त्यो दिन चाँदनीको कुमारित्वको लिलाम बढाबढ हुँदै थियो। यस्तो लाग्थ्यो चाँदनीलाई मञ्चमा सबैले देख्ने गरी उभ्याइएको थियो र उसको कुमारित्व किन्न चाहनेहरू मञ्चको तल बसेर उसको कुमारित्वको मूल्य तोक्दै थिए।
१४ वर्षमा टेकेकी चाँदनी भर्खरकी फक्रन आँटेकी कोपिला जस्ती थिई, अझै पूरै नफक्रेकी।
तर उसकी आमाको तर्क अनुसार त्यही समय नै उसको कुमारित्वले सबभन्दा बढी मूल्य पाउने बेला थियो।
अलि समय गुज्रिसकेपछि फुलहरूका पत्रहरू झर्न सुरू गरेजस्तै उसको यौवन पनि ओह्रालो लाग्न सुरू गर्छ भन्ने मान्यता उसको कुमारित्व किन्न आएका ग्राहकहरूको पनि थियो।
त्यसैले त्यसको महत्व घट्न नपाउँदै नै लिलाम गर्नु बुद्धिमानी हुन्थ्यो। त्यही जानेर नै उसकी आमाले चाँदनी १४ वर्ष पूरा गर्ने वित्तिकै उसको कुमारित्वको लिलामीको लागि ग्राहकहरू खोज्न थालेकी थिइन्।
कामुक पहिरनमा चाँदनी अमुक भएर मञ्चमा उभिएकी थिई। लाली घसेर बढी नै रातो बनाइएका उसका गालाहरू जवानीले पाकेका भन्दा पनि डरले तातेका थिए।
कृत्रिम लालीले गाला जति राता देखाए पनि उसको मुहारमा स्पष्ट मलिनता देखिन्थ्यो।
सस्तो र चर्को रातो लिपिस्टिकले उसका मिलेका अधरहरूमा सुन्दरता भन्दा कुरूपता थपेका थिए। अनि गाजलका बाक्ला रेखाहरु घसेर बिगारेका उसका लोचनहरू लत्रिएका थिए।
मञ्चमुनि बसेकाहरूको लागि उसको मुहारको मलिनता र उसका लत्रिएका लोचनको वास्ता थिएन। उनीहरूका नजर उसका सुन्दर पुष्ट अवयवहरूमा थिए।
केही संकोच, उत्सुकता र केही त्रासको भावमा उसले मञ्चमुनि आफ्नो कुमारित्वको मोलमोलाइ गर्न बसेका मानिसहरूलाई आफ्ना झुकेका नयनहरूले हेर्न खोज्थी तर हेरिरहन नसकेर अर्कोतिर नजर घुमाउँथी।
उसको कुमारित्व खरिद गर्न चाहनेहरूको त्यहाँ भीड थियो। सबैले उसलाई नै नियालिरहेका थिए। सबै उसको कुमारित्व हडप्न आतुर थिए। त्यसको लागि ठूलै मूल्य चुकाउनु परे पनि तयार भएर उनीहरू त्यहाँ पुगेका थिए।
चाँदनीकी आमाले लिलामीको प्रकृया सुरू गरिन्।
सबभन्दा पहिले पहिलो लहरमा बसेका एक जना अधबैंशेले पाँच हजार रुपैयाँको प्रस्ताव राखे। तर उनको प्रसतावलाई तुरुन्तै अर्को एक जनाले राखेको छ हजारको प्रस्तावले जित्यो। छ हजारले पनि तुरुन्तै हार खायो जब अर्को एक जनाले आठ हजार पुर्याए। आठ हजार पछि एकछिन कोही बोलेनन्।
लिलाम गर्न बसेकी चाँदनीकी आमाले भनिन्- आठ हजार- एक, आठ हजार- दुई। तर उनले आठ हजार- तीन भनेर हथौडा ठोक्न नपाउँदै अर्को एक जनाले हात उठाएर ‘मेरो दश हजार’ भने।
अनि फेरि एकछिन सबै शान्त भए।
चाँदनीकी आमाले दश हजार- एक, भन्न नपाउँदै अर्कोले एघार हजार पुर्याए। त्यसै गरी बढ्दै जाँदा चाँदनीको कुमारित्वको मूल्य सत्र हजारसम्म पुग्यो। सबभन्दा पछाडिको लहरमा बसेका पचास जति नाघिसकेका जस्ता लाग्ने र अलि भलाद्मी जस्ता देखिने मान्छेले त्यो मूल्य दिएका थिए।
