्थन नगरी पाइला थानकोट तर्फ चलाउन थाल्यौँ।
प्रहरीले केही गर्लान्, कि भन्लान् कि भन्ने डर थियो, तर कसोकसो गरेर हामी त्यहाँबाट पार भयौँ। धादिङको भूभागमा हिडिरहँदा मलाई बच्चामा पहाड घरमा हुँदा बजार जाने बेला हिडेको सम्झनामा आयो, काठमाडौँबाट सिधै ठाडो ओरालो। पाइलाले केही बित्ता जमिन नाप्न नपाउँदा मैले गोजीमा हात हालेँ।
अहो! त्यो पसलको चाबी त मैसँग रहेछ। मालिकले विश्वास गरेर मलाई दिएका, मैले उनलाई पत्तो नदिइ हिँडे। (पत्तो दिएको भए कहाँ जान बिदाइ दिन्थे र? मनमनै फकालेँ) कसो होला के होला भन्दै गर्दा धार्के होला (सम्भवतः) त्यसबाट अघि लागेका थियौँ, दुई भाइ बाइकमा काठमाडौँ तर्फबाट आए। मेरा अगाडि आएर झ्याप्प बाइक रोके।
म तर्सिएँ। मुखबाट 'अहो! साहु जि तपाईं!' निस्किहालेछ। मनमनमै सोचेँ, सालाले मलाई कहिल्यै देखि नसक्ने भयो, सपनामा पनि पछि लागेको छ। 'फोन उठ्दैन, स्वीच अफ छ भन्छ। पसल पनि गइन्छस् कता लागेका यत्रा जमात?', उनले बम झैँ फुलिएको मुख फोरे।
उस्तै त मन नपर्ने झन् अहिले रुखो बोली सुनेर फेरि मनमनै सोच्न थालेँ। ‘अस्ति साहु जि घर जाने गाडी पाँए तर मलाई थानकोटसम्म छोड्दिनु न भनेर ढिपी गर्दा, सक्दिँनँ लकडाउन छ कसरी लाने हो र! किन जानुपर्यो घर भन्ने आज मलाई खोज्न यहाँसम्म आइपुगेछन्।’
तर मैले घर जाने खुसीमा फोन भने चार्ज नगरेको त अवश्य हैन। कसरी बन्द हुन्छ र? खल्तीमा हात हालेँ, फोन तिर हेरेँ। फोन त साँच्चै बन्द रहेछ। अहो! कसरी यस्तो भयो त? म त सपनामा दौडिरहेको थिएँ। विश्वास भएन, घरमा भए त खुर्सानी चपार होसमा आउन सकिन्थ्यो।
बाटैमा भएकाले आफैले आफ्नो हातमा चिमोटेँ। म त भयंकर आपत्तिमा आइपुगेछु। म हिजो खाना खाएर सुतेको बाहेक मलाई अत्तोपत्तो छैन। फेरि सपनामा घर जाँदै गरेको म कसरी बिपनामा यहाँसम्म आइपुगेँ? जबकी मैले सुत्दा लगाएकै लुगा मेरा जीउमा छन्, गोडा उत्तिकै सुकिला छन्, पैतला नाङ्गा छन्, मेरो फोन बन्द छ। सबैभन्दा ठूलो प्रश्न त म कसरी यहाँ! यो अझै रहस्यमय रहेको छ।