अनलाइनमा हरियो बत्ती बालेर म्यासेन्जरको अघिल्लो पंक्तिमा बसेका धेरै साथीहरुबाट आउने दिनभरिकै अन्तिम म्यासेज हुन्छ 'गुडनाइट!'
'ल ल सुत्, थाकेको होलास्!' भनेर डिस्टर्ब नगर्नेहरु पनि थुप्रै छन् म्यासेन्जरमा।
अनि कोइ-कोइलाई चै म आफै पनि गुडनाइट भन्छु।
उनीहरुको गुडनाइट म्यासेजपछि म अरु म्यासेजको आशा गर्दिनँ। अनि सिरानी मिलाएर, ब्ल्याकेट तन्काउँदै लम्पसार परिदिन्छु। यसपछि मलाई मोबाइलको आवश्यकता पर्दैन।
परदेशमा दुई वटा म्यासेजले परदेशीको मन फुरुंग बनाईदिन्छ। एउटा हो 'गुड मर्निङ!' अनि अर्को हो 'गुडनाइट!'
बिहान उठने बित्तिकै गुड मर्निङ भन्दै म्यासेन्जरमा स्वागत गर्नेहरु पनि थुप्रै छन् तर खै किन हो, एक दुई जना चै खास नै हुन्छन्।
बिहान उनीहरुको गुड मर्निङ म्यासेज नपढ्दासम्म शरीरमा स्फुर्ती नआउनु अनि बेलुका गुडनाइट नपढ्दासम्म निद्रा नआउनु पनि एक किसिमको रोग नै हो परदेशीको। सँगै बस्ने दाङका एकजना भाइ छन् पल्लो बेडमा। उनी हरेक रात 'सुते है दाजु! गुडनाइट' भन्दै ब्ल्यांकेट भित्र घुस्रिन्छन्। तर मिनेट/मिनेट भित्रमा चार्जमा लगाएको मोबाइलको स्क्रिन अन गर्दै हेर्छन्।
उनको यो दैनिक क्रिया हो। एक पटक सोधेँ- 'चार्जमा हालेर सुतेको मान्छे फेरि किन मोबाइल तिर ध्यान? यस्तो गर्दा निद्रा लाग्दैन, थपक्क सुत।'
उनले नढाटी भन्दिए 'उसको गुडनाइट म्यासेज नै आको छैन दाइ। एकछिन गफ नगरी त कसरी निदाउनु!'
निदाउन कसैको गुडनाइट म्यासेज कुर्ने म मात्र होइन, सबै छन् हाम्रो तिर। गुडनाइट म्याासेज नपढी सुत्दा मनमा अनेक कुरा खेल्छन् मेरा। अघि एक्कासी म्यासेन्जरमा अफ भएकी उनी फेरि अन आएर केही लेखिन् की भन्दै दर्जनौ पटक मोबाइलको स्क्रिन अन गर्दै हेर्छु।
मन परेका या अमन परेका! जस्ले म्यासेज लेखेपनि उनको गुडनाइट पढिसकेपछि मतलबै लाग्दैन। उनको गुडनाइट सुनिसकेपछि या पढिसकेपछि उता चार्जरमा राखेको मोबाइलमा म्यासेजको तिखो टोन ट्वाङ गर्छ तर वास्ता लाग्दैन, अनि एकै छिनमा निदाउँछु।
तर कुनै कारणबस उनको गुडनाइट म्यासेज आएको छैन भने अरुको मोबाइलमा बजेको म्यासेन्जर टोन ट्वाङ गर्दा पनि आफ्नो मोबाइलको स्क्रिन अन गरेर हेर्छु अनि निराश हुँदै मोबाइललाई चार्जमै घुसाउँछु।
विस्तरामा लम्पसार परेर सुत्न पाएको हुँदैन, ब्ल्यांकेटले टाउको छोप्न नपाउँदै फेरि बजिदिन्छ 'ट्वाङ!'
'पक्कै उनी अनलाइन आइछन्!'
मनले यही सोचिदिन्छ, शरीरमा ओढेको ब्ल्यांकेट स्वाट्ट कुना तिर मिल्कायो अनि फेरि मोबाइलमा हेर्यो। यो आशा पनि एक किसिमको तडपाइ नै हो। जतिसुकै थाकेपनि या निद्राले च्यापे पनि विस्तरामा पुगिसकेपछि एकछिन त बोल्नै पर्ने अनि गुडनाइट भन्नै पर्ने।
यो हरेक रातमा हुने उनीप्रतिको चाह हो, दिवानापन हो, प्रेम हो। गुडनाइटको महत्व बारे अझ थप्ने हो भने दिनभरिको थकानमा एकछिन उनीसँग गफिनु आफैमा आनन्द हो अनि निदाउन गुडनाइटले ठूलै भूमिका खेल्दछ।
गुडनाइट सुनिसकेपछि या पढिसकेपछि मन एक तमासले निद्रा तिर केन्द्रित भैदिन्छ। अनि भुसुक्क कतिबेला निदाइन्छ, पत्तै हुँदैन।
हो, यही गुडनाइट भन्ने एउटी मेरो म्यासेन्जरको अघिल्लो पंक्तिमा सधैँ हरियो बत्ती बालेर आईपुग्छिन्। मलाई थाहा छ, उनी मेरो गुडलक हुन। बिहान गुड मर्निङ भन्दा दिन राम्रो भैदिने अनि बेलुका गुडनाइट भन्दा निद राम्रो।
परदेशमा दिन अनि निद राम्रो भयो भने मान्छे हेन्सम हुन बेर लाग्दैन रे। यो मेरो आफ्नै सोच हो। किनकी निद्रा नपुगेर अनुहार कच्याक कुचुक परेका अनि दिन राम्रो नहुँदा निधार खुम्च्याएर बसेकाहरुलाई मैले नजिकबाट चिनेको छु। त्यसैले पनि जीवनमा मिठो निद र राम्रो दिनको महत्व धेरै छ।
मनका मान्छेले उठ्ने बेला गुड मर्निङ भन्दिए भने दिन त्यसै राम्रो भैदिन्छ अनि सुत्ने बेला गुडनाइट भन्दिए भने मीठो निद्रा नलाग्ने कुरै भएन।
एक दिन उनले कुरा सकिएर फोन काट्ने बेला भनिन् 'गुडनाइट बेबी!'
म गुडनाइटको मात्र पर्खाईमा थिए, उनले लास्टमा बेबी पनि थपिन्। त्यो रात खुसीले निद्रा नै लागेन।
उनको गुडनाइटले मस्त निदाउने म, त्यो रात निदाउनै सकिनँ। कारण अन्तमा थपिएकै कुरा हो, 'बेबी!' उनले बेबी भनेपछि एकपटक मेरा आफ्नै गाला मुसारे। काट्न नपाएका दारी थिए, ती पनि छ्यासमिस कतै फुल्ने तयारीमा।
हातलाई सार्दै आफ्नै निधारमा पुर्याए। चाउरीएको निधार थियो। तर मनमा एक किसिमको जवानी उर्जा। उनले बेबी भनेपछि किन निद्रा लाग्थ्यो? आफैलाई बेबी सम्झन थालेँ। निदाउने जति कोशिस गर्दा पनि मनमा अनेकौ कुरा खेल्न थाले।
आफ्नै उमेरकी जस्तो लाग्ने एकजना बहिनीले अंकल भनेकी थिइन्, त्यो कुरा पनि उनले गुडनाइट बेबी भनेकै रात सम्झिएँ। मेरा लागि अंकल जस्ता लाग्ने एकजना दाइले 'हाम्रो उमेर एउटै होला, के दाइ भन्छौ यार। बरु साथी भन' भन्ने दाइलाई पनि त्यही रातमा सम्झिएँ।
आफूभन्दा ठूलो होस् या सानो, सबैले मलाई बुढै सम्झिएँ। कसैको लागि दाइ भएँ, कसैको लागि अंकल त कसैको लागि साथी। उमेरले मभन्दा जेठा लाग्नेहरुले पनि मलाई दाइ भन्दिएका कैयौँ घटनाहरु आँखा वरिपरि घुमे, ती पनि यही रातमा।
आफूले चक्कर चलाउन कोशिस गरेका कैयौँ केटी साथीहरुले पनि दाइ भनेर नाता जोडेका थिए। तिन्का अनुहार पनि उनले गुडनाइट बेबी भनेकै रातमा सम्झिएँ।
उनले बेबी भनेको रात साँच्चै म बेबी भैदिएँ। कसैको काख चाहिएको कारणले गर्दा होला, मध्य रातसम्म निदाउन सकिनँ। पछि कतिबेला निदाएँ, पत्तै भएन।
आजभोलि गुड मर्निङ र गुडनाइटको पछि बेबी झुण्डिएर आउँछ। म उत्पात खुसी भैदिन्छु।
म्यासेन्जरमा भएका अनि म बोल्ने सयौँ साथीहरुले गुड मर्निङ या गुडनाइट भन्छन् तर बेबी झुण्डाउँदै गुड मर्निङ या गुडनाइट भन्नेको पर्खाइमा म प्रत्येक दिन काटीदिन्छु। कोरोना महामारी सुरु भएसँगै बेबी सम्बोधनले झन् महत्व पाएको छ। गुड मर्निङ र गुडनाइटको पछि मात्र झुण्डिने बेबी आजभोलि हरेक प्रश्नमा झुन्डिन थालेको छ।
'उठ्यौ बेबी, खाना खायौ बेबी, डिउटी गयौ बेबी, के गर्दै बेबी?'
उनका यस्ता धेरै सम्बोधनहरु आउँछन् जसमा बेबी झुण्डेका हुन्छन् तर मलाई महत्व लाग्ने सम्बोधन भनेकै गुडनाइट बेबी हो, जस्ले दिनभरको थकान मेटाउँछ अनि मस्तको निद्रा लगाउँछ।
यति लेख्दै गर्दा पनि उता म्यासेन्जरमा उनका धेरै प्रश्न आईसके, जुन प्रश्नहरुमा बेबी झुण्डेका छन्। 'किन नबोलेको बेबी? निदायौ र बेबी? ओके गुडनाइट बेबी!'
अब उनको गुडनाइट बेबी पढीसकेपछि मलाई मिठो निद्राले सताउन थाल्छ। आँखा लठ्ठ पर्छन् अनि म निदाउँछु।