ल्यापटपमा हिन्दी फिल्म ‘मसान’ भर्खर सुरु थियो। लकडाउनको ५७औँ दिनको कुरा। बाह्र बजे राति। छतमा अचानक कोही हिड्यो।
पहिलो सुनाइ, हो वा होइन! कान र दिमागको सुझबुझमा दोधारिँदा दोधारिँदै कट्यो, दोस्रो आवाजले ड्याम्मै हान्यो, 'कोही छ त्यहाँ, केही गलत भैराछ।'
दौडेर भर्याङ उक्लौँ! यति राति, आँट बसेकै ठाउँमा कुँञ्जिगो। के सक्नु! बसिरहेँ। हिडिरहयो। सुनिरहेँ।
रोक्किनु अघि, सास सक्किनु अघिको लास जस्तै भयो। छट्पटियो। अत्तालियो। दगुड्यो। सास सक्किएर विश्राम लिए जस्तै अन्तिममा सुनसान भएर सक्कियो।
उता थामियो, छटपटि यता सुरु भयो। यत्रो विदण्ड मध्य राति, चोरको होकी घरकै मान्छेको?
अल्लि अघिसम्म डरले खुम्चिएको मन, छट्पट्टिएर अहिले बस्नै नसक्ने भयो। एकपल्ट हेर्नु त पर्छ नै। तर यहाँ अहिल्यै नउठि नहुने भयो।
उठेँ। ढोका खोलेँ। आँखा सिँधै बुबा सुत्ने कोठामा रोक्कियो, ढोका खुल्लै छ।
डर त अनि पो लाग्यो त शरीरमा, रक्सी लागेझैँ शिरदेखि पैतालासम्म।
छ महिना अघि हस्पिटलको बेडमा मृत्युसँग लडिरहनु भएको आमालाई सम्झिएँ। भन्नुहुन्थ्यो, 'बुबाको ख्याल गर है कान्छा। खालि चिन्ता नगर्, तँभन्दा पहिले मै जान्छु भन्नु हुन्छ।'
सासले शब्द टिप्न सकुञ्जेल आमाले त्यही कुरा सम्झिरहनु भयो। बुबाको चिन्ता लिइरहनु भयो। मलाई त्यही कुरा भनिरहनु भयो।
डर जे थियो, यहाँ त्यही देखियो। 'ढोका खुल्लै छ। बत्ती बलिरहेको छ। फ्यान घुमिरहेको छ। तर ओछ्यानमा बुबा हुनुहुन्न।'
चुरोट खाने मान्छे हो बुबा। तर आधा रातमा चुरोटले उठाउने मान्छे पक्कै होइन। दिनमा तल्तलिनु हुन्छ तर रातमा चुरोटकै लागि छट्पट्टिएर उठेको आजसम्म देखेको छैन।
अब के गर्ने त?
बुबालाई खोज्न, मनको डर मेट्न, जसरी नि छत त उक्लनै पर्छ।
हिम्मत गरेँ। एक हातमा हेल्मेट लिएँ, अर्कोमा ढोकाको आग्लो बोकेँ। सिँढीको बत्ती अन गरेर चढेँ।
मनमा डर यति छ नि यो बेला, सानोमा चिहान देख्दाभन्दा ठूलो छ।
छतमा नपुग्दै देखेँ, रडमा। बुबा त्यही हुनुहुन्छ।
आँखाभन्दा छिटो दौडिन सक्ने केही छ अरु भने त्यो हो मन। म जहाँ छु, दुई–तीन पाइला अघि बुबा हुनुहुन्छ, छेउमा पुग्नै पाएको छैन, मनले सबै सोचिसक्यो, 'आमा। आमाबुबाको स्वर्गलोकको भेट। यो खबर सुन्नु भएको दाजुभाउजूको अवस्था। दिदीबहिनीहरु मुर्छा परेको दृश्य।'
नजिक पुगेर हेर्छु, छतमा रड छ। रडमा डोरी। डोरीमा शरीर। भूइँ नछोएको छुट्टा हावामा तैरिएको छ। हेर्न सकिनँ। शरीर काम्यो, भुइँमा थेचारिए। चिसो खुट्टा निधारमा पर्यो। थाहा पाएँ, बुबा त अघि सक्किनु भएछ! त्यसपछि हो, थाहा नपाएको। मैले होस गुमाएको।
प्रेमिका अचानक गायब भइ।
सुनेर यता म भोकतिर्खा, घामपानी, सपनाविपना सबैबाट एकैचोटि गायब भए। बेहोसीमै होसका सबै ठेगाना पुगे। हराएको चिज पो भेटिन्छ। लुकेको के भेटिन्थ्यो। बर्खे भेलमा हराएको मान्छे जस्तै भइ। भेट्टिन।
यही रन्कोमा फन्केर एकदिन आर्यघाट पुगेँ। घाटको पारिपट्टि बसेर दिनभरि आकाशमा मान्छे धुँवा भएको हेरेँ। घामले रुखको टुप्पो खोज्न थालेपछि दिमागले घर सम्झियो। 'जीवन मरण हो, शरीर विलय। चित्तामा पुगे जल्छ, माटोमा पुगे गल्छ।' जप्दै उठेँ।
थोरै हो, तर धुँवाले मनलाई हलुकाएछ। शरीरमा फूर्ति देखियो। गुनगुनाउँदै उक्कालिएँ, 'कुन मन्दिरमा जान्छौँ यात्री…’
सिँढीको शिर टेक्नै लागेको छु, एक अखेटा मात्र छ। शरीरले मनको गनगन खप्न सकेन। गनगन खप्नुभन्दा जयशम्भो जप्नु नै ठिक। केको ल्याङल्याङ! त्यही बिसिदिएँ।
गोजीमा हात लान्छु, उ चनाखो हुन्छ। आफैसँग छक्किनु पर्ने अचम्मको बेला आइपर्या छ।
आफ्नै धुनमा गुम छु। निकाल्छु। खोल्छु। सल्काउँछु। तान्छु। हेर्छु।
अरे! अझै ट्वा परिराछ! पशुपतिमा धुँवा नै नदेखेझैँ छ बा!
आधा तानेको ठुटो ढुंगामा दल्छु। खोलमाथि राखेर उतिरै ठेलिदिन्छु। मूला बाँदर! अझै पनि चुरोट र चकलेटमा झुक्किन्छ।
उ उठेर गयो। म उठेर हिडेँ।
जगत पनि उस्तै, उमेर र आयु जस्तै, एकापट्टि चढ्दै जान्छ, अर्कोपट्टि झर्दै जान्छ। पशुपतिमा उकालिएको सिँढी गुह्रेश्वरीमा ओरालियो। कनिकुथी चढेथें। अब खोच्याउँदै झर्नुपर्ने भयो।
हेर्छु, यहाँ पनि उस्तै छ, पशुपति जस्तै धुँवाले पुगिसरि गुह्रेश्वरी। पशुपतिको धुँवा घाटको हो, यहाँ के को? आफैंलाई सोध्छु? फल हेरेर बोट छुट्याए जस्तो कहाँ धुँवा हेरेर आगो छुट्याउन सकिन्छ र! आफैं सड्किन्छु।
धुँवाको फेद हेर्न तन्किन्छु, त्यसका बाजे! मन्दिरको छानो मभन्दा अग्लो छ। यताउता हेर्छु, केही देख्दिनँ। ह्या! बेला न कुबेला धुँवाको झमेकला। झर्किदै ओरालिन्छु।
संयोग यसैलाई भन्छन्। म भित्रिनु उ उत्रिनु। भाग्य पनि सायद यसैलाई भन्छन्। ह्वाट अ कोइन्सिडेन्ट! संयोग र भाग्यको मिलन। अपूर्व छ।
भनिन्छ नि, 'गल्ती पनि कहिलेकाही सही भैदिन्छ।'
झुक्किएर लेडिज ट्वाइलेट पुगेँ। सही यतिबेला भैदियो, हराएकी प्रेमिका ढोकामै ठोक्किइ।
त्यसै नभनिदो रैछ, 'जे हुन्छ राम्रैको लागि हुन्छ।'
कल्पनाले समेत सोच्न नभ्याएको विपना आँखै अगाडि पछारिएपछि झट्का त लाग्ने नै भयो। जस्तो भेट्टिइ त्यस्तै स्ट्याचु बनि। ठूलै भोल्टले हानेछ विचरीलाई! उसलाई हल्लाउन पहिले मै हल्लिनु पर्यो।
त्यसपछि हो, उ काजोल म साहरुख बनेको। फरक यति थियो, उनीहरु फिल्मको सिनमा थिए, 'कुच कुच होता है' हामी जम्का भेटमा थियौ, ट्वाइलेटको ढोकामा।
यता न उता भएर पूरै अल्मिलियौँ। न बोलि फुट्छ न हिड्ने बाटो भेटिन्छ। सयौँ चोटि अँगालोमा बेरिएर एउटै जुवामा नारिए जसरी हिडेका हामी, अहिले यसै उल्झनमा पर्यौँ।
के गर्नु-गर्नुको अवस्थाबाट सरि मागेँ र फर्किएँ। र जेन्स ट्वाइलेटमा छिरेँ।
बाहिर निस्किन्छु, उ मन्दिरको गेटमा छे। हेर्दैछु। जाँदैछे। देख्दैछु। छेल्लिँदैछे। एकैपल्ट नहेरेरै मन्दिरभित्र नदेखिने भइ।
मस्तिष्क शून्य भएपछि शरीर भूँइमा मन आकाशमा हुँदो रैछ।
शरीर भूइँमा, मन आकाशमा बतासियो। दिनभरि लासको आकाश हेरेर बल्लैले जुटेको आत्माको साथ फेरि उस्तै गरी फुट्यो। लाचार शरीर विचरा के गरोस्, बेवारिसे हुनु सिवाय।
कसले के ठटायो! आवाजले कानको जाली हान्यो। नउठौँ कसरी? उठेँ।
यसबेला हो म ढल्नु पर्ने। तर ढलिनँ। चल्दाचल्दैको मिलको फित्ता चुडिएझैं दिमागको नसा चुडिएर बेहोस हुनुपर्ने। तर भइनँ। खै कुन बलले हो ठिंगै छु, आफ्नै आँखाले यो सब हेरिराछु।
हर्नझैं छेउमा बाजा बजिरा छ, उ मन्दिरको मूलगेटमा छुट्न लागेको ट्रेनझैं छे। बेहुलाको अघि बेहुली बनेर उ, आफ्नाबाट आफू छुट्दैछे। हेर्दाहेर्दै, पहाडमा घाम छेलिएझैँ, उसलाई बोकेको गाडी कुइनेटोमा ओझेल पर्यो।
बाजा रोकियो। मान्छे उभिएकै अवस्थामा अड्किए। एकाएक वातावरण घाट बन्यो, शान्त। म फेरि बसेँ।
मन्दिरको टुप्पामा देखेँ धुँवा पुत्याउँदैछ। थाहा भयो। धँवा केको रैछ? आगो हेरिरहनै परेन।
धुँवा हुनु नै त रैछ आखिर, सक्किनुको अन्तिम सत्य। उता घाटमा काठले लास जलायो। यता पुजारीको पाठले काठ जलायो। उता तन जल्यो, यता मन।
बाँच्नलाई के बच्यो र अब! हावा बिनाको टायर, हुनु र नहुनुमा केही माने रहन्न। आत्मा बोल्यो, 'छोडिदे जिन्दगी सेलाएर धुँवा उडाइदे।'
जुरुक्क उठेँ।
किल्ला सहितको झुल झ्याम्मै टाउकोमा बजारियो।
बाफ्रे सपना! कस्तो आश्चर्य! कथाभित्र उपकथा भेटिए जस्तै सपना भित्र अर्को सपना!
झुल जस्तै गाँसिएका सपनाका एकएक टुक्राहरु आँखामा अल्झिन थाले। कति डर लाग्दो थियो हरेक दृश्य। धन्न त्यो सपना थियो।
तर आमाले भन्नु भएको कुरा त सही हो नि! झस्किएँ। डर फेरि उस्तै भो, सपनामा जस्तै।
हतार उठेर ढोका खोलेँ। विपना उस्तै छ सपना जस्तै, ढोका खुल्ला, ओछ्यान रित्तो। बुबा हुनुहुन्न। अन्त कतै नहेरि छततिर दौडेँ। उक्लिनै लागेको थिएँ, झ्यालको सिसामा आँखा ठोक्कियो, गाईगोठमा बुबा उप्परखुट्टिमा धुँवा उडाइरहनु भएको छ।
खुसीले पनि मान्छेलाई गलाउँदो रैछ। नुन लागेझैं फतक्कै भए। त्यही बसेँ। देख्छु, बुबा आफ्नै संसारमा कति आनन्दले धुँवाको फ्वाक हावामा फालिरहनु भएको छ।
यस्तै भैदिनु नि, आमा र प्रेमिका पनि सपना जस्तै बिउँझिदा भेटिने बुबा जस्तै! तर त्यो यथार्थ थियो।