कोही सपना किन्न झुटका खेती गर्छन्
कोही विपना पाल्न सत्यकै घाँटी निमोठ्छन्
न्यायको चिता बाल्न यहाँ अन्यायको घिउ थप्छन्
यहाँ सबै आफ्नै स्वार्थ डकार्न थरीथरीका मुकुट भिर्छन्
मनको आवाज सुनाउन यहाँ, कुनै झण्डा बोक्नै पर्छ
भएको दुःख देखाउन यहाँ, रंगीन क्यामेरामा खोक्नै पर्छ
तिमी साँचो बन्न खोज, दुई हात जोडेर मुसार्नै पर्छ
तिमी आफैँ आफू बन्न पनि, अर्काको मुकुट भिर्नै पर्छ
अपराधको सञ्जाल फिजाउन, ठूला-ठूला मुकुट पहिरिए पुग्छ
भ्रष्टचारले भुँडी भर्न, तिमीले राजनीति तिर लम्किए पुग्छ
रंगीन जिन्दगी जिउने भए, छलकपटले पूरै सजिए पुग्छ
आज तिमी तलब थाप्न, कसैको बनावटी मुकुटले चम्किए पुग्छ
कठपुतली नबन्ने भए, फोहोरी राजनीतिलाई लत्याईदेऊ
सच्चा नागरिक बनी बाँच्ने मन भए, मुख पूरै सिलाईदेऊ
देशभक्तिको शान प्रचार गर्ने भए, कुकर्मलाई मुकुट लाइदेऊ
मुकुट तिमी नभिर्ने भए आज, आफू आफैँलाई बिर्सिदेऊ।