चाँदनीको कुमारित्व सत्र हजारमा बिक्ला भन्ने कसैले पनि सोचेको थिएन। त्यो भन्दा पहिले सबभन्दा महंगोमा दश हजारमा सृजना बिकेकी थिई।
सत्र हजार निकै ठूलो रकम थियो। कसैले त्यो भन्दा बढी हाल्ने आँट गरेनन्। अनि चाँदनीकी आमाले सत्र हजार- एक, सत्र हजार- दुई, सत्र हजार तीन भनेर लिलामी बन्द भएको घोषणा गरिन्।
चाँदनीको कुमारित्वको मूल्य तोकियो, त्यही रात ती भलाद्मीले चाँदनीलाई लिएर जाने भए।
हुन त लिलामी गर्दा दृष्य माथि वर्णन गरेको जस्तो थिएन, त्यहाँ न त कुनै मञ्च थियो, न त त्यसरी एकैसाथ क्रेताहरू आएका थिए, न त चाँदनीकी आमाले एक, दुई, तीन, भनेर हथौडा ठोकेर लिलामी गरेकी थिइन्।
लिलामीको सबै काम गोप्य रूपमा भएको थियो। तर जसरी लिलामी गरे पनि त्यो लिलामी नै थियो र परिणाम पनि माथि वर्णन गरेको जस्तै थियो।
चाँदनीको कुमारित्व बेच्ने समय आइपुगेको अनुभूति भएपछि तीन चार दिन देखि नै उसकी आमाले विभिन्न ग्राहकहरूसँग मोलमोलाइ गर्दै थिइन्।
अन्तमा सत्र हजारमा उसको कुमारित्व बेचियो।
चाँदनीको र मेरो उमेरमा चार वर्षको फरक थियो तर हामी राम्रा साथी थियौं। सँगै घरखोप्री, लुकामारी र गट्टा खेल्थ्यौं। तेह्र वर्ष पुग्दा ऊ नछुने भई।
चाँदनीको रजस्वलाको खबरले कुमारित्व किन्न लामबद्ध भएर बसेका हाम्रो टोलका नियमित ग्राहकहरूमाझ उल्लास छाएको थियो।
उसको रजस्वला कुरेर बसेकाहरू मृत्युको मुखमा पुगेको अशक्त मृगलाई स्याल, ब्वाँसा र गिद्धहरू जस्तै ढुकेर बसेका थिए।
प्रथम रजस्वला भएपछि उनीहरूको सेवा गर्न हामी तयार हुन्छौं भन्ने समाजको बुझाइ थियो।
चादँनीको रजस्वलाको खबर पाएको बेलादेखि नै उनीहरूले उसको मोल मोलाउ गर्न लागिसकेका थिए।
यौन पेशा हाम्रो टोलमा बस्नेहरूको पुर्ख्यौली पेशा थियो, हाम्रो अघोषित अधिकार पनि थियो। हुन त यौन पेशा कानुनद्वारा वर्जित थियो तर हाम्रो टोलमा त्यो पेशा हुन्छ भन्ने कुरा सबैको लागि खुला रहस्य जस्तै थियो।
कानुनको पालना गराउन आउनेहरू नै त्यहाँबाट सित्तैमा आफ्नो यौन प्यास बुझाएर थाहा नपाएको जस्तो गरेर फर्कन्थे।
सित्तैमा सेवा दिन नमानेमा थुन्ने धम्की दिन्थे। सहरका अलि हुने खानेहरू चाहिँ लुकीछिपी हाम्रो टोलमा आएर युवतीहरूको यौवन पैसामा किन्थे।
कुमारित्व किन्न पाउनु उनीहरूको लागि भाग्य जस्तै हुन्थ्यो। घरमा श्रीमतीसँग अघाएकाहरू हाम्रो टोलमा आफ्नो भोक मेट्न आउँथे।
चाँदनीको कुमारित्वले निकै राम्रो मूल्य पायो। सबैले उसलाई भाग्यमानी सम्झे। चाँदनी त्यो मूल्यको भागिदार पनि थिई।
सानैदेखि निकै राम्री उसलाई हिन्दी सिनेमा ‘चाँदनी’की हिरोइन श्रीदेवी देखेर उसकी आमाले आफ्नी छोरीको नाम पनि चाँदनी राखिदिएकी थिइन्।
हुन पनि साँच्चिकै पूर्णिमाकी चाँद जस्तै थिई ऊ। चन्द्रमाको सतहमा बरु केही धब्बा थिए तर चाँदनीको मुहारमा केही पनि दाग थिएन।
पुष्ट राता गाला, भर्खर जुर्मुराउँदै उठ्न थालेको वक्षस्थल अनि पुटुक्क परेको गोलो नितम्बमा ऊ ग्राहकहरूका लागि निकै आकर्षक देखिन्थी।
अलि अलि खैरा ठूला चञ्चल नयन, पातला गुलाबी अधर र कालो लामो केशले उसको सुन्दरतालाई एक कदम माथि उठाएको थियो। त्यसमाथि श्रीदेवीले सिनेमामा लगाएको जस्तै पहेंलो सारी लगाउँदा ऊ पनि हिरोइन भन्दा कम देखिँदैनथी।
त्यो दिन साँझ चाँदनीलाई सुटुक्क लिएर ती भलाद्मी होटल गए। गाडीमा चढ्दा मैले उसलाई हेरें, चाँदनी मौन थिई। उसले पनि पुलुक्क मलाई हेरी तर न ऊ केही बोल्न सकी न म नै बोल्न सकें।
उसको चेहरामा त्रास र हडबडाहट देखिन्थ्यो तर उसकी आमाले ‘केही हुँदैन’ भनेर हौसला दिइरहेकी थिइन्।
ऊ बोल्न सकेकी थिइन, उसको त्यो अमुकता विरोधको सन्नाटा थियो। तर चाँदनीको मौनतालाई उसकी आमाले उसको स्वीकृति ठानेर छोरीलाई खुसीसाथ आफ्नी छोरीभन्दा चालिस वर्ष जति पाको पुरूषसँग उसको यौन चाहना पूरा गर्न पठाइन्।
चाँदनी चढेको गाडी मेरो नजरबाट ओझेल नहुँदासम्म मैले हेरिरहें। गाडी देखिन छोडे पनि ऊ गाडीमा बसेको दृष्य मेरो मानसपटलमा घुमिरह्यो।
मैले चाहेर पनि त्यो दृष्य बिर्सन सकिनँ। मलाई त्यो दिन खाना पनि मीठो लागेन, चाँदनीकै सम्झना मात्र आइरह्यो अनि कुनै दिन मेरो पनि त्यही हविगत होला भनेर डर पनि लाग्यो।
धेरै नबुझे पनि त्यस्तै समाजमा हुर्केकीले मैले पनि धेरै कुरा थाहा पाएकी थिएँ। आमाले केटीहरूलाई फूल र केटाहरूलाई भमराको उपमा दिएर भन्ने गर्थिन्- ‘सुन्दर फूल देखेपछि भमराहरू झुम्मिनु प्रकृतिको नियम हो त्यसैले फूल फुल्न थालेपछि उसको वरिपरि भमराहरू झुम्मिन थाल्थे।’
मलाई पनि थाहा थियो- जब यौवनले ढकमक्क भएर फूलले आफ्नो सुन्दरतासँगै बासना छर्न सुरू गर्छ अनि मात्र भमराहरू त्यहाँ झुम्मिन सुरू गर्छन्। तर चाँदनीको हकमा त ऊ पूर्णरूपले फक्रन नपाउँदै ती भमराहरूले आक्रमण गर्न सुरू गरिसकेका थिए।
फेरि, भमराले फूल चुसेर आफू तृप्त हुने मात्र हैन फूलहरूको पराग सेचनमा मद्दत गरेर फूललाई पनि तृप्त पार्छन्, उनीहरूको अस्तित्व जोगाउन मद्दत गर्छन्।
तर हाम्रा पछि लाग्ने आफूलाई प्रेमका भमरा भन्नेहरू हामी पूरै फक्री नसक्दै हाम्रा कलिला र कोमल पुस्ट पत्रहरूलाई लछारपछार गरी चुँडेर त्यसको यौवनको समय नआउँदै क्षतविक्षत गर्न चाहन्थे।
हामीलाई निर्दयीरूपमा तोडेर आफू मात्र तृप्त हुन चाहन्थे। त्यसैले ती लाछीहरू प्रेमका भमरा थिएनन् ती त हाम्रो शरीर लुछ्न पर्खेका ब्वाँसा र गिद्धहरू थिए भन्ने मलाई लाग्यो।
कुनै दिन म पनि फक्रन थालें भने मेरो शरीरमा पनि त्यस्तै गिद्धहरूले दृष्टि लगाउने छन् भन्ने सोचाइले मलाई डर लाग्यो।
त्यो दिन साँझ सुत्नुभन्दा पहिले मैले आमालाई उनीहरूले किन हाम्रो कुमारित्वलाई यत्रो मूल्य दिन्छन् भनेर सोधें।
आमासँग मेरो प्रश्नको उत्तर तयार थियो- ‘फूलमा अरु भमराहरूले आधिपत्य नजमाउँदै, फूल पवित्र हुँदै त्यसको रस चुस्न, त्यसको वासनामा आफूलाई मदहोश गराउन कसले चाहँदैन र ? त्यसैले अरु कसैले जुठो नहाल्दै आफ्नो बनाउने होडमा फूल पूर्णरूपमा नफक्रिँदै भमराहरू पछि लागेका हुन्।
अरुले चुसिसकेको निरस फूल, अरुले बास्ना सुँघिसकेको गन्धहीन फूल त अरुले लगाएर छोडेको जडौरी लुगाजस्तै हुन्छ।
कुमारित्व पवित्रताको परिचय हो, त्यसैले कसैले नछुँदै नयाँ लुगाहरूजस्तै कुमारित्व किन्न ती भलाद्मीहरू तछाडमछाड गर्थे।’ तर मलाई आमाको उत्तरले चित्त बुझाउन सकेन।
मैले उनलाई फेरि सोधें- ‘कुमारित्व के वस्तु हो र किन्नलाई ? पवित्रता किन्न सकिन्छ र ?’
तर आमासँग मेरो त्यो अनौठो प्रश्नको उत्तर थिएन।
समाजको चलन यस्तै छ भनेर उत्तर नदिई उनी पन्छिइन्।
मेरो बाल दिमागले त्यो बेला कुमारित्वको महत्व र मूल्य पहिल्याउन सकेन। म त्यही प्रश्नमा घोत्लिँदै त्यो रात धेरै बेर निदाइनँ।
सायद आमाले भने जस्तै कुमारित्व साँच्चै पवित्र थियो र बहुमूल्य थियो। मलाई लाग्यो यदि कुमारित्व यति पवित्र छ भने यो बहुमूल्य मात्र हैन अमूल्य छ, यो पैसामा बिक्ने चिज नै हैन, पैसामा बेचेर, लिलाममा राखेर हामीले त्यसको अवमूल्यन गरिरहेका छौं।
यो न त किन्ने वस्तु हो, न त बेच्ने नै। तर त्यही सोचाइसँगै मेरो दिमागमा फेरि अर्को सोचाइले बास गर्यो- ‘महिलाको कुमारित्व त्यति अमूल्य छ भने पुरूषहरूको कौमार्यको किन कुरा गरिँदैन ?’
हामीले समाजले महिलालाई भेदभाव गरेको भन्छौं तर मलाई लाग्यो- कौमार्यको विषयमा पुरूषहरूप्रति भेदभाव भएको रहेछ।
मैले आफैंलाई सोधें- ‘के पुरूषहरूको कौमार्य पवित्र छैन ?’
तर मेरो सानो दिमागले त्यो प्रश्नको उत्तर दिन सकेन।
अर्को दिन बिहानै उठेर मैले आमालाई त्यही प्रश्न सोधें- ‘किन महिलाहरूको कुमारित्वको मात्र मूल्य तोकिन्छ ? किन महिलाहरूको कुमारित्व मात्र लिलाम गरिन्छ ? पुरूषहरूको कौमार्य किन लिलामी हुँदैन ? के उनीहरूको कौमार्य पवित्र हुँदैन ? उनीहरूप्रति किन भेदभाव ?’
मैले सोध्नै नहुने प्रश्न सोधें जस्तो गरेर आमाले अचम्मको भावले मलाई हेरिन्। उनी केही बोलिनन्।
मैले थाहा पाइहालें, मसँग जस्तै उनीसँग पनि मेरो त्यो प्रश्नको उत्तर थिएन। उनको भाव बुझेर म चुप लागें।
मैले पछि पनि यो प्रश्नको उत्तर खोज्न धेरै कोशिस गरें तर आजसम्म पनि मलाई कसैले यसको चित्त बुझ्दो उत्तर दिन सकेको छैन।