नाक थुनेको छु
ताजा श्वासप्रश्वासलाई बाधा पार्दै,
मुख थुनेको छु
अरूले बोली प्रष्टसँग नबुझी तर्कुन् झैँ गरेर,
सकभर अरूसँग भेटघाट नै नगर्ने
गरे पनि सीमित स्वार्थ पूरा गरेर छड्कने
कोही जरुरी कामले घरमा आउन चाह्यो भने
गोमन सर्पझैँ ठानी मूल ढोकाबाटै कुरो मिलाएर धपाउने
कसैलाई अतिथि देव भनेर मर्यादा गर्दै नगर्ने,
यो सबै नखरा मैले बाँच्नलाई नै गरेको होइन र?
आखिर एक दिन मर्छु भन्ने मलाई थाहा हुँदाहुँदै पनि
मलाई बाँच्न कति रहर लागेको!
बेसार-पानी खा भन्नेको आज्ञा तामेल गर्दै छु
कागती–पानी खा भन्ने उर्दी पनि निर्वाह हुँदो छ
जीवनदायिनी लता गुर्जो पनि सेवन गर्दो छु
अदुवा लसुन मरिचलाई पनि मर्यादा दिँदै छु
तातो पानीको बाफले भित्री अङ्ग तताउँदै छु
अनगिन्ती नयाँ पण्डितहरु जे जे भन्छन्-
सो सो पूरा गरेर ज्यानको संरक्षण गर्दै छु,
तर मेरो मनको सुरक्षा किल्ला भने जीर्ण छ
आखिर एक दिन मर्छु भन्ने मलाई थाहा हुँदाहुँदै पनि
मलाई बाँच्न कति रहर लागेको!