कविता
म बाँचुन्जेलसम्म तिम्रो आँखामा आँसु देख्न सक्दिनँ छोरा,
किनकी म तिम्रो आमा मात्र हैन, धड्कनको साथी पनि हुँ,
म तिमीलाई हावाको वेग सँग क्षितिजको यात्रा गराइदिन सक्छु छोरा,
दुनियाँले तिमीलाई बौलाहा भनोस् कुनै पर्वाह छैन किनकी
तिमी एउटी आमाको ममतामयी धड्कन सँग जोडिएका छौ छोरा,
तिमी सक्दो बुन जीवनका सपनाहरू
ती युद्धको रक्तपातले तिमीलाई सलाम ठोक्न सकोस्,
एउटी आमाको पवित्र माया पैसामा किन्न पाइँदैन छोरा किनकी
तिमी मेरो एक एक थोपा रगतको संरचना हौ,
जब तिमीले यो दिलमा मायाको आवास गराउँछौ नि छोरा
तब म ठान्ने छु तिमी वयस्क भइसकेका छौ,
तिमीलाई लाग्न सक्छ छोरा यो संसारले तिमीलाई
आमाले भन्दा बढी माया गर्छ,
तिम्रो दुःख सुखमा साथी बन्छ, ती त खहरेका पानी हुन्
क्षण भरमा बिलाएर जाने छन् छोरा,
तिमी जीवनमा अनवरत श्वास फेरिरहनु
कुनै पल तिमी अँधेरोमा बिलायौ भने म ठान्नेछु
तिमी कायरहरूसँग झुकिसकेछौ छोरा